मैले भनेँ- 'सलिना, जिन्दगी होस् त तिम्रो जस्तो। आहा! क्या मजाको छ है। तिमीलाई केही चिजको अभाव छैन। तिमीलाई हरेक चिजको प्राप्ति भएकै छ। अनि साँच्चै, तिमी त अष्ट्रेलिया जाँदै रहेछौ। कुनै दिन भनेकी थियौ, मेरो अष्ट्रेलिया जाने सपना हो। त्यो पनि आज पूरा भएको छ। तिमी त साँच्चै नै ठूलो सौभाग्य बोकेको मान्छे हौ।'
सलिनाले लामो सास तान्दै भनी, 'यो त सबै बाहिरबाट देखिने कुरा मात्र हो सागर। कसको जीवनमा हुन्न र दुःख, पीडा, अभाव, रोदन, समस्या, घृणा, तिरस्कार आदि। सबैको आआफ्नो जीवन छ र त्यसमा आआफ्ने दुःखपीडा छ। त्यसको समाधान पनि छ। यो संसारमा दुःख त कसले गरेको हुन्न र! टाउकोमा सागको भारी बोकेर टोल-टोलमा घुम्दै गरेकी बुढी आमालाई हेर त, यो पृथ्वीको भार उहाँको टाउकोमा छ जस्तो लाग्दैन र? को छ यो संसारमा दुःख नगर्ने? मैले पनि अलिकति मात्र दुःख गरेकी हुँ। र, त्यही दुःख गरेकै कारण मेरो सपना आज पूरा हुँदैछ।
मेरो विशाल सपना त अष्ट्रेलिया जानु हैन, मनिषलाई पाउनु थियो। हजारौँ हजार लडाइँ लडेर आज म मनिषलाई पाउँदैछु। मनिषलाई पाउनु मेरो सपना थियो र मनिषले पनि मलाई पाउनु उसको सपना थियो। दशकौँपछि आज यो पनि सम्भव हुँदैछ।'
उसको अनुहारमा छाएका भावनाका धर्साहरू र ओठमा देखिएको संवेदनशीलता मलाई उसको प्रेम जीवनको बारेमा थाहा पाउने कौतूहलता जाग्यो। त्यसपछि मैले भनेँ, 'सलिना, मलाई सुनाऊ न तिम्रो प्रेम कथा कस्तो थियो भनेर। तिमीले कसरी सफल पार्यौ तिम्रो प्रेमलाई?'
'यो प्रश्न जति सुन्दा सामान्य लाग्छ, त्यति नै गाह्रो छ यसको जवाफ दिन। तर पनि म तिमीलाई भन्ने कोसिस मात्र गर्नेछु।
मेरो सानैदेखिको सपना एयर होस्टेस वा मोडेल बन्ने थियो। त्यसैले विभिन्न मोडलिङ प्रतियोगिताहरूमा जाने गरेकी थिएँ। मैले सानै उमेरमा मोडलिङको क्षेत्रमा ठूलो सफलता भेटाइसकेकी थिएँ। करिब-करिब आजभन्दा ८ वर्ष जति अगाडि म कक्षा १२ मा अध्ययन गर्दै थिएँ। त्यतिबेला नेपालभरिबाट सहभागीहरू बोलाएर काठमाडौंको एउटा पाँच तारे होटलमा मोडलिङ प्रतियोगिता हुँदै थियो। मैले पनि त्यस प्रतियोगितामा सहभागिता जनाएकी थिएँ। आफ्नो प्रस्तुती निकै राम्रो दिएकी थिएँ। मेरो क्षमता र प्रतिभा देखेर त्यो हल नै तरङ्गित भएको थियो। म एकाएक चर्चा र परिचर्चामा आएकी थिएँ।
कार्यक्रम सकेर घर पुग्न नपाउँदै करिब एक दर्जनभन्दा बढी फ्रेन्ड रिक्वेस्टहरू आएका थिए। मैले पालैपालो नामहरू हेरेँ। त्यस फ्रेन्ड रिक्वेस्टहरू मध्ये एउटा मेरा लागि विशेष हुन पुग्यो। उसको नाम थियो मनिष। मैले उसको हरेक फोटोहरू हेरेँ। उसको फेसबुक वालमा लेखिएका पोस्टहरू हेरेँ। पेसाले ऊ खेलाडी रहेछ। आफू खेलाडी नभए नि एथ्लेटिक खेलाडी खुब मन पर्थ्यो।
मैले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेकै दिनबाट हामी कुरा गर्न थालेका थियौँ। म मनिषसँग दिन प्रतिदिन नजिक हुँदै थिएँ तर मैले ऊप्रति कुनै पनि राम्रो वा नराम्रो नजर लगाएकी थिइनँ। एकदिन एउटा मोडलिङ कार्यक्रममा जाँदै थिएँ। त्यस दिन म निकै हतारमा थिएँ। उसले फोन गरेर भन्यो- 'सलिना तिमी के गर्दैछौ? अहिलेसम्म कार्यक्रममा गएनौ?'
