मेरो नाम सीमा हो। तर मलाई सीमाहरू कहिल्यै मन परेन। कसैको सीमाभित्र बस्दा त कुइरोमा हराएको कागजस्तो हुने!
जिन्दगीका जिज्ञासाहरू नवीनताहरू शून्यतामा हराएजस्तो हुने। कसैले हुकुम लाएजस्तो हुने, मुठ्ठीभित्र पार्न खोजेजस्तो हुने। सीमाहरू कसैले लगाउन खोजे पनि उल्लंघन गर्न खप्पिस थिएँ म। माया, प्रेम, जन्जिर जस्ता लाग्थे। एक्लो जीवनमा मनग्य सास फेर्न सकेको आभास हुन्थ्यो। त्यसैले पनि ब्वाइफ्रेन्ड बनाउने होडबाजीमा म थिइनँ।
केटाहरू आफ्नो सर्कलमा मलाई 'जिरे खुर्सानी' सम्झिन्थे। प्याट्ट पुट्ट मनमा लाएको बोलिहाल्थें। कसैका अघि भलाद्मी बन्ने ठेक्का लिएर मैले बसेको थिइनँ। हेर्दामा उति साह्रो नराम्री म थिइनँ तर मेरो खरो स्वरूपले केटाहरू सितिमिती मेरो वरपर पर्दैन्थे। कक्षा कोठामा त मलाई सरहरूले पनि 'सीमा जी' भनेर पुकार्थे। अरू साथी गललल हाँस्थे। तर म त मख्ख हुन्थेँ। एक अर्कालाई गर्ने सम्बोधनले पनि निकै अर्थ राख्छ जीवनमा भनेर सोच्दथें।
एकदिनको कुरा हो।
म हतार हतार साझा यातायात चढेर कलेज जाँदै थिएँ। झोला भारी थियो। महिला सिट पूरै प्याक थियो। मान्छेहरू ठेलमठेल गरेर उभिएका थिए। कसैले त सिट छोडदिए पनि हुने नि भन्दै रुन्चे अनुहार लाएर सबैतिर निहालिरहेकी थिएँ। त्यस्तैमा एक जना केटाले मलाई हेरिरहेको थियो। मलाई एकदमै अप्ठ्यारो लागेर आयो। एकैछिनमा उसले तपाईं बस्नु न भन्दै मलाई सिट छोडिदियो। म दंग परेँ। मुसुमुसु हाँस्दै, धन्यवाद टक्र्याउँदै सिटमा बसेँ।
उसले सहचालकलाई उमेरले सानो भए पनि तपाईं भनेर सम्बोधन गरेको देख्दा अचम्ममा परेँ। लाग्यो यो मान्छे भित्र केही छ। मलाई राम्री देखेर सिट छोडेको हो कि भन्ने भानमा परेको केही छिनमा नै उसले बसभित्र अरू नागरिकप्रति गरेको सहृदय व्यवहारले म चुम्बकमा तानिएको फलामजस्तै तान्निएँ।
सहचालकलाई उसले कार्ड देखाएर भाडा तिर्न खोज्दा मैले जिराफले जस्तै घाँटी तन्काइ तन्काइ नाम हेर्न भ्याएँ। विकल्प रहेछ नाम। बेलुका घरमा आएर फेसबुकमा खोजेँ। थर केही नराखी विकल्प मात्र लेखेको रहेछ। ऊ इन्जिनियरिङ र म पत्रकारिताको विद्यार्थी, यसरी जोडियौं।
आफूजस्तै मान्छे वा खोजेजस्तै मान्छे नपाएर रंगमगिएको मैले आडेस लाउने भित्ता पाएँ।
केही गन्थन सुनाउने कानहरू र मलाई तपाईं भनेर सम्बोधन गर्ने बोलीहरू पाएँ। जिन्दगीले दोसल्ला ओढाएर मलाई भन्दै थियो, 'स्याबास्! केटी तैंले अब प्रगति गर्छेस्।'
