कविताः
भोलि आफूभन्दा अलि पढेको कोही मन पर्ला
अनि यो समाजले भन्ने छ
हेर त त्यस्तो अनपढले कस्तो जोडी पाएको
आफूभन्दा धेरै धन सम्पत्ति भएको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ
त्यस्तोमा हुर्केकोले यस्तो जोडी पायो
आफूभन्दा सुन्दर व्यक्तिसँगको जोडीलाई पनि
नसुहाएको वा नराम्रोले राम्रो पाएको
यही समाजले भन्ने छ
आफूभन्दा पाको/जेठोसँगको जोडीलाई
यही समाजले भन्नेछ
उमेर मिल्ने नै नपाएको जस्तो।
तपाईं जो जसलाई मन पराउनुस्
प्रेम गर्नुस्, विवाह गर्नुस्
यो समाजमा आफू राम्रो भए पनि
अरूले खोट लगाउनेछन्
प्रेमको मापन केले गर्नु हुन्छ?
जसले जसरी मापन गर्छ त्यसरी तुलना गर्दै जान्छ।
के सुन्दरले ठिक ठाकलाई
गरिबले धनीलाई
जेठोले कान्छोलाई
पढेकाले पढ्न नपाएकालाई
माया गर्नै नपाउने, नजिक हुनै नपाउने
प्रेम वा विवाह गर्नै नपाउने हो र?
हामी कहिले छोड्छौं
अरूका व्यक्तिगत रोजाइमा खोट लगाउन
अरूलाई आफ्नो खुसीमा रमाउन दिन?
आफूजस्तो छ त्यस्तै हुनुपर्छ र!
आफ्नो मान्छे, आफूले प्रेम गरेको मान्छे?
अरूको जिम्मा तपाईंले लिने भए
उनीहरूले चाहिँ के गर्छन् त?
अरूको बुझाइबाट आफूलाई परिभाषित नगर्नुस्
ती मानिसहरू तपाईंलाई चिन्दैनन्।
आखिर जीवन त उनीहरूको हो
उनीहरूलाई बाँच्न दिन चाहिँ सकिन्छ
जीवनले हरेक दिन केही नयाँ पाठ सिकाउँछ
निरन्तर परिश्रमले सफलता अनुभूत गराउँछ
आखिर जीवन जिउनु नै छ
जीवन अमूल्य छ
यति राम्रो जीवन अनि सुन्दर संसारमा
आफूले आफूलाई चिनाउनुपर्छ
समयको वेगलाई रोक्न त सकिँदैन
तर सँगसँगै हिँड्न सकिन्छ नि
हो समय र जीवनको महत्व बुझेर
मेहनत, परिश्रम निरन्तर गरेर
हेर्नुहोस् त
भोलि तपाईंको सफलता गर्जेर स्वर मच्चाओस्।