कस्तो अनौठो सपना
ब्युँझिँदा शरीरले
कम्पन छाड्न थाले
जब निद्रामा गहिरो
डुबुल्की मार्दै थिएँ
चालिएका पखेटाहरूले
थकान महसुस गर्दै थिए
बिहानीको झुल्के घाममा
तैरिने कोसिसमा थियो
सपनाका ठेलीहरू
अकस्मात
मस्तिष्कबाट अलप भए
एक हुल सपनाका ठेलीहरू
ती ठेलीहरूमा
म
कतै प्रेमले रमाउँदै थिएँ
कतै बेदनाले छटपटाउँदै थिएँ
कतै उमंगका तप्काहरूमा
फरफराउँदै थिएँ
कतै मनको रंगमञ्चमा उफ्रिएर
कतै प्रकृतिको रोमाञ्चकतामा हराएर
कतै सुदूर हिमालको काखमा लुटपुटिएर
कतै मरुभूमिको तातो बाफमा पिल्सिएर
कतै आफ्नो सपना त
कतै आफ्नाहरूको
सपनाका ठेलीहरू बोकेर
आमाको च्यातिएको चोलीका टुक्राहरू
बुबाको च्यातिएको कोटका टुक्राहरू
भाइबहिनीका रहरका
डङ्गुर भण्डारहरू
चिरिएका भित्ताहरूको
अपेक्षाको चित्कारहरू
ढलेका पिलरहरूको
उठ्ने अपेक्षाहरू
अनि आफू स्वयमको
दूर भविष्यको सफल चित्कार
हो,
ती सबै पूरा गर्ने
सामर्थ्यको नजिक पुगेँ
जिम्मेवारीले थेचिएको थाप्लोले
थाम्न सक्ने खुसीको बहार
खोज्न म सफल भएँ
मुस्कानले त्यो झल्को देखाइदियो
मनले आनन्दको स्वागत गर्यो
भावनाले अग्लो हिमालको चुचुरो चुम्यो
स्मरणले समुद्रको गहिराइ नाप्यो
यस्तो लाग्थ्यो
सपनाका ठेलीहरूलाई
बिपनाले पूर्णता दिन म सफल भएँ
स्मृतिका पन्नाभित्र अटाएका
सपनाका चाङहरूलाई
एक-एक केलाउन सफल भएँ
जुन चाङहरू एक-एक गरी
पूर्णतामा रम्न थाल्यो
हो साँच्चै,
कति मिठा थिए
स्मृतिका पन्नाहरूमा
हराएका ती सपनाहरू
पूरा भएको त्यो पल
जब ब्युँझिएँ
ती सबै अलप भए
अनि
गुमनाम रातको
अनकन्टार ओडार भित्र
आफू विलीन भएको पाएँ
आफूलाई
नियाल्ने कोसिस गरेँ
अनि पाएँ आफूलाई
म त निदाउनुअघि
जहाँ थिएँ त्यही पो रहेछु
पलाउँदै गरेका रहरहरू
डडेलोले जलाइदिए
चुलिँदै गएका विश्वासहरू
नउठ्ने गरी ढली गए
प्रेमले कोपिला हालेका
फूलरुपि वास्नाका रागहरू
क्षणभंगुर विषको कण बनी गए
आमाको चोली उस्तै थियो
बुबाको कोट उस्तै थियो
भाइबहिनीका रहरका डंगुर
झन् बढ्दै थियो
चुमेको हिमालमा छिद्र पलाए
गहिराइ नापेको समुद्र खण्डहर भए
म
मरुभूमिको एउटा
अनकन्टार कुनामा
सपनाका ठेलीहरूलाई
एक-एक गरी मार्दै थिएँ
मलाई थाहा थिएन
मरेका सपनाका ती ठेलीहरूले
म स्वयमलाई मार्दै थियो
अनि म
विपनामै एउटा
सपना देख्न थालेँ
विपना भैसकेका
रहरका डंगुरहरूमा
अझै थपिदेऊ
धेरै उधारो सपनाका ठेलीहरू
यो सुस्त गतिलाई
नै ठप्प पार्ने गरी
आशा, अपेक्षा र सपनाहरू
सबै मार्ने गरी
जहाँ जीवनको अस्तित्व
विलीन होस् सदासदाको लागि।