आर्थिक वर्षको अन्त्यतिर हुने समीक्षा गोष्ठीमा भाग लिन काठमाडौं गएको थिएँ। तीन दिने उक्त गोष्ठीको पहिलो दिनको कार्यक्रम सकिएर दोस्रो दिनको कार्यक्रममा सहभागीहरूको प्रस्तुति चलिरहेको थियो। प्रस्तुति चलिरहँदा कार्यालयको नम्बरबाट मेरो मोबाइलमा फोन आयो।
मोबाइल साइलेन्टमा थियो। प्रस्तुति चलिरहेको हुनाले फोन उठाइनँ। एकैछिनपछि सहलेखापालको मोबाइलबाट मेसेज आयो- 'सर, एउटा खबर छ। फुर्सद मिल्यो भने फोन गर्नूहोला।'
पहिलो सेसनको प्रस्तुति सकिएर लन्च ब्रेक भएपछि बाहिर निस्केर फोन गरिहालें।
उताबाट हेलो भन्नासाथ सोधिहालें, 'के भयो र? कस्तो खबर हो?'
'आज बिहान घरबाट कार्यालय आउँदै गर्दा जानकी बैनी जीप दुर्घटनामा परेर अस्पताल भर्ना भएकी छन्।'
त्यो सुनेपछि आत्तिदैं सोधें- 'हो र? कत्तिको गम्भीर चोट लागेको छ?'
'अलि सिरियस नै छिन्, टाउकोमा चोट लागेको छ रे।'
यो सुनेर मेरो मन झन् आत्तियो।
'अस्पाताल पुग्दै गर्दा बीचमा एकपटक हजुरको नाम लिएकी रहिछन्। त्यही भएर हजुरलाई फोन गरेको,' उनले थपे।
विभागीय निर्देशक कार्यक्रम स्थलमै हुनुहुन्थ्यो। मैले घटनाको विवरण सुनाएँ र जानुपर्ने भयो भनें। मेरो प्रस्तुति पहिले नै सकिएको हुनाले उहाँले जाने अनुमति दिनुभयो।
गोंगबु माइक्रो बसको काउण्टरमा फोन गरेर टिकट बुक गरें। घर गएर आफ्नो सामान लिएर गोंगबु गएँ। माइक्रो छुट्न लागेको थियो। एक बोतल मिनरल वाटर किनेर चढें। केहीबेरमा माइक्रो हिँड्यो।
प्रायः यात्रा गर्दा निदाउने मान्छे, त्यो दिन निद्रा लाग्दै लागेन। त्यो खबर सुनेदेखि उनकै अनुहार झलझली याद आइरह्यो। निको भैदिए हुन्थ्यो भन्ने कामना गरिरहेँ। बाटोभरि उनीसँग भेट भएको पहिलो दिनदेखिका सबै क्षणहरू एक-एक गरी 'फ्ल्यास ब्याक' भएर आउने थाले।
लोक सेवाको लिखित परीक्षा र अन्तर्वार्ता दुवैमा नाम निस्केपछि पदस्थापन भएर जिल्ला सदरमुकाममा रहेको कार्यालयमा हाजिर हुन जाँदा मलाई स्वागत गर्ने पहिलो अनुहार उनकै थियो।
'सरलाई यस कार्यलयमा हार्दिक स्वागत छ, म जानकी' भन्दै दुई हात जोडेर नमस्तेसँगै मिठो मुस्कानले स्वागत गर्दै एउटा सानो फूलको गुच्छा राखिदिएकी थिइन् उनले मेरो हातमा। उनको उज्यालो अनुहार, मिजासिलो व्यवहारले पहिलो दिनमा नै प्रभावित भएको थिएँ। केही वर्षयता कार्यालयमा प्रमुख नभएकोले निमित्त प्रमुखको जिमेवारी उनले नै बहन गर्दै आइरहेकी रहिछन्।