मैले घरको कामले ढिला भइहाल्यो भनेँ। उसले मलाई कार्यक्रम स्थलसम्म पुर्याइदाने भयो। पन्ध्र मिनेट जतिमा आइपुग्ने बताउँदै बानेश्वर चोकमा कुर्न भन्यो। केही समयको पर्खाइपछि ऊ निलो पल्सर बाइकमा आयो। मलाई देख्ने बित्तिकै 'हेलो सलिना' भनेर बोलायो। मैले पनि हाइ भन्दै हात हलाएँ। त्यो भेटमा हाम्रा केही औपचारिक कुराहरू मात्र भए। म उसको बाइकमा बसेँ अनि सहरको तमाम भिडलाई छिचोल्दै बाइक आफ्नै बेगमा अगाडि बढ्यो। त्यो बेला कता-कता मैले बाइकको गति र हाम्रो सम्बन्धको अनुपात एउटै पाएँ।
हामीबीच कुनै कुराको अन्तर थिएन। म एकाएक उसको सामीप्यमा गएकी थिएँ। एकदिनको कुरा हो, रातिको दुई बजेको हुँदो हो। उसले म्यासेज गरेको रहेछ। मैले बिहान सात बजे मात्र त्यो म्यासेजलाई हेरेँ। त्यसमा लेखिएको थियो-
'डियर सलिना, तिमी मेरो जीवनको लक्ष्य हौ। तिमीलाई पाउनु मेरो जिन्दगीकै विशाल सफलता हो। तिमीलाई म मनपर्छ या पर्दैन थाहा छैन, तिमीले मलाई कुन कोणबाट कसरी हेर्छौ त्यो पनि थाहा छैन। तर म तिमीलाई यो संसारको क्षेत्रफल, सगरमाथाको उचाइँ र समुद्रको गहिराइभन्दा बढी माया गर्छु। मेरो नजरबाट तिमी सधैँ मेरो अँध्यारो पछिको उज्यालो हौ। तिमी मेरो प्रकाश हौ, तिमी मेरो जिन्दगीको वसन्त ऋतु हौ, तिमी मेरो गर्मीको शीतलता हौ, तिमी मेरो जाडो यामको न्यानोपन हौ। तिमीलाई पाउन म जे पनि गर्न सक्छु, बस् तिमी भन मात्र। तिमीले यो म्यासेजलाई कसरी लिन्छौ, एउटा प्रेमीले आफ्नो प्रेमिकालाई लेखेको एउटा प्रेमको आग्रह, बिन्ती, प्रस्ताव, सम्बोधन वा अरु केही जुन रुपमा हेरे पनि मेरो आशालाई निराशामा परिवर्तन नगरिदिनू। म तिम्रो जवाफलाई पर्खिबसेको छु।'
यति पढिसकेपछि मेरो मनमा मनिषप्रति झन् प्रेम पलायो। मैले पनि लेखेँ-
'तिमी निरास नहुनू, जीवनभर म तिम्रो हुनेछु। तिमीले मलाई विश्वास गर्नु नै मैले तिमीलाई पाउनु बराबर हो। जिन्दगीमा मलाई नदी जस्तै निरन्तर रूपमा सँगै लैजानू। म तिम्रो हात कहिले छोड्ने छैन, जस्तोसुकै परिस्थितिमा पनि। तिमीलाई पाउनका लागि म जिन्दगीको जुनसुकै युद्ध लड्न पनि तयार छु।'
यसरी आजभन्दा सात वर्ष अगाडि हाम्रो औपचारिक रुपमा प्रेमको सुरुआत भएको थियो। तर प्रेममा दुवै पक्षले जति माया गरे पनि, जति मायाको चित्कार गरे पनि प्रेम सफल बनाउन ठूलो संघर्ष गर्नुपर्ने रहेछ।
मेरो प्रेम पनि संघर्ष र पर्खाइले भरिएको छ। मनिष स्नातक तह अध्ययनका लागि अस्ट्रेलिया जाने भयो। म मनिषसँगै चाहेर पनि जान सक्दिन थिएँ किनकि मेरो ऊसँगै जानका लागि उमेर पुगेको थिएन। मेरो उमेर सानो भए पनि ऊप्रतिको प्रेम अतुलनीय थियो। म त्यो क्षणलाई अझै पनि बिर्सिन सक्दिनँ जुन क्षण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको थियो।
