पीडाहरूसँगको पुरानै सामीप्यता
दु:खहरूको पुरानै संगालो
खै के सोच्दो हो बुढो तनले
उमेरसँगैका सन्तानहरू विदेशी हुँदा
विपिन भएर इजराइलमा गुमनाम भइरहँदा
आमाको आँतमा कहिले सुखको सास हुँदैन
रुस, युक्रेनका तिर गोली पट्किँदा
बा'को सास पनि कैँयौं पटक रोकिएको छ।
प्रिय, विपिन
तिमी हराएदेखि
प्रत्येक प्रहर आमा खोजिरहेछिन्
हरेक पल यादको सन्देश पठाउँछिन्
सरकार गुहारिरहेछिन्
त्यो शरीर सुरक्षित छ हाम्लाई विश्वास छ
विवशताको मुख अगाडि शिक्षाको अर्थ नरहेछ
विज्ञता र कुशलता खोजले
बर्बर्ताको दासत्व स्वीकार गर्न बाध्य बनायो
आशा सकिए
जवानी डुब्दै गइरहेछ
प्रिय विपिन
तिम्रो अनुपस्थित मन रोइरहन्छ
सरकार हराइरहेको छ
सपनाको बड्डलहरूमा
तिमी गुमनाम हुनुले
हजारौं सपनाहरू कुण्ठित भएका छन्
प्रिय विपिन
तिमी आउनेछौ
हराएको सरकार भेटिनेछ
सुकेका आमाको आँखा उर्वर हुनेछन्।