त्यो रात यति भयंकर थियो कि, घना जंगल, अनवरत चलिरहेको वर्षा र आँधिबेहेरीका कारण सडकमा न त सेन्सरले बत्ती नै बाल्न सकिरहेको थियो न कसैको हातमा एक जस्केलो मात्र हुन सक्थ्यो जसले थोरै भए पनि बाटो देखाओस्!
भारी वर्षाका कारण सडक अवरूद्ध भयो। बीच सडकमा अचानक गाडीको इन्जिन बन्द भयो र रफ्तारमा विपरीत दिशाबाट आइरहेको गाडीसँग ठोक्कियो।
यतिबेला मैले अकास्मात कसैको दर्दनाक चिच्याहट सुनेँ- 'गुहार गुहार!'
'ऐ... या, …. म... रें! पा …नी! केही छिनपछि त्यो आवाज बन्द भयो।
एकछिनपछि कसैले पछाडिबाट चिच्याउँदै भन्यो- 'कोही हुनुहुन्छ?? कृपया रोकिनु होला; यहाँ गाडी दुर्घटना भएको छ …...!'
मलाई सपना हो कि विपना जस्तो लागिरहेको थियो।
यतिबेला दिउँसोको ३:०० बजेको काम सकेर म कोठामा फर्किरहेको थिएँ। मलाई केही अप्ठ्यारो महसुस भइरहेको थियो। त्यसपछि मेरो आँखा रातो बत्तीमा पर्यो। जतिबेला म सिड्नी सहरको अति नै व्यस्त सडकको इन्टरसेक्सनबाट गुज्रिँदै थिएँ।
केही छिनपछि स्टप साइनको ६०- १०० सेकेण्ड बित्दा नबित्दै मेरो पछाडिबाट कसैले चर्को रूपमा गाडीको घण्टी बजायो। म उसको गालीमा तर्सिनु अचम्म थिएन। लगत्तै मैले गाडीको एक्सिलेटर थिचेँ। मेरो गाडी ११० को रफ्तारमा अगाडितिर हुत्तिइरह्यो।
केही समयपछि म कोठामा पुगेँ। रातिको काम गरेर सुतेको मेरो कोठाको साथी, सारुग बेलुकीको काममा जानुपर्ने भएकाले उठिसकेको थियो।
उसले मतिर हेर्दै भन्यो- 'पार्थ तैंले आज घरमा पैसा पठाइस् त?'
म केहीछिनसम्म नबोलेको देखेर उसले भन्यो- 'पार्थ तैंले नै भनेको होइनस् त घरमा पैसा पठाउनु पर्छ भनेर! अनि तेरो कामबाट पैसा आयो नि!'
मैले यसपालि टाउको मात्र हल्लाएँ- 'अँ!'
सारुगले सोध्यो- 'अनि तेरो कलेजको पछिल्लो सेमिस्टरको फी तिरिस् त?'
'छैन! यो पटक पुगेन अर्को हप्ता तिर्छु।'
ऊ अझै रोकिएन- 'अनि तैंले औषधि पनि खाइस् त?'
'कस्तो औषधि? केको औषधि?? मलाई के भएको छ र ??, मैले आफैंलाई मनमनै प्रश्न गरेँ। सायद उसले मेरो मनको बात बुझ्यो क्यार।
सारुगले भन्यो - 'अब औषधि नखाएर पनि हुन्छ त?'
'माइग्रेनको औषधि कति खानु?'
उसले मेरो टाउको सुम्सुम्याएर भन्यो- 'ल ल रेस्ट गर्दै गर। मेरो काममा जाने बेला भो। भोलि दिउँसो फेरि यही समयमा भेटौंला!', मैले हुन्छ भनेर सावर रूमतिर लागेँ।
केहीबेरको नुवाइधुवाइ गरिसकेपछि किचनमा पसेँ। आज खाना पकाउने पालो मेरो थियो। दाल भात, तरकारी बनाएँ। केही कुखुराको मासु ग्रिलमा हालिदिएँ।
'...भोलि फेरि कलेजपछि काममा जानुछ, एसाइन्मेण्ट पनि गर्नुपर्छ। फेरि कलेज गएन भने पढाइ बिग्रन्छ, काममा गएन भने खाने बस्नेको ठेगान हुँदैन। फेरि कलेजको फी कसरी तिर्ने? सधैं कसरी हजुरहरूलाइ पैसा पठाउने?'
