हर रात
तिम्रो कोमल स्पर्श
मभित्र
सलबलाउने गर्छ
हर बिहानी
तिम्रै मोहले मलाई
ब्युँझाउने गर्छ
जिन्दगी हौ, तिमी मेरो
मेरो मायाको
सिङ्गो संसार तिमी
माग तिमी मलाई
मेरो वशमा भए जति
तिमीलाई दिउँला
मेरो लागि
महासागर तिमी
तिमीभित्रै म हराएको छु
तिमीलाई हेर्दै
सारा दुःखहरू भुलेको छु
मेरो मायाको
दाबेदार तिमी
तिम्रै अगाध मायामा
म डुबेको छु
तिम्रै रुन्चे हाँसोमा
म भिजेकोछु
अनि तिम्रा तोते बोलीहरू
मायाले ओतप्रोत भावनाहरू
कलिला तिम्रा पाइलाहरू
त्यही कहीँ अल्झिरहेको
मेरो जिजीविषा
ती सबै-सबै
अनुभूति अनि आत्मीयता
त्यही सर्बत म
पिउने गर्छु
मृत्युसँग छलेर
अर्को प्रहर फेरि मर्ने गर्छु
एउटा त्यो मिठो
समय थियो
जहाँ म बाँच्न चाहन्थेँ
तिमीसँगै
हाँस्न चाहन्थेँ
मनदेखि रमाउन चाहन्थेँ
फेरि कस्तो समय आएछ
जिन्दगी उधारो भएछ
तिमीलाई बाँधको मुखमा छोडी
भाग्न परेको
कति निर्दयी भएछ समय
डाको छाडी
हाँस्न परेको
तिमी नै त हौ
जसलाई
मेरो अभावमा रुनुपर्छ
मात्र तिमी हौं
जसको नोक्सान
म आफैंले बेहोर्नु पर्छ
तिमी मेरो जिन्दगी
अनि म तिम्रो ढुकढुकी
तिम्रो म अनि मेरो तिमी
तिमीबिना म छैन
मबिना तिमी!
दुःखमा
जाडो काट्दैछु
रातको शीतसँग
सुख साट्दैछु
तिमी नै त छौ
जुसको
यति भरोसा गर्छु म।
तिमी भएसम्म
मरेर पनि
कहाँ मर्छु म
म सँगसँगै हुर्किएको
तिम्रो माया
मसँग छ
तिमीसँग पनि छ
सधैँ-सधैँ छ
अजम्बरी छ
हरेक साँझ तिम्रै बारे सम्झँदै
निदाउँछु
कोल्टे फेर्दै
रात कटाउँछु
जिन्दगीका पानाहरूमा
भुल्नै नमिल्ने
सम्झनाहरूमा
अनवरत चलिरहने
समयसँगै मिठा यादहरूमा
तिमी छौ
र म छु
तिमी छैनौ
म छु कहाँ?