तोते बोल्न आमासँग सिक्दादेखि
हो मैले कखराका निमित्त प्यारी आमाको काख
छोडेर स्कुल गएको
जीवनमा ज्ञान आर्जन गरी देशको सेवा गर्न भनी
उमेर, निद्रा, रहर र बन्धन तोडि शिक्षित हुनुको
सपना देखी वर्षौं वर्ष विद्यालय धाएको
सामाजिक पेलान, गरिबी, ठूला भन्नेहरूको
एकोहोरो नियम र चक्रब्यूहमा आफूलाई
केबल एउटा पेट पाल्न वर्षौं रगत र पसिनाले
सिँचित गर्दा पनि श्रम गर्न एउटा सुरक्षित काम
गर्ने स्थान जोशिला युवालाई दिन नसक्ने सरकार
तिमी कहाँ छौ?
यहाँ सपना मात्र मरेका छैनन्
बेरोजगारीसँगै आमाले जलाउने दीपको
रौनक घटेको छ
विभेद र संस्कारको नामले सयौं सन्तान र
आमाका सपनाहरू जलेका छन्
आफ्नै राजधानी सहर श्रमजीवी वर्ग र दूर दराजबाट
आएका हरुको निमित्त कुवेतको खाडीभन्दा चर्को छ यहाँ
प्रत्येक घडिको पलासँग जीवन साट्नु पर्छ
निच विचार भएका लगानीकर्ता एवम् साहुहरूको
भ्रष्ट आचरणको पूजा गर्नुपर्छ
मस्तिष्कका नसा-नसाले गरिबीको तिक्तता पिएर
ओठमा हाँसो ल्याउनु पर्छ
रगतका प्रत्येक बुँदबाट इमान्दार सेवा गर्दा पनि
स्वार्थी जमातको लात सहनु पर्छ
पसिनाले कर्म क्षेत्रका तमाम कार्यलाई
सिँचित गर्दा पनि हर बखत आँसुले मुख धुनु पर्छ।
किनकि
यो भावशून्य मानव सहरमा
शक्ति, पैसा, आडम्बरी र क्रुरताले
भरिएका खोक्रा मुकुट धारीहरू मात्र देखिन्छन्
जहाँ यथार्थ शून्य भविष्य एकापट्टि छ त
अर्कोतर्फ शक्तिशालीहरूको
सत्ताको खेल जहाँ निरीह
इमान्दार मानिस हरदम पिल्सिरहेको हुन्छ
निजी एवम् सार्वजनिक क्षेत्र सबैतिर।