'यहाँ कसलाई दु:ख छैन भन्नु? काम गरे पनि दुखै छ, नगरे पनि दुखै छ। अझ नराम्रो कुरा त काम पाएन भने दुखको कहानी अर्कै छ। पढेर आएँ पनि पनि कहाँ सजिलो हुँदो रहेछ र सीप सिकेर नआएसम्म। विदेशमा पढाइसहित व्यावहारिक सीप र अनुभवको पनि उत्तिकै महत्व हुन्छ। सीप नसिकेसम्म, अनुभव नभए पनि काम पाउन पनि सजिलो छैन। अब काम पाइएन भनेर पनि कसलाई भन्नु? कति भन्नु? यो व्यस्त सहरमा सुन्ने पनि कसलाई फुर्सद छ र? कसैले सुनेर पनि के गर्नू? पैसा बोटमा फल्ने होइन। तर यहाँ धेरैले पैसा पनि नकमाएका होइनन्। सफल र सुखी पनि नबनेका होइनन्। हाम्रो जस्तो मुलुकबाट आएपछि अक्सर सबैले जिरोबाटै सुरू गर्नुपर्छ। सबै भनेजस्तो हुन सबैको परिस्थिति पनि एउटै नहुन सक्छ। यसमा हजुरहरूले केही कुरा भए पनि बुझ्नु पर्छ.!' (हाम्रो अर्को साथी, आदित्य लगातार गन्गनाइरहेको थियो! सायद घरपरिवारसँग कुरा गर्दै।)
खाना खाएर बेडमा पल्टिरहेको थिएँ। पटक्कै निद्रा लागिरहेको थिएन। टेबलबाट ट्याब्लेट लिएँ।
मेरो कानमा डाक्टरको कुरा गुन्जिरह्यो– 'पहिलो कुरा त आफूलाई हेर्नुपर्छ तपाईंले कामलाई नै मरिहत्ते गर्नु भएन मेरो सल्लाह मान्नुहुन्छ भने अहिलेको लागि पार्टटाइम गर्नुस्। केही समय रेस्ट गर्नु होस्। बाहिर कफी खान निस्कनुहोस्। आफन्तजन परिवारसँग कुरा गर्नु होस्। साथीभाइसँग केही समय रमाइलोसँग समय व्यतित गर्नुहोस्।'
१२ बजेसम्म पनि नसुतेको देखेर अर्को कोठाबाट अनमेसले मलाई केही अप्ठ्यारो मान्दै सोध्यो- के भयो? किन यताउता गरिरहेको; आर यू ओके?'
मैले भनेँ – 'होइन मित्र आज निद्रा लाग्न अलिक गाह्रो भयो।'
अर्को दिन काम सकेर कोठामा फर्किसकेको थिए। रात पनि पर्न आँटेको थियो। जाडोको महिना यस्तै हुन्छ क्यार। चिसै भए पनि बरण्डाबाट र सडकलाई नियालेँ। सडकमा गाडी कुदिरहेका थिए। पर ट्रेनको आवाज पनि द्रुत गतिमा सुनिँदै थियो। मेरा आँखाहरू टक्क अडिए। मलाई भने अरू केही भइरहेको भान भइरहेको थियो।
त्यतिकैमा एम्बुलेन्स पनि आयो। अपर्झट पुलिसको साइरन बज्यो। कसैको आवाज आयो-रोक्नुहोस्, त्यहाँ कार दुर्घटनाबाट कसैको मृत्यु भएको छ।
मलाई फेरि केही अप्ठ्यारो महसुस भयो। आँखा धमिलो भइरहेको, मुख सुकिरहेको, शरीर कापिरहेको, एक किसिमको डरको जस्तो अनुभव भइरहेको जस्तो भयो। केही ठम्याएको या नठ्म्याएको अवस्थासम्म कोठामा पुगेँ र हातमा फेरि औषधिको पत्ता लिएर किचन पुगेँ।
आदित्यले भन्यो - तिमीले धेरै स्ट्रेस लिन्छौ जस्तो लाग्छ है मलाई! यो ठाउँमा सबैलाई गाह्रो हुन्छ। धेरै चिन्ता नलिऊ। चिन्ताले चिता पुर्याउँछ भने तिमी युनिभर्सिटी जाने मानिसलाई सम्झाउन पनि नपर्ला नि फेरि!'