'सर आएपछि अब बल्ल मलाई हल्का हुने भयो,' उनले भनेकी थिइन्।
कार्यालय प्रमुख नहुँदा निमित्त भएर प्रमुखको जिम्मेवारी निभाउनु पर्दा बोझ भएको थियो कि भन्ने महसुस गरें मैले उनको त्यो भनाइमा।
काठमाडौंमा जन्मिएँ, त्यहीं हुर्किएँ, त्यहीं पढेँ। जिल्लामा पदस्थापन हुनुभन्दा पहिले काठमाडौं उपत्यका बाहिर कतै गएको थिइनँ। निकै उत्साहित थिएँ पहिलो पटक नयाँ ठाउँमा पाइला टेक्न पाउँदा। रमणीय थियो त्यो ठाउँ। वरिपरि डाँडा, डाँडा माथिबाट मनोरम हिमालहरू देखिने। जताततै हरियाली। एक दुई ठाउँ बाहेक प्राय: जता जान पनि पैदाल नै हिँड्नु पर्ने।
नयाँ ठाउँ भएकोले समय मिल्नासाथ कतै नजिकको ठाउँ जान मन लाग्थ्यो। धेरै हिंड्न पर्ने हुनाले टाढा भने खासै जान मन लाग्थेन। नजिक एक/दुई घन्टा लाग्ने ठाउँसम्म त जाने गर्थें। छुट्टीको दिन कहिले कता कहिले कता जाने सुझाब दिन्थिन् उनी पनि। उनले भनेअनुसार नै जाने गर्थें म पनि, कहिले अन्य कार्यालयका कर्मचारीसँग, कहिले आफ्नै कार्यालयका सँग।
उनको गाउँतिर पनि गएको थिएँ एकपटक उनीसँगै। एक घण्टा जतिको बाटो रहेछ तर मलाई भने डेड घण्टा जति लागेको थियो। गाडी जाने कच्ची बाटो पनि बनिरहेको रहेछ। कच्ची र धेरै घुम्ती बाटो भएकोले कहिलेकाहीँ पानी पर्दा वा धेरै सामान बोक्नु पर्दा गाडी चढेर आउने जाने गर्दा रहेछन्। अन्यथा प्राय: मानिसहरू पैदल नै हिँडदा रहेछन्। उनले त्यसबेला आफ्नो घरमा पनि लगेकी थिइन् मलाई। 'उहाँ मेरो हाकिम साब' भनेर घरका सबैलाई मेरो परिचय गराइदिएकी थिइन्। राम्रो सत्कार गर्नु भएको थियो सबैजनाले।
कहिलेकाहीँ कतै एक्लै जाँदा उनीसँग फोनमा कुरा गर्दै जान्थेँ। कहाँ पुग्नु भयो? कस्तो लाग्यो त नयाँ ठाउँ भनेर सोधिरहन्थिन्। प्रायः सबैतिर हिँडेर जानु पर्ने भएकोले त्यसरी कुरा गर्दा बाटो काटेको पत्तै हुँदैनथ्यो।
दिनहरू बित्दै गए। हाम्रो घनिष्ठता बढ्दै गयो। समयक्रमसँगै दुईतर्फ नै प्रेमको बीज अङ्कुरण भएर झागिँदै गइरहेको थियो। अन्तरंग कुराकानीहरू हुन थालेका थिए।
'म गाउँकी, हजुर सहरको। हाम्रो जात मिल्दैन, सम्पन्नताको स्तर मिल्दैन, रहनसहन, परिवेश केही मिल्दैन। हाम्रो सम्बन्ध अगाडि बढाउन हजुरको परिवारबाट केही अवरोध हुन्छ कि?' भनेर सोधेकी थिइन्।
