जेठ ९ गतेका दिन एक हर्ष, उल्लास र उत्साहका साथ नेपाल ल क्याम्पसमा प्रवेश गरेको थिएँ। क्याम्पस प्रवेश गर्दैगर्दा धेरै मान्छेहरूसँग भेटघाट भयो। धेरैसँग बोलियो पनि। यसरी बोल्ने क्रममा ऊसँग पनि बोल्न पुगेछु। ऊ अर्थात् गौरी। सुरुसुरुमा मलाई उसको नाम पनि थाहा थिएन। ऊ को हो? कहाँको हो भन्ने समेत थाहा थिएन, एउटै कक्षाको भए पनि।
क्लासमा म ऊभन्दा अगाडिको बेन्चमा बस्थेँ। बेलाबेला उसले मलाई जिस्काइरहन्थी। म पनि मक्ख हुँदै प्रतिक्रिया दिन्थेँ र जिस्किन्थेँ। यसरी अगाडिको बेन्चमा बस्दा ऊसँग बोल्न पाउँथेँ। जिस्किन पाउँथेँ। त्यसपछि मैले अगाडिको बेन्च कहिले नि नछोड्ने निधो गरेँ किनकि यदि त्यहाँ बसिनँ भने ऊसँग बोल्न, मस्किन अनि जिस्किन पाउदिन थिएँ। त्यसैले मैले आफ्नो बेन्च रिजर्भ गरेँ।
अगाडिको बेन्चमा बस्न पाउदिनँ होला भनेर म बिहन क्याम्पस पनि छिटोछिटो आउन थालेँ। केही कारण बस ढिलो भयो भने पनि साथीलाई फोन गरेर त्यो सिटमा कसैलाई बस्न नदिन भन्थेँ। अगाडि बस्न विभिन्न बाहना बनाउथेँ, ऊसँग बोल्नकै लागि। अझ बोल्न त के उसलाई हेर्नको लागि, उसको अनुहारको एक झलक पाउनको लागि। मलाई उसको अनुहार देख्ने बित्तिकै मनमा एक किसिमको आनन्द मिल्थ्यो। सायद म पहिले नै उसको मायामा डुबिसकेको भएर होला।
क्लासमा उसले प्रिजेन्टेसन दिँदा म उसलाई एकोहोरो हेरिरन्थेँ किनकि मलाई उसको आवाज अरुको भन्दा बेग्लै लाग्थ्यो, सुनिरहुँ जस्तो। कहिलेकाहीँ आँखा जुध्दा ऊ खिस्स मुस्कुराउँथी, म पनि उसलाई हेर्दै मुस्कुराउँथेँ। म उसको मुस्कानमा हराउँथेँ र उसलाई एकोहोरो हेरिरहन्थेँ किनकि म त्यो मुस्कानमा म आफूलाई पाउथेँ।
उसले मलाई 'समु' भनि बोलाउँथी, एक दुई वर्षकी बच्चाले जसरी। जो भर्खर-भर्खर बोल्न सिक्दै छ। तोते बोलीमा उसले त्यसरी बोलाउँद म खुसी हुन्थेँ। मलाई लाग्थ्यो ऊ मसँग जिस्किन मन पराउछे, बोल्न मन पराउँछे। त्यसरी हामी बोलेको जिस्केको देखेपछि साथीहरूले मलाई उसको नाम लिएर जिस्काउन थाले। त्यसरी जिस्काउँद मनमा एक किसिमको खुसी मिल्थ्यो तर बाहिर भने मन नपराएको जस्तो गरी नजिस्काउन भन्थेँ। त्यसरी जिस्काउँदै गएपछि मेरो ऊप्रति हेर्ने दृष्टिकोण छुट्टै भयो र दिन प्रतिदिन ऊप्रति माया बढ्दै गयो।
ऊ कुनै केटासँग बोलेको देखेँ भने मनमा अनेक किसिमका खुल्दुली हुन्थे र नानाथरी कुराहरू खेल्न थल्थे। भनौं एक किसिमको आरिस जाग्थ्यो।
कलेजबाट पनि हामी सँगै घर फर्किने गर्थ्यौं। म उसलाई कहिले गेट अगाडि कुरिरहन्थेँ त कहिले हामी क्लासबाटै सँगै निस्किन्थ्यौं। केही गरी सँगै भइएन भने फोन गरेर भए पनि हामी सँगै गफ गर्दै जान्थ्यौं। कहिलेकाहीँ ऊ क्याम्पस आइन भने म अत्तिन्थेँ, कतै उसलाई केही त भएको छैन? अनेक किसिमका कुराहरू खेल्थे, मन नै उकुसमुकुस हुन्थ्यो अनि घर आउने बित्तिकै म्यासेज गर्थें। उसको रिप्लाई आएपछि बल्ल मन अलि शान्त हुन्थ्यो।
ऊ क्याम्पस आएको बेला मलाई त्यो दिन नै बेग्लै लाग्थ्यो। लाग्थ्यो यो संसार साँच्ची नै अति सुन्दर छ। सायद मलाई यो संसार यति धेरै सुन्दर लग्नुको कारण ऊ भएरै होला। उसलाई देख्नेबित्तिकै मलाई लाग्थ्यो यो संसारको सबैभन्दा सुन्दर सृष्टि ऊ नै हो। उसको त्यो हल्का घुम्रिएको कपाल, मयुरका जस्ता आँखा, ती स्याउ जस्ता गाला र मन्द मुस्कानले मलाई झन् मोहित बनाउथ्यो। उसको अगाडि मलाई मिस वर्ल्ड पनि फिक्का लाग्थ्यो। सायद ऊ 'मिस वर्ल्ड' मा सहभागी भएको भए उसले पक्कै पनि जित्थी होला।
अब मलाई लाग्न थालेको थियो कि यो संसारको सबैभन्दा सुन्दर र अमूल्य चिज मैले पाएको छु। यो कसैले पनि मदेखि खोसेर लाने छैन। यदि कसैले खोसेर लगे भने म एउटा 'रिफिल बिनाको कलम' जस्तो हुनेछु। जसको अस्तित्व त छ तर ऊबिना केही गर्न लायकको छैन। जीवनमा अब ऊ नै आवश्यक छ जस्तो लाग्न थल्यो।
मैले सोचिसकेको थिएँ कि मेरो अबको बाँकी जीवन भनेको ऊसँगै बित्नेछ। म एकदिन उसलाई मेरा यी सबै मनका कुराहरू भन्नेछु र मेरो ऊप्रतिको भावनहरू सबै पोख्नेछु कि म उसलाई कति माया गर्छु, कति चाहन्छु भनेर। यदि उसले मलाई तिमी मलाई कति माया गर्छौ भनी सोधी भने म भन्थेँ- समुद्रका माछा जति, आकाशको तारा जति, जसको कुनै सीमितता छैन।
साउन २३ गतेका दिन हुनुपर्छ, अचानक उसले मलाई हामीसँगै हिँड्दै गर्दा 'तिमी त मेरो आफ्नै भाइजस्तै लाग्छ पहिलेदेखि नै, किन हो किन! म तिमीलाई राखी बाँधिदिन्छु ल रक्षा बन्धनको दिन' पो भन्छे। त्यसपछि मेरो हालत कस्तो भयो होला तपाईंहरू कल्पन पनि गर्न सक्नुहुन्न।
त्यो कुरा सुनिसकेपछि मेरो मनमा ६० भोल्टको करेन्टले हानेको जस्तो भयो। काँडाले घोचेको जस्तो मन नै सिरिंग भयो। वनमा कसैले खुलेआम डढेलो लगाइदिएको जस्तो भयो मन जुन नराम्रोसँग जलिरको छ। बर्खाको भेलले बगाए जसरी बगाए मेरा ती उनी सँगसँगै बिताउने सपनहरू र सबै चक्नाचुर भए। ती त केबल अब मेरा यादमा मात्र सीमित रहने भए।
