उसलाई न चिनेको, न बुझेको, न त देखेको नै थिएँ। तर उसलाई नदेखी, नबुझी यस्तो लाग्यो कि सायद हाम्रो अघिल्लो जन्मको केही सम्बन्ध छ। मलाई लाग्यो कि उसलाई मैले नजिकबाट चिनेकी छु, जानेकी छु। ऊसँग भेट भयो भने धेरै कुरा सोध्छु,धेरै बोल्छु जस्तो लाग्थ्यो।
उसलाई नदेखी म उसको मायामा डुबिसकेकी थिएँ। तर जब ऊसँग भेट भयो तब आँखा जुधाउन सकिरहेकी थिइनँ। म बोल्न लजाइरहेकी थिएँ तर नि हिम्मत जुटाऊदै थिएँ। ऊसँगको भेट अविस्मरणीय थियो। जुन म चाहेर नि बिर्सिन सक्दिनँ। ऊसँग छुट्टिँदा लाग्यो कि सधैं हामी एक हुन पाको भए! ऊसँग छुट्टिँदा मुटु भक्कानिएको थियो, जुन उसले नि महसुस गरेको थियो।
हामी एकअर्काबाट दूरीले टाढा भए पनि मनबाट एकदम नजिक थियौं जस्तो लाग्थ्यो। म उसलाई हजारौंको भीडमा खोजी रहन्थेँ। मलाई हजारौंको भीडमा नि ऊबिना एक्लोपन महसुस हुन्थ्यो तर बिस्तारै ऊ व्यस्त हुन थाल्यो अनि म आफूलाई व्यस्त बनाउने कोसिस गरिरहेँ किनकि ऊसँग मलाई दिने समय थिएन र म उसको बोली नसुनी बस्न सक्दिन थिएँ।
केही महिना झगडासँगै माया गरेर नै बित्यो। बीचमा कयौं रात कयौं दिन एक अर्कासँग रिसाउँदै बिते तर मलाई थाहा थिएन उसले मेरो रिस मात्र देख्छ भन्ने। उसले मेरो रिस पछाडिको माया बुझ्ने कोसिस नै गरेन। तर म ऊसँग भेटेर सबै कुरा पहिले जस्तै बनाउन चाहन्थेँ तर सोचेको जस्तो नहुँदो रहेछ। हामी चाहेर नि भेट्न सक्ने अवस्थामा थिएनौं। तर केही समयपछि हाम्रो भेट हुने दिन आयो, मैले उसलाई निक्कै भिन्न भेट्टाएँ। मेरो मनले भनिरहेको थियो 'ऊ पहिले जस्तो रहेन' भनेर। त्यही पनि म मेरो मनलाई सम्झाउँदै उसको प्रेममा डुबिरहेको थिएँ। मनमा अनेक सपना अनेक प्रश्न लिएर उसलाई भेट्न पुगेको म, तर उसको त्यो व्यवहारले मैले मनमा लागेका प्रश्न मनमा नै दबाउन पुगेँ।
मैले कहिले सोचिनँ कि त्यही हाम्रो अन्तिम भेट थियो भनेर। त्यो दिनदेखि हामीबीच कुरा हुनै छोड्यो। म उसको फोन मेसेजको प्रतिक्षामा हुन्थेँ। कहिलेकाहीँ उसको मेसेज त आउथ्यो तर उसको मेसेजमा कुनै सच्चाई नै थिएन। मलाई उसको त्यो बोल्ने शैली देखेर आफूदेखि रिस उठ्थ्यो। कुरा मायाको भएर मात्र म उसलाई छोड्न सकिरहेकी थिएन, नत्र जीवनमा अरू मौका नपाएकी भने होइन।
मलाई केवल उसको भएर बाँच्न मन थियो, तर थाहा थिएन उसले मलाई मर्नु न बाँच्नु पारेर जान्छ भन्ने कुरा। मेरो मुस्कानको कारण थियो ऊ तर आज मेरो आँखाको आँसु बनेर बग्छ भनेर कहिल्यै सोचिनँ।
म उसलाई गलत र उसकोबारे नराम्रो कहिले सोच्न सक्दिनँ। म भन्छु ऊ महान थियो, ऊ पुरूष हो तर मेरो इच्छाविपरीत उसले केही गर्न सकेन। म गर्व गर्छु कि ऊ मेरो जीवनको अविस्मरणीय पात्र हो। उसलाई भेटेदेखि म खुसी हुन थालेको थिएँ, उसलाई भेटेदेखि म आफूले आफूलाई परिवर्तन गर्दै थिए। कुनै दिन प्रेमदेखि भाग्ने म, बिहेसम्मको सपना पूरै देखेकी थिएँ।
