म पाखोबारी
मैले जीवन दिन छोडेको पनि वर्षौं भएछ।
एक बिहानै
केही थान मानव पैतलाहरू
मेरो फेरो भएर आँठैआँठ सिरान उक्लिए
मैले सर्याकसुरुक सुनेँ!
मेरो सुरक्षा गरी
वर्षौंदेखि सिरान उभिएको
बैदराले पनि सुनेछ र भन्यो-
हेर त हेर, हेर न पाखोबारी
आज त बर्जु आएछन्
अहँ पत्याइनँ!
वर्षौं अघि बिर्सिएर मेरो गुन
मेहनतलाई दु:ख सम्झेर
बँझ्याएर मलाई कठैरा
दुला पसेका मेरा बर्जु
यस्तो बैराग्य लाग्दो ठाउँ किन फर्किन्ते र!
बैदारो- तिमी झुक्कियौ कि!
पाखोबारी,
हेर न, कमसेकम एकफेर त भाल
यी हाम्रै बर्जु हुन् क्या, पक्का हुन्।
यो कुल्छेँडो भएर
धेरै पैतलाहरूले बाटो नापे
हिँड्ने मध्ये कतिले
बिना फक्कैमा धाइरा गेँडे
कलिलो साललाई हरिस काटे
तिल्काका बेदा मुडाए
खएर खरिद्ने पनि आए
मेरो फेँद क्वाँकेर खोँटि चाट्ने त कति हो कति!
ती सबै हाम्रो वैश लुट्न त आएका थिए
तर जो आएको छ आज
हेर त, हेर न हेर नियालेर हेर
उसको हाउभाउ हेर
जो धेरैबेर उभिएर तिम्रो छेउ
एक चुम्की माटो लिएर हत्केलामा
एककोहोरो हेरिरहेछ तिमीमा
आफ्नो विगत र
टोल्याइरहेछ बुट्यानहरूमा तिम्रो हरिकति!
यसैले पाखोबारी
तिमी हामीलाई मुसारेर माया रुने
यी त खसोखास हाम्रै बर्जु हुन्
बरु एक आखर बोलाएर हेर!
बैदाराको आग्रहले
म पाखोबारी झस्किएर बोलाएँ-
बर्जु, ए बर्जु
के तिमी मेरा आफ्नै बर्जु हौ?
हेला, बेवास्ता र खडेरीले हरिकती भएकी मैले
ठम्याइनँ
मलाई माफ गर है बर्जु
म त मान्छे नचिन्ने भएकी छु।
हुन पनि तिमीले छोडी गएको
वर्षौं भएछ
तिमीले छाडेको वर्ष बाँझै रहेँ
र पनि आशा राखेँ
तिमी आउँछौ कि अर्को वर्ष
अहँ आएनौ!
बर्जु त्यसै वर्षदेखि
म रोगी भएकी हुँ
हेर त आज त चिनिनै नसक्ने गरी
झाडी भएछु।
तिमीले छोड्यौ भन्ने थाहा पाएपछि
जङ्गलहरू मलाई हेरेर खित्किन थाले
खयरहरू मै भएतिर बसाइँ सरे
वनमाराहरूले घेराबन्दी गरे
बँदेलहरूले मेरो छातीमा दुला खोले
बाँदरहरू मेरो पिठ्युमा आँगन बनाएर नाच्न थाले।
बर्जु तिमीले छोडि गएपछि
म त जङ्गल भएछु।
बर्जु तिमीलाई केही सोध्नु पो थियो कि मसँग
सोध,
धित मर्ने गरी सोध।
यी झाडीहरूको दैनिकी सोध
बगि गएको माटो सोध
भत्किएको तिमी आउने बाटो सोध!
यदि सोध्छौ भने बुट्यान् कालिगेडी-
तिमी बसाइँ सरेपछि यहाँबाट
ती बसाइँ सरेका हुन यहाँ वनबाट
अरु सोध न सोध
म नबोलेरै भन्नेछु आज!
