आज ठ्याक्कै एक महिना पुगेछ उसको सम्पर्क टुटेको आकाशसँग। उसँगको सन्निकटतापछि नियमित संवाद यति लामो समय संवादविहीन बनेको सायद यो पहिलो पटक हो क्यार। असम्भव नै किन नहोस् एउटा मीठो सपना देखाएर गयो आकाशले केहीदिन उसको मनको महल उज्यालो पारेर, एक रातको पाहुनाजस्तो रहेछ ऊ।
बेला बेलामा फर्किरहने र उसलाई झस्काइरहने आकाशका यादहरू आफ्नै छायाजस्तै बनेका छन् आजकल। किन उसको भावनामा खेल्यो आकाशले, कि मायाको भ्रम भयो उसलाई? सोचेर ल्याउँदा अनुत्तरित हुन्थी ऊ। हुनत उसलाई बिर्सने कठिन प्रयास नगरेकी हैन आरतीले तर ती कोसिस फिक्का फिक्का हुन्थे उसका जिद्दी यादहरूका अगाडि।
यस बीचमा आकाशलाई धेरैपल्ट फोन गरी म्यासेज पठाइ आरतीले। कुनै रेस्पोन्स आएन। सुरू सुरूमा त उसलाई लाग्यो आकाश कतै बिरामी पो पर्यो कि भनेर! लेखी 'आर यु ओ के? उसलाई धेरै पटक सोधी, कहाँ छौ?' के के मात्र सोचिन आरतीले त्यो समयमा पटक पटक लेखी- के भयो ? मैले कुनै गल्ती गरेँ? किन बोल्दैनौ आकाश? यस्तै प्रश्न सोधिरही तर पटक्क उत्तर आएन।
पटक पटक फोन र म्यासेजको उत्तर नआउँदा कम्ता आत्मग्लानी भएको थियो आरतीलाई। सम्झी यति लामो समय सम्मको ऊप्रतिको आफ्नो मानसिक लगाव सम्झेर यसैयसै मनै भरङ्ग भएर आउथ्यो तर सच्याउने ठाउँ थिएन ती सबै अतित भैसकेका थिए उसलाई यति धेरै समय र अटेन्सन उसको सट्टा आफ्नै परिवारलाई दिएको भए घरीघरी यस्तै सोचले नसताएको होइन आरतीलाई।
आखिर किन ऊबाट एक्कासि टाढियो या टाढिन कोसिस गर्दैछ तर जवाफ पाउन सकेकी थिइन आरतीले। अनि अहिले आरतीलाई आभास भैरहेछ कि अब आकाशले उसलाई बिस्तारै इग्नोर गर्न थालेको छ। आरतीलाई लाग्यो आकाशको जिन्दगीमा अरू कोही आइसकेको छ त्यस्सैले त अब ऊबाट टाढा बन्न कोसिस गर्दैछ। आकाश यति चाँडै बदलिएला भनेर सायद सपनामा पनि सोचेकी थिइन आरतीले। उसको कल्पनाभन्दा बाहिरको कुरा व्यवहारमा भोग्नुपर्दा कति पीडादायी हुँदोरहेछ भन्ने कुरा आफैं प्रत्यक्ष अनुभव गरिरहेकी छ अहिले।
***
आकाश र आरती कुनै विदेशी संस्थामा जागिरे थिए। संस्था एउटै भए पनि फरक फरक परियोजनामा काम गर्थे उनीहरू। केही वर्ष सिनियर थियो आकाश आरतीभन्दा संस्थामा। खास त्यस्तो कुनै विशेष इभेन्टभन्दा पनि नियमित देखादेख भेटघाट सामान्य कुराकानीबाट सुरू भएको थियो उनीहरूको चिनजान।
मन मिलेपछि नजिकिन समय नलाग्नेरहेछ। उनीहरूको हकमा पनि यही लागु भयो क्यारे। उनीहरू कुरा गर्दा यस्तो लाग्थ्यो कि दशकौं देखिका परिचित हुन्।
मोफसलमा काम गर्ने आरतीको व्यस्त श्रीमानले उसको केयर गर्न छाडेको धेरै भैसकेको थियो। यसैबीच ऊ निकै एक्लिएकी थिई। सोच्थी आफैंले फोन गर्दा समेत सन्चो बिसन्चो समेतको वास्ता नगर्ने उसको लोग्ने र आकाशमा कत्ति फरक छ।
कति केयर गर्छ आकाश उसलाई। ऊ आकाशले पठाउने एसएमएसहरू प्राप्त गर्दा मात्रै पनि ऊ खुसीले उद्देलित हुन्थी। एक दुई दिन कुरा नहुँदा पनि उनीहरू सोध्थे- कता हराको? बिर्सेको? सब ठिक छ नि? यस्तै यस्तै।
अफिसको कामले थोरै फुर्सद हुँदा मात्र पनि एक अर्कालाई सम्झन्थे, फोन गर्थे, फोन उठाउन मिलेन भने पनि म्यासेज गर्थे। प्रत्येक दिन हुने फोन, म्यासेजले अझ नजिक बनाउँदै लगेको थियो उनीहरूलाई।
नितान्त निजी र व्यक्तिगत कुरा गर्न थालेका थिए उनीहरू। आकाशसँगको झाँगिदै गएको सम्बन्धले उसको जीवनप्रतिको लगाव र दृष्टिकोण परिवर्तन भएको थियो। हुन त उनीहरू दुवै विवाहेतरको सम्बन्धमा विश्वास राख्दैनथे तर किन किन खै किन हो कुन्नि दुवै जना एक अर्कासँग त्यस्तो सम्बन्धमा खिचिइरहेका थिए।
आरती पनि निकै खुसी थिई आकाशको साथ पाएर अनि आकाश पनि फुरुङ्ग हुन्थ्यो आरतीसँगको सामिप्यतामा। एकअर्कालाई यति धेरै केयर गर्थे कि आफूहरू दुवै जना आफूहरू विवाहित हुन् भन्नेसम्म कुराको पनि हेक्का हुँदैनथ्यो कति बेला त।
एक दिन कुरै कुरामा आकाशलाई म्यासेन्जरमा आफ्नो फोटो पठाएर आरतीले सोधी- म कस्ती देखिन्छु?
आकाशले लेख्यो- ब्रेन विथ ब्युटी।
आरती मुस्कुराउँदै जवाफ फर्काइ- अत्ति के! यु आर टु मच आकाश।
***
कुनै सार्वजनिक बिदाको दिन काठमाडौं नजिक एक डाँडामा पुगेका थिए उनीहरू। आकाश अलि भावुक अनि आरती अलि रोमान्टिक थिई त्यो दिन। आरतीले आकाशको हात समाउँदै भनेकी थिई- म तिमीसँग कसरी यति धेरै नजिक भैसकेछु आकाश। हाम्रो सम्बन्ध अलि केही विशेष हो कि हामी साथीभन्दा अलि केही बढी हुँदैछौं आकाश। के मैले जत्तिकै तिमीले पनि मलाई सम्झन्छौ त आकाश? तिमीलाई पनि मलाई जस्तै मेरो चाहना हुन्छ त प्यारा? आइ वान्ट यू सो मच ... आइ लभ यू सो मच।
आकाश सुनिरह्यो। आकाश केही बोल्ने अवस्थामा थिएन तर निकै गम्भीर र भावुक देखिन्थ्यो त्यतिबेला।
त्यो दिन छुट्टिने बेलामा आरतीलाई अनायसै अंगालो हालेर घाँटीमा चुम्बन गरेको थियो आकाशले। पूरै शरीर काँपेको थियो आरतीको त्यतिखेर। उसले कति धेरै मिठो अनुभूति गरेकी थिई जुन अनुभव आजसम्म गर्न पाएकी थिइन। त्यसपछि केहीबेर नचलमलाई उभिएकी थिई आकाशको अगाडि। त्यसपछि उसका ती मिठा स्पर्शले कति दिन सताए उसलाई कति दिन। त्यो सम्झेर कयौं रात राम्ररी सुत्न पनि सकेकी थिइन आरतीले।
सुरू सुरूमा आरतीलाई लाग्थ्यो आकाशसँग ऊ नजिक हुनुको मुख्य कारण उसले कहिल्यै पनि उसले अरू लोग्ने मान्छे जस्तो उसलाई शारीरिक आकर्षणको रूपमा हेरेको महसुस गरिन। आकाशको मनमा के थियो त उही जानोस् तर पनि उसका भंगीभावले त्यो जनाउँदैनथे सभ्रान्त परिवारको आकाश निकै भर्स्टाइल, अनुशासित र सभ्य देखिन्थ्यो।
उसको जिन्दगीको सुखदु:ख राम्रो साथी हुन सक्छ लागेको थियो आरतीलाई। सायद केटीहरू शारिरीकभन्दा भावनात्मक निकटता चाहन्छन् क्यारे त्यही भएर होला। पछि लाग्न थाल्यो आकाश केही विशेष हो कम्तीमा उसका लागि। एक अर्काको लागि जन्मेका हुन् उनीहरू सायद। आकाश पनि यस्तै यस्तै केही सोच्दो हो र त यति धेरै नजिक थिए उनीहरू।
***
धेरै समयपछिको सम्पर्कविहीनपछि उनीहरूको आकस्मिक रूप भेट भएको थियो। त्यो समय आकाशलाई अंगालो हालेर रून मन थियो आरतीलाई। तर समय र स्थान अनुकूल थिएन। उसको बोली अवरूद्ध बन्दाबन्दै पनि साहस जुटाएर आरती बोली- किन यसरी हरायौ आकाश? यत्ति खुसी त जिन्दगीमा कहिल्यै थिइन जब तिमी मेरो जिन्दगीमा आयौ।केहीदिनको खुसी दिएर फेरि टुक्राटुक्रा बनायौ जब तिमीले साथ छाडेऊ जिन्दगीमा यत्तिको बेखुसी त कहिल्यै पनि थिइनँ आकाश। अहिले मेरो हालत कस्तो छ तिमी त कल्पना पनि गर्न सक्दैनौ। साँच्चिकै मलाई मेरा आफ्नै सपनाको मलामी जान बाध्य बनाएर छाडेऊ। जब कसैसँग प्रेम भैदिन्छ मान्छे मान्छे नरहने रहेछ आकाश। तिमीले मेरो प्रेमबिन्तीको उपहास गर्यौ।
एक सासमा बोली आरती। 'यू हर्ट मि सो मच आकाश।' उसका आँसुले परेलीका डिल काटेर गालासम्म पुगेको स्पष्ट देखिन्थ्यो।
आकाश पनि निकै दुखी देखिन्थ्यो र बोल्यो- समय बलवान हुने रहेछ। म पनि त कहाँ खुसी छु र तिमीबिना रानो हराएको मौरीझैं भौंतारिरहेछु प्रिय। तिम्रो जस्तै मेरो पनि खुसीहरू पनि त समयले लुट्यो। यदि यो समाज थिएन र समाजका नियम र कानुनलाई म चिर्न सक्थेँ भने तिमीलाई मेरी मनकी मन्जरी बनाएर राख्थेँ जिन्दगीभरी।
आकाश बोल्यो- सरी आरती। मलाई माफ गर। यो जुनीमा यस्तै भो अर्को जुनीमा हामीसँगै हुनेछौं। भगवानसँग यही मेरो प्रार्थना छ आशा छ मेरो बिन्ती भगवानले सुन्नुहुनेछ। यत्ति बोल्यो आकाश।
आजको भेटबाट अब उसले स्पष्ट जबाफ पाएकी छ। 'ही इज नट इन रिलेसनसिप विथ हर एनी मोर।' आरतीलाई लाग्यो कतिबेला आकाशलाइ आफ्नो भन्ने महसुस गराइराख्ने, आफ्नोपन आकाशबाट निस्टुर समय आएर बडारी सकेछ। दोषी समय थियो कि आकाश अथवा ऊ उसले बुझ्नै सकिन। अवाक् भई ऊ, रिंगटा चलेजस्तो भयो उसलाई।