मलाई कसैले दाइ भन्छ भने स्वभाविको रूपमा म उसलाई भाइ वा बहिनी भन्छु। तर यो समाज र समय धेरै तीव्र गतिमा फिक्का भएर अगाडि बढेको रहेछ कि मलाई पत्तै भएन। कुनै केटी मान्छेले केटा मान्छेलाई दाइ भन्छिन् भने त्यसभित्र पनि अन्य नाता र सम्बन्धको सम्भावना खोजिँदो रहेछ। तर अचम्मको कुरा के भने, कुनै केटीको दाइ सम्बोधन भित्र प्रेम सम्बन्धको सम्भावना नदेख्ने केटाहरू आजका युगका सिंगल केटाहरू बन्न पुग्दा रहेछन्।
आजको चल्ति बजारमा दाइका प्रकारहरू यसरी बढेका छन् कि जो दालको प्रकारभन्दा पनि बढी छन्। अनि सस्तो पनि उत्तिकै छन्। कुनै केटीले कुनै केटालाई दाइ भन्ने नाता तथा सम्बन्धको प्रकार बुझ्न मलाई आजसम्मको समय लाग्यो। त्यसैले मेरो विचारमा कुनै केटीको कुनै केटा दाइ हुनु, दाइ बन्नु र दाइ भन्नुको बहुत अन्तर देखेको छु। अर्थात् एक केटीको अर्को केटासँगको दाइ नाता सम्बन्ध र केटीले केटालाई गर्ने दाइ सम्बोधन बीच धेरै फरक छ। त्यसैले आज म यिनकै चर्चा गर्दैछु।
दाइ हुनु
दाइ हुनु भनेको कसैको जन्मजातै दाइ हुनु हो। कुनै केटा मान्छे जन्मले आमाको कोखबाट अर्कोभन्दा अगाडि जन्मिएको हो भने ऊ स्वतः दाइ हुन्छ। रगत र दूधको नाताभित्र, परिवार, आफ्न्तजन, इष्टमित्र भित्रमा अर्काको तुलनामा अगाडि जन्मिएको मान्छे दाइ हुन्छ। यस्तो पारिवारिक नातामा कतिपय व्यक्ति उमेरले जेठो भए पनि वास्तविक पारिवारिक नाताले काका, फुपू, भतिज, मामा थुप्रै पर्न सक्छन्। त्यसैले उमेरको जेठो हुँदैमा दाइ नाता नपर्न पनि सक्छ। जस्तै: मामाभन्दा भाञ्जा उमेरले जेठो हुँदैमा दाइ हुँदैन।
कुनै केटा र केटी मान्छेबीच दाइ-बहिनीको नाता हुनु भनेको एक पवित्र नाता सम्बन्ध हुनु हो। यसपछि अर्को कुनै नाताको सम्भावना हुँदैन। दाइले दाइ भएरै भाइ-बहिनीप्रतिको आफ्नो कर्तव्य र सम्बन्ध निभाउँछन्। यस प्रकारको दाइ नातामा हिन्दु धर्मावलम्बीहरूले भाइटीका, जनैपूर्णिमा मनाउँछन्। साथै विवाहमा लाजा हाल्छन्। दाइ आखिर दाइ नै र बहिनी आखिर बहिनी नै हुन्छ। दाइबहिनी नै भनिन्छ।
आमाबुबाभन्दा पछि तपाईंको लागि कोही चिन्ता लिने मान्छे छ भने यहीँ प्रकारका दाइ हुन्। यस प्रकारका दाइले आमाबुबाको अभाव रहेको खण्डमा पनि भाइबहिनीमा उहाँहरूको अभाव खड्किन नदिन हर प्रकारको संघर्ष गर्छन्। दाइहरू जहिले भाइबहिनीका लागि मेरुदण्ड बन्छन्। हाम्रो सामाजिक तथा राजनीतिक इतिहासमा विगतमा जसका भाइभारदारहरू धेरै अनि बलिया थिए तिनै व्यक्तिहरू समाजमा बलिया थिए। तर यसै प्रकार भित्रका दाइहरू भित्रबाट कोही त्यस्तै निस्कन्छन् जसले तपाईंलाई बाको अंश पाउने समान हिस्सेदार मात्र देख्छन् र सम्झन्छन्। सम्बन्धभन्दा सम्पत्तिलाई बढी महत्त्व दिने खालका दाइहरू नहुने पनि होइनन् छन। तर दाइ, दाइ नै हो।
दाइ बन्नु