हाम्रो भेट बाक्लियो। चन्द्रागिरिको डाँडामा पुग्दा उसले 'तपाईंसँग म प्रेममा छु' भनेको हिजोजस्तै लाग्छ। मैले पनि भनेकी थिएँ, 'तपाईं पनि मेरो जीवनमा त्यति नै महत्वपूर्ण हुनुहुन्छ। हामी भित्रको प्रेमको धरहरा चाँडै ठडिएको छ, हाम्रो मानसपटल रूपी घण्टाघरमा प्रेमको घण्टी बजेको छ।’
मेरा कुरा सुनेर विकल्प खित्का छोडेर हाँसेको थियो। ठाउँ ठाउँमा शिष्टाचार राखेर स्वादिष्ट बनाउने ऊ सँगको भेट बिनाको शनिबार त खस्रो लाग्थ्यो। बरको छाया बिनाको ह्रापमा आत्तिएजस्तो हुन्थेँ। विकल्प अर्ति दिन सिपालु थियो। यसो गर, उसो गर भनिरहन्थ्यो। घाँसीका अर्ति भानुभक्तले शिरोपर गरेजस्तै म उसका अर्ति मानिरहन्थें।
हाम्रो प्रेम, बिहेमा परिणत भयो। बिहेकै दिन समेत मण्डपमा उसले मलाई, तपाईं भनेर सम्बोधन गर्दा पण्डित हेरेको हेर्यै भएका थिए। मैले उसको गोडा छुन खोज्दा नदिनेदेखि उसले मेरो आफ्नै गोडा छुन खोजेका प्रयत्नहरू कम्ता प्रगतिशील थिएनन् र?
म आज समेत सम्झिएर चकित हुन्छु। अनुमति बमोजिम सुहागरातका ती भलाकुसारीहरू जहाँ हामी एकअर्का प्रतिको सम्मानमा सगरमाथा चुमिसकेका थियौं।
दिनहरू बित्दै गए। बिस्तारै ऊ अफिस जान थाल्यो अनि मैले घर सम्हाल्न थालेँ। हाम्रा कामहरू बाँडफाँट भए घरका परिस्थिति अनुसार। म पनि उत्तिकै सक्षम छु जागिर खानका लागि भन्ने लाग्थ्यो तै पनि घरका चुनौतीका अघि मैले सम्झौता गर्न सिकेँ। किनकि सम्झौता मेरा लागि नौलो थियो। सम्झौता गर्न हुँदैन भनेर हरदिन सिकाउने मान्छे नै मेरो श्रीमान थियो तर मैले गरेको नदेखिँदो सम्झौता हेर्ने फुर्सत उसलाई थिएन।
विस्तारै हामी दुई जना टाढिन थाल्यौं। म घरका धन्दा बुवाआमा दाइ भाउजू भतिज र कहिलेकाहीँ आउने भाञ्जाभाञ्जी सँग गाँसिन थालेँ। ऊ आफ्नै अफिसका काम र स्टाफसँग गाँसिन थाल्यो। चाडबाडमा हुने पारिवारिक जमघटमा उसले मलाई पहिलो चोटि तिमी भनेर सम्बोधन गर्यो।
अरू सबैलाई सामान्य लाग्यो होला तर म आफूलाई दर्जाहीन ठान्न पुगेँ। गएर ऐना अगाडि बसें, म त खाली खाली थिएँ। सिउँदोको सिन्दुरमा अनेकौं प्रश्नहरू जेलिएका थिए। त्यसपछि विकल्पले कहिल्यै मलाई तपाईं भनेन। यताउता जताततै तिमी भनेर सम्बोधन गर्यो। मैले फेरि एकपटक सम्झौता गर्ने निर्णय गरेँ। ठिकै छ! अलि अप्ठ्यारो लाग्यो होला व्यावहारिक हुन खोजेको होला भनेर मैले देखअनदेख गरिदिएँ यो कुरालाई। मैले भने विकल्पलाई तपाईं भन्न छोडिनँ। एकअर्काप्रति गर्ने आदार र जीवन छुट्टिनै सक्दैनन् झैं मान्थें। तर विस्तारै म गलत हुँदै गएँ।
