चराको चिरबिर आवाज र हावाका चिसा झोकाहरूले उनलाई बिहानी भएको भान भएको छ। त्यसैले त बिउझेकी छिन् सधैँझैं। तर आज उनलाई हिजोअस्ति वा पहिले पहिलेको जस्तो फूर्ति भने आएको छैन। त्यसैले उनी आफूलाई कमजोर हुँदै गएको महसुस गरेकी छिन्।
त्यतिकैमा बैठक कोठाको सानो झ्यालको कापबाट बिहानीका सफा अनि चम्किला किरणहरू उनको बिस्तरामा पर्छ। बुढा अर्को बिस्तराबाट कराउँछन्- 'होइन कति बेरसम्म सुतेकी! हेर् त घाम कहाँ आइपुगे?'
उनी झसंग हुन्छिन्। बुढासँग के-के फतफताउँछिन्। सधैँ बुढाभन्दा छिटो उठ्ने र आफ्नो काम गर्ने उनी आज भने ढिलो उठ्न पाए हुन्थ्यो भन्ने भान बुढासँग पोख्दै थिइन्। यत्तिकैमा बुढाले के भन्छन् बुढी निराश हुँदै कोठाबाट बाहिर निस्किन्छिन्।
उनले जवानीमा बुढाको भनाइ र पिटाइ नखाएको भने होइन। उनी त पहाड जस्तै भएर सहेर बस्थिन्। तर बढ्दै गएको उमेरसँगै उनको मन पनि नौनी जस्तै भएको छ। उनलाई कसैले नराम्रो भन्दाबित्तिकै वा बुढाले ठूलो स्वरले बोल्दा पनि दुखी हुन थालेकी छिन्। जब उनी भऱ्याङ ओर्लिँदै जान्छिन तब-तब उनी बितेका विगत सम्झँदै जन्छिन्।
आजकाल उनी बढी सोच्ने भएकी छिन्। नसोचून् पनि किन? घर रित्तिएको छ। बोल्ने मान्छेको कमी भएको छ। भए पनि आफू जस्तै वा आफ्नो मनमिल्ने मानिसको त के कुरा गर्नु? बुढाको त के कुरा गर्नु? कहिल्यै उनले आफ्नी प्रेमीलाई जस्तो व्यवहार नै गरेनन् वा भनौं साथीलाई जस्तो व्यवहार नै गरेनन्। सधैँ दबाउन खोजे। सधैँ आफू ठूलो भएको कल्पनामा रमाए। त्यसैले त उनी एक्लै सोच्ने भएकी छिन्।
त्यतिकैमा उनी घरको मूल ढोका अनि झस्केल ढोका खोल्छिन्। सूर्यका किरणहरू उनको त्यो अनुहारमा पर्छ। आफूलाई मनमनै धिक्कार्दै छिटो-छिटो नित्यकर्ममा लाग्छिन्। काम सकाएर चुलोमा आगो बाल्न थाल्छिन्। यत्तिकैकम बैठक कोठाको ढोका खुलेको आवाज आउँछ। उनी छिटोछिटो चियाको दिउरी बसाल्छिन्। त्यत्तिकैमा माथि मझेरीबाट केही खसेको वा लडेको आवाज आउँछ ड्याङ, ड्याङ।
उनी आत्तिन्छिन्। उनको मुटु फुट्ला जस्तो हुन्छ। एक्कासी बुढा भन्दै माथि उक्लिछिन्। हतारमा भऱ्याङ चढ्दा उनी पनि कति ठाउँमा लड्छिन्। उनी माथि पुग्छिन्। उताबाट बुढा रिसाउँदै बोल्छन्। 'किन आत्तिएकी? यो तमउरो खसेको। तँलाई त्यहाँ नराख् भनेको होइन!' भन्दै उल्टै गाली गर्न थाल्छन्। त्यो गालीले भने उनलाई केही हुँदैन। उनी लामो श्वास लिन्छिन् र भगवानको नाम लिँदै बुढालाई चिया खान बोलाउँछिन्।
उनी चिया दिउरीबाट गिलासमा राख्दै हुन्छिन। बुढा पनि आउँछन् र भन्छन्- 'होइन, तँलाई के भाछ?'
बुढी झन् रिसाउँदै बोल्छिन्, 'के भा छ र?'
बुढा झेक्किँदै भन्छन्, 'हेर त, चिया छानेको खोई? छान्ने तेरो काखमा छ।'
बुढी झसंग हुन्छिन् र बुढासँग रिसाएकोमा मनमनै माफी माग्दै छान्नीले चिया छानेर बुढालाई दिन्छिन्।
हो, आजकल उनी पहिलेभन्दा बढी भुलक्कड भएकी छिन्। यो उनको बुढ्यौलीले गर्दा हो या पहिलेभन्दा बढी सोच्ने गर्नाले हो ठम्याउन सकेकी छैनन्। त्यतिकैमा उनको मोबाइलको घन्टी बज्छ। मोबाइल तिर लाग्छिन्। हतारिएको देखेर बुढाले के भन्छन् कुन्नि, त्यसपछि भने शान्त हुन्छिन्।
फोनको घन्टी भनेकै उनका आशाका किरणहरