समय यस्तो रुग्ण छ अचेल
म एक जागिरदार
कमाउँदा कमाउँदै
हुनेछु बेघर
कमाउँदा कमाउँदै
आफ्नै गरिबीको रेखा कोरिरहेको हुनेछ
९-६ दगुराउने
कर्पोरेटका झेलखानाहरूले
मसँग छिनिरहनेछ
मेरो अमूल्य समय
मेरो बलवान् बाहु
मेरो तीक्ष्ण मस्तिष्क
मेरो मबाट 'म'
अनि एकदिन फुत्त फ्याँकिएको भेटिनेछु
रद्दी झैँ सडकमा
समयविहीन
बाहुविहीन
चेतविहीन
अनि 'म' विहीन म
रुग्ण छ यो समय र माहोल
म एक जागिरदार
मिहिनेत गर्दागर्दै पनि हुनेछु
एकदिन फिजुल
एक-एक पाई जोडेँ भने नि
एकदिनको एउटा तुफान काफी छ
मलाई जोगी बनाउन
एक भयानक रोग काफी छ
मलाइ जोगी बनाउन
अनि बेलाबखत शिक्षित हुनुपर्ने
शिक्षित नभनौँ सर्टिफिकेट खरिद गर्नुपर्ने
कसौटीमा उभिँदा
अनि बेलाबखत सामाजिक भइदिनु पर्ने
कसौटीमा उभिँदा
बिहे, रीतिरिवाज, संस्कार आदिको भूमरीले
तत्क्षण एक सेकेन्ड लगाउने छैन
मलाई जोगी बनाउन
एक जिन्दगीमै
म हरदिन कमाउनेछु
तथापि
म हरदिन लुटिनेछु, नाङ्गिनेछु
हरेक दिन गरिबीको रेखालाई
एक हातले छुँदै
कबड्डी भन्दै फर्किनेछु
म एक जागिरदार
कमाउँदा कमाउँदै
हुनेछु एकदिन बेघर।