कुनै समय
उसले लेखेको गजलको पात्र
म आफैँ हुँ जस्तो लाग्थ्यो
उसका कविताको
भावहरूको औँला समातेर
म डुलिरहेको हुन्थेँ
उसका कथाका पात्रहरू
यति सजिलै मभित्र छिर्नसक्थे कि
उनीहरूले भन्दा छिट्टो
म भेट्टाउथेँ रातो गुलाब।
ऊ लेख्दै गयो
लेख्दै गयो
कलमको निबबाट मसी
छुट्दै गयो
छुट्दै गयो
म छुटेँ उसका पुराना पात्रहरूसँगै
सायद
त्यो किताबको
अन्तिम वाक्यको
पूर्णबिराम मैँ थिएँ कि
अथवा
पात्र फुत्त निस्कँदा मलाई समेत बोकिहिँड्यो!
किन भेटिरहेको छैन म आफूलाई
म हराउँदा समेत
बेमतलब
ऊ गजल लेखिरहेको छ
कविता लेखिरहेको छ
कथा कथिरहेको छ आज पनि।
उसले
कहाँबाट ल्याइरहेको छ नयाँ-नयाँ पात्रहरू!