यस्तै यस्तै गरेर समय पनि बित्दै थियो।
एक दिनको कुरा हो। कलेजमा थिएँ। मेरी कलेजकी सहपाठी पनि कलेजमै थिइन्। सहपाठी भन्नुपर्दा पनि मेरो नजिककी साथी। त्योभन्दा पनि मन मिल्ने साथी। उनले मलाई असाइन्मेन्ट लिएर दिँदै भनिन् - 'पार्थ तिमी काममै बिजी भएछौ। मलाई भने पनि हुने नि! असाइन्मेन्ट गर्न भ्याइनँ भनेर।'
उनले फेरि दोहोर्याएर भनिन्- ए! तिमीले यस वर्षको फी पनि तिरिसक्यौ? तिरेको छैनौ भने भन है! यसपालि पनि केही सहयोग गरूँला। केही सहयोग साथीभाइसँग पनि मागुला!'
'होइन,होइन तिमीलाई मात्र कति दु:ख दिनु! अनि तिम्रा साथीहरूले पनि तिमीलाई कति पटक मागेकी भन्लान्! सहयोग एक पटक पो हुन्छ! सधैं पनि तिमीसँग कति सहयोग माग्नु नि!', मैले सारिकालाई सम्झाउँदै भनेँ।
'तिम्रो आफ्नै काम, पढाइ, साथीभाइ, यस्ता कुराले तिमीलाई अत्याउँदैन भन्या?,' मैले यसमा अलि बढी नै प्रतिक्रिया गरेछु क्यार, उसले छक्क पर्दै भनी- 'पार्थ तिमीले यो के भनेको? अनि तिमीले मसँग कतिपटक सोध्यौ र भन्या?'
उसले मलाई आश्चर्य मान्दै जवाफ दिई- 'मैले तिमीलाई अहिलेसम्म दुई पटक त हो नि हेल्प गरेको हो!
उसले अलिक आश्चर्य मान्दै भनी- 'अनि तीन महिना अगाडि तिम्रो गाडी एक्सिडेन्ट पनि भएको होइन? बिर्सियौ र?' अनि त्यसबेला तिमीले नै भनेको होइन, नेपाली हुनु यसैमा गौरव छ भनेर। तिम्रो आकस्मिक उपचारको लागि यहाँका नेपालीहरूले गरेको सहयोग देखेर मेरा साथीभाइ र नेपाली भएर बाँच्नुमा मलाई गर्व छ भन्दै भिडिओ नै बनाएर फेसबुक र टिकटकमा सेयर गरेको होइन?'
मैले हाँस्दै जवाफ दिएँ- 'अब मैले आफ्नै एक्सिडेन्ट भएको पनि बिर्सन सक्छु त लाटी?'
'अनि के त? के ट्वाल्ल परेर हेरेको?' सारिकाले यसपालि किन हो गालै निमोठेर भनिन्। म अक्क न वक्क भएँ। उनको औंलाको चिह्न र न्यानो स्पर्श मेरो गालैमा थियो।
आधा लाज र आधा खुसीले हात मुखमा राख्दै जवाफ दिएँ- ल ल भैगो तिमीलाई कुरा गर्न पनि आउँछ है।
'ल जाऊँ हिँड आज पनि मिठो नेपाली म:म, चाउमिन खाने', अनायसै मैले उनको हात समातेँ।
हामी खुसी हुँदै टाउनहल तिरबाट सेन्टर्लतिर लाग्यौं।
मैले भनेँ- 'आज मैले तिमीलाई साँच्चिकै तिमीले मनपर्ने रेस्टुरेन्टमा लान लागेको नि!'
'तिम्रो मुग्लान्, नेपाली रेस्टुरेन्ट!'
***
सारिकासँग नजिकिएको पनि एक वर्ष बितेछ।
हामी हार्बर बिर्ज हुँदै ओपेराको नजिकमा कफी गफ गरिरहेका थियौं। सारिकाले मलाई जिस्काइरहेकी थिई!
