'नरेशजीको १३ औं पुण्य तिथिमा भेला हुनुभएका महानुभावहरू म तीर्थ आज मुटुमाथि ढुंगा राखेर यो शोक सभामा मेरा दुई चार शब्द राख्दै छु। हामी सबैलाई थाहा छ कि जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। यति हुँदाहुँदै पनि आत्मीय मित्र नरेशजीको असामहिक निधनले मर्माहत बनाएको छ। म श्री पशुपतिनाथको कृपाले शोकाकूल परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् भनी प्रार्थाना गर्दछु,' भन्दै तीर्थ भक्कानिएर रून थाल्छ।
शोक सभामा सन्नाटा छाउँछ। भेला भएका मानिसहरू एकअर्काको मुख हेर्न थाल्छन्। पण्डितजी उक्त दिनको काममा गति दिइरहनु हुन्छ।
'तीर्थ, जे नहुनु भैसक्यो, अब रोएर पनि त नरेशजी फर्केर आउनु हुन्न। बरू हामीले त रोइरहेका परिवारका सदस्यहरूलाई सान्त्वना दिनसक्नु पर्छ, उहाँहरूको मनोबल उच्च राख्ने कोसिस गर्नु पर्छ,’ भन्दै राजले तीर्थलाई सम्झाउन थाल्छ।
तीर्थ एक महिना अघि मात्र नरेशसँग विवाह गरेर आएकी नर्वदातिर हेर्दै भन्छ, 'विवाह गरेको महिना दिन मात्र के भएको थियो उहाँको, अब के हाल होला? हाम्रो समाजमा विधवा भएर जिउन त्यति सजिलो छैन नि। दुनियाँले नम्रतालाई नरेशको काल भएर भित्रिएकी रहिछ, नरेशलाई निली भन्दै गाली गर्नेछन्।'
राज भन्छ, 'हेर्नुस् तीर्थजी नरेशजीको मृत्युको कारण कोरोना भाइरस हो भन्ने कुरा सबैलाई थाहै छ। यो सत्य थाहा हुँदाहुँदै नर्वदाजीलाई कसैले मृत्युको दोषी ठान्छ भने ऊ आफैं पटमूर्ख ठहर्छ।'
तीर्थ टाउकोमा हात राखेर बस्छ।
उसले सभामा भेला भएका मानिसहरू गुनगुनाएको सुन्छ 'आखिर यो धनसम्पत्तिको पनि के काम? हेर त नरेशका बाआमाको एक्लो छोरो, त्यो पनि कोरोनाको शिकार भयो। उपचार गराउन त्यति महँगो अस्पतालमा राखे। पैसाकोको त खोलै बगाए, तर केही पार लागेन। पिण्ड खाने उमेर भएका बाउले सकिनसकी छोराको काम त सक्नै लागे नि, तर पछि यी बाआमाको मृत्यु हुँदा कसले किरिया गर्ला? यी विधवा बुहारीको हालत के होला? यो कोरोना पनि महादशा बनेर आयो यी पौडेल बाआमैको घरमा।'
'हुन त कोरोना वास्तवमा नै संसारभरि नै महादशा भएर आएको त्यो साल कसैको लागि सहज थिएन। लाखौंलाख मानिसहरूले ज्यान गुमाएका थिए भने कति मृत्युको मुखबाट बल्लतल्ल बाँच्न सफल भएका थिए। त्यो कोरोनाले न त राजा र रैतिबीच भिन्नता देखेको थियो न त जातपात नै हेर्या थियो। केवल थियो त मान्छे जो यो संसारमा जिउनको निम्ति हरेक दुःख खप्न र कष्ट झेल्न तयार छ। तर म केही न केही अवश्य गर्छु,' भन्दै तीर्थ ती गुनगुन गर्दै गरेका मानिसतिर फर्कन्छ।
सबै मानिस तीर्थतिर फर्कन्छन् र चुपचाप लागेर बस्छन्।
'राज बाबु यता आउनु न' भन्दै नरेशकी आमा हेमलताले राजलाई आफू भएतिर बोलाउँछिन्। राज नरेशकी आमा नजिकै जान्छ र छेउमै बस्छ।
हेमलता राजको हात समाउँदै भक्कानो छोड्छिन्।
'आमा विधिको विधानलाई कसले टार्न सक्छ र? नरेशजी छोटो आयु लिएर आउनु भएको रहेछ। जे नहुनु थियो, त्यो त भई नै सक्यो। आखिर जसले जति दिन यो धर्तीमा बाँच्न लेखेर आएको हुन्छ, त्यति नै दिन बाँच्ने रहेछ, यसमा चाहेर पनि कसैको बस् नचल्ने रहेछ।'
'हो बाबु, हुन त। तर हाम्रो त आशाको त्यान्द्रो, धरोहर, सहारा सब चुँडियो। हाम्री छोरी जस्ती नम्रता विधवा भइन् बाबु। हाम्रो घरमा त बज्रपात नै पर्यो।'
त्यही बेला, पूरोहितले, 'ल आजबाट नरेशको काम सिध्दियो, तपाईंहरूले तन, मन लगाएर काम गर्नुभएको छ। अझ पनि चोखोनितोमा ध्यान दिनु र म चाहिँ अहिलेलाई बिदा पाऊँ' भन्नुहुन्छ।
रमेशका बुवा टेक भन्छन् 'हवस् गुरूजी, धन्यवाद अब हजुरले नरेशको माशे - माशेमा वर्षभरि आइदिनुहोला।'
'त्यसको निम्ति हजुरले चिन्तै गर्नु पर्दैन, मलाई तिथि मिति थाहा छँदैछ, आइहाल्छु नि टेकजी अनि मैले मेरा दुइटा साना साना झोला चाहिँ लिएँ, अरू रहलपहल चाहिँ यसो माग्ने, जोगी, भोकाहरूलाई दिनुस् न' भन्दै गुरूजी आफ्नै बाइक चढेर घर जान्छन्। त्यसपछि नम्रता र सासूससुरा खाना खान किचनमा छिर्छन्।
हेमलता टाउकोमा हात राखेर खानाको प्रतीक्षामा बस्छिन् र बर्बराउँछिन् 'आजसम्म त धेरै मान्छेको चहलपहल थियो, अब भोलिबाट त कोही हुन्न, अब त हाम्रो फूलबारीजस्तो घर नर्कझैं बन्छ होला, हरे भगवान, अब कसको मुख हेरेर दिन काट्नु?' भान्से लागेकी छिमेकी हरिमाया अरूलाई खाना खान दिन भ्याइनभ्याई भएको देखेर नर्वदा सासूआमालाई रून बिर्साउने अभिप्रायले साोध्छिन्, 'आमा, मैले हरिमाया भाउजूलाई भान्से लाग्न सघाउन मिल्छ?'
आमा सुक्क सुक्क गर्दै भन्छिन् 'मिल्छ बुहारी, मिल्छ, किन नमिल्नु र?'
नर्वदा भन्छिन् 'म त विधवा भएँ रे। मैले छोएको, चलाएको चल्दैन रे आमा।'
हेमलता सोध्छिन्, 'बुहारी यो कसरी सम्भव छ?, मेरा हात खुट्टा काम्न थालेका छन्। अब तिमीले छोएको नखाए त मर्नु शिवाय के नै बाँकी रहला र? फेरि यो कुरा कसले भन्यो तिम्लाई?, हाम्रो घरको छोरी भने या बुहारी भनेनै तिमी नै हौ। अरूले जे सुकै भनून्, कि कसो नरेशका बा?
नरेशका बा, 'भन्छन् हो नि, हेर बुहारी, अब हाम्रो सहारा भनैकै तिमी नै हौ, हामी त डाँडामाथिको घाम जस्तै भैसक्यौं, जतिबेला पनि अस्ताउन सक्छौं। तिमीले दिएको नखाएर अब कसले दिएको खानु?'
ससुराको कुराले नर्वदाका मुहारमा खुसीको भरिएको प्रकाश देखिन्छ।
खाना खाँदै गरेका सबैले नर्वदाको खुसीलाई नियाल्छन्। नर्वदा खुसी हुँदै भान्से लाग्छिन्। सबै जनाले खाना खाइसकेर भाँडा सफा गरिसकेर सुत्न जान्छन्। ओछ्यानमा ढल्कदै नर्वदा नरेशको यादमा डुबुल्की मार्न पुग्छिन्। उनले नरेशसँग बिताएका पल पल सम्झिएर सुक्कसुक्क रून थाल्छिन्। त्यही बेला उनको माोबाइलको घण्टी बज्छ।
'यति राति फोन गर्ने को हुन सक्छ' भन्ने सोच्दै फोनतिर हेर्छिन्। उनले नचिनेको नम्बरबाट फोन आएको देखेर फोन उठाउने या नउठाउने दोधारमा पर्छिन्। जे होला होला भन्दै फोन उठाएर हतार हतार 'नमस्कार मैले चिनिनँ तै पनि बोल्दैछु, को बोल्नु भाको, यति राति किन फोन गर्नु भाको?'
