कविता
अस्तित्वको लडाइँ त्यति सजिलो कहाँ छ र?
त्यो जित्न,
तिमी स्वतन्त्र हुनै पर्छ।
आफ्नो खुट्टामा आफैं उभिनै पर्छ।
सफलताले शिखर चुम्नै पर्छ।
समानताको लडाइँ लडेर आफ्नो 
अधिकार सुनिश्चित गर्नै पर्छ।
देखिँदैछन् तिम्रा पाइलाहरू 
शिखर तिर लम्किरहेका छन्।
आकाशमा स्वतन्त्रताका पंखहरू 
फैलिरहेका छन्।
हरेक लडाइँमा जित तिम्रै भइरहेको छ।
तर माया 
समानताको लडाइँ लडिरहँदा,
स्वतन्त्रताको आवाज उठाइ रहँदा,
सफलताले शिखर चुमिरहँदा,
कतै जड खलबलिएको त छैन?
धरातल बिर्सिएको त छैन?
आकाशिँदै जाँदा बेला बेला सोच्नू
कतै जमिन छोडिएको त छैन?
बेला बेला आउने हावाका झोकाले 
पात झारी शिखर चढ्न साथ दिएका 
हाँगा हल्लाएका त छैनन्?
लडखडाएको जडलाई हावा दिने
आफन्तको कमी हुँदैन यहाँ।
कोपिला त निमोठ्ने मेरो समाज
फक्रेको फूलको वरिपरि भुन्भुनाउने 
भमराको बिगबिगी जताततै  हुन्छ।
जति सुकै शिखर चुमेको बोट किन नहोस् 
मल जल नपुगेको जड सुक्न बेर लाउँदैन।
सुकेको रूखलाई धमिराले बाँकी राख्दैन।
जति सुकै चुलिए पनि धमिरो लागे पछि,
कुन दिन बोट ढल्छ पत्तै हुँदैन।