'त्यस्तो केही हुँदैन। मेरो तर्फबाट त ढुक्क भए हुन्छ तिमी। बुवाआमाले पनि अन्तरजातीय विवाह नै गर्नु भएको थियो। अहिले बुवा हुनुहुन्न तर आमाले मेरो निर्णयलाई सहर्ष स्वीकार्नु हुन्छ,' मैले भनेको थिएँ।
'हाम्रो त गाउँको परिवेश, हाम्रो समाज त्यही हो, सोच उही हो। बुवाआमा त्यति सजिलै नमान्न सक्नुहुन्छ। सकभर म मनाउने प्रयास गर्नेछु। हजुरसँग मेरो भविष्यको सुन्दर सपना मैले देख्न थालिसकेकी छु। उहाँहरूले मान्नु भएन भने म विद्रोह गर्न तयार छु,' उनले भनेकी थिइन्। सायद उमेरले गर्दा पनि होला, डेड वर्षमा निकै नजिक भैसकेका थियौं।
यत्तिकैमा काठमाडौंमा हुन गइरहेको समीक्षा गोष्ठीमा हालसम्मको विस्तृत प्रगति विवरणसहित सहभागी हुन आउने पत्र आयो। केही दिन प्रगति विवरण तयार गर्न तिर लाग्यौं। म काठमाडौं जानुभन्दा दुई दिन पहिले उनी पनि आफ्नो गाउँ गएकी थिइन्, दिदीको छोराको व्रतबन्धमा। मलाई पनि जाउँ भनेकी थिइन् तर म भने कार्यालयको प्रगति विवरण तयार गर्नुपर्ने भएकोले गइनँ।
काठमाडौं जाने दिन आयो। उनलाई फोन गरें।
'शुभयात्रा, राम्रोसँग जानुहोला। त्यहाँ भएको भए हजुरलाई सी अफ गर्न आउँथेँ,' उनले भनिन्।
'ठिकै छ नि, फोनमा भए पनि कुरा भयो, मलाई त तिमी आएजस्तै भएको छ। बरु भन, फर्किंदा के ल्याइदिउँ तिमीलाई?,' मैले सोधें।
'मलाई अरु केही चाहिँदैन, राम्रोसँग कार्यक्रम सकेर आउनुहोला, त्यति भए पुग्छ,' उनले भनिन्।
'ल है त, गाडी हिँड्न लाग्यो, म राख्छु। अब उता पुगेर फोन गर्छु,' मैले भनें।
'आजसम्म हजुरलाई नभनेको एउटा कुरा भनौं?' उनले अनुमति मागेजस्तो गर्दै भनिन्।
'भन न, के कुरा हो?'
'मेरो अर्को नाम पनि छ नि, साथीहरूले राखिदिएका।'
'ए, हो र? के हो नि त्यो नाम?' मैले उत्सुक हुँदै सोधें।
'सजना' उनले अलि लजाएको लवजमा विस्तारै भनिन्।
'त्यसो भए अब म पनि तिमीलाई यही नामले बोलाउँछु, ल?'
उनी केही बोलिनन् तर उनको मौनताले हुन्छ भनेको आभास भएको थियो मलाई।
त्यतिकैमा खलासी आइपुग्यो। ड्राइभरले गाडी अगाडि बढाए।
'ल बाई, टेक केयर' भनेर मैले फोन राखें।
अबका केही दिन हामी दुवैलाई एकअर्का बिना न्यास्रो लाग्ने पक्का थियो।
अलि पर पुगेपछि गाडीमा गीत बज्न थल्यो। हिन्दी गीत थियो। चालकले मेरो मनको कुरो बुझेर मेरै लागि बजाइदिएको हो कि जस्तो लाग्यो।
गीतले भनिरहेको थियो-
सानु एकपल चैन नआवे, सजना तेरे बिना....