'म सोम, नरेजशीको डिग्री पढ्दाको साथी, आजको पत्रिकामा छापिएको श्रद्धाञ्जली भर्खरै देखेँ अनि फोन गरेको भाउजू, धेरै दु: ख लाग्यो। यो कोरोनाले पनि संसारलाई सतायो, के गर्नु र दैवको खेलको अगाडि घुँडा टेक्नै पर्ने …'।
नर्वदा भन्छिन्, 'सम्झनु भएकोमा धन्यवाद सोम सर, खै मलाई बोल्ने तागत छैन, अहिले फोन राख्छु' भन्दै फोनमा भएको हरियो बटन थिच्छिन्, फोनको स्विच अफ गर्छिन् र निदाउने कोसिस गर्छिन्।
यतिबेरै उज्यालो भैसकेको संकेत गर्ने कुखुरा डाकेको आवाज आउँछ। कुखुराको डाँक सुनेर हेमलता ब्युँझिछिन् र ट्वाइलेट जान्छिन्। ट्वाइलेटको ढोका बजेको सुनेर नर्वदा पनि ओछ्यानबाट बाहिर निस्किन्छिन्। टेक पनि नुहाउनु पर्यो भन्दै बाथरूमतिर लाग्छन्। सबैले नुवाई सकेर चिया पिउन थाल्छन्।
नर्वदा भन्छिन्, 'आमा, हजुरहरूलाई म सहारा दिन्छु, अस्ति जेठी फुपूले फोन गरेर हजुरहरूको सहाराको चिन्ता लिँदै हुनुहुन्थ्यो। मैले उहाँलाई, पिर नगर्नू फुपू म बुवा आमाको हेरचाहमा कुनै कमी हुन दिने छैन भनेँ। बुवा, आमा हजुरहरूले कुनै चिन्ता लिनु पर्दैन। मेरो एक मुठी सास रहुन्जेल हजुरहरूको स्याहार सुसारमा रत्तिभर कम हुन दिने छैन। मेरो पनि त प्रेरणाको स्रोत हजुरहरू नै हो।
माओवादीले चन्दा नदिएको निहुँमा मेरा बाबाको हत्या गर्दा, उखुबारीमा बलात्कारपछि हत्या गरिएकी मेरी बहिनीको शव भेट्दा, २०७२ को भूकम्पमा आमा गुमाउँदा र भाइ रोजगारीको सिलसिलामा मलेसिया पुगेर रातो बाकसमा फर्कंदा नै मैले परिवारिक शोक सहन गर्न सिकिसकेकी छु र यस्तो अवस्थामा हिम्मत र साहस जुटाउन जानेकी छु अनि म यो दुःखको घडीमा पनि हजुरहरूको सेवा गर्न तयार छु।
मैले त अझ देशको अस्मिता लुट्न लागेकाहरूविरूद्ध पनि लड्नु छ। वीरहरूको बहादुरीको गाथालाई युगौंयुगसम्म नमेटिने गरी स्वर्ण अक्षरले लेख्नु छ। यी यस्तै जिम्मेवारी लिएर मैले २०७८ मा स्ववियुमा अध्यक्ष पदमा जितेकी हुँ।'
टेक र हेमलता नर्वदातिर टुलुटुलु हेरेर सुक्क सुक्क गर्दै रून थाल्छन्। नर्वदाका कुरा सुनेर चकित परेकी हेमलता भन्छिन्, 'वाह बुहारी वाह! तिम्रो हिम्मत, आँट र साहसलाई सलाम! सबै महिलाहरू तिमी जस्तै हिम्मतिला भइदिए हाम्रो समाज अनि राष्ट्रले उहिल्यै कोल्टो फेरिसक्ने थियो होला। तिमी यो घरको मात्र नभएर, समाज र देशकै हिम्मतिली महिला रहेछौ।'
हेमलताका कुराले नर्वदाका आँखा रसाउँछन्। त्यही बेला नरेशको घर छेउमै रहेको बाटोबाट ताँतीका ताँती मानिसहरू देशमा भ्रष्टाचारको अन्त्य गर्नुपर्छ भन्ने नारा जुलुस लाउँदै हिँड्छन्।
'आमा, बुबा म एकैछिन यो जुलुसमा आएर खाना बनाउँछु,' भन्दै नर्वदा ताँतीमा जोडिएर 'भ्रष्टाचारको अन्त्य गरौं' भन्दै नारा लाउन थाल्छिन्।
