क्षणिकी
ए साथी ! आइज न, एकचोटि भेटौं र मन हलुङ्गो पारौं। जीवन भन्नु त स्मृतिको भारी मात्रै रहेछ। झन् पछि झन् गह्रुंगो, झन् पछि झन् गह्रुंगो। लाग्छ यी सबै स्मृतिहरूलाई झिकेर मिल्काइदिऊँ र जिन्दगीलाई खोक्रो बनाइदिऊँ, बाँसको ढुङ्ग्रोझैं।
तँलाई ‘यार’ भनेर बात नमारेको पनि धेरै भयो यार। साँच्चै मलाई बिर्सिएकै होस् कि मजस्तै जिन्दगीको तलाउमा खसेको होस्? न बग्छ, न उम्लिन्छ। त्यो केटाकेटी बेलामा हामीले आफैं बनाएका कोड भाषामा गाली गरेको, ठट्यौली गरेको पल कस्तो बिर्सिन नसकिएको हँ? गिलो सिमेन्टमा पन्जाको डामजस्तै कहिल्यै नमेटिने गरी कसरी छातीमा टाँसिएको? किन अन्तै लेखेर राख्नु पर्यो ती हाम्रा पार्सी कुरा?
हेर् साथी, जुन दिनदेखि तँ र म टाढियौं, त्यस दिनदेखि मैले कसैलाई ‘यार’ मानेर कुरा गर्न पाएको छैन। मेरो जिब्राको टुप्पामै झुण्डिएको त्यो शब्द अझै पनि फुत्त फुत्त बाहिर निस्किन मन गरिरहन्छ। तर सक्दैन। तँलाईजस्तै ‘तँ’ भनेर प्रियतम साइनो लगाउने, दुवै मन घोलिएको सर्बतजस्तो गुलियो, निकटतम साथी पनि कोही भेटिनँ। तँलाई छोडेका दिनदेखि मेरो सम्बोधन कुलीनतन्त्री भयो, ‘तिमी’ भयो, ‘तपाईं’ भयो, अनि ‘हजुर’ पनि भयो र औपचारिकताको मालाझैं मेरो गलामा झुण्डिन थाल्यो। तँ छुट्नु भनेको मेरा संवेदनाका पत्रपत्र उधारेर देखाउने साथी छुट्नु हो। जुठो बाँड्ने साथी छुट्नु हो। साथी अलग्गिनु भनेको सग्लो जीवन चिरा पर्नुजस्तै रहेछ।
म किस्ता किस्तामा हाँस्छु, किस्ता किस्तामा विनोदी हुन्छु। मेरो हाँसो र विनोदले वरिपरिका कसैलाई छुन्न। हिमाद्रीको कञ्चन जलझैं कलकल बग्ने विशुद्ध हाँसो एकचोटि फेरि हाँस्ने रहर छ। अचेल त हाँसो पनि प्रदूषित भएको छ। हृदयले हाँस्न बिर्सियो, फोक्सोले पो हाँस्छ अचेल मैलो हाँसो।
आइज न यार! एकदिन सँगै बसेर जूनको कान्तिजस्तो हाँसो हाँसौं। नत्र म यो निर्लज्ज हाँसोको बाफले उकुसमुकुस भएर ढल्न के बेर छ र?