यस्तो लाग्छ कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले पनि जान नपरोस्। किनकि मनिष जादै थियो, त्यहीँबाट मलाई छाडेर स्नातक तह अध्ययनका लागि अस्ट्रेलिया। म चाहन्थेँ एयरपोर्टमा बगेको आँसु अन्तिम बनोस्।
मेरा लागि मनिष जानु भनेको मेरो सपना जानु हो, मेरो सर्वश्व जानु हो, मेरो खास मान्छे जानु हो, मेरो सुख र आनन्द जानु हो। मलाई कसैले साथ नदिएका बेला, म अप्ठ्यारोमा परेका बेला साथ दिने एउटा मान्छे थियो मानिष। तर त्यतिबेला उसलाई समयले मबाट टाढा खोसेर लगेको थियो। त्यही दिन हो मैले जानेको जीवनको परिभाषा।
जीवनको परिभाषा बडो कठोर रहेछ। समयले हरेक मन्छेलाई संघर्ष सिकाउँदो रहेछ। जीवनमा आउने सबै मान्छेहरू सधैँ सँगै नहुँदा रहेछन् हरेक मोडमा। भेटिने र छुटिने क्रम जारी हुँदो रहेछ। जसरी छुट्टिन्छ एउटै नदी फरक-फरक बाटोमा। सायद यसैलाई भनिन्छ जीवन।
मनिष अस्ट्रेलिया गएपछि म पीडाहरूमा बाँच्न थालेँ। त्यतिबेला यस्तो लाग्थ्यो कि म बाँचिरहेकी छु त केबल उसका लागि मात्र। म उसको गहिरो पर्खाइमा थिएँ। पर्खाइको घडी बहुत लामो हुँदो रहेछ। पर्खाइ एउटा आशा रहेछ, नयाँ जीवनको सुरुआत हुन्छ भन्ने कल्पना रहेछ।
म मनिषका लागि पर्खिरहेँ जसरी पर्खिएकी थिइन् राधाले कृष्णलाई, मुनाले मदनलाई र लैलाले मझनुलाई।
भनिन्छ समस्यामा समस्या आइपर्छ, दुःखमाथि दुःख आइपर्छ। मेरो जीवनमा पनि अनेकन समस्या र दुःखहरू आएका छन्। हुन त यो संसारमा दुःख नपाएको व्यक्ति को होला र, यत्ति हो कि कसैले बाहिर देखाएका हुन्छन् भने कसैले देखाएका हुँदैनन्। सबैलाई आ-आफ्नो दुःख र पीडा ठूलो लाग्छ। मलाई पनि मेरो पीडा सबैभन्दा ठूलो लाग्थ्यो।
मैले माध्यामिक तहको पढाइ सकाएर एयर होस्टेस बन्ने सपनामा यस सम्बन्धी कोर्ष सुरु गरेकी थिएँ। मैले हरेक परीक्षामा निकै राम्रो अंक प्राप्त गर्थेँ। कक्षाकोठाको म प्रथम नै थिएँ। मैले अरुसँग प्रतिस्पर्धा गर्नु पर्दैन थियो, अरुले मसँग प्रतिस्पर्धा गर्थे। विस्तारै दिनहरू बित्दै जाँदा मेरो कोर्ष पनि सकियो।
म जागिरको सिलसिलामा नेपालमा नाम चलेका विभिन्न एयरलाइन्स कम्पनीमाझ गएँ तर कहीँ पनि मेरो नाम निस्किएन। सायद मेरो पावर र पहुँच पुगेको थिएन। नत्र भने हरेक चिजमा परिपोक्त थिएँ। मसँगै अध्ययन गर्ने मभन्दा पढाइमा कमजोर साथीहरूले राम्रो जागिर पाएका थिए। यो सबै भैसकेपछि नेपालमा पावर र पहुँचबिना आफ्नो जति नै क्षमता भए नि केही नहुने रहेछ भन्ने लाग्यो। नेपालमा क्षमताको कदर हुँदैन भन्ने सुनेकी थिएँ तर त्यतिबेला त्यो भनाइ आफैंमाथि प्रमाणित भएको थियो। अन्तिममा मैले एयर होस्टेस बन्ने सपनालाई बागमती किनारमा फालिदिएँ।
ती दिनहरूमा म अनेकन पीडामा बाँचेकी थिएँ। त्यतिबेला यस्तो लाग्थ्यो, कोही यो संसारमा पीडाहरूमा बाँचिरहेको छ भने त्यो म हो। एकातिर मनिषको मायाले सताउने गर्थ्यो, अर्कातिर आफ्नो सपना पूरा नभएको पीडा हुन्थ्यो। त्यो समयमा म पूरै डिप्रेसनमा गएकी थिएँ।