'भव्य र अदभूत सुन्दर वास्तुकलाकी रानी ओपेरालाई छाया पारेर हरियो, नीलो पानीको सुन्दरतामा हराउँदै एक ह्याण्डसम एण्ड बोल्ड मानिससँग कफी गफ गर्नुको मजा छुट्टै!',
यत्तिकैमा एक २५-२६ वर्षीया लाग्ने युवती उमेर छिप्पिएको बुढासँगै ओठमा ओठ जोडेर अंकमालमा कस्सिएकी थिई। सारिकालाई भने केही अप्ठ्यारो लागेछ क्यारे! पछाडि फर्की!
केही छिनपछि एक वयस्क युवती र वयस्क युवा कोरिडोरमा छिरे। लाग्यो सायद तिनीहरू एसियन हुनुपर्छ। यतिबेला भने सारिकाले कुनै अप्ठ्यारो नमानी भनिदिई- 'पार्थ! आजकलको माया यस्तै हुन्छ रेन्त!'
मैले त यस्तै सुनिरहेको थिए- पार्थ के तिमीलाई थाहा छ आजकलको माया फेसन हो रे नि त!
'हिजो भर्खरै एक विवाहित जोडीको डिभोर्स भयो रे।'
'भन्नेले भने रे। जब पैसा छ, सुन्दरता छ, अनि वैंश र बल छ त्यसैमा माया ढकमक्क फुल्छ रे! आजकलको माया मुना मदनको जस्तो, लैला मजनुको जस्तो, रोमियो जुलिएटको जस्तो हुँदैन रे! अनि जब रूप, रंग, जवानी, सुन्दरता ढल्छ माया पनि त्यसरी नै ओइलिन्छ अरे।'
ती दुवै अधबैसे जोडीहरू सर्कुलर क्वेको एक होटलको कोरिडोबाट बाहिर निस्के। म जिल्ल परेँ।
उसले फेरि भनी- त्यसो त हामी रूप, रंग, जवानी, पैसा, बल र वैंशलाई हेरेर माया लगाएका पनि होइनौं पार्थ? माया भन्ने आफैं हुन्छ होइन त पार्थ! (यतिबेला सारिकाले मेरो काँधमा बलियोसँग हात राख्दै भनी- 'पार्थ! कि तिमीले आजकलको आकर्षण या त्यो के भन्छन् नि पर्फ्यूम लभ भनेर मलाई त माया गरेका होइनौ नि!'
'सारिका ठट्टा गर्नुको पनि हद हुन्छ नि!' मैले भने- 'के हो नि त्यो पर्फ्यूम भनेको? मैले नबुझे जस्तो गरी भने अनि म पर्फ्यूम लभमा देखिन्छु सारिका? असली मेनहुडको पनि इज्जत हुन्छ नि!'
'अनि तिम्रो त्यो अर्गानिक, नेचुरल लभ भनेको के हो नि? गुलाबी रंगको गडलिभिङ माया!' सारिकालाई योभन्दा अरू चाहिएकै थिएन। उसले हाँस्दै प्याट्ट गालामा हानेर भनी- 'धत लाटा मैले त तिमीलाई जाँच पो गरेको!
'अब आई लब यू नभनिकन, फूल पनि भगवानको समीप नचढाइकन के माया पनि पुग्छ त भन्या मनको मन्दिरमा? चढाउनु पर्यो फूल मन्दिरमा अनि गुलाब पनि लिएर टक्र्याउनुपर्यो नि अर्ग्यानिक मायामा!'
सारिकाले आज खुलेरै भनिदिई- 'पार्थ अर्को दिन आउँदा गुलाब होइन, गुलाबको मुटु लिएर आउनु! म पर्खी बस्छु- मुग्लानमा!
पर्सी मेरो जन्मदिन हो!
***
आज पनि मेरो अप्वाइन्मेट रहेछ। खै किन आज पनि मलाई गाडी चलाउन मन लागेको थिएन।
मैले आदित्यलाई अनुरोध गरें- 'तिमी काममा जाँदा मलाई १५ मिनेट सम्मको बाटोमा लगेर छोडिदेऊ है। ट्रेनमा जाऊँ भने पनि स्टेसनबाट आधा घण्टा लाग्छ। क्लिनिकमा नै पुर्याइदिनु पर्दैन। म त्यहाँबाट आफैं हिँडेर जान्छु।'
आदित्य केही असमन्जसमा पर्यो।
एकछिनपछि उसले भन्यो- हुन्छ किन १५ मिनेटको बाटोमा नि! त्यहीँ पुर्याइदिउँला नि। हुन्छ किन १५ मिनेटको बाटोमा नि! त्यही पुर्याइदिउँला नि! त्यत्ति पनि नगरे त रूम पार्टनर भएको पनि के काम लाग्यो र?