आज फ्याट्ट फेसबुकमा तेरो एउटा तस्बिर देखेँ। फेसबुकको आयुभन्दा दोब्बर, तेब्बर या अझ बढी पुरानो। आँखा अडाएर हेरिरहेँ। समय दोब्रिँदै दोब्रिँदै पछाडि पुग्यो। स्मृतिका पनि नुनिला आँसु हुँदारहेछन्। त्यो मयल परेजस्तो श्यामश्वेत तस्वीरमा तैंले लगाएको कमिजचाहिँ मेरो हो नि? तँलाई सम्झना छ? एकदिन मोजाको भकुण्डो खेल्दै गर्दा तैंले भनेको थिइस्– तेरा लुगा यति राम्रा किन हुन्छन्? मलाई के थाहा? लाहुरमा मेरा बाले यति राम्रा लुगा कहाँ भेटाउँछन् ? हामीले भकुण्डो खेल्न कोरेको धर्काले हामीलाई लुगामा पनि विभाजन गरिदिएको थियो त्यसदिन । मैले त्यसबेला परिकल्पना गरेको मेरा बाको लाहुर, त्यति सुन्दर लाहुर, यो पृथ्वी तलमा सायद अहिले कतै छैन।
ए साथी! यस विशाल भूमितलमा धेरै थरिका नाउँ छन्, धेरै थरिका ठाउँ छन्। ग्राम पनि छन्, सहर पनि छन्। देश छन्, महादेश छन्। स्वदेश छन्, परदेश पनि छन्। एउटै धर्तीमा धेरैथोक छन्। भन् त तँ कहाँनेरको कुन सूक्ष्म बिन्दुमा फैलिएर बसेको छस्? मेरो घरको आँगनमा बकाइनाको रूखको छाया पार्दै गर्दा त्यो बाटुले घामले तेरा घरतिर के गर्दै गरेको हुन्छ? तेरो जून र मेरो जून दुई भाइ हुन् कि एउटै? त्यो जून अलि मुन्तिर भए म अँध्यारोमा हाँसेको मेरो फोटो त्यसका अनुहारमा टाँसेर पठाइदिन्थेँ। त्यसका कान हुँदा हुन् त म एउटा गीत गाएर पठाइदिन्थेँ जुन गीत हामीले सानो छँदा सँगै गाउँथ्यौं। तँ अझै पनि गुलेली खेलाउँछस् कि छोडिस् हँ? कति धेरै मट्याङ्ग्रा बनाउँथ्यौं हामी। पिँढीमा लहरै सुकाउँथ्यौं र गन्थ्यौं निसानाहरू। जीवनमा धेरै मट्याङ्ग्राको नास गरियो। मट्याङ्ग्रा त समय रहेछ – गुलेलीबाट छुटेपछि समात्न नसकिने। गुलेली चोट हो – कहिले आँपका बतिला झार्छ, कहिले निर्दोष पक्षीलाई भुइँमा गिराउँछ। समयले पनि बेलाबेलामा चोट लगाइरहन्छ। त्यसैले मलाई घडी मन पर्दैन। बाले लाहुरबाट ल्याइदिएको मेरो घडी धेरैजसो तैं लगाउँथिस्। धेरै रहरालु मान्छे तँ।
बाँसको सुपिलामा होस् वा केतुकेको पातमा! एउटा बस्थ्यो, अर्कोले घिसाथ्र्यो। हाम्रो चिप्लेटी भैहाल्थ्यो। लामो लौरामा चढेर घोडाझैं दगुथ्र्यौं। लौरो नै घोडा भैदन्थ्यिो। हाम्रा लागि डिस्ने ल्याण्ड त्यही थियो। तिनै सुपिला र लौराहरू रोलर कोस्टर थिए। मनले पत्याउनु पर्ने रहेछ, ढुङ्गामा देवता आफैं आएर बस्दा रहेछन्।
आइज न यार! सँगै बसौं र यिनै बात मारौं। कहिले रूखका डालीमा बसेर, कहिले खोलाका डिलमा बसेर। कहिले पहाडका टाकुरामा बसेर, कहिले बालुवाको महल चढेर। बालुवाको घर ढल्छ तर रहर ढल्दैन। कति खेल्थ्यौं हामी बालुवामा पृथ्वी उत्खनन गरेर।
तँलाई रुद्रकी आमाले गुइँठाले हिर्काएको मैले तेरी आमालाई कहिल्यै सुनाइनँ। साथी भन्नु नै भरोसा हो। तँ पनि कस्तो फटाहा? किन दुम्सीझैं लुकेर केराउबारीमा घुस्रिनु परेको? धन्न भोटेकुकुर साङ्लोमा थियो। नत्र ... ! हैट् ! जिन्दगीमा चुनौती बेगर दुई चार कोसा केराउ पनि नमिल्दो रैछ।