हाम्रो सम्बन्धमा पनि केही चिसोपना आएको थियो। म सोच्ने गर्थेँ नयाँ ठाउँ र परिवेशसँगै कतै मनिष पनि परिवर्तन पो भयो कि! नहोस् पनि किन? कहाँ ऊ, कहाँ म! ऊ र ममा धेरै कुराको अन्तर छ। विस्तारै समयले मलाई पर्खाइसँगै निराशा पनि दिइरहेको थियो।
मलाई लागेको थियो अब हाम्रो सम्बन्ध निकै लामो समय टिक्न सक्दैन। मैले मनिषलाई बिर्सिनु बाहेक केही विकल्प बाँकी छैन। मेरो एयर होस्टेस बन्ने सपनालाई बागमती किनारमा फालेजस्तै मनिषलाई पनि यो दिलबाट फालिदिउँ सदासदाका लागि तर त्यति सजिलै मनिष मेरो दिलबाट जानेवाला थिएन।
आज आएर लाग्छ, म त्यतिबेला गलत रहेछु। एकदिनको उसको म्यासेजले मलाई आफैंप्रति घृणा जगायो। मेरो मरिसकेको आशा फेरि पलायो। उसले म्यासेजमा भनेको थियो-
'डियर सलिना, लामो समय सम्पर्क विहीन हुँदा तिम्रो मनमा हाम्रो सम्बन्धलाई लिएर केही द्विविधा उत्पन्न भए होलान्। नहोस् पनि किन, जहाँ माया हुन्छ त्यहाँ शंका र उपशंकाहरू हुन्छन्। यदि ती शंकाहरू भएन भने त्यसलाई असल प्रेमको रुपमा लिन सकिन्न। सलिना मेरो अष्ट्रेलियाको यात्राको कथा नै छुट्टै छ। भन्ने नै हो भने नेपालबाट मेरो अष्ट्रेलियाको उडान कुवाको भ्यागुतोलाई झिकेर समुद्रमा छोड्दिएको जस्तो भएको थियो। त्यही अर्थात् समुद्रको गहिराइमा संघर्ष गर्ने क्रममा म केही समय नयाँ नौलो ठाउँमा रनभुल्लमा पारेको मात्र हुँ।
तिमीलाई बिर्सियो कदापि हैन र यो सम्भव पनि छैन। म तिमीलाई सम्झेर हरेक पल रुने गरेको छु। कति दिन त तिमीलाई फोन गरेर तिमीसँग नै रुन मन लागेको थियो। तर तिमीलाई मेरो कारणले दुःख बनाउन सक्दैन थिएँ। नेपालबाट देखिने अष्ट्रेलिया जस्तो अष्ट्रेलिया नरहेछ। यहाँ झन् नेपालमा भन्दा बढी दुःख गर्नुपर्ने रहेछ। यो ठाउँमा म बिरामी छु आज सक्दिनँ काम गर्न भन्न पाइँदैन। यहाँ जसरी नि काम गर्नैपर्छ। काम नगर्नुको विकल्प हुन्न।
तर पनि अब तिमी चिन्ता कतै पनि नगर्नू। तिम्रो मनिष नेपाल फर्किँदै छ। सपनाको घर बनाउन देश र तिमीलाई छोडेको मैले हाम्रो प्रेमको घर सजाउन केही समय अष्ट्रेलिया छोड्ने भएँ। हाम्रो प्रेम सबन्धलाई पूर्णताको रूप दिन म तिमीसँग विवाह गर्न नेपाल फर्किँदै छु।'
यो म्यासेजले मेरो मनिषप्रतिको व्यावहार र शंका नै परिवर्तन भयो। म्यासेज गरेको एक साताभित्रै ऊ नेपाल आइपुग्यो। त्यसपछि मेरो खुसीको सीमा नै रहेन। तत्कालै हामी दुईको परिवारबीच भेटघाट भएर बिहेको टुङ्गो लाग्यो र सामाजिक परम्पराअनुसार विवाह सुसम्पन्न भयो।
अब म केही दिनमा नै मनिषसँग डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाँदैछु। यो सबै हाम्रो धैर्यले गर्दा सम्भव भएको हो सागर। जिन्दगीको सफलताको शूत्र भनेको धैर्यता र निरन्तरता रहेछ।'