बिहान हतार हुन्थ्यो स्कुल जान। ९ बजेसम्म हतार-हतार गरेर गृहकार्य सक्थेँ अनि आत्तिँदै तल झरेर 'आमा, के खाएर जानी हो आज?' भन्दै सोध्थेँ।
आमाले छिटोछिटो बेलुकाको भात भुटेर दिनुहुन्थ्यो। मेरो आफ्नै लाग्ने गहिरो कचौरामा अलिकति चुकौनी राखेर भुटेको भात खान्थेँ। खाँदाखाँदै मेरो आँखा पारि गाउँबाट झर्दै गरेका मेरा स्कुलकै सहयात्रीहरू तिर दौडिन्थे। एक नजर झर्दै गरेका सबैलाई हेरिसक्दा म ढुक्क हुन्थेँ, अझै उनी झरेकी छैनन् भनेर।
म आत्तिँदै ब्रस गरेर घरै तलको धारामा जान्थेँ। मलाई त्यो बेला लक्स साबुन एकदम मन पर्ने। मन पर्नुको पनि कारण थियो। त्यो बेला लक्स साबुन भनेको त्यहीँ पैसामा आउने नुहाउने अरु साबुनभन्दा ठूलो हुन्थ्यो भने एकचोटि लगाएर मुख धुँदा चाहिनेभन्दा धेरै सेतो देखिन्थेँ। त्यो बेला त्यही मन पर्थ्यो।
म यसो घरतिर हेर्थेँ, आमाले नदेख्ने गरी टाउको भिजाउँथेँ पानीमा। आमाले देख्नु भयो भनी गाली गर्नु हुन्थ्यो कपाल किन भिजाएको भनेर। विस्तारै लुकेर घर छिर्थेँ। हतार-हतार कोठामा गएर डाबर अमला तेल कपालमा लगाउथेँ। अनि काइँयोले सिर्लिक्क चिल्लो हुने गरी सबै कपाल देब्रे तिर फर्काउथेँ। पानी र तेलको त्यो मिसावट विस्तारै कानको छेउबाट तल बग्थ्यो। म रुमालले पुछ्थेँ।
त्यो बेलासम्म मेरो आँखाले ३/४ चोटि पारि हेर्न भ्याईसकेको हुन्थ्यो। उनी अझै देखिएकी थिइनन्। कोठामा दिदीको आँखा छलेर दिदीकै फेयर एन्ड लभ्ली लगाउथेँ। एउटा सानो ऐनामा आफूलाई हेर्थेँ र मनमनै सोच्थेँ- 'उनले पनि मन त पराउँछिन् होला, तर नदेखे जस्तो मात्र गर्छिन्।'
आँखा फेरि पारि दौडिहाल्थेँ अनि आत्तिन्थेँ, उनी त आइसकिछिन्! अनि म झोला बोकेर स्कुलको लागि हिँड्थेँ। मैले कैँयौंपटक प्रयास गरेँ उनलाई भेटाउन रिडि बजारको चोकमा। आजको पनि प्रयास नै थियो यो उनलाई चोकमा भेटाउने। आज भने लगभग सँगै भयौँ।
उनी थोरै अगाडि पुगिसकेकी थिइन्। म आफै बोल्न सक्दिन थिएँ। हैन, सक्थेँ तर डराउथेँ। यो डर के को हो? मलाई थाहा छैन। सायद हेरेको देखे मात्र भने पनि स्कुलभरि हल्ला फैलाउँदै हिँड्ने साथीहरूको हो कि।
निलो कुर्था, बाक्लो लामो कपाल, उनका साथीहरू मध्ये उनी अलिक अग्ली थिइन्। त्यसैले पनि उनलाई सजिलै चिन्दथेँ, पछाडिबाट पनि। म अलिक छिटो पाइला चाल्थेँ अलि नजिक जान तर उनी झन् छिटो पाइला चाल्थिन्। उनी मलाई देख्थिन् तर नदेखे जस्तो गरी हिँड्थिन्। हरेक दिन नबोलेरै स्कुल पुगिन्थ्यो।
त्यो बेला म कक्षा ८ मा पद्थेँ, उनी कक्षा ७ मा। कक्षा कोठामा झोला राखेर सबै प्रार्थना गर्न निस्किन्थ्यौँ। त्यो बेला पनि मेरो आँखा उनीमै हुन्थ्यो। राष्ट्रिय गान गाउने बेलामा तीन जनालाई अगाडि झन्डा बोकेर उभ्याइन्थ्यो तर कसलाई उभ्याउने भन्ने सरहरूको हातमा हुन्थ्यो। म हरेक दिन म र उनी परे हुन्थ्यो भनेर प्रार्थना गर्थेँ तर मेरो कहाँ त्यस्तो भाग्य र! म परेँ भने दुई जना अरु नै कोही हुन्थे भने उनी परिन् भने दुई जना अरु नै कोही हुन्थे।
म कहिल्यै प्रार्थना गर्दा अगाडि बसिनँ। त्याँ बसिन्जेल उनलाई देख्न पाइन्न भनेर। सकेसम्म म उनकै छेउछाउ तर पछाडि पर्ने गरी बस्थेँ। मलाई थाहा थिएन, यो त्यो उमेरको के थियो! एकतर्फी माया, आकर्षण या भर्खरै सुरु भएको टीनएजको असर। तर जे थियो निकै प्यारो थियो।
उनैले देखून्, ख्याल गरून् भनेर स्कुलमा हुने हरेक कार्यक्रममा सहभागी भएर जित्नै पर्ने दबाब मनमा लिन्थेँ म। कतिपय खेल जित्थेँ पनि उनैले गर्दा। धन्यवाद तिमीलाई।
आजभोलि आफ्नो आफ्नो जीवनमा सबैजना व्यस्त छौँ। यी सब कुराहरू सम्झने फुर्सद पनि छैन होला। तर पनि कहिलेकाहीँ सम्झने गर्छु। त्यतिबेला यो सब कुरा उनलाई थाहा भयो या भएन! तर आज पनि ती कुराहरू सम्झिँदा म तिमीलाई सम्झिन्छु, ती मिठा पलहरू सम्झिन्छु। तिमीले पनि सम्झिन्छ्यौ होला।
आजभोलि फेसबुकमा कतै केही फोटो देख्दिनँ। कतै व्यस्त छौ सायद, तिम्रै आफ्नै लक्ष्यहरूमा। तर कहिलेकाहीँ कतै अल्झिँदा, कतै स्कुल जाँदै गरेका भाइबहिनी देख्दा, फर्केर त्यहीँ स्कुलको बाटो हिँड्दै गर्दा ती स्कुले साथीहरू सम्झन्छु। तिमी सम्झन्छु। तिम्रा कुरा सम्झिन्छु। तिम्रो हेराइ, तिम्रो बोली सम्झन्छु। लाग्छ, ती दिन फर्किएर आए हुन्थ्यो। म फेरि निर्धक्क तिमीलाई चिहाउथेँ। भन्ने हिम्मत त अझै गर्न सक्दिन थिएँ तर तिमीलाई मेरै हाउभाउले चिनाउथेँ।