दुनियाँले उसलाई छि:छि र दुरदुरको नजरले हेरिरहेको बेला म उसको साथमा थिएँ।
उसको समाजको मान्छेबाट उसको नराम्रो बानी, उसको लत अनि उसको मुटुको अपरेसनबारे थाहा पाउँदा त म निक्कै टुटिसकेको थिएँ। तर पनि मैले आफूले आफूलाई सम्हालेर आफ्नो साँचो प्रेम निभाउने भनी निर्णय गरेँ र उसलाई यिनी कुराहरूको भान समेत पर्न दिइनँ।
मैले उसको हरेक गल्तीलाई सामान्य सोचेर अगाडि बढेकी थिएँ, तर जुन गल्ती थिए ती सामान्य पक्कै होइन रहेछन्। मेरो कारण अरू धेरैले दुःख पाएको देख्दा म आफूलाई माफ गर्न नि सकिरहेकी थिइनँ। एउटा गल्ती त गरेँ तर अब अर्को गल्ती गर्दिनँ भनेर म आफैं पछाडि हट्दै गएँ। उसले मलाई फकाउन कोसिस गर्थ्यो। माया गरे जस्तो पक्कै गर्थ्यो तर अरूसँग त झन् मायाको भिक मागिरहन्थ्यो। जुन मेसेजहरू फरक फरक नम्वरबाट मलाई आइरहन्थे। म दिक्क भइसकेकी थिएँ। तब मैले मेरो बेस्ट फ्रेन्डसँग हरेक कुराहरू राखे। म दोधारमा रहेर आफ्नो सुन्दर जीवन गुमाउन चाहँदैन थिएँ र मैले साथीको सहायताले उसलाई जान सजिलो बनाइदिएँ। उसले मनदेखि त हटाइसकेको पहिले नै थियो त्यो दिनदेखि अब घृणा गर्न थालेछ जुन कुराले मलाई दुःख त लाग्छ तर उसको मनमा पसेको त्यो झुट झुट नै रहोस्। उसको खुसीको लागि म एक होइन हजारौं झुट बोल्न तयार हुन्छु।
म उसको अगाडि रोइरहेको बेला उसको अनुहारमा देखिएको त्यो खुसी अझै आँखा अगाडि आउँछ र मन शान्त हुन्छ। कुनै दिन थियो उसको आँखाको आँसु देख्नेबित्तिकै म पग्लिएर उसको हरेक गल्ती माफ गरिदिन्थेँ। तर मैले गर्दै नगरेको गल्ती र उसको खुसी के रहेछ भनेर बुझ्न लिएको त्यो निर्णयले मलाई यो प्रस्ट पारिदियो कि ऊ पनि मलाई छोड्ने बहानाको प्रतिक्षामा रहेछ।
उसलाई एउटा कुराको घमण्ड भने पक्कै थियो। हजारौं केटीहरूको भीडमा एउटालाई छोड्दैमा के फरक पर्छ भन्ने। तर उसलाई भन्छु हजारौं केटीभित्र एउटा केटी यस्तो नि हुन्छ जसले छोड्दा वर्तमानमा याद नआए नि भविष्यमा भने अवश्य याद आउने।
उसले अनेकौं भ्रम आफ्नो मनमा पालेर बसेको छ तर म उसलाई भन्छु, अहिले मान्छेहरू राम्रो भन्दा झन् राम्रोको खोजीमा हुन्छ्न्। जुन मैले उसबाट थाहा पाएँ।
एकचोटि तिमीलाई प्रेम गर्नेहरूसँग तिमीसँग केही छैन, यथार्थ बताऊ सब बहाना खोजेर भाग्न खोज्नेछन्। किनकि हरेक मान्छे विलासी जीवन चाहन्छन्। सबैले मैले जसरी सबै कुरा सम्हाल्न सक्ने हिम्मत नि राख्दैनन्। सबैले दुःख गर्न नि चाहन्नन्।
अचेल धेरैले भन्छन् र सोध्छन् मलाई। किन बिर्सिन सक्दैनस्, के थियो र त्यस्तो उसमा।
धेरैले अनुमान लगाउँछन् मेरो पागलपनको, भन्छन्- धनी थियो होला या जागिरे। तर उनीहरूलाई यथार्थ नभनी यत्ति भन्छु- ममा हिम्मत छ कि म आफ्नो खुट्टामा उभिन सक्ने र कसैको भरमा नपरी खान सक्ने। परिआएमा उसलाई अनि उसको परिवारलाई पाल्न सक्ने सामर्थ्य बनाएर उसको घरमा जान्छु सोच्थें।