उसले खुलेर भन्यो- 'अस्ति म मेरो गाउको भाइलाई भेट्न हस्पिटल गएको थिएँ क्या। १८ वर्षको कुलतमा फसेको रहेछ। त्यसपछि त झन् काम र कलेज दुबै गएछ। डाक्टरले कडा खालको डिप्रेसन भएको छ भनेका थिए रे: यता पछि सबैले थाहा पाएछन्। पागल भनेरे! केही समयपछि थाहा भयो- उसले त आत्महत्या गरेछ।'
मैले भनेँ- 'बिचरा!'
मलाई के गरूँ, के नगरूँ जस्तो भयो।
मैले अपर्झट गाडीकौ चाबी लिएर भनेँ- म त भुसुक्कै भुलेछु साथी। आधा घण्टा पहिलेको एपोइन्मेन्ट रहेछ। गाडी लिएर हुँइकिएँ। मडारिएको आकाशतर्फ हेरेर भनेँ आज म घरमा फर्कंदा हुरी बतासको रात नपरोस्!
यसपालि डाक्टरले मलाई काम र पढाइ नै छाडेर आराम गर्नु भनेर भन्नुभएको थियो। सारुगलाई भने यतिबेलासम्म मलाई नराम्रोसँग सन्चो छैन भन्ने कुरा राम्ररी थाहा भइसकेको थियो। म पनि हेल्थ सेक्टरकै विाद्यार्थी भएकाले मलाई भएको बिमारीमा धेरै थोरै ज्ञान नहुने कुरा भएन।
मेरो ब्याचलरको दोस्रो वर्ष पनि सकिँदै थियो डाक्टरको औषधिको ट्रायल पनि चलिरहेको थियो। मलाई के भएको हुन सक्छ र यसको बारेमा म कति सजक हुन सक्छु भन्ने कुरा त थाहा हुनु नर्मल कुरा हो त्यसैले पनि कोठामा साथीहरूले मेरो बिमारीको बारेमा अरू खोजीनीति नभएको हुन सक्छ भन्नेमा म विश्वस्त हुन सक्छु!
सारुगले सम्झाइरहेको थियो- मानिसलाई हल्का डिप्रेसन हुन सक्छ, औषधि खानु पर्यो भने पनि हाम्रो समाजले हेर्ने दृष्टिकोण छुट्टै छ। डिप्रेसन र एन्जाइटी जस्ता कुरामा पनि नानाथरीका कुरा आउँछन्। मानिसले गर्ने शंका उपशंका र पागलपनका विभिन्न नामहरू त छँदै छन् तिमीलाई पनि थाहा छ। हामीले पढ्ने फार्मेसीमा पनि यसको धेरै थोरै ज्ञान हुन्छ, मेरो रुम पार्टनर, सारुगले मेरो हात पक्रँदै भन्यो।
सारुगले अरू सम्झाउँदै भन्यो- 'तिमीले पनि यसलाई राम्ररी लिएका हुन सक्छौ भनेर म विश्वस्त छु। अनुसन्धानकर्ताहरूका तथ्यहरूमा पनि मानसिक रोग खास के कारणले लाग्छ भन्ने अहिलेसम्म १०० प्रतिशतसम्म पत्ता नलागे पनि धेरै कुराका कारण हुन सक्छन् भनेर पत्ता लागिसकेका छन्। मानिसहरूलाई यो रोग ठ्याक्कै के कारणले भयो र उपचार पनि मुटु रोग, क्यान्सर र ट्युमरमा हुन्छ भनेर जस्तो गरेर पत्ता लगाउन भने सकिँदैन। त्यही भएर पनि होला तिमीलाई डाक्टरले औषधि फेरिदिएको फेरिदियै हुनुहुन्छ! बिरामीलाई कुन औषधिले सुट हुन सक्छ, बिरामीलाई मानसिक रोग कुन कारणले यो हुन सक्छ भनेर उसको इतिहास, वंशाणु, मस्तिष्कको रासायनिक अवस्था वा सामाजिक, आर्थिक वातावरणीय अवस्था, प्राकृतिक वा कृत्रिम विपद्, युद्ध , हिंसा इत्यादि यी सबै नजानीकन मेन्टल रोगको उपचारमा यकिन गर्नु गलत हो भन्ने पनि तिमीलाई धेरै थोरै थाहा छ।'
यतिन्जेल पनि नबोलेको देखेर सारुगले अवाक हुँदै भन्यो- 'पार्थ! म बुझ्छु तिम्रो पीडा, तिमी किन डाक्टर जान मान्दैनौ? किन हस्पिटल बस्न मान्दैनौ? तिम्रो यो सामाजिक उचाइ, पढाइ र यही समाज र वातावरणमा ढुक्क र सम्मानित भएर अरू जस्तै, अरू रोग लागेका मानिस जस्तै गरी बाँच्न पाउँदिनँ कि भन्ने तिमीलाई लागेको छ। पार्थ तिमी जस्ता होनहार विद्यार्थीले त आत्मसंयम गुमाउँदै गयौ भने अर्धशिक्षित, ढोंगी या मुर्ख र बुद्धिहीन, ज्ञानहीन मानिसलाई के भन्ने?'
