मलाई रंग
र रंगहरूसँग खेल्न साह्रै मनपर्छ
गुलाब होइन
गुलाब जस्तै देखिने फूल
अनि फूल भित्रका राता-राता रंगहरू
हो, म त्यही बगैँचाको एउटा फूल हुँ
के फरक छ र फूल र ममा
उस्तै रंगहरू
तर...
म रातो रंगहरूसँग विस्तारै
पोखिँदै जाँदैछु, पोखिँदैछु आफैसँग
मुटु दुखेर कुटुक्क-कुटुक्क भएको बेला
स्तब्धलाई भंग गर्दै चिच्याउँछु
आमा! आमा!
चिच्याउदै गर्दा मेरो सानो भाइ
टुपुल्लक आइपुग्छ
हतास, निराश र
डरले ओठ थर्थराइरहँदा
मेरो भाइले रगतका
धब्बा मेरो खुट्टाका चेपमा देखाउँदै भन्छ
ऊ हेर त दिदी तिम्रो खुट्टा
रगतले पोतिएछ
म सुस्त-सुस्त रंगिँदै जाँदै थिएँ
विस्तारै विस्तारै
लाज सरमको पर्दा उघारिदिँदा
पीडाले जलेर खाग बन्न लाग्दा
फेरि चिच्याउँछु उसै गरी
आमा! आमा!
अब आमा आइपुगिन्
आमाले गून्युको टुक्रा च्यार...र...
च्यातेर ममाथि फ्याँकिदिँदा
गुन्युको टुक्रामा
पोखियो रंग र बन्यो क्यानभास
भाइले रमाइलो मान्दै क्यानभसलाई
छुन खोज्दै गर्दा आमाले पाप र
पुन्यको भाषा बर्बराइरहेकी थिइन्
छुन हुँदैन...
हेर्नु हुँदैन...
बोल्नु हुँदैन...
म खुला मैदानमा शीतल खोजिरहेको बेला
तिम्रा समाजले मलाई धर्म र संस्कृतिको
धुम्टोले छोपिदिँदा
आफू भित्रभित्रै दबिएको थिएँ
आकाश चौटेर टुक्रा-टुक्रा हुँदै गर्दा
यसो माथि हेर्थेँ र
बादलसँग घण्टौँ कुरा गर्थेँ
आहा! बादल हुन पाए पनि हगी!
बादलभित्र मेरो जीवनको रंगहरू खोज्दै थिएँ
सायद ती इन्द्रेणीका रंगहरू हुनपर्छ
रातलाई चिरेर अन्धकार हट्दै जाँदा
मेरा आकृतिहरू विलीन हुँदै हराउथे
मलाई अन्धकारको भूमरीमा धकेल्दिए
म निस्सासेर बन्द कोठामा कैद भएँ
ताराहरूसँग साटेको छु मनको बेगहरू
जूनले शीतल दिइरहेको थियो
गोठबाट गाईहरूले टुलुटुलु हेरिरहन्थे
सायद
गाईहरूलाई पनि मलाई जस्तै भयो होला
मन भक्कान्यो, आँखा रसायो
थोपा-थोपा रगत आँसुमा भिज्दै हराउथे
र म फेरि चिच्याउथेँ
आमा... आमा...
बल्ल थाहा पाएँ
म नछुने भको रे
अनि पोखियो फेरि रातो रंग
ठिक उसै गरी पोखिएँ म पनि।