धेरैले भन्छन्- उसमा केही छैन, जुन क्षमता र जुन सहन सक्ने अवस्था तिमीमा छ त्यो केटा भएर नि उसमा छैन भन्छन्। कोही भन्छन् उसको भन्दा बढी काबिलियत तिमीमा छ भन्छन्, कोही भन्छन् ऊ तिम्रो लायक थिएन। तर म उनीहरूलाई के भन्छु भने म उसको लायक भइनँ। मैले उसलाई आफ्नो लायकको ठानेर एक जनामा होइन हजारौंको भीडमा अरूलाई बाटोबाट हटाएर उसलाई आफ्नो मनमा ठाउँ दिएकी थिएँ।
कहिलेकाहीँ उसले मलाई सोध्ने गर्थ्यो- के छ ममा, किन मान्छेहरू मेरो लागि मरिहत्ते गर्छन्।
उसलाई भन्न चाहे अरूको कारण के हो थाहा छैन र थाहा तिमीलाई राम्रोसँग होला तर मैले उसलाई प्रेम बिनाकारण गरेको अवगत नै छ तर उसलाई अथाह प्रेम अनि विश्वास गर्नुको एउटा कारण भने अवश्य छ।
जुन कारण थियो उसको परिवारप्रतिको लगाव, र परिवारको ऊप्रतिको विश्वास।
हाम्रो पहिलो भेट थियो, जसमा उसले घरमा फोन गरेर सानो सानो कुरा सेयर गरेर नै समय बिताइरहेको थियो। उसले घरको हरेक सदस्यलाई शिरमा सजाएको थियो। उसले आफ्नी बहिनीलाई गरेको त्यो प्रेमले मेरो आँखा रसाएको थियो, जसमा उसले आफ्नी बहिनीलाई राजकुमारीको जस्तो इज्जत दिएको देख्दा त झन् म यति भावुक हुन्थेँ र पनि चुप हुन्थेँ। उसले आफ्नो आमालाई महारानीको जसरी सजाएर राखेको देख्दा त लाग्यो मेरो आमाको छोरा अनि मेरो मनको उसलाई महाराजा बनाउँछु भन्ने।
ऊप्रति त्यति बेलासम्म सम्मान र प्रेममात्र थियो तर आफूभन्दा बढी आँखा चिम्लेर तब विश्वास गरेँ जब अहिलेको जमानामा आमाबुवाले छोराछोरीमाथि त्यति सजिलै विश्वास गर्न सक्दैनन् तर उसलाई भने उसको परिवारले मात्र नभई अहिलेको जमानामा भाग हिस्साको लागि एक आपसमा लड्ने काका, ठूल्बुबाहरूले उसलाई गरेको त्यो विश्वास देख्दा त लाग्यो सानोमा मैलेदेखि रहेको सपना पूरा हुँदैछ जस्तो।
सानैदेखि आमाबुबाबाहेक अरू कोही नदेखेको म, देखेँ नि झगडा गर्दै गरेको दृश्यले साह्रै मन पोल्थ्यो। तर यो समयमा नि ठूलो परिवार देख्दा लाग्यो सायद म सपनामा छु जस्तो।
उसले समाजमा कमाएको त्यो विश्वासले साँच्चिकै मेरो विश्वास जित्यो र म आँखा चिम्लिँदै उसमा अन्धो भएर विश्वास गर्न थालेँ। तर उसले मेरो यो विश्वासलाई आज गलत साबित गरिदियो। केही छैन म भन्छु गलत ऊ होइन गलत म हो। जसमा मैले धेरै नै सपना मनभित्र नै सजाएँ।
एउटा कुरा त अवश्य बुझें पारिवारिक मान्छे पनि परिवार भएपछि मात्र आफ्नो मान्ने रहेछन् र आफूभन्दा बढी विश्वास गर्यो भने आफैंलाई सोचेभन्दा बढी दुःख हुने रहेछ।
तर पनि म भन्छु ऊ एकदम महान छ। उसले सजिलैसँग हरेक कुरा बिर्सेर अगाडि बढ्न सक्छ।
अब त एक हुने आश छैन तर पनि उसको खुसीमा खुसी हुन सिक्छु।
हाम्रो अन्तिम कुरा भाको दिन कहिल्यै बिर्सिन्न।
उसले मलाई मृत्युको मुखमा पुर्याएको थियो। म मृत्युदेखि डराउने तर त्यो दिन मैले आफैंलाई सिध्याउने प्रयास गरे तर सकिनँ। सोचे कि एउटा दुर्घटना होस् र संसारबाट सधैंलाई बिदा होस् तर त्यस्तो केही भएन। त्यो दिन म पूरै बिर्सें कि मेरो ऊबाहेक मेरो एउटा सानो संसार छ भन्ने। बिस्तारै याद आयो मेरो आमाबुबा छोरी घर पुग्छिन् भन्ने आशमा बाटो हेरिबसेका छन् भन्ने। मलाई सबै याद आयो र उसलाई फोन गरे।
मैले मन खोलेर रोएँ अबका दिनमा रून नपरोस् भनेर, मन खोलेर बोलेँ अब बोल्न नपरोस् भनेर, राम्रोसँग नियालेर हेरेँ अब कहिले हेर्न नपरोस् भनेर, उसको हरेक फोटोहरू अंगालोमा लिएँ र सुम्सुमाएँ अब कहिले छुन नपरोस् भनेर।
ऊसँगको हरेक फोटोहरू हटाए अब पुरानो फोटो देखेर मेरो मन नदुःखोस् भनेर।
मैले जति सक्दो बिर्सिने प्रयास गरेँ तर माया होइन प्रेम बसेको थियो उसमा। जुन यति सजिलै बिर्सिन त सकिँदैन तर प्रयास भने गरिरहन्छु। म उसलाई कति माया गर्छु ऊबाहेक कोही अनुमान लगाउन सक्दैनन् तर म देखाउन जान्दिनँ। म प्रेमको लागि मर्न सक्दिन तर बाँच्न सक्छु, रून सक्दिनँ तर हाँस्न सक्छु, जिन्दगी बर्बाद गर्न सक्दिन तर सुधार्न सक्छु, म छोड्न होइन माफ गर्न सक्छु जुन उसले कहिल्यै बुझिनँ। हुन त जसले बुझ्छ उसले पाउँदैन,जसले पाउँछ उसले बुझ्दैन।
मेरो यो पागलपन अनौठो छ। उसलाई पाउनैपर्छ भन्ने जिद्द छ तर मन भने कस्तो दयालु। तिमी बलियो छौ, अरूलाई खुसी हुन देऊ भन्छ। अनन्त म उसको खुसीको लागि आफू गलत हुन पुगेँ। उसलाई यो गलत यथार्थ लागोस्। उसलाई मेरो त्याग त्याग होइन धोका लागोस्। उसलाई गरेको माया देखावटी लागोस्। उसको आउँदो जीवन बडो खुसीका साथ बितोस्।
उसको भागको हरेक दुःख पीडा मेरै भागमा परोस्। उसलाई पीडा सहन गाह्रो हुन्छ तर मलाई त बानी परिसकेको छ दुःख पीडासँग लड्ने क्षमता छ ममा। उसको हरेक गहिरो घाउ मेरै भागमा लेखियोस्।
उसलाई कहिले धोका नहोस्।
मेरो अन्तिम सास रहुन्जेलसम्म पर्खाइमा हुनेछु। उसको धड्कनसँग जोडिएको छ मेरो सास जुन दिन उसको धड्कन चल्न बन्द हुन्छ, त्यही दिन मेरो सास रोकिनेछ।
अन्तिममा उसलाई यही भन्न चाहन्छु कि मेरो माया झूटो थिएन, तिमी हजारौंसँग जाऊ, दिल लगाऊ, म जस्तो र म जत्तिको भेटेछौ भने बिर्सी दिनेछु त्यही दिन। यदि कुनै दिन एक्लो महसुस भयो र बुझ्यौ मेरो माया अनि मेरो महत्व भने बिना प्रश्न गरी माफ गरिदिन्छु र जिन्दगीभर साथ दिनेछु। तर प्रिय तिमी गलत कदम नचाल्नु जवानीको जोशमा।
तिमीलाई आफ्नो भन्ने अधिकार त छैन तर तिमीलाई थाहा छ म सब सहन सक्छु, देख्न, सक्छु तर तिम्रो आँसु हेर्ने हिम्मत कहिल्यै राख्दिनँ। स्वार्थी संसार छ ख्याल गरेर हिँड्नु। उड्न खोज्ने तिम्रा पखेंटा हुन् तर टेक्ने भनेको धर्ती हो त्यसैले धरातल नबिर्सिनु।
अन्तिममा हाम्रो तितामिठा पलहरू सबै बिर्सिनु र फुर्सदमा सोच्नु भोलि आउने भविष्यलाई। अहिलेको वर्तमानमा जवानीको नशामा त्यति खुसी अनि त्यति व्यस्त नि नबनाउनु आफूलाई।
फेरि पनि तिम्रो आउन लागेको सुन्दर भविष्यको कामनासँगै हाम्रो अधुरो प्रेमलाई धन्यवाद केही समय भए पनि छुट्टै पाठ सिकाएकोमा।