समय सधैँ उस्तै कहाँ हुँदो रहेछ
कहिल्यै फक्ल्याटा नपरी बसेको म
एकदिन धर्तीका सिपाहीहरूले पनि
मबाट म छुट्ट्याएर छुट्टै अस्तित्वको
म बनाइदिए
मेरो नाम फेरियो
वतन फेरियो
ए हजुर मेरो हुलिया पनि फेरियो
म निकै प्यारो भएँ ती धर्तीका
सिपाही किसानहरूको
देशका शासकहरूको।
किसानहरूले ममाथि मलजल गरे
म वर्षामास टुट्दा पनि पत्थरहरूले
सिलाएर मेरो अस्तित्व गुम्न दिएनन्
म माथिको भेल बाढी तर्काइदिए
बचाउनलाई भिर पाखाहरूमा बिरुवा हुर्काइदिए
पाखाहरूमा म कतै पैँयुसँगै फुलिदिन्थेँ
आरु, बखेडासँगै झुलिदिन्थेँ
बाह्र्मासे, गुर्देउली सुनकेसरीसँगै सजिदिन्थेँ
साँच्चै भनौं त धर्तीका सिपाहीले ऋतुसँगै
सजाइदिन्थे।
शासकहरूले मेरो नाम फरक-फरक
हुलियाबाट राखे
कतै अब्बल
कतै दोयम
कतै सिम
कतै चहार
मेरो अस्तित्व बेग्लाबेग्लै थियो
समय सधैँ उस्तै कहाँ हुँदो रहेछ र
धर्तीका सिपाही हराए कि
म आफैँले मेरो अस्तित्व गुमाएँ
म अहिले बन्जर छु
केवल अवाञ्छित झारहरूको
रंगमञ्चमा छु
म एक्लो छु
अस्थिर छु
निसास्सिएको छु
म किसानको फसलसँगै रहन चाहन्थेँ
अहिले म 'म' रहेको छैन
किसान र मेरोबीच भेट भएको छैन
कस्ता भए होलान् ती धर्तीका सिपाही
एक समय थियो मलाई निकै प्रेम गर्थे
अनि
यो एक समय छ म निकै प्रेम गर्छु
ती सिपाहीहरूलाई
प्रिय किसानहरूलाई
मलाई मातृत्वको दर्जा दिनेले
अहिले प्रयोगको अधिकार दिएनन्
बेवारिसे बनाएर अपनत्व लिएनन्
मलाई छोड्दै हिँड्नेको
ताँती म के गनुँ
आफ्नै मृत्युको खबर
म कसरी भनुँ।
समय सधैँ उस्तै कहाँ रहला र
मेरो पनि दिन फिर्नेछन्
पाखा बारीहरूमा फेरि किसान छिर्ने छन्
मेरो महत्त्व जब बुझ्ने छन्
मातृत्व भनेर फेरि पुज्नेछन्।