बैंकमा जमानत राखेको घरको
लिलामी सूचना देखेर
दुःख लागेको छ पनि छैन पनि
दलिन त्यो घरको बोकेको
यादमा झरेका आँसुको
मूल्य छ पनि छैन पनि
अस्ति आमाले सारी किन्न पैसा माग्दा
सुनेको नसुनेकै हिँडेको
याद छ पनि छैन पनि
बिरामी बालाई समयमै अस्पताल
पुर्याउन नपाउँदा बा बित्नु भएको
स्मरण ताजा छ पनि छैन पनि
बाबा भन्दै सानो छोरोले गाडीको खेलौना खोज्दा
दाम सुनेर भागेकामा
पश्चात्ताप छ पनि छैन पनि
सानो छोरीलाई भर्ना गर्नुछ राम्रो बोर्डिङ स्कुल
शुल्क आम्दानीभन्दा दोब्बर भएकोमा
चिन्ता छ पनि छैन पनि
देश बनाउनेभन्दा बिगार्नेको जमात बढी देख्दा
देशको बिजोग देखेर एक्लै
रोएको छु पनि छैन पनि
अनि साथै देख्छु भाग्यमा पहिरो गाएको गएकै छ
यस्तोमा जिन्दगी सम्हाल्ने
आँट छ पनि छैन पनि।