'ए, तिमीलाई के सोधे भित्र, भन न?,' अन्तर्वार्ता कक्षबाट बाहिर निस्किएको साथीलाई मैले नजिकै तानेर सोधेँ।
अन्तर्वार्ताको प्रतिक्षामा रहेर तयारी गरिरहेको मलाई केही न केही नयाँ कुरा थाहा पाउनु थियो। भित्र हुने दोहोरो कुराकानीको प्रवृत्ति र अवस्थाबारे पहिले नै जानेर आफूलाई सहज बनाउनु थियो। मजस्तै अरू पनि मसँगै हतार हतार उनका वरिपरि झुरूम्म भए।
'खै के सोधे सोधे। म त भित्र पुगेपछि सल्याक सुलुक भए नि। त्यतिबेला त ओठ पनि काप्दा रहेछन् कि के हो के हो,' उसले जवाफ फर्कायो।
म आत्तिएँ।
'त्यसो हो भने त भित्र जान बहुत कठिन हुन्छ क्यारे,' मैले मनमा त्रास बढाएँ।
निकै डर पनि लाग्यो।
यो डर र कौतुहलताका बीचमा सम्झिन थालेँ सङ्घर्ष र खुसीका पलहरू।
सानैदेखि आमाले भन्ने गर्नुभएको थियो, 'पढ है बाबु पढ। पढेन भने जीवनभर हलो जोत्नु पर्छ। कुटो कोदालो गर्नुपर्छ। भारी बोक्नुपर्छ। अहिलेदेखि नै मेहनत गरेर पढेनौ भने त तिमीहरूले पनि जिन्दगीमा हामीले जस्तै दु:ख पाउँछौ।'
म आफ्ना बाबाआमाले के दु:ख पाएको हो त्यो चाहिँ चाल पाउन्न थिएँ। तर पढ्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ मनमा लिन्थेँ।
त्यतिबेला म हाट बजार जाँदा बाटोमा ढाकर बोकेर हिँडिरहेका भरियाहरू देख्थेँ। उनीहरूले खकन भिरेर ढाकर बोकेका हुन्थे। अंग्रेजीको 'टी' आकारका बलिया र तेर्सो हातो हुने चोके भएका लठ्ठी पनि उनीहरूको साथमा हुन्थ्यो। त्यसलाई तोक्मा भन्दा रहेछन्। उनीहरूले खुइय गरेर सुस्केरा हाल्दै चौतारामा ढाकर बिसाउँथे। अनि कसैले सुर्ती माडेर खाएको र कसैले बिँढी सल्काएर सर्को तानेको धेरै पटक देख्दै आएको थिएँ। मुखबाट धुवाँको मुस्लो हावामा फाल्दा तरेली परेर अलिक परसम्म जान्थ्यो र बिलाउँथ्यो। त्यसको केही भाग मेरो नाकसम्म आइपुग्थ्यो। म नाकको नजिकै हातका पन्जा हल्लाएर भगाउँथेँ।
भारी बोकी बोकी उनीहरूले हाक्पारे गाएको सुन्दा भने निकै मजा आउँथ्यो।
'ए आलु दम चाना, छोटो जिन्दगी हौ लामो सम्झना ….हुर हुर।' उकालो बाटोमा तरतरी पसिना काढेर हिँडिरहेका उनीहरू कहिलेकाहीँ ढाकरलाई तोक्मामा नै टेको लगाउँथे। अनि ठूलो स्वर निकालेर वनै रन्किने गरी यस्तै गीतहरू गाउँथे। एक जनाले एउटा भाकामा गीत गाएपछि अर्को डाँडाका साथीले पनि उसैगरी जवाफ फर्काउँथे वा अर्को पंक्तिको भाका थप्थे।
टाढा टाढासम्म सुनिने गरी गाएको गीत सुन्दैसुन्दै सँगै रहेका हामीहरू 'आहा क्या मीठो भाका' भन्दै आपसमा कुराकानी गर्थ्यौं। अन्तराको हुर हुर मात्र भए पनि थपि सघाउँथ्यौं र आफैं हाँस्ने गर्दथ्यौं।
चिलाउनेको पातलाई ठाडो पारेर अनुहारमा रगेट्दै तरतर पसिना पुस्दै हाँसिरहेका दाइहरूको जीवन देखेर एक मनले लोभ पनि लाग्थ्यो मलाई।
मैले पनि यसैगरी सालका पात वा चिलाउनेका पात टिपेर अनुहारको पसिना पुछ्न उनीहरूबाटै सिकेको हुँ। रूमाल बोकेर हिँड्नु त त्यो समयमा नक्कल पारेको मानिन्थ्यो।
भरियाहरू बाटोमा धारो वा कुवाको आसपासमा झिँजा दाउरा खोजेर आगो सल्काउँदै गरेका देखिन्थे। उनीहरू आफ्नै सूरमा कोही झिँजा दाउरा खोज्थे, कोही पानी भरेर ल्याउँथे। कोही चामल चौल्याउँथे र कोही आगो सल्काउँथे। त्यहाँ कामको राम्रो संयोजन भएको देखिन्थ्यो। हामीले एकछिन चौतारीमा थकाइ मार्दामार्दै त्यहाँ भात पाक्थ्यो। कुनै दिन यसरी नै हेर्दाहेर्दै ढिडो पाक्थ्यो। गुन्द्रुक पाक्थ्यो। कहिलेकाहीँ खपाखप मासुभात खाँदै गरेको देखिन्थ्यो। उनीहरू सबै प्राय: हँसिला र खुसी देखिन्थे। मनभरी पीर वा व्यथाहरू हुनसक्छन्। तर कामको चापमा यस्ता पीरहरू सुन्ने र सुनाउने फुर्सद नै कसलाई पो हुन्थ्यो होला र?
