कसरी सक्छु होला यसरी जिउन, कतिन्जेल चल्छ होला यसरी सास! यी फुस्रा ओठ, मलिन अनुहार र चेतना नै नभएका यी मस्तिष्कहरू लिएर कैयौँ रात तिमीलाई साथ दिएकै छु त। अब त साथ देऊ। धेरै गुनासो छ तिमीसँग, किन थाहा छ? मलाई निदाउन मन पर्छ, तिमी निदाउन दिँदैनौ। तैपनि तिम्रो चाहनालाई कदर गर्दै तिमीसँग सामेल भैदेकी छु। त्यसैले तिमी पनि मेरो इच्छाहरूको मान राख्दै कहिलेकाहीँ आफ्नो स्वार्थलाई टाढा राखेर शान्त बसिदिँदा हुँदैन र?
यो हजारौँ पटकको प्रश्न भयो होला। तैपनि उत्तर दिन उचित मानेन जस्तो छ यो निद्राले पनि। ल ठिक छ तिमीसँग अब मेरो प्रतिस्पर्धा हुनेछ। तिमीलाई बेवास्ता गर्दै तिमीसँगको मनमुटाव हुनुको कारण लेख्न मन लाग्यो। के गरुँ जब दर्द आँखाबाट निस्किन लाग्यो भने सबैले कायर हो भन्लान् अनि त्यही दर्द शब्दहरूबाट निकाल्यो सायर हो भन्लान्। डर लाग्छ कसरी बुझ्ने हुन्, कसरी सोच्ने हुन्, कसरी लिने हुन्!
एउटा निर्धक्कको वातावरण नभएको महसुस गरिरहेकी छु। तैपनि सुरु गरिसकेपछि लेख्नु त छँदै छ नि। उफ्! कति छटपटी हो त्यो, कति बेचैनी हो त्यो। त्यो मध्यरातमा मेरो कोठामा भएको दराजको ऐनामा आफूलाई नियालेर हेर्छु अनि प्रश्न गर्छु, आखिर के छैन तँसँग? अनि यही सोच्दै तप्प खस्न खोजेका आँखाभरिका आँसुलाई पुछ्दै थोरै बाङ्गो ओठ बनाई मुस्कुराउँदै आफूलाई राति ड्युटी गर्ने इमान्दार चौकिदार सम्झन्छु। हुन त म चौकिदार नै हो मेरो भविष्यको, मेरो परिवारको, तैपनि राति नै ड्युटी गर्नुपर्छ भन्ने काहीँ लेखेको छ भन्या के?
कति सोच्न सकेको होला यो मस्तिष्कले पनि! एकपछि एक कस्ता-कस्ता सोचहरू उत्पति गरेको होला? कहाँबाट आउँछ होला? किन आउँछ होला अनि के पाउन आउँछ होला! उफ्! मलाई त मेरो मस्तिष्क एउटा कमजोर मेसिन जस्तै लाग्न थालिसक्यो। नराम्रै सोचहरूको मात्र उत्पति हुने।
के गरुँ, आफैलाई प्रश्न गर्दै कैयौँ रातहरू कटाएकी छु, त्यही मध्यरातमा उत्तरपट्टि रहेको सोफामा बसेर। अँ साँच्ची, सोफासँग पनि मेरो गहिरो यादगार सम्झना रहेको छ। त्यहीँ सोफामा बसेर मस्त निद्रामा भएका मेरो मुटुहरू मेरा श्रीमान अनि मेरो छोरीलाई नियालेर हेर्छु। आखिर के दोष छ यिनीहरूको? यिनीहरूसँगै म किन निदाउन सक्दिनँ? मेरो सहारा मेरा मुटुहरू त म आफैसँग छन् त। आखिर कसका लागि र केका लागि यति छटपटी। जब धर्तीमा पाइला टेकेँ अनि बुझ्ने भएँ कस्तो बोझ जस्तो लाग्छ जिन्दगी र लागिरहेको छ पनि आखिर किन? मेरो जीवनमा खुसी नआएको हो कि खुसी हुन नजानेको हो अचम्म लाग्छ।
जबसम्म सास रहन्छ तबसम्म कैयौँसँग छुट्टिने र मोडिने हुन्छ होला। कतिले मन दुखाउँछन् होला। अनि कतिको मन दुखाइन्छ होला पनि। कतिले सुखसाथ दिन्छन् होला अनि कत्तिले घात पनि गर्छन् होला। आखिर यी सबै हुने सास रहने बेलासम्म त हो नि। जबसम्म काँडामा पाउ पर्छ त्यो नै जिन्दगी हो। छातीमा फूल परेको दिन त जिन्दगी नै सकिन्छ नि हैन र? ओहो नि, यी सबै कुरा लेखिरहँदा सबैको उत्तर जानेको बुझेको अनि पाएको जस्तो लाग्यो त आखिर किन निदाउन नसकेका होला म?