टेक र हेमलता नर्वदाको बाटो हेरेर बार्दलीमा बसिरहन्छन्।
नर्वदा एक-डेढ घण्टा पछाडि घर आउँछिन्, हतार हतार, गरेर खाना बनाउँछिन्, सासू र ससुरालाई खाना खान दिएर आफू पनि खाना खान्छिन्। चाँडो चाँडो भाडा मोलेर 'आमा बुवा पल्ला घरे मनितालाई छाउपडी गोठमा सापले टोकेछ र उनको मृत्यु भएछ, म हेर्न जान लागेकी, हजुरहरू पनि जाने कि?' भनी सोध्छिन्।
हेमलता भन्छिन्, 'हैन के के भन्छिन् यी बुहारी, हैन होला? हो नै भने तिमी जाँदै गर न त, हामी आइहाल्छौ' भन्दै हेमलता जुत्ता लगाउन थाल्छिन्।
टेकले आफूले लगाएको कमिज फेरेर जुत्ता लगाउँछन्।
नर्वदा मनिताको घरमा पुग्दा धेरै मानिसहरू भेला भइसकेका हुन्छन्। मृतकका आमा बाबु तथा भेला भएका आफन्तहरू लासको वरिपरि बसेर रोइरहेकै बेलामा हेमलता र टेक पनि त्यही पुग्छन्।
त्यहाँको माहोललाई देखेर दुःखित नर्वदा यो समाजबाट छुइँ हुँदा बेग्लै झुप्रोमा राख्ने प्रथा रोक्ने जनचेतना फैलाउनु छ र आजैबाट समाज तथा देशका विकृति, विसंगतिहरूलाई रोक्न सरकारलाई दबाब दिनेछु भन्ने अठोट लिएर मनिताको मलामी जान्छिन्। त्यसको भोलिपल्ट एक सभा गठन गरी 'त्यो गाउँमा आजका दिनदेखि उप्रान्त कुनै पनि छोरी मान्छेहरू रजस्वला हुँदा छाउपडी गोठमा राख्न पाइने छैन' भन्ने निर्णय हुन्छ, सभामा उपस्थित सम्पूर्णले यो निर्णयको खुलेर प्रंशसा गरे।
निदाइरहेकी हेमलता नर्वदाको अनौठो हाँसो सुनेर ब्युँझन्छिन्।
'आज किन यति खुसी छौ बुहारी, निक्कै मज्जाले हाँस्यौ त?' भन्दै नर्वदाको कोठामा पुग्छिन्। नर्वदा हेमलताका प्रश्नको जवाफ नदिइ आँखा मिच्दै खुइँ गर्दै टोलाउन थाल्छिन्। नर्वदा टोलाएको थाहा पाउँछिन् र सोध्दछिन्, 'बुहारी के भयो तिमीलाई, किन टोहोलाएकी?'
नर्वदा भन्छिन्, 'आमा, आज मैले अचम्मको सपना देखें। भ्रष्टाचारीहरू एक एक गरी जेल चलान गरिएको, स्वदेशमा रोजगारीको व्ययस्थापन गरेर विदेशिएका सबै युवायुवतीहरूलाई रोजगारको निम्ति स्वदेशमै फर्काइएको, यही सपनामा खुसी भएर हाँसेछु, सपनामा हाँस्दा हाँस्दै ब्युझँदा हजुरलाई देख्दै छु। मैले देखेका सपना विपनामा साकार होलान् त? भनेर टोलाएकी आमा।'
'बुहारी, तिम्रा सपना साकार हुनु भनेको सारा नेपालीहरूको इच्छा पूरा हुनु हो, १२ वा १५ पास गरेर विदेशी उच्च शिक्षा हाँसिल गर्न लागेका विद्यार्थीहरूको होड देख्दा लाग्छ यो देश चाँडै नै वृद्धाश्रममा परिणत हुनेछ।' नर्वदा भन्छिन्, 'खै आमा देशमा नीतिगत र कानूनी समस्याहरूको चाङ छ, सानो काम फत्ते गर्न पनि सरकारलाई ठूलै दबाब दिनुपर्न थाल्या छ, मेरा सपना के साकार हुन्थे?'
