म सरकार खोज्दैछु
गाउँघर
टोलसडक
स्कुल
र बस्तीमा
हो म आजकल
सरकार नियाल्ने प्रयत्न गर्दैछु
किनकि
ऊ हाम्रो
हातले दिएको भोट हो
ऊ देशको
विश्वासले चलाएको
डाडु
र पन्यौ हो
त्यसैले
म गाउँघरहरूमा
भोको पेटमा
सरकार छाम्दैछु
स्कुलहरूमा
ज्ञानको अक्षरमा खोज्दैछु
बाटोघाटो
पुल
र पुसेसामा नभत्केका
अनुहारमा छाम्दैछु
बाढी
र पहिरोहरूमा
हुबरड्यामजस्तै बलियो
पर्खाल बनेर उभिएको
सरकार खोज्दैछु
मेलम्ची
विष्णुमती
र बाग्मतीमा
सङ्ला पानीका
मुहानहरूजस्तै
जनजनको विश्वासमा बगेको
सरकार खोज्दैछु
चट्टानजस्तै
आफ्नै बलले उभिएको
सगरमाथाजस्तै
उच्च आत्मबलले
अग्लिएको बुद्धजस्तै
ज्ञानले भरिएको सरकार
मैले सपनामा देखेपछि
विपनामा खोज्दैछु
ध्रुवताराजस्तै
चम्किलो सरकार
म मध्य दिनमा खोज्दैछु
हो, सरकार!
मेरो भोटको विश्वास हो
त्यसैले
मैले बनाएको विश्वास
अरीको नोट
र रोटले किन्न सक्दैन
हो, मेरो शिर हो सगरमाथा
र सरकार कसैले छिन्न सक्दैन
म
मेरो विश्वासको
सरकार खोज्दैछु
ऊ जङ्गे पिल्लर भएर
मलाई बचाउन
र आफू बाँच्न अडिक छ!