एउटा भावनाको यात्राले पूर्णविराम लिएको छ।
एउटा न्यानो आभास, सानो कल्पना, त्यहीँ कल्पना भित्रका न्याना न्याना सुस्मिताहरू, बिर्सिनै नसकिने अस्मिताहरू।
प्रेमिका- जुन शब्दको आभास न मैले कहिल्यै गरेँ, न गर्ने नै छु। गर्ने छु त केवल तिम्रा झुटहरूको सम्झना।
म भर्खर भर्खर १७ पुग्न लागेको हुँदो हुँ। कलिलो मन, त्यो प्रेमको भावना पक्कै पनि झुटाे थिएन होला। आफ्नै हृदयको तीव्र इच्छाले एक नारीलाई प्रेम गर्ने जमर्को गरेँ।
हिमाल जस्तै हेरिरहुँ लाग्ने उसको स्वरूप, पढेरै नसकिने शब्दकोष जस्तै त्यो उसको मुहार, महासागर जस्तै गहिराइ भएको उसका ती नयन। सम्भवत म उसको त्यही स्वरूपमा पागल थिएँ र नतमस्तक थिएँ।
उसका लागि अनगिन्ती भावनाहरू सिर्जित भैसकेका थिए। लागिरहेको थियो, ऊ सकिए धर्ती पनि सकिन्छ!
हामी धेरै नै नजिक भैसकेका थियौं। कुराहरू राम्रै चलिरहेका थिए। अचानक एक साँझ हाम्रो बीचमा एउटा कालो रात आइलाग्यो। जहाँ कहिल्यै न घाम उदायो, न त जूनले प्रकाश नै दिन सक्यो। र, आज पनि त्यो रात अन्धकार नै छ।
सायदै कसैसामु नझुकेको म, उसलाई पाउन पैतालासम्म पुगेको थिए। दुर्भाग्यवश ऊ र म, सूर्य र पृथ्वीजस्तै टाढा भयौं। बर्खाको ठाडाे खोलाकै रफ्तारमा उनी ओरालो लागिन्। मेरा भावनाहरू त्यहीँ खोलीसँगै बगेर गएको पत्तै पाइनँ। कहीँकतै किनारामा मेरा भावनाहरू अल्झिएका छन् कि भनेर बेसी खोलो हुँदै छल्दी फाटसम्म पुगेँ। दुर्भाग्यवश मैले कतै भेट्न सकिनँ।
सायद यतिबेला ती मेरा भावनाहरू पनि तिमीसँगै समुन्द्रमा घुलीसके होलान्। सम्भवत ती मेरा भावनाहरू अन्तिम सास लिइरहेका होलान्। सम्भवत यतिबेला ती मेरा भावनाहरू परानको भिख मागिरहेको होलान्। म त्यहीँ खोलीको किनार हेर्दै न्यानो मायाको आभास गरिरहन्छु.......
म यात्रामा निकै थकित छु। म कल्पना गरिरहन्छु। यदि तिम्रा हातहरूले मेरो तिर्खामा एक लोटा पानी पिउन दिए पनि कस्तो सौभाग्य हुँदो हो। कति न्यानो हुँदो हो त्यो तिम्रो अंगालाे, म कल्पना गरिरहन्छु। कति सन्तुष्टको आभास हुँदो हो तिम्रा आँखामा आँखा जुधाउन पाए, म कल्पना गरिरहन्छु।
कहिलेकाहीँ चोकतिर देख्छु, जोडीहरू सँगै टुलमा बसेर चटपट खाइरहेको, र कल्पना गर्छु... ।तिमी र म पनि यसैगरी चटपट खाना पाए कस्तो न्यानो मायाको आभास हुँदो हो।
न तिमी र म सँगै हुन सक्यौ,
न मैले तिमीसामु क्षमा माग्ने मौका नै पाएँ।
पाए त केवल झकझकाई रहने तिम्रा सम्झनाहरू ....
र, मेरो ग्यालरीले अझै पनि तिम्रा भारित तस्वीरहरू बोकेर हिँडिरहेको छ।
रातले पनि त आफूलाई दिन बनाउनको लागि आफैंलाई छाडेकाे छ,
एकै सिक्काले पनि टाउकाे देखाउन पुच्छर लुकाएको छ,
सायद छायालाई पनि आराम चाहिने भएर होला,
रात बनेको छ,
सायद देश बनाउनको लागि युवा बाहिरिरहेको छ।
सायद तिमी आकाश बन्नको लागि,
मेरो धरातल छाड्न जरूरी छ।
र, अन्तमा सबैले छाडेर जान्छन्।
र अन्तमा, कुनै दिन म उदाउँदो सूर्य हुँदै गर्दा, सम्भवत त्यसबखत तिमी अघिल्लो रात सँगै लापता भैसकेकी हुनेछौ।
म नदी किनारामा सुख्खा बालुवा जसरी पानी माग्दै गर्दा,
सम्भवत त्यतिबेला तिमी सागरको गहिराइको डुबानमा परिसकेकी हुनेछौ।
मैले न्यानो मायाको कल्पना गरिरहेको बेला,
सम्भवत त्यतिबेला तिमी अश्लील हर्कतमा नतमस्तक भएकी हुनेछौ।
मैले प्रेमको भिख मागिरहेको बेला,
सम्भवत त्यतिबेला तिमी पराइको अंगालोमा बेरिएकी हुनेछौ।
जुन दिन म औंसीको कालो रात भएको हुने छु,
सम्भवत त्यो दिन तिमी पूर्णिामाको जूनभन्दा पनि बढी उज्याली भएकी हुनेछौ।