कविता
म मनै हुँ
कोही मलाई विचित्रको देख्छन्
आफ्नै अनुकूल हुने गरी
नशामा झुलेको माद जस्तै
मलाई नशालु रूपमा हेर्छन्
मदमस्त भैदिन्छन् कल्पनामा
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई विचित्रको देख्छन्
आफ्नै अनुकूल हुने गरी
स्वार्थमा झुलेको कालजस्तै
मलाई स्वार्थमा झुलेर हेर्छन्
रमाइ दिन्छन सम्बन्धको खोलमा
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई सुन्दर देख्छन्
आफ्नो अनुहार मिलाउन
आफ्नै सुन्दरतामा मग्न हुने गरी
मलाई अपनत्वमा भुलाउने झेलमा
रमाइ दिन्छन् आस्थाका भीडहरू
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई कुरूप देख्छन्
आफ्नो आफ्नै भावना मिलाउन
आफ्नै आँखालाई रूप देखाउन
मलाई उत्प्रेरित गर्छन् आवाजहरू
रमाइ दिन्छन् आफ्नै रूप भित्रबाट
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई आकारमा देख्छन्
आफ्नो दर्शनमा लेपन लगाउन
आफू आफ्नै जीवन भुलाउने गरी
मलाई आफ्नै कथामा भुलाउन
अनेकौं नाटक मञ्चन गरिरहन्छन्
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई विकारमा देख्छन्
आफ्नै बहुरंगमा रंग मिलाउन
अनगिन्ती दुर्गन्धमा भुलाउने गरी
मलाई आफ्नै आँखामा हेराउन
विविध खेलहरू खेलिरहन्छन्
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
कोही मलाई खुसीमा रमाएको देख्छन्
आफ्नै निम्ति समय भोगिरहेछु बुझ्छन्
कैयन् आँसुहरूमा आँखा थाकेको बुझ्छन्
मलाई आँसुमा अर्थ बुझाउन सिकाउँछन्
कल्पनाका भावनाहरूमा भुलाइरहन्छन्
म विचित्रको छु उस्तै भइदिन्छु।।
म मनै हुँ
एउटा स्वतन्त्र रूपको मनभित्र
सबै मानिसहरू जस्तै खेलिरहने
समय र परिस्थितिलाई भोगिरहने
केवल यथार्थतामा सम्झौता गरिरहने
त्याग र समर्पणहरूको आस्थाहरूमा
जीवन शैली बनाउने कथाहरू हुँ म।।
म मनै हुँ
जीवनका कैयन् विगतहरूमा आफूलाई
भिन्न भिन्न यावत् स्वरूपमा पस्केको छु
म सँग समयलाई भुलाउने नाटकहरू छन्
आँसुहरू लुकाएर देख्न सक्ने आँखाहरू छन्
मलाई बुझाउन सिकाँउछन् आफ्नै मनहरू
म आफ्नै अनुभवमा आफैं विचित्रको छु।।