तिमीले मलाई गुराँस मागेको दिन
प्रफुल्लित म, सपनामै पुगेछु
लालीगुराँसको घर।
त्यो रातो गुराँस
लाग्यो, तिम्रै लागि हाँसेको
त्यही रुखको सुनाखरी
तिम्रै घर जाने बाटो कुरिरहेको।
टपक्क टिपेँ एक थुङ्गा गुराँस
र एउटा सुनाखरीको बोट
सोचेँ,
तिमी अब गुराँसजस्तै मुस्कुराउने छौ
तिम्रो मन सुनाखरीझैँ ढकमक्क फुल्नेछ।
मैले टिपेपछि गुराँस र सुनाखरी
आए हजारौं म
अनि नाङ्गै पारे गुराँसको रुख
अहिले अलमल्लमा छन् माउरीहरू
भाँचिएका छन् रुखका हाँगा
चुपचाप छन् गीत गाउने चरीहरू
कहीँ कतै छैनन् सुनाखरी
छुटेको छ ढुसी, सुनाखरी र रुखको सम्बन्ध
टुटेको छ आज, वर्षौंदेखि चलिआएको
मानव–प्रकृति सम्बन्ध।
त्यही क्षमा पूजा गरिरहेका छन्
मेरा म्हेमे माम्
कसरी भनूँ
प्रकृति रिसाएको होइन माम्,
म्हेमे, तिम्री नातिनीले नष्ट गरिन्
आदिम ज्ञान
अब बनाउन पाउँदैनौ तिमीले ओखती
तिमी दुईमै बिलाइ जाने भो त्यो अद्भुत ज्ञान।
तिम्रो ज्ञान छरपस्ट त्यही कोपिलाजस्तै भो
त्यी फूल्न सक्दैनन्, फल्ने छैनन्।
झस्याङ्ग भएँ
माया,
होस् म गुराँस लिएर आउँदिनँ ल।