भर्भराउँदो सपना बोकेर
लाखौं सपना शृंगारेर
हिँडिरहेको छ
कहीँ कतैको गल्ली
जस बारे छ ऊ अञ्जान, अनभिज्ञ।
माथिको आकाश नियाल्दै
दिवास्वप्नमा ढल्पलिँदै
सजाएको छ एक सपना
पुग्छ जनशक्ति बेच्ने कारखनामा
सिगाँरीनी र सन्तान याद गर्दै।
चकलेटी पासपोर्टमा चकाचक
'भिजा ग्रान्टेड'को स्ट्याम्प छपक्क
लागेको पासपोर्ट लिन्छ
अनि लाग्छ समातेर सन्तानका सपना
प्रेम सम्झिदैँ परदेशिन विमानस्थल।
चढ्छ हवाईजहाज
उडाउँछ सपना उसका
हावासँगै हवाईजहाजमा।
स्वदेशी सोख शोकझैं हुन्छन्
मातृभूमि रोएझैं तर बाध्यता
मुग्लान मिसिने
उसको सीप त्यसै आत्तियो
रोजगारी सिर्जनाको आशमा
शान्ति प्रक्रियापछिको बिगुलको
सिँगाउरे सपना बोकेर
तालुकदारका चिप्ले भाषणमा
लट्ठिएर आशा गर्ने ऊ
आज लाहुर पस्यो
घर बनाउन, माटो जोगाउन।