कविता
म यस्ती छोरी जन्माउन सकूँ
जसले गर्भमै तुहाउन खोजिएको
विज्ञानलाई परास्त गर्दै सुन्दर धर्तीमा आफ्ना
अदम्य पाइला टेकोस्।
रूँदै नजन्मियोस् हारेको देख्छ समाजले,
रूपान्तरणको बिगुल फुक्दै जन्मियोस्।
सधैं ‘अबला’ र ‘कमजोर’ को उपमा भिराउँछ समाजले
आफ्नो पहिचान आफैं बनाओस्।
म यस्ती छोरी जन्माउन सकूँ
भत्काओस् विभेदका पर्खालहरू
फराकिलो होस् छाती,
छेक्न सकून् अपमानका छालहरू।
न्याय भिक माग्नुपर्ने देशमा सुकुमोल हातहरूले लेखून् कानुनका ठेलीहरू,
दिनदहाडै मारिए निर्मला’ सुस्मिता र शालिन जस्ता चेलीहरू।
यतै कतै डुलिरहेछन् विक्षिप्त ती आत्माहरू थोरै भए पनि शान्ति दिलाउन सकोस्।
बोक्सीको आरोपमा दुर्व्यवहार सहेकी ती
हजुरआमाको मुहारमा अलिकति कान्ति दिलाउन सकोस्।
म यस्ती छोरी जन्माउन सकूँ,
प्रतिकार गर्न सकोस् दाइजोको नाममा
जिउँदै जलाउनेहरूलाई।
हप्काउन सकोस् दप्काउन सकोस् खबरदारी गर्न सकोस्
गिद्दे नजर लाउनेहरूलाई
गर्व गरोस् छोरी हुनुमै, नलाओस् दोष भाग्यलाई ,भाग्य रेखा आफैं कोर्न सकोस्
नरोकिऊन् पाइला गन्तव्यमा तेर्सिएका अवरोधहरू सजिलै फोर्न सकोस्।
म यस्ती छोरी जन्माउन सकूँ,
नेपाल आमा आशीर्वाद दिनुस् न
म यस्ती छोरी जन्माउन सकूँ।