दाइको अर्को प्रकार चाहिँ दाइ बन्नु हो। यो दाइ बन्नु पनि पवित्र सम्बन्ध हो। कुनै केटी मान्छेले आफ्नो आमाको कोखबाट जन्मेका दाइभाइको रिक्तता अथवा माइतीदेखि टाढा भएकी चेलीले दाइको अपनत्व र प्रेम पाउन कसैलाई दाइ बन्न अनुरोध गरेमा दाइ-बहिनीको पवित्र सम्बन्ध जोडछन् भने यस प्रकारको सम्बन्ध पर्दछ। कुनै केटा मान्छेले पनि बहिनीको अभावमा कसैलाई बहिनी मान्छन् बनाउँछन् भने यो प्रकारको पवित्र सम्बन्ध पर्दछ। यसमा धार्मिक, सामाजिक सबै प्रकारको दायित्व र कर्तव्य सृजना भएको हुन्छ। बस त्यहीँ कानुनी दायित्व हुँदैन।
तीज, भाइटिका र जनैपूर्णिमा जस्ता पर्वमा दाइ बन्ने सम्बन्ध बढ्दो क्रममा छ। कतिपय विवाहमा घरकै आफ्नो भाइ भएन अथवा माइतीले चेलीको विवाहप्रति चित नबुझाएर आएनन् भने कसैले लाजा हालेर पनि दाइको सम्बन्ध जोड्ने हाम्रो समाजमा प्रचलन छ। यसभित्र विवाहको सम्बन्धले बन्ने जेठाजु दाइ, आमाजू दाइ पनि पर्छन्।
दाइ भन्नु
दाइको अर्को प्रकार छ दाइ भन्नु। दाइ हुनु र दाइ बन्नु बाहेकका सबै प्रकारका दाइ नाता भने यसभित्र पर्छन्। यस प्रकारको दाइलाई दाइ नाता तथा सम्बन्ध भन्न मिल्दैन, मात्र दाइ सम्बोधन गरेको मानिन्छ। जस्तै- बैंकको चेक साट्ने लाइनमा बसेको समयमा तपाईंलाई कुनै अपरिचित महिलाले उमेरमा आफू जेठी नै भए पनि 'हतार छ, बच्चा रोएको छ, मलाई पालो दिनु न दाइ' भन्नु हो। अपरिचित केटी मान्छे जो उक्त केटा मान्छेको उमेर सेरोफेरोको छ उसले परिचय गर्नुपर्यो अथवा नयाँ बाटोघाटोदेखि अन्य कुरा सोध्नुपर्यो भने भनिने दाइ सम्बोधन यसभित्र पर्छ। आकस्मिक, आपतकालीन र आवश्यकताको अवस्थामा अपरिचित व्यक्तिसँग गरिने सम्बोधनमा दाइ प्रयोग अझ बढी नै हुन्छ।
त्यस्तै कलेजको सिनियरदेखि क्लासमेट साथीलाई भनिने दाइ, कार्यालयका स्टार्फदेखि पाले दाइसम्मलाई भनिने दाइ, पसलका साहुजिदेखि फुटपाथका व्यपारीसम्मलाई भनिने दाइ, बसको मालिकदेखि चालक, सहचालकसम्मलाई भनिने दाइ, राजनीतिक नेतादेखि कार्यकर्तासम्मलाई भनिने दाइ, ट्राफिक प्रहरीदेखि पत्रकार, कलाकारसम्मलाई भनिने दाइ, गाउँले नाता पर्नेलाई भनिने दाइ अनि नातै नपर्नेलाई भनिने दाइ यसैभित्र पर्छन्।
यतिसम्म कि कुनै केटा र केटीको लभ पर्यो। तर यसलाई निकै गोप्य राख्न चाहने केटीले बाहिर क्लेज, स्कुल तिर मनले नमानी नमानी भन्नुपर्ने स्थितिको दाइ। त्यस्तै कुनै केटालाई आफूभन्दा जुनियर केटी मन पर्यो अनि उसले प्रपोज गर्यो भने केटीले 'के भनेको दाइ! हजुर त दाइ जस्तो मान्छे' भनेर भनिने दाइ। सामाजिक संजालमा बोल्दै र परिचय गर्दै गर्दा 'म त हजुरलाई दाइ भन्छु नि है' भनेर भनिएको दाइ। त्यस्तै कोही प्रेम सम्बन्धमा बसेको केटीले आफ्नो ब्वाइफ्रेन्डले आफूमाथि शंका र अविश्वास नगरोस् भनेर आफूसँग कोही बोल्न आउँछ भने आफ्नो उमेरभन्दा बढीकै हो भन्ने अनुमान गरेर भनिने दाइ।