मलाई भने यतिबेला केही ढाडस मिल्यो।
उसले भन्यो- पार्थ मलाइ यो पनि थाहा छ तिमीले सारिकालाई किन पर्पोज राख्ने आँट गरेनौ? यहाँसम्म कि तिमीले उनलाई माया गर्छु भन्ने लाग्दालाग्दै पनि मायाको अभिभारा र दायित्व पनि पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने स्थितिको क्लेसभित्र मायाकै आभास पाउँदा पाउँदै पनि किन तिमीले त्यो मायामा बाँचेनौ भन्ने यो पनि मलाई राम्रोसँग थाहा छ।
तिमीले किन सारिकाको लागि यतिधेरै सम्मान र विश्वास हुँदा हुँदै पनि किन उनीसँग नजिकिन डरायौ तिम्रा यी बलिया काँध र हृष्टपुष्ठ शरीर अनि यति सुन्दर र शौम्य चेहरा हुँदाहुँदै पनि आफूलाई किन यति धेरै कमजोर सोच्यौ भन्ने कुरा न यो सारिकालाई नै थाहा भयो होला या तिमीलाइ नै पूरा आभाष!'
हो पार्थ! आज मैले भनेको मान। आज तिमीलाई यस दुनियाँको वास्ता होइन, हस्पिटलको बेडको आवश्यकता छ। कसैको आड, भरोसा, साथ र सहयोगको चाहिएको छ। आज तिम्रो समीपमा लड्ने म छु पार्थ! मलाई भरोसा गर, सारुगले हात जोडिरहेको थियो।
***
हामी हस्पिटल आएको पनि दुई हप्ता बितिसकेछ। म ब्युँझिँदाखेरी सारिका मेरो पासमा गुलाबको गुच्छा समातेर सुतिरहेकी थिइन्। म यतिबेला सेन्टजर्ज मानसिक हस्पिटलको बेडमा सुतिरहेको थिएँ।
मैले सकिनसकी विस्तारै सारिकाको कपाल सुम्सुम्याएर भनेँ- 'सारिका म गलत रहेछु। तिमी साँच्चिकै अर्ग्यानिक माया रहिछौ। मैले त तिम्रै शब्दको सापटी लिएर भन्नु पर्दा आजकलको देखावटी माया जस्तै हाम्रो माया टुटेर जाने हो कि भनेर तिमीलाई अनाहकमा आशंका गरेँ। मलाई माफ देऊ सारिका! '
तर सारिका निदाएकी रहिनछन्। उनका दुबै आँखामा आँसु ढिल्पिरहेका थिए।
'धत लाटा अर्ग्यानिक मायामा त्यस्तो पनि हुन्छ त तिमीले आफ्नो सनातन हृदयमा एक पटक सोध्नु पर्ने थिएन? के माया र समर्पण पनि राम्रो हुँदा साथ र नहुँदा पर हुन्छ र?'
त्यसपछि उनले मलाई झम्टेर अंकमाल गर्दै भनिन्, 'तिमीले मलाई एकपटक पनि आफ्नो मनको बारेमा भनेको भए आज तिमी यो अवस्थामा हुने थिएनौ कि पार्थ!'
