प्रिय, आकांक्षा हाम्रो सम्बन्ध अहिले यस्तो बनेको छ कि सायद यो पल हामी दुवैको चाहनामा थिएन, यस्तो अवस्था कसरी आयो? के कारणले आयो? मैले भेउ पाउनै सकिरहेको छैन।
पहिले एकअर्काको राम्रो कुराहरूको प्रशंसा गर्ने हामी अहिले एकअर्कोलाई कसरी हुन्छ डाउन गर्ने प्रतिस्पर्धामा छौं आखिर किन यस्तो भयो केही लेख्न मन लाग्यो।
कोरोनाले विश्व आक्रान्त थियो। नेपाल पनि त्यसबाट अछुतो रहेन। सायद यो महामारी नआएको भए हामी नजिकिने थिएनौं होला र हामी यो अवस्थामा आइपुग्ने थिएनौं होला।
अझ भनौं तिम्रो र मेरो जुन नचाहेको सम्बन्ध अहिले बन्न पुगेको छ, यसको असरबाट गुज्रनु पर्ने थिएन होला।
२०७७ भदौ महिना मनसुन सक्रिय भैराखेको समय जताततै हरियाली। म पनि त्यही हरियालीमा सधैं रमाउने चाहना राख्न थालेँ। त्यही सपना मनमा राखेर तिमीलाई प्रेम प्रस्ताव राखेको थिएँ।
सायद त्यो समयमा तिमी अन्जान थियौ या बुझ्ने थियौ मलाई थाहा भएन तिमीले मेरो प्रेम प्रस्तावलाई सहर्ष स्वीकार गरेकी थियौ। सायद तिम्रो मनमा पनि चाहना थियो होला मसँगको प्रेम सम्बन्ध।
हो, त्यसै दिनदेखि सुरू भयो हाम्रो प्रेमको एक कहानी जुन अहिले सम्झिँदा पनि आँखाबाट आँसुका आउँछन्।
प्रिय आकांक्षा, जब तिमीले मेरो प्रेम प्रस्तावलाई स्वीकार गरी मेरो सपनामा सामेल भयौ, त्यो दिन मेरा लागि जिन्दगीकै अमूल्य दिन रह्यो। त्यसपछि हाम्रो सम्बन्धले गति लियो। दु:ख सुखमा एक अर्कालाई साथ दिँदै हामी अघि बढ्यौं।
त्यो समयमा तिमीले मलाई गरेका प्रणहरू, दिलाएका आशाहरू आज पनि मेरो आँखा अगाडि आएर मलाई गिज्याइरहेका हुन्छन्।
सुरूका ४/५ महिनासम्म लय समातिरहेको हाम्रो सम्बन्धमा ४/५ महिनापछि सम्बन्धले यूटर्न लिएर विपरीत दिशातर्फ जान लागेको कुरा मेरो मानसपटलमा अझै पनि घुमिरहेछ, त्यो समयमा तिम्रो अनि मेरो सुझबुझपूर्ण निर्णयले हाम्रो सम्बन्धलाई फेरि आफ्नो बाटोमा ल्याउन सफल भएका थियौँ।
तर अचानक हाम्रो सम्बन्ध कसरी र किन ढल्यो तिमीलाई राम्ररी थाहा होला!
हाम्रो सम्बन्ध बीच बीचमा टुट्दै गाँसिँदै- गाँसिँदै टुट्दै आइरहेको थियो। करिब ३ वर्ष अवधिको प्रेम सम्बन्धपश्चात् हाम्रो एउटा सुन्दर सपना, एउटा चाहना, हजारौँ खुसीको संग्रहालयले विश्राम लियो। अर्थात् हाम्रो सम्बन्ध टुंगियो। पहिले गाँसिए पनि यो पटक कहिल्यै नजोडिने गरी टुटेको थियो।
सयौँ वाचाहरू तोडिएका थिए, हजारौं खुसीहरू बिलाइसकेका थिए, म मैले देखेको सपनाको मलामी बनिरहेको थिएँ, सम्बन्धले पनि यस्तो अवस्थामा ब्रेक लियो कि जुन अवस्थामा मेरो खुसीको आधार भनेको त्यही थियो तर अफसोच त्यही सम्बन्ध पनि यही समयमा टुंगिन पुग्यो।
अक्सर सपनाहरू सुन्दर रहन्छन, तर भविष्य डरलाग्दो। कति कुराहरू चाहँदाचाहँदै पनि अपनाउन नसकिने रहेछ।
सुन्दर सपनाहरुसँग खेल्ने बानी परिसकेको रहेछ मलाई शायद, भविष्य पनि मसँग चिन्तित छ, त्रसित छ!
प्रिय आकांक्षा शायद तिम्रो त्यो सिउँदो रित्तो रहन्न, मेरा मन र आँखाभरी संगालिएका मायाहरू कहिले पनि रित्तिएर रित्तिन्नन्। अतितका सपना र सम्झनाहरूलाई बिर्सिएर पराइको अंगालोमा लिप्सिन पुग्छौ तिमी।
शायद अर्को ‘म'। उसको मन मेरोजस्तो नभए पनि मेरा आकृतिले पक्कै हकहरू जमाउनेछन्।
मेरा राम्रा गुणहरू ऊभित्र प्रवेश गरेको महसुस तिमीले नै गर्नेछौ। शायद तिमीलाई केही फिक्का महसुस हुनेछ। तर तिमी भरिपूर्ण नै हुनेछौ। तिमीसँग केही अभाव रहनेछ।
शायद, त्यो अभाव म रहनेछु।
प्रिय सुनेको आजकल पनि तिमी मलाई उत्तिकै माया गर्छौ रे मेरो लागि भगवानसँग पहिले जत्ति नै आशिष माग्छेऊ रे तर फरक यत्ति मात्र कि पहिले मेरो भलाइको लागि र अहिले मेरो .... को लागि।
अहिले तिमी र म पहिलेको ठीकविपरीत भएका छौँ। हामीले अहिले एक अर्काका कमजोर पक्षहरूको फाइदा उठाइरहेका छौँ।
हामीमा एउटा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, तर प्रिय तिमीले जुनसुकै चुनौती दिए पनि त्यसको सामना गर्न म तयार छु।
भन्छन् नि धेरै सोचेको कुरा सपनीमा आउँछ रे, तर धेरै चाहेको कुरा जिन्दगीमा नआउने रहेछ।
अन्त्यमा त्यति धेरै कुरा त थाहा छैन मलाई र थाहा पाएर पनि भन्न सक्दिनँ तिम्रो बारेमा, केबल यति निर्धक्कसँग भन्न सक्छु कि तिमी प्रेमको व्यापारी हौ, अनि म तिमीबाट ठगिएको ग्राहक! यसभन्दा बढी लेख्न सकिनँ। मैले लेख्न नसके पनि पक्कै लेखिनेछ। कसैले लेख्नेछ एउटा कथा हाम्रो पिरतिको...।