मलाई खोल्स्याउने भल र
उकुसमुकुस पार्ने खयर घारी पनि सोध
बर्जु, आज मलाई पोखिन देऊ
के थाहा तिमी अन्तिमपल्ट भेट्न पो आयौ कि आज!
हेर बर्जु त
रुन पो थालेछन्
भो नरौ, बरु म बोल्दिनँ
सुन्छु, सुनाऊ तिम्रा कुरा
तिम्ले नसोधे पनि धेरैथोक सुन्नु छ मलाई
यसैले नरौ, तिमीले मेरा प्रश्न बोल्नु छ।
बर्जु भन न
मेरो स्यारसुसार गर्ने तिम्री आँबैको हाल कस्तो छ?
बिहान-बेलुका ढुङ्गा चहार्ने र झार गोड्ने
बाको खबर कस्तो छ?
अनि तोतेबोली बोल्दै-
सिठा सल्काएर मेरो छातीमा
चँक्रासे खेल्ने भाइको दैनिकी कस्तो छ?
भन न
मेलै सरी इहि वृत्तान्त भन
मलाई यस्तो हालतमा छोडेर
फेरिएको तिम्रो जीवनशैली कस्तो छ?
सुरुसुरुमा तिम्ले छाडि गयौ भन्ने पत्याइनँ
मैले त उ तलको गौँडो हेरिराख्थेँ
र सेरोफेरोलाई सगौरव बताउँथेँ
एकदिन मेरा बर्जु पक्कै फर्किन्छन्
ती भोक सम्झेर आउँछन्
सन्तान हुर्काउन मैले खेलेको देन सम्झेर आउँछन्
मेरा बर्जु, मेरा विश्वास
तिमी आयौ, समय घर्किएपछि आयौ
मैले केही दिन नसक्ने भएपछि आयौ
खैर सम्झेर त आयौ
पुग्ने गरी आयौ।
अब एकैछिन बस
झाडी पन्छाएर बस, धार्जै बस!
उबेला जस्तो थ्याँच्च बस्न रातिमाटी छैन
ती बुट्यानले खाए
आँठोका सोभा दुवोहरूलाई-
भारतले सुस्ता खाए जसरी
बक्सिनी काँडाले खाए
त्यसैले बर्जु
अप्ठ्यारो नमानी जस्तो छ गुजारा बस।
बसाएर तिमीलाई
अङ्गालो हालेर आज
वर्षौंको कलेस रुनु छ।
आऊ एकैछिन बाल्ख बाँचौं
बर्जु म पाखोबारी
ऊ बेला प्यारो थेँ सबैको
डाहाले हेर्थे छिमेकीहरू
म थिएँ पनि त्यस्तै!
उबेला स्याहार दिँदा तिम्री आमैले
उरिमभरि मकै दिन्थे
आकाशले झरी दिँदा
गहत, कोदो र फापर दिन्थे- छेलोखेलो
र दिन्थे तिम्रा भैँसालाई
पेटभरि घाँस!
त्योभन्दा पनि धेरै, बर्जु तिम्रो परिवारलाई जीवन दिन्थें
तर हिजोआज
म अस्तित्वको सिनारियोबाट फेजआउट भैसकेँ।
अहो,
गफैगफमा भुलाएछु तिमीलाई
सूर्य पनि अस्ताएछ
अब जुनकिरीहरू आउँछन् गीत गाउँदै
र बँदेलहरू बास खोज्दै आउँछन्
त्यसैले तिमी
ती आउनुपूर्व जानुपर्छ
सुस्त-सुस्त जानुपर्छ।
बरु जाँदाखेरी
यो माटो उपहार लैदेर जाऊ आमैलाई
दिएपछि भन्नू
आमै, यो तिमीले हुर्काएको पाखोबारी हो
लौ यो कुटुरो, सिरानीमा राख्नू।