त्यस दिन म क्याम्पसदेखि रूमसम्म कसरी आए मलाई पत्तै भएन। सायद नुन खाएको कुखुरा जस्तै झोक्राउँदै आए होला, वा एकोहोरो टोलाउँदै आए होला, कि भौतरिँदै आएँ होला! उसको मुखबाट 'तिमीबिना बाँच्न सक्दिनँ' भनेको सुन्न चाहेको थिएँ, अचानक त्यस्तो कुरा सुनेपछि शून्य भएँ।
रूममा आएर एकछिन रेस्ट गरेँ। सुतेर मनलाई शान्त राख्न खोजेँ तर पनि कहाँ मन्थ्यो र जति सम्झाए पनि यो अटेरी मन! मान्नु पनि कसरी, जसलाई आफ्नो सर्वश्व मनेको थिएँ, जसलाई आफ्नो जीवनको एक अभिन्न अंग सम्झेको थिएँ, जोसँग सात जुनीसम्म सँगै बाँच्ने योजन बुनेको थिएँ। आज त्यही व्यक्तिले त्यस्तो भन्दा कसको मन नरोला र! कसरी सम्झाउँदा सम्झिन्थेँ र!
त्यो दिन मेरो खानपिन बन्द भयो। रूममा पनि एक्लै टोलाउँदै बसेँ। यताउति भउतारिएँ, कहिले तल कहिले माथि गर्न थालेँ। कतै मनलाई ठिक हुन्छ कि भनेर अनेक गर्न थालेँ तर पनि मनलाई शान्त रख्न सकिनँ। दाइले 'के भयो?' भनेर सोध्दा मैले केही बताइनँ। 'किन खाना नखाको?' भन्दा क्याम्पसमा खाजा खाएको थिएँ भने। तर वास्तवमा क्याम्पसमा खाजा नभइ एक झट्का खाएर आएको थिएँ जसकारण मेरो त्यो हबिगत भएको थियो।
त्यस रात निदाउन खुब कोसिस गरेँ। कहिले यता कहिले उता गरी खाटमा ओल्टे पोल्टे गरेँ तर मध्यरात हुँदासम्म पनि निदाउन सकिनँ। उठेर गीत सुनेर निदाउने कोसिस पनि गरेँ। अरु बेला गीत सुन्दा मस्त निदाउने म त्यो दिन निदाउन सकिनँ। झन गीतको लिरिक्स लेखकले मेरै लागि लेखेको जस्तो पो लाग्न थाल्यो। ती गीतका शब्द शब्दले मनमा छोए र नमिठो तरिकाले मुटुमा हाने। यसरी अनेक कोसिसका बाबजुद पनि निदाउन सकिनँ, दिउँसोका ती कुराहरू सम्झेर। अनि उठेर एकछिन छतमा बस्न गएँ र आएर सुतेँ।
भोलिपल्ट क्याम्पसमा गएँ तर पहिलाको जस्तो माहोल भएन। पहिला जसरी जिस्किएन। एकले अर्कोलाई हेराहेर भए पनि बोलिचाली खसै भएन र बोल्न पनि अप्ठ्यारो लाग्न थाल्यो। पहिलाको तुलनामा ज्यादै कम-कम कुरा हुन थाल्यो।
यसरी नै दिनहरू बित्दै गए। ती घाउ र चोटहरू पनि समयसँगै विस्तारै निको हुँदै गयो। हामी पहिला जस्तै नजिस्किए पनि बोल्न थाल्यौं, विगतका ती तितामिठा कुराहरूलाई भुलेर।
यसरी मैले जीवनमा कसैलाई पहिलो पटक प्रेम गर्ने हिम्मत गरेको थिएँ। तर त्यो प्रेम उम्रन नपाउँदै मरियो, कुल्चियो, थिचियो र दबियो। यसरी मेरो प्रेम सुरुआत नहुँदै अन्त्य भयो।