त्यो दृश्य देखेर मलाई आमाले पढेन भने भारी बोक्नु पर्छ भनेको कुराले नपढी नहुने भन्ने त्यस्तो केही रहेनछ भन्ने पनि लाग्थ्यो।
आखिर खुसी र निस्फिक्री जीवन त चलेकै देखिन्थ्यो उनीहरूको पनि। हाम्री आमाले भारी बोक्नेलाई किन दु:खिया काम भन्या होला भन्ने लाग्थ्यो। भारी बोकी बोकी गीत गाउँछन्। ठट्टा रमाइलो गर्छन्। जहाँ सजिलो छ त्यहीँ मनमौजी खाना पकाएर खान्छन्। भाँडाकुँडा त्यही सफा गर्छन् र बोकेर हिँड्छन्। सबै सहजै देखिन्छ त। त्यसो भए किन पढ्नु पर्ने? फेरि पढेपछि भारी बोक्न नहुने चाहिँ किन होला? भन्ने प्रश्नले मलाई चिमोट्थ्यो। अनि यी भारी बोक्ने दाइहरूले चाहिँ पढेकै छैन त?
यसरी यी नियमित दृश्यहरू हेर्दै र हुर्कंदै पढेको मलाई परीक्षाको प्रतिस्पर्धा कम चुनौतीपूर्ण लागेको थिएन। कक्षामा पहिलो हुन कठिन। तर पहिलो भएपछि लगत्तै सहपाठीको खुला उद्घोष हुन्थ्यो, 'तँलाई अर्को कक्षामा जसरी नि जितेरै छाड्छु।' यस्तो ठाडो चुनौतीले पढाइको रफ्तार अझ बढाउने बाध्यता पर्ने गरेको थियो सधैँ।
तर जे भए पनि परीक्षाको सामना त गर्नैपर्ने। कक्षामा पहिलो हुन मेहनत गर्नैपर्ने। कहिले आफैं र कहिले सहपाठीहरू पहिलो हुने क्रम चलिरहे पनि परीक्षामा राम्रो गर्नैपर्ने चाप चाहिँ धान्न मुस्किल नै भए पनि स्वीकार गरिन्थ्यो सधैं। यसरी पढेर प्रतिस्पर्धा गरिरहेको मलाई अहिले लिखित परीक्षा पास गर्न चाहिँ सजिलै भए जस्तो लाग्छ। तर अन्तर्वार्ता भन्नासाथ शरीरमा काढा उम्रिन्छ। त्यसैले अगाडि पालो परेका र काम सम्पन्न गरेर फर्किएका प्रतिस्पर्धीलाई सोधेर केही बुद्धि लिन मन लागेको हो।
उसले भित्र पुगेपछि सल्याकसुलुक भएँ भनेको सुनेर मेरो सात्तो जानु स्वाभाविकै हो नि। तर अरू पनि आफूजस्तै अत्तालिँदा रहेछन् भन्ने थाहा पाएर ढाडस मिल्नु पर्ने पनि त हो नि मलाई। तर त्यस्तो पटक्कै भएन। झन् अन्तर्वार्ता दिनुपर्ने कोठाभित्र हुने सवाल जवाफको भयले झण्डै काप्न पुग्छु।
आफूभन्दा सबजना पाका हुन्छन्। धेरै जानेका हुन्छन् र धेरै बुझेका हुन्छन्। परीक्षार्थीलाई कहाँ कहाँ र कुन कुन विषयमा सोधेर अप्ठ्यारो पार्न सकिन्छ भन्ने थाहा छ उनीहरूलाई। यसको अर्थ ज्ञानको अथाह समुद्रमा डुबुल्की मार्दा बच्न सकिने वा नसकिनेबारे अहिले नै केही भन्न सकिन्न पनि।
यो समस्या मेरो मात्र होइन नि। मैले प्रश्नपत्रको लेखेरै समाधान त गरिसकेको छु। अब त केबल सोधेका विषयमा बोलेर चित्त बुझाउने त हो नि। मलाई यही कुराले अर्कातिर आत्मविश्वास जाग्न थाल्यो। म ढुक्क हुन खोज्छु। अघिल्लोपटक यसरी नै अन्तर्वार्तामा सहभागी भएर अन्तर्वार्तापछि चाहिँ सफल नभएका अर्का सहभागीले भनेको कुरा सम्झिएँ। बिचरा उनले कति सपना साँचेका थिए रे। स्थायी जागिर पाउन नियुक्ति पत्र बुझ्ने र काममा खटिने उनको योजना थियो।