त्यस्तै नोट पठाइदिनू न दाइ। यो बाटो कता जान्छ दाइ? यो गाउँको नाम के हो दाइ? पानीपुरी एक प्लेट बनाइदिनु दाइ? गाडी रोक्नु न दाइ। गेट खोल्दिनु न दाइ। फोटो खिच्दिनु न दाइ। स्कुटी उठाइदिनु न दाइ भनेर अपरिचित स्थितिमा गरिने सम्बोधनका सबै दाइ यसभित्र नै पर्छन्। कोहीसँग आँखा जुधेको हुन्छ तर पनि दाइ, कसैसँग कुम ठोकिएको हुन्छ तर पनि दाइ, कसैसँग खुट्टा टेकिन पुगेको हुन्छ तर पनि दाइ नै भनिएको हुन्छ। गोरु बेचेको साइनदेखि तस्बिर देखेको साइनोसम्म यहीँ प्रकारको दाइ भनिन्छ।
यस प्रकारको दाइ भन्नुमा सिर्फ दाइ सम्बोधन गरिएको हुन्छ। दाइ सम्बोधन भन्नलाई सरल, सहज र बुझ्नलाई पनि सरल र सहज भएको हुँदा यसको धेरै प्रयोग हुन्छ। तर यसभित्र दाइपछि पनि नाता र सम्बन्धको व्यापक सम्भावना बोकेको हुन्छ। दाइ भन्ने कुराले मात्र नाताको पूर्णता हुँदैन। त्यसमा केटाले बहिनी स्वीकार्य र अपनत्व लिएको हुनुपर्छ। दाइ नाता पूर्ण हुनलाई त्यसमा पवित्रता, सम्मान, सम्बोधन, सहयोग, स्वीकार्य,कर्तव्य र दायित्व इत्यादी हुनुपर्छ। तर भन्नको लागि मात्र भनिएको दाइमा सम्बोधन मात्र हुन्छ। तसर्थ दाइ हुनु र बन्नु पूर्ण हुन्छ भने दाइ मात्र भन्नु अपूर्ण नै हुन्छ। दाइ हुनु र बन्नु दाइ नाता सम्बन्ध हो भने दाइ भन्नु दाइ सम्बोधन मात्र हो।
सकारात्मक दृष्टिले दाइ सम्बोधन मात्र गर्नेहरूको संजालभित्र सिंगल केटाहरूले प्रेमको आशा र सपना देख्नु भने स्वभाविक मानिन्छ। कुनै केटी मान्छले आफूलाई सुरक्षित राख्न, सम्मान र आदर पाउन पनि दाइको शिष्ट र पारदर्शी सम्बोधन गर्छन। शिष्ट, पारदर्शी, निश्चल रूपमा दाइ भनेपछि सोही दाइको अपनत्व ग्रहण केटा मान्छेले गर्न सक्नुपर्छ। त्यसैले निश्चल रूपमा दाइ भन्नेहरूलाइ बहिनी भन्नुपर्छ। तर मात्र दाइ सम्बोधनभित्र दाइ, प्रेमी, साथी, भिनाजु, सोल्टी, सबै प्रकारको नाता र सम्बन्धको सम्भावना जीवित नै रहन्छ। दाइ नाता सम्बन्ध भने शुद्ध दाइ नाता नै हो। त्यसैले दाइ सम्बोधन र दाइ सम्बन्धमा भिन्नता रहेको छ।
यसरी लेखको निस्कर्ष गरेको थिएँ। संयोगवश त्यो दिन भ्यालेन्टाइन डे परेको थियो। मैले ध्यान एकछिन मोबाइलमा लगाएँ। अनि म्यासेन्जर खोलेर निरन्तर लामो समयदेखि कुरा हुँदै आएको एकजना परिचित केटी साथीलाई 'ह्याप्पी भ्यालेन्टाइन डे' भनेर म्यासेज पठाएँ। उनलाई थाहा थियो थिएन पत्तो भएन तर मेरो लागि उनी क्रश पनि थिइन्। उनको तत्काल रिप्लाई आयो- 'थ्यांक यु दाइ!'
जब कि कहिल्यै दाइ नभन्ने साथीलाई प्रणय दिवसको शुभकामना दिँदा दाइको सम्बोधन गरेर रिप्लाई आएपछि म पनि अचम्मित र चकित भएँ। दाइ भनेर मात्रै प्रेमको सम्भावना र सम्बन्धको बाटो सकिँदैन त्यो त झन् ग्रीन सिंग्नल भएर बढ्न पनि सक्छ भन्ने कुराको सोचले प्रष्ट हुनलाई मैले माथि उल्लेखित लेख सुरुमा उनलाई नै सेन्ड गरेँ। पढ्न आह्वान गर्दै। लगत्तै फेरि अर्को म्यासेज टेस्ट गरेँ- 'दाइ त भन्यौ तर कुन प्रकारको दाइ?'