कविता
हिँड्छु आँखाको भरमा
देख्छु भत्किएको व्यवस्था
व्यवस्थालाई रङ्ग्याउँदा बिग्रिएको अवस्था
अवस्थाले बिचल्ली भएको म
हिँड्दै गरेका मेरा पैताला
भत्किएको ठाउँमा बस्न नसकेर
सुरक्षित ठाउँको खोजीमा
गाउँबाट बजार पुग्दा झोला बोकेर
हिँडनेहरूको भीडमा
विमानस्थलमा लामो लाइन
इतिहास बनाउन आँखा देखाई
क्यामरामा कैद हुँदै गर्ने म
उड्न तम्तयार हुँदा भिडको बीचमा
नजान विदेश भन्न सक्दैन
आँखाले मात्र हेरिरहन्छ
सबैलाई उडाउने जहाजहरूतिर
मलाई डोर्याउँदछ
मैले आँखालाई गाली गर्न खोज्छु
मेरो समस्यालाई कति हेरिरहन्छस्
किन पुर्याउँदैनस्
समस्या हल गर्ने ठाउँमा
सोधिरहन्छु
विमानस्थलको जहाजबाटै
आँखासँग जवाफ छैन
मौन बसिदिन्छ
आँखाबिना
न म केही गर्न सक्छु
न आँखा केही गर्दछ
यस्तै अवस्था
र व्यवस्थामा बाँचेको छु
मेरा आँखा सरकार बनेको छ
म देश बनेको छु
देश चलाउने पापी आँखालाई
परेलीले ढाकेपछि
म देश अन्धो भएको छु
त्यसैले त
आँखाको उपचार गर्न
म देश
जहाज चढेर उडेको छु!