विद्यालयमा नियुक्तिपत्र बोकेर जाने दिन मेरी आमाले बिहानै टीका लगाइदिनु हुनेछ। शिरमा फूल राखिदिनु हुनेछ। अनि भगवानको प्रसाद खान दिनु हुनेछ। त्यति बेला उहाँको हात मेरो माथमा हुनेछ। मेरा पिताजीले पनि मलाई सुम्सुम्याउँदै 'ल, बल्ल आफ्नै खुट्टामा उभिन सक्ने भयो हाम्रो जेठो सन्तान पनि अब' भन्नु हुनेछ। म दुवै जनाका पाउमा शिर राखेर आशीर्वाद लिँदै कर्म क्षेत्रमा पुग्नेछु।
आहा! मेरो कर्म क्षेत्र कलिला बालबालिकाहरू हुनेछन्। उनीहरूका अबोध मस्तिष्कमा म ज्ञानको भण्डार भर्नेछु। नैतिकता, सदाचार र असल आचरण सिकाउनेछु। यसरी मैले गरेको मेहनतबाट उनीहरूमा परिवर्तन आउनेछ। मेरा कृषक पिताजीले पसिना पसिना भएर गरेको मेहनतले बारीमा मकैका लहलह बोट देखिन्छन्। त्यो हुने बिरूवाको चिल्लोपात हो भनेर आफ्नो पौरखमा गर्व गर्ने गर्नु हुन्छ। म पनि त्यसैगरी मान्छेका नवपालुवाको प्रगतिलाई सुन्दर भविष्यको पूर्वाधारका रूपमा लिएर आफ्नो कर्मप्रति गर्व गर्नेछु भनेर सोचेको थिएँ।
तर जब मेरो नतिजा आयो म छाँगाबाट खसेँ। सबै सपनाहरू खोयाको घरझैं ढले। म उर्लंदो भेल तर्न नसकेर वारिपट्टि नै झोक्राएर बसेको बटुवा जस्तो बनेको थिएँ। अहिले फेरि बौरिँदै यहाँसम्म आइपुगेको छु। आफ्नो सफलतामा लागेको ठेस उसले मलाई यसरी बताउँदा म भावुक बन्न पुग्छु।
विचरा।
'आ बरू मेरो सफलता अर्को पटक होस्। अहिले चाहिँ यिनै साथीलाई सफलता मिलोस्' भनेर मनमनै कामना गर्दै उनीतिर फर्किन्छु। यति नै बेला झट्ट मैले आफ्ना बारेमा सोचेको कुरा पनि मनमा खेल्न थाल्छन्।
सानैदेखि पढ्न कर गरेर मलाई हौसला दिनुहुने मेरी आमाको मुहार झल्झली सम्झिन्छु। म स्थायी जागिरे भएको खबर उहाँलाई फरक तरिकाले दिने इच्छा गरेको हुन्छु। उहाँले हामी सानो छँदा बजारबाट मिठाइका दानाहरू ल्याएर बाँड्नु हुन्थ्यो। हामी ती मिठाइका दानाहरूमा रमाउँदै दिनभर आमासँग बिछोड हुँदाको पीडा बिर्सन्थ्यौं। त्यसैले म जागिरे भएको खबर दिनुभन्दा पहिले उहाँलाई आँखा बन्द गर्न लगाउँछु। आमाले हाँस्दै 'किन र, के गर्छ यल्ले? नाइँ म आँखा बन्द गर्दिनँ' भनेर हाँस्नु हुनेछ। म अझै कर गर्नेछु।
त्यसपछि मेरो जिद्दीका अगाडि केही सीप नलागेर उहाँले आँखा चिम्म गर्नु हुनेछ। अब फेरि उहाँलाई मुख 'आँ' गर्न लगाउनेछु। म खुसी भएको चाल पाएर आमा पनि नाइँ नाइँ भने जस्तो गर्दै मैले भनेको जस्तै गर्नु हुनेछ। त्यसपछि म मुखमा मिठाइ राखिदिनेछु। अनि आँखा खोल्न लगाउँदै म भन्नेछु, 'तपाईंको अगाडि उभिएको यो मान्छे छोरो मात्र होइन, अब स्थायी जगिरे पनि हो'।
