एउटा स्वैरकल्पना आइरहेछ
आज कुनै त अर्कै होस्
कसैले आनन्दको बोतलमा बिर्को लगाओस्
र पीडाको श्याम्पेन हल्लाएर खोलोस्
आज कोही चुपचाप मेरो दिलमा आगो लगाओस्
र निभाउन आउने दमकललाई उल्टाइदेओस्
संसार पल्टाइदेओस्
ओसिलो डढेलोमा सम्पूर्ण अस्तित्व खरानी हुन देओस्
र यही उर्बर चिहानमा नयाँ प्रेम उमार्न खोजोस्
मिठो सपनावाला निद्रा चिसो पानी हालेर खल्बल्याओस्
बिपनाहरू पस्कोस इच्छाको चुहिने थालमा
नखाने भए घिच भनोस्
र ढोका बन्द गरेर साँचो उसैले पनि नभेट्ने अन्तरालमा फालोस्
जब ऊ फर्केर आउँछ र ढोका ढकढकाउँछ
मैले यसलाई मिठो बदला मानुँ
र भनूँ ‘आज रातको सपना एक्लै देख्नेछु’
अनि भित्रबाट चुकुल लगाएर म निदाउँ
कुनै क्षण यस्तो होस्
कि फूलको उल्टो काँडा नहोस्
दिनको उल्टो रात नहोस्
हुनुको उल्टो नहुनु नहोस्
प्रेमको उल्टो हुदै नहोओस्
सम्भोगको उल्टो पनि सुल्टो पनि एउटै होस्
तिमी लेखेर राख यो कुरा
आगोको उपचार पानी भन्ने झुट सोचेसम्म
यो प्रेम हुँदैन
सत्य फेला पारेपछि कोही आओस् प्रेम गर्न
ऊ त्यहाँ जो भिड छ
ती सब मलाई असल बनाउन खोज्नेको भिड हो
आज कोही मलाई दुर्दान्त खराब बनाउन चाहोस्
शिखरमा पुर्याउन हैन, यो रात त्यो भिरबाट
सँगसँगै खस्न कोही खोजोस्
भेलमा बग्न खोजोस् सँगै
आज भयानक इण्ट्रोपी कसैले सुरु गरिदेओस्
हातको ग्रिनेडको पिन कोही थुत्न आओस्
हुनु र नहुनुको मजा लुट्न आओस्
नमिल्दो कविताको हरफ भएर आओस्
आजको रात कोही फरक भएर आओस्।