छोरालाई आफ्नो न्यानो
अंगालोमा बेर्न नपाएर
छट्पटिएकी छन् आमा
छोराको मुख हेर्न नपाएर
दिन प्रतिदिन बुढी हुँदै गइन्
बिमारले च्यापेको छ
छोराको यादले मन पिरोलेको छ
बूढो शरीर आफैं थला परिसक्यो
आमा रुँदा-रुँदा आँखाले
देख्न छोडिसक्यो
हिँड्न डुल्न खोज्यो भने पनि
शरीर काम्न थाल्छ
खुट्टाले पनि भुइँ टेक्न छोडिसक्यो!
छोरा बेपत्ता भएको
पाँच- सात वर्षदेखि बुवा बाटो
कुरेर बसेका छन्
छोरा पर्खेर आउलाकी भन्ने आश
बोकेर बसेका छन्
बा'ले आफ्नो बेपत्ता छोरोलाई
सम्झिन छोडेका छैनन्
रुन छोडेका छैनन्
छोराले किनेर ल्याइदिएको
डेढ सयको चप्पल
खुट्टामा हाल्न छोडेका छैनन्
छोराको सम्झना मेट्ने त्यही
डेढ सयको चप्पल बनेको छ
खुटाको पैतालामा निला-निला
डाम बसेका छन्
कुर्कुचा फाटेका छन्!
छोरो घर फर्काइदेऊ भन्दै हात जोडेको छ
देवी देवतालाई भाक्कल गरेको छ
आमाबाबुको रोदन भगवानले
नसुनेको हो या छोराले नसुनेको हो
घर फर्केको छैन छोरा
कहिलेसम्म दिने हुन बा'ले खुट्टालाई दु:ख
घर कहिले आउला छोरा
नयाँ कपडा, नयाँ चप्पल लिएर
खै कहिले पो होला
त्यो डेढ सयको पुरानो
चप्पलको निधन!