विस्तारै मलाई जीवन साँघुरो लाग्दै थियो। म आफ्ना सीमाहरू उल्लंघन गर्न सकिरहेको थिइनँ। म त नृत्य चाहने कलाकार थिएँ तर विकल्पले मेरो नाच्ने स्पेस खुम्चाउँदै गएको थियो। मलाई मान्छे कम र यन्त्र बढी देख्न खोजिरहेको थियो विकल्पले। म कहिल्यै यस कुरामा बहस गर्न चाहिनँ र पर्खिरहें स्वर्गका चिडियाहरू मेरा हाँगा हाँगामा बसून् र मेरा व्यथा सुनून्।
त्यस्तैमा एकदिन घरमा सानो झगडा भयो। मैले दराजमा चाबी लाउन भुलेर किनमेल गर्न बाहिर निस्किँदा घरमा चोरी भयो। बाआमा घरमा नै हुनुहुन्छ सोचेर म बाहिर निस्किएको थिएँ तर बाआमा माथि सुत्नुभएको मौका छोपी चोरी भएछ र सुनका हारहरू चोरी भएछन्। विकल्प अफिसबाट आएपछि सारा दोष ममाथि लगायो। बाआमाले त्यसो नभन बुहारीलाई भन्दाभन्दै विकल्प रोकिएन।
'तैंले घरको राम्रो हेरचाह पनि गर्न सकिनस् है' भनेर विकल्पले भनेको सुनेपछि मेरा कानहरू बहिरा भए। अरू केही सुन्नै सकिनँ। चुपचाप वासरूम गएर रोएँ। म खासै रूने मान्छे होइन, तर त्यो दिन आफूलाई माया गर्ने मान्छेले बाआमाका अघि मलाई माटोमा मिलाएको थियो।
तर एकैछिनमा आफ्ना आँसु आफ्नै हातले पुछेँ। ती बिहे अघिका र बिहेका दिन भएका चटकहरू सब सपना रहेछन् जस्तो लाग्यो। विकल्पलाई साँच्चै विकल्पहरू प्रस्तुत गर्न मनपर्दो रहेछ। नव नव सिर्जना गरेर सम्बन्धहरू जोड्न र बदल्न सक्दो रहेछ। तर मेरो नाम सीमा हो भन्दैमा, म किन सीमाभित्र बस्ने कसैको? म अब फरक भएर जिउनुपर्छ। कसैले गर्ने क्षणभरको लालित्य सम्बोधनमा फसेर बाँच्नहुन्न, जस्तालाई तस्तै गरेर आफ्नो आत्मसम्मानमा बाँच्नुपर्छ जस्तो लाग्यो।
त्यसरात म छुट्टै कोठामा सुतेँ। भोलिपल्ट बिहानै विकल्पको ओछ्यानमा चिया पुगेन। न त अफिस जाने लुगामा आइरन नै लाग्यो। म बिहानै आफ्ना लागि ब्रेकफास्ट खाएर ठूलै मिडिया हाउसका लागि खुलेको सम्पादक पदका लागि इन्टरभ्यू दिन गएँ। विकल्प आफैंले खाना पकाएर बाआमालाई खुवाएर अफिस गएछ। अझ ठूलो कुरा त त्यस दिनदेखि मैले पनि विकल्पलाई तँ भनेर सम्बोधन गर्न थालें। ऊ शासन सत्ता ढाल्न लागेको शासक जस्तै देखिन्थ्यो तर चुपचाप रहन्थ्यो। आफ्नो काम आफैं गर्थ्यो। त्यसपछि म जागिरे भएँ।
अफिसबाट म ढिलो आउँदा विकल्पले भात पकाएर राख्न थाल्यो। आफ्नो भाँडा आफैं माझ्न थाल्यो।
एकदिन म बेडरूममा आफ्नै काममा व्यस्त थिएँ। ढोका खुल्लै थियो। टिभीमा म प्रस्तोता भएर सञ्चालन गरेको नारी सशक्तीकरणसम्बन्धी साझा सवाल प्रस्तुत हुँदै थियो। टिभी रूममा बसेर बा, आमा र विकल्प टिभी हेर्दे थिए। विकल्प भन्दै थियो, 'बुझ्नुभो बा! बुहारीले टिभीमा भने जस्तै नारीहरूलाई निश्चित सीमाभन्दा बढी दबाउन खोजेमा उनीहरू ज्वाला बनेर निस्कन्छन्।'