आफ्नो सबैभन्दा मनपर्ने साथीसँग पनि कहिलेकाहीँ अप्रीतिकर काम गरिँदो रहेछ। एकदिन तेरो झोलामा सानो सिस्नुको मुन्टा थियो नि? तँलाई कतिबेरसम्म हातमा जलन भएथ्यो है? त्यो सिस्नु मैले राखिदिएको हो नि! पछि धेरैचोटि एक्लै भित्तातिर फर्किएर मैले तँसँग माफी मागेको थिएँ, तैंले चालै पाइनस्।
आज उसलाई भेटेको थिएँ। तँलाई बिर्सेकी रैनछ। भन्दै थिई, 'उसका सम्झनाहरू झिकिदिने हो भने मनमा पृथ्वीजत्रो खाल्डो पर्छ।'
गणितको भाषा नै साङ्केतिक हुन्छ। तैंले गणित बुझ्दै बुझिनस्।
बाल्यकालका कुरा उघार्दा मलाई घामले दिन उघारेझैं रमाइलो लाग्छ। आइज, हामी पनि केहीबेर त्यही कलिलो घामको झरी तापौं।
तँ घरभित्र बस्छस् कि घर तँभित्र बस्छ, त्यो त मलाई थाहा भएन। तर मभित्र पनि एउटा घर बस्छ। घर सानोसानो छ, त्यसका कोठाहरू सानासाना छन्। यिनै सानासाना कोठा बन्दा खुसी आकाशजत्तिकै फैलिएको थियो। किनकि यही मेरा बचेराहरूको गुँड थियो। तिनका खुसी मनग्गे अटाउँथे। हामीले एउटा गुन्द्री किन्यौं र त्यसैलाई सपना फुल्ने बगैंचा ठानेर निदायौं। फेरि एकदिन चारपाई किन्यौं अनि भुइँबाट माथि उक्लिएर निदायौं। त्यसै दिनदेखि त हो आँखाले आकाशतिर फर्किएर सपना देख्न थालेको। मन कागजको हवाईजहाज चढेर उड्न थालेको।
एक दिन ठूलो कुर्ची किनेर ल्यायौं र पालैपालो सिंहासनमा जस्तै गरी बस्यौं। कहिले म राजा हुन्थेँ, कहिले उनी रानी हुन्थिन्। कहिले ऊ राजकुमार हुन्थ्यो, कहिले ऊ राजकुमारी हुन्थी। आफूलाई आफैंले सालको पातको चमर धेरै हम्कियौं।
यता मुन्टो फर्काएर हेर् त! यी सानासाना कोठाका कुनाकाप्चाहरू मैले भरिदिएको छु, निर्जीव खुसीहरूले, हाँसोहरूले, कागजको दौलतले। मैले बुझेँ, एक खित्का हाँसोको खरिद मूल्य जुटाउन दौडादौड गरिरहेछ मान्छे। रहरले झुक्याएको मान्छे, आकाङ्क्षाहरूले पछारिएको मान्छे, तै पनि ऊ आफूलाई हारेको ठान्दैन।
आइज, यिनीहरू सबैलाई यहीँ चुकुल लगाइदिएर ऊ त्यो परको चउरमा थचक्क बसौं र माना पाथी नभरिउञ्जेल हाम्रै बात मारिरहौं। तेरो र मेरो कमिज साटेर लगाऔं, पिँढीभरि लहरै मट्याङ्ग्रा सुकाऔं, भँगेरालाई निसाना बनाऔं, आलु खोस्रौं, सिठाको आगो दन्काऔं।
तँलाई लेखनाथको त्यो कविता अझै कण्ठै छ? आइज, सँगै बसेर त्यही कविता फेरि कण्ठ गरौं। त्यो कमिजमा झुण्डिएको टाँकजस्तै हामीले भोगेको सबैभन्दा प्राचीन समय तेरो सम्झनामा कति झुण्डिएको छ? आइज, बाको हुक्काको सङ्गीत सुन्न जाऔं।
जिन्दगी निसानेबाजीको खेल रैछ। कहिले दाहिनेपट्टिबाट जान्छ, कहिले देब्रेपट्टिबाट। निसानामा लाग्दै लाग्दैन गुच्चा खेल्दा लागेझैं ट्याङ् ट्याङ्। जिन्दगी अवरोधको पर्खाल रहेछ, ढल्दै ढल्दैन ढुङ्गाको लक्कु ढले झैं गल्र्याम्म। एकचोटि त आइज? गुच्चा खेलौं, लक्कु ढालौं र छिनभरिका लागि भए पनि विजयी बनौं। गालाभरि धुलोको अबीर दलेर उत्सव मनाऔं। यो तेरै सुदामाको बिन्ती हो। आइज न यार! सँगै बसेर बात मारौँ।
(लेखक लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)