'हो पार्थ, तिमीले राम्रो हुँदा आफ्नो र नराम्रो, कमजोरी हुँदा बित्तिकै पराइ भनेर छोडिदिने यो समाजको अगाडि हिम्मत गर्नुपर्ने थियो पार्थ! 'हो म पनि स्वास्थ्य क्षेत्रकी तिम्री सहपाठी या प्रेमिका या साथी आज तिम्रो लागि पनि तिमीसँगै लड्ने आँट गर्ने थिई। मलाइ माफ गर पार्थ। तिमीलाई बुझ्न सकिनँ। तिमी किन यति धेरै साइलेन्ट थियौ भन्ने कुरा मैले थाहा पाउन सकिनँ।'
यति भन्दै गर्दा यत्तिकैमा सारुग पनि आइपुग्यो। भन्दै थियो- पार्थ! तिमीलाई यो पनि थाहा छ मानसिक रोग लाग्दैमा सबै पागल बन्दैनन्! औषधि, थेरापी, साथ सपोर्ट पाएको खण्डमा यो रोग छिटो सन्चो पनि हुन सक्छ र औषधि खाएरै पनि कति मानिस काम, अफिस, पढाइ यो सब गरिरहेका छन्। यतिसम्मकी केही डिस्यावलिंग अवस्थामा गएकाहरूबाहेक धेरैजसो सिजोफ्रेनिया र साइकोसिस, वाइइपोलरबाट पागलपन जस्ता कडा खालका मानसिक रोगीहरू डाक्टरको निगरानीमा काम, पढाइ गरिरहेका छन्।
मलाई सिजोफ्रेनिया भन्नासाथ करेन्ट लागेर आयो। म हत न पत्त उठ्न खोजें। मेरा आँखाहरूमा तिनै दृश्यहरू नाचिरहे। त्यो एक्सिडेन्ट! त्यो कालो रातको दर्दनाक आवाज? मेरो भयंकर सपनामा दौडिरहने एक बच्चा?
एक्कासि मेरो मुख सुक्यो। पसिना छुट्यो मेरो वरिपरि त्यही कालो रातको सम्झना आयो। त्यहाँ मरिरहेका लासमाथि छरपस्टिएका रगतका छिटा … एम्बुलेन्स, प्रहरी, मानिसका भीड। या जंगलको बाटो, एक दुस्वप्न घटना! म ढलें - सारिकाले पानीको बोतल समाउँदै नर्सको बेल बजाइन्- डाक्टर डाक्टर! पार्थ फेरि सकमा जानुभयो - मैले मधुरो आवाज सुनें। उनको सुकसुक आवाज, केही स्पर्श, केही सुम्सुम्याई ……...!
म स्वप्न या विपनाको अवस्थामा गुज्रदै थिएँ। मैले सकिनसकी आँखा खोलिरहेको थिएँ। त्यहाँ मैले कोही बोलिरहेको सुन्दै थिएँ। फेरि त्यही आँधिबेहोरी र चड्कनीले भरिएको रात! सडकमा अकस्मात ढलिरहेका बिजुलीका पोल निभिरहेका बत्तीहरू! कोही बोलिरहेको! गाडीको भंयकर रूपमा रोकिएको आवाज! एक हरर मूभीको जस्तो झलक।
मैले सुनेँ र सुन्दै गइरहेँ। त्यो रात साँच्चिकै विशाल पानी परिरहेको थियो। घनघोर रातमा चड्कनी परिरहेको थियो। हावा र हुरीले काठमाडौंका वरिपरिका सडकका बत्तीहरू पनि निभिरहेका थिए। त्यहाँ साँच्चिकै एक दर्दनाक दुर्घटना भइरहेको थियो। त्यहाँ कोही दम्पतीको शरीर रक्ताम्य थियो। एक बालक सडकको बीचमा बसेर यी सब हेरिरहेको थियो। भोलिपल्ट कसैले त्यहाँ एम्बुलेन्स र पुलिसलाई फोन गरिरहेको थियो!