हिजोसम्म नर्वदा गाउँलेहरूको साथ, हौसला, सहयोग पाएर गाउँमा गाउँलेहरूलाई निशुल्क परामर्श दिने, उनीहरूको समस्यालाई सरकार सामु पुर्याउने तथा विभिन्न जनचेतनामूलक काम गरेर आफूलाई गाउँ तथा राष्ट्रसामु चिनाउने काममा लागेकी थिइन् र गाउँलेहरू उनले गरेको सहयोग, साहस, हिम्मतको खुलेर प्रशंसा गर्न थालेका थिए भने हेमलता र टेक एक साहसी बुहारी पाएकोमा आफूलाई भाग्यमानी ठान्दै खुसी भएका थिएँ।
आज बिहानै नरेशका बुवाआमाको कार दुर्घटनामा परेर मृत्यु भयो अरे भन्ने सुनेर राज नर्वदाको घर आइपुग्दा नरेशको घरको दृश्य देखेर राज छक्क पर्छ। नर्वदाले कपाल काटेर आफ्ना सासू ससुराको काम गर्न बसेको दृश्य उसको कल्पनाभन्दा धेरै बाहिरको हुन्छ।
उसले नर्वदालाई आत्तिँदै सोध्छ, 'हैन नर्वदा जी, म यो के देख्दै छु, तपाईं त सासूससुराको किरिया आफैं गर्न थाल्नु भएछ?, बाँचुन्जेल त एक्लै छोड्नु भएन अनि उहाँहरू मरिसकेपछि पनि किन आफैं किरिया गर्न बस्नु भाको? पशुपतिनाथ परिसरमा पाइने भाडाका किरियापुत्री खोजेर यसो झारो टार्नु भएको भए हुन्थ्यो, के आफैं दुःख गर्नु भा नि?'
नर्वदा क्रोधित मुद्रामा राजलाई भन्छिन्, 'के भन्नु भको राज बाबु, आफू शिक्षित भएर यस्तो कुरा गर्न सुहाउँछ?, उहाँहरूले मलाई छोरी समान माया गर्नु भाथ्यो, त्यो कुरा तपाईंलाई थाहा हुँदा हुँदै यस्तो कुरा गर्न मिल्छ?, उहाँहरूको किरिया गर्न पाउनु त मेरा लागि भाग्यको कुरा हो र यो मेरो कर्तव्य पनि हो। समाजमा बुहारीले पनि छोराछोरीले झैं आफ्ना सासूससुराको किरिया गर्न मिल्छ भन्ने सन्देश दिनु र उहाँहरूको मृत आत्मालाई शान्ति मिल्नेगरी किरिया गर्नु मेरो कर्तव्य हो, बुझ्नु भो? यसमा तपाईं किन बाठो हुनु? तपाई जस्तै सोच भएका छोराहरूका कारणले गर्दा हाम्रो समाजमा छोरीहरू बाध्यताले किरिया बस्ने गरेका छन्, तपाईं आवाज नै उठाउने भए, त्यस्ता छोराहरूको बारेमा बोल्नुहोस्। म त कसैको करकापमा परेर किरिया बसेकी नि हैन, यो मेरो स्वनिर्णय हो, यसमा तपाईंको के टाउको दुखाइ? म मैले आफ्नै बुबाआमा मानेका सासूससुराको किरिया भाडाका मान्छे लगाएर गर्न त परै जाओस्, सोच्न पनि सक्दिनँ, धिक्कार छ तपाईंको सोचलाई।'
राज नर्वदाका कुरा सुनेर रातो पिरो हुन्छ र नर्वदालाई 'तपाईंको यो कदमको समाजमा युगयुग प्रशंसा गरियोस्' भन्दै बाइक चढेर घरतर्फ लाग्छ।