आँखाभरि डार्क-सर्कल, मलिन अनुहार, फुस्रा ओठ लिएर सबैसामु मुस्कुराएर हिँड्नु पनि एक किसिमको कला नै हो, रहर त हैन नि। खैर यो जिन्दगीले पनि के कसको पात्र बनाइसक्छ। खै कहिलेकाहीँ जिन्दगीले हार माने जस्तो लाग्छ। सबैको अगाडि मेरो लास उठिरहँदा तीन दशकपछि पाएको मेरो माइती; मेरो परिवार, मेरो श्रीमान् अनि मेरी प्रिय छोरी कसरी सम्हालिन्छन् होला भन्ने चिन्ताले मात्र आफूलाई रोकिरहेको छु र साँच्ची भन्नु पर्दा त्यो राम्रो पनि हैन किनकी मैले मेरो खुसी मात्र हेर्ने हो भने मेरो मासुम छोरीको अवस्था के होला? आमाबुवा बिनाको जिन्दगी एउटा अनाथ हुनुको पीडा मैले भोगिरहेकी छु। जो म मेरी छोरीलाई दिन चाहन्नँ।
खैर, छोडौँ अब यी सबै कुरा। जिन्दगीमा परिस्थिति बिग्रियोस केही भएन, मनस्थिति चाहिँ बिग्रिनु भएन। हुँदाहुँदा मनस्थितिले घात गर्यो। साह्रै गाह्रो हुने रहेछ मनस्थितिसँग गुज्रिन पनि। शरीर नै बेसहारा बनाइदिँदो रहेछ।
हेर्दा सबै ठिकठाक तर भित्र-भित्र पटक-पटक मरेर जिएको जस्तो अनुभव हुन्छ। जस्तै टल्केको जुत्ताभित्र फाटेको मोजा। अँ साँच्ची, यो शब्द मैले धेरै अगाडि मेरो फेसबुक पेजमा पोष्ट गरेकी थिएँ क्यारे। त्योबेला आदरणीय दाइ उत्तम शर्मा रिजाल जसले मलाई सुशिल र शालिन स्वभावको भनि ट्याग लगाउनु भएको छ। मेरो पोष्टपछि उहाँको प्रश्न थियो 'बुझ्नै गाह्रो भो त!'
ल अब 'निद्रासँगको मनमुटाव' पढिसकेपछि बुझ्न गाह्रो नपर्ला भनेर मैले यसरी जानकारी गराउन चाहेँ। कति लेखौँ अझै, जति लेख्दा पनि यी शब्दहरू रित्तिन मान्दैनन्। जति लेखेँ त्यति नै शरीर भारी लाग्दैछ। के गरुँ गर्नलाई त आफैसँग वाचा गरेकी थिएँ, जिन्दगीमा हरेश भन्ने कुरा कहिले खाने छैन।
मलाई के सोचेर यति धेरै पीडा दिएको होला? किन यस्तो भइराछ भन्न कुराहरूले गर्दा आँखाहरू निदाउन मान्दैनन् अनि मेरा हारेका कुराहरू कसलाई सुनाउँ, मेरा डरलाग्दा कहानीहरू कहाँ पोखुँ लाग्छ। म हुनु र नहुनुको कुनै अस्तित्व लाग्दैन। बस् यति लेखिरहँदा अब मलाई जिन्दगीमा केही चाहिँदैन। भगवान पूज्ने बानी छैन, सायद भरोसा मरेर होला। यदि छन् भने मलाई म फिर्ता देऊ न। मलाई फेरि हाँसिरहने मजस्तै बनाइदेऊ न है।
यदि पाएँ भने मभित्र भएका पीडाहरू अलि कम हुन्छन् कि। बस् मलाई स्वतन्त्र आकाशमा उड्ने चरी जस्तै बनाइदेऊ, बाँकी सारा खुसी म आफै खोज्ने छु। त्यो उराठ लाग्दो रात अनि निद्राको घमण्ड तोड्ने छु। निद्राले नै भनोस् न, मैले हारेँ अनि तिम्रो जित भयो। मलाई यही समयदेखि बधाई अनि बिदार्इ गरेस् न अनि मात्र त्यो दिन मेरो जित हुनेछ।