मैले सुन्दै गइरहें मेरो शरीरमा कम्पन उठिरहेको थियो। मेरा औंला कापिरहेका थिए। टाउको यताउता ढल्पलाइरहेको भान हुन्थ्यो मलाई नर्सहरूले समातिरहेका थिए। मलाई सारिका र सारुगले सम्झाइरहेका थिए। त्यहाँ केही डाक्टरहरू थिए।
'एकछिनपछि डाक्टर आएर भन्नुभयो - 'हो! पार्थ त्यहाँ रहेको मानिस तपाईं नै हुनुहुन्थ्यो र त्यसबेला तपाईं जम्मा साढे तीन वर्षको हुनुहुन्थो। बाबु आमाको दुर्घटनामा मृत्यु भएपछि अरू आफन्त कोही नभएकाले तपाईंलाईं उहाँले नै आफ्नो सन्तान बनाएर पाल्नु भएको थियो। यो कहिल्यै बताउनु भएन कि उनी तपाईंका असली मातापिता होइनन्! तर आज तपाईंलाई बचाउन आउने पनि उहाँ नै हुनुहुन्छ।
यी सबै कुरा सुनेर मलाई धर्ती नै फाट्ने गरी चिच्याउन मन लाग्यो। आकाशले नै सुन्ने गरी त्यही सानो बच्चा जस्तै डाँको छोडेर रुन मन लाग्यो। डाक्टरले यो पनि भन्दै गइरहे-
'तपाईंलाई सिजोफ्रेनिया (कडा खालको मानसिक रोग, जहाँ बिरामीले नभएको कुरा देख्छ, नभएको कुरा सुन्छ र अक्सर बिरामी हुन्छ) भएको छैन पार्थ!
'तपाईंलाई ट्रमा/ आघात भएको थियो र त्यही नसुल्झिएको रहस्य र ट्रमाको कारणले तपाईंको मनोवैज्ञानिक अवस्था तनावपूर्ण रहिरह्यो र अवचेतन दिमागमा यही कुरा दोहोरिरह्यो र तपाईं वास्तविक वा अवास्तविक चेतनाको आघातबाट गुज्रिरहनु भयो।
डाक्टरले भन्दै गइरहे- हो! पार्थ! तपाईंका धर्मदातालाई यहाँ बोलाउनुको अर्थ तपाईंको विगतको बारेमा पत्ता लगाउनु थियो। यस थेरापीको दौरान तपाईंको अवचेतन मस्तिष्क जब त्यस रातको घटनाको नजिक गयो। तपईकोा बुबाआमा चढेको कार, सडक, पुलिस या एम्बुलेन्स दुर्घटनाको भावनात्मक अवस्था, आशंका डर र सम्झनाहरूमा तपाईंलाई आज अरू विचलित र तनावपूर्ण अवस्थाबाट बाहिर निकाल्न सफल भएँ।
मेरा आँखाबाट आँसु बगिरहे, बगिरहे। मैले आफैंलाई विश्वास गर्न सकिनँ कि मैले सारुगलाई अंकमाल गर्दै भनेँ- 'हो! सारुग म एक किसिमको मानसिक रोगी हुँ! यो आफ्नै कारणले या कसैको कारणले, या परिस्थिति कारणले बन्न जान्छ भन्ने कुरा यी सब कुरा त म दुनियाँलाई बताउन सक्दिनँ तर आज म मेरा धर्म दाताहरूलाई विश्वास गर्न सक्छु कि उहाँहरू मेरा लागि एक भगवान सरह हुनुहुन्छ जसले मलाई कोखबाट जन्म नदिए पनि पहिचान र आफ्नो नाम दिएर यस देशसम्म ल्याइपुर्याउनु भयो र जसको माया र साथले मेरो मानसिक विशेषज्ञसँग मेरो थेरापी सम्भव भयो र म ट्रमाबाट बाहिर निस्कन सफल बनें। मैले विस्तारै उठेर माफी माग्दै गरेका मेरा धर्मपितालाई ढोक गरें र अंकमाल गरें। त्यसपछि सारिका अनि सारुगका साथै मेरो साइक्लोजिस्ट डाक्टरलाई अंकमाल गरें।
त्यति नै बेला - आदित्य मेरो अर्को रुम पार्टनर हातभरि फूलको गुच्छा लिएर आयो र भन्यो- हे! मेरो भाइ, मेरो साथी, तिम्रो युनिभर्सिटीको रिजल्ट आयो। तिमीले त कलेज नै टप गरेछौ। मलाई माफ गर मेरा मित्र! मैले तिमीलाइ हर्ट गरें!
यति नै बेला सारिकाले- हातमा गुलाब लिँदै भनिन्- हे! यार तिमी मसँग बिहे गर्छौ?