दिल जाने क्युँ घबरावे, सजना तेरे बिना…
बाटोमा पहिरो गएको कारण सदरमुकामसम्म गाडी पुग्न अलिकति ढिला भएको थियो। गाडी अञ्चल अस्पतालकै बाटो भएर जाने हुनाले मैले अस्पताल नेर रोक्न भनेँ। चालकले गाडी रोकिदिए। म ओर्लेर सिधैँ अस्पताल गएँ। त्यहाँ उनको बुवाआमा हुनुहुन्थ्यो। पुग्नासाथ मैले कस्तो छ भनेर सोधें। मलिन अनुहार लगाउँदै बुवाले केही भन्न सकिने अवस्था छैन भन्नुभयो। आमा सुँक्कसुँक्क गर्दै आँसु पुछ्दै गर्नुहुन्थ्यो।
तत्काल मैले केही बोल्न सकिनँ। एकैछिनपछि कसरी भएछ दुर्घटना भनेर सोधें। जीप बाटोबाट ५० फीट जति तल खसेछ। अलिअलि पानी परिरहेको थियो। मोडमा अनियन्त्रित भएर गाडी खस्यो होला भन्ने अनुमान छ। थप जानकारी आएको छैन। चालक पनि गम्भीर छ, उसको पनि बाँच्ने सम्भावना छैन भन्दै थिए डाक्टरहरूले।
केही बेर त्यहाँ बसेपछि म आफ्नो निवास गएर झोला राखें अनि नजिकै रहेको जिल्ला प्रहरी कार्यालय गएँ। चिनजान भएका एकजना इन्स्पेक्टर थिए, उनलाई त्यो दुर्घटनाका बारेमा सोधें। घुम्तिनेर जीप अनियन्त्रित भएर चिप्लिएको देखिन्छ। केही यात्रुले भनेअनुसार अगाडिको सिटमा दुई जना महिला बसेका रहेछन्। चालकको चिनाजानका भएकाले उनीहरूतिरै फर्किँदै जिस्किँदै गाडी चालाउँदै थियो रे। गाडी खस्नुभन्दा केही बेर पहिले पनि त्यसरी गफ गर्दा विपरीत तर्फबाट आइरहेको गाडीसँग झन्डै ठोक्किएको थियो रे। केही यात्रुले 'कुरा त पछि गरे पनि हुन्छ नि' भन्दै अलि ध्यान दिएर गाडी चलाउन भनेका थिए रे। चालकले अलि झोक्किँदै 'सबैलाई राम्रैसँग पुर्याइदिए त भैहाल्यो नि, कति कराको' भन्दै उल्टै यात्रुलाई जवाफ फर्काएको थियो रे।
त्यहाँबाट फेरि अस्पताल गएँ। त्यहाँ परिवारका अरु पनि जम्मा भएका थिए। सबै रोइरहेका थिए। माहोल हेर्दा ऊ अब नरहेको बुझ्न मलाई गाह्रो भएन। मन अँध्यारो भयो। म केही बोल्न सकिनँ। हिजो साँझ फोनमा कुरा भएको मान्छे आज यो संसारबाट बिदा भएर गएको पत्याउनु कसरी! त्यो पनि अर्कैको लापर्बाहीले गर्दा।
हिजो साँझ फोन गरेर उनले भनेकी थिइन्- 'मैले बुबाआमासँग कुरा राखेँ। सुरुमा त हुन्न जस्तो गर्नु भएको थियो। तर पछि हजुरहरूले मान्दै मान्नु हुन्न भने त ठिकै छ, हजुरहरूले खोजेकै केटासँग बिहे गरौँला तर त्यसमा म कदापि खुसी हुने छैन। हजुरहरूले गर्दा म खुसी हुन नसकेको कुरा मलाई जिन्दगीभर रहिरहने छ। त्यसो भनेपछि भने उहाँहरू अलि सकारात्मक हुनु भयो।'
'हामीले तिम्रो खुसी हेर्ने हो। उसैसँग तिमी आफू खुसी हुन्छु जस्तो लाग्छ भने हामी त्यो खुसी खोस्ने अभिभावक हुन चाहन्नौं। तिमी आफै पढेलेखेकी, राम्रो नराम्रो कुरा बुझ्ने भएकी छौ। काठमाडौंबाट आएपछि एकपटक घरमा लिएर आऊ। थप कुरा त्यतिखेरै गरौंला' भन्नु भएको रहेछ। निकै खुसी भएर मलाई फोन गरेकी थिइन्।
'म भोलि कार्यालय जान्छु। हजुर पर्सि गोष्ठी सकेर आउनुहोला। हजुरसँग कति धेरै कुरा गर्नुछ,' उनले भनेकी थिइन्।
सोच्दै थिएँ, त्यतिका धेरै यात्रुको ज्यानको प्रवाह नगरी एउटा चालक किन यसरी गैरजिम्मेवार हुन्छ होला? एउटा चालकको लापर्बाहीले यसैगरी अझै कतिजनाले अनाहकमा ज्यान गुमाउनु पर्ने होला?
कुनामा उभिएर सोच्दै गर्दा भित्रबाट उनको शव निकाल्दै गरेको देखेपछि मेरा आँखाबाट आँसु बगिरहे निकै बेरसम्म।