मलाई पानी जस्तै बन्नुछ
जसको आकार तिम्रो इच्छाअनुसार बन्न सकोस्
मेरो गन्धहीनतामा तिम्रो प्रेमको सुगन्धहरू
मगमग भएर फैलिन सकोस्
कुनै स्वाद छैन ममा, र चाहन्छु यो स्वादहीनतामा
तिम्रो यौवनको स्वाद जुर्मुराएर आओस्
हो म त्यही पानी बन्न चाहन्छु, रंगहीन पानी
जहाँ तिम्रा सपनाका रंगहरू मिसिएर जीवन रंगीन बन्न सकोस्
तिम्रो इच्छाअनुसार म स्थिर बन्न सकुँ
तिम्रो चाहनाले म चलायमान बन्न सकुँ
प्रेमिल नियन्त्रणमा रहोस गतिशीलता र त
म पानी जस्तै बन्न चाहन्छु
म झर्न पनि सक्छु शिखरहरूबाट
म पर्न पनि सक्छु बादलका थुम्काहरूबाट
म उम्रिन पनि सक्छु पृथ्वीको गहिराइबाट
म झर्दैझर्दै
म पर्दैपर्दै
म बग्दैबग्दै
विशाल सागरलाई भेटन सकुँ
जहाँबाट उर्लेका छालहरूले
किनार भइ बसेका तिम्रा यौवनलाई चुम्न सकोस्
हो, म त्यही पानी बन्न चाहन्छु
र निरन्तर बगिरहन चाहन्छु
मलाई मेरैमुनि थिग्रिएर बसेका ढुंगाहरू थुपारेर छेक्ने प्रयास नगर्नू
स्वार्थका थुप्रोले बनेका बाँधहरूले रोक्ने प्रयार नगर्नू
पानी भएर पनि आगो हुन सक्छु
जलाउन सक्छु
गलाउन सक्छु
ढलाउन सक्छु र
भत्काउन सक्छु
स्वार्थका सम्बन्धहरू
अतः मलाई निर्मल कञ्चन अनि शीतल पानी बन्न देऊ
अनन्त यात्रामा अविरल बगिरहन देऊ।