यसपछि आमाको अनुसारमा देखिने चमक कस्तो हुनेछ म अनुमान मात्र गर्न सक्नेछु। यसरी आमाका साथमा पहिलो खुसी बाँड्ने सोच बनाएको थिएँ। यसपछि पहिलो महिनाको तलबबाट आमालाई गतिलो साडी किनेर उपहार टक्रयाउने सोच बनाएको थिएँ।
मेरा पिताजीले पनि त कति दु:ख गर्नुहुन्छ हाम्रा लागि। सन्तानको खुसीका लागि जीवनभर उहाँले गरेको सङ्घर्ष सम्झिन्छु। उहाँ सधैं मलाई 'आफ्नै खुट्टामा उभिन सक्नुपर्छ बाबु' भनेर स्वाबलम्वन सिकाउनु हुन्छ। जागिर खानुबाहेक जीवनलाई सार्थक र सफल बनाउने निजी व्यवसाय पनि हुनसक्छ। आफैंले कामको सिर्जना गर्न सकिन्छ। पुर्ख्यौली पेशालाई नै अझ उन्नत तरिकाले चलाउन त अझ सहज हुन सक्छ भन्ने तथ्यहरू उहाँलाई थाहै थिएनभन्दा फरक नपर्ला। उहाँलाई मात्र होइन। हामीलाई सिकाउने गुरूहरूले पनि यो गहिराइमा पुगेर उद्यमशीलता सिकाउन सक्नु भएको रहेन छ भन्ने लाग्छ आजभोलि।
पिताजीको त्यही भावनालाई सधैंभरि आफ्नो शिरमा राखेर मेहनत गरिरहेको हुन्छु म पनि। आमाबाबा नै हाम्रो जीवनका भगवान् हुन् भनेर कक्षामा गुरूले पढाएको सम्झिन्छु। आमासँग जस्तै अभिनय गरेर पिताजीसँग त खुसी बाँड्न सक्दिनँ म। मलाई किनकिन पिताजीका अघि धक् लाग्छ। खुलेर खुसी साट्न पनि सक्दो रहेनछु। एक्कासि सोच्नु पुग्छु, म आमा र बाबाका बीचमा पक्षपात गरिरहेको छु कि क्या हो? अनि आफैंले उत्तर दिन्छु, हैन त्यो त मैले गरेको अतिरिक्त सम्मान पो हो त उहाँलाई।
अब भने म आफ्नो सफलता उसका लागि त्यागी हाल्न सक्ने अवस्थामा रहन सक्दिनँ। तर विचराको अनुभूति पनि कम्ती टिठलाग्दो छैन गाँठे। मेरो द्विविधा भएको मनले भन्छ, 'यो त क्षमताको प्रतिस्पर्धा हो नि। कसैले कसैलाई दया गरेर लिने वा दिने विषय हो र यो? फेरि मैले मात्र उसलाई छोडिदिन्छु भनेर पनि त हुन्न नि।'
म आफैंलाई सम्झाउँछु। बरू कसैलाई भनसुन गर्नु नपर्ने स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको वातावरण चाहिँ हो हामीले खोजेको। यसमा जो सक्षम ठहरिन्छ उसले अवसर पाउनु पर्छ। बाँकीले अरू अवसरहरू खोज्दै र पर्खिंदै आफ्नो क्षमताको विकास गर्दै जानुपर्छ।
अरू धेरै युवाहरू जागिरै पाइनँ भन्दै देश बाहिर जान हतारिएका छन्। उतै आफ्नो भविष्य खोज्ने भन्दै अर्को संसारमा होमिन खोजेका छन्। म त यहीँ नै सम्भावनाको ढोका नजिक आइसकेको छु भन्ने सोच्नु पुग्छु। अनि म अन्तर्वार्तामा आफूलाई सोधिने प्रश्न र तिनका जवाफहरूबारे ध्यान दिन थाल्छु।
योसँगै मेरो आत्मबल बढ्दै आएको अनुभूति हुन्छ। आखिर जिन्दगीका हरेक घुम्तीमा परीक्षा नै परीक्षा त हुने रहेछ नि!
यत्तिकैमा भित्रबाट मलाई बोलाहट हुन्छ। म आफ्नो शिर उच्च बनाउँदै अन्तर्वार्ता कक्षमा प्रवेश गर्छु। त्यहाँ मेरो प्रतिक्षामा रहेका प्रश्नकर्ताहरूलाई अभिवादन गर्छु। अनि मेरो क्षमता थाहा पाउन उहाँहरूबाट सोधिने प्रश्नको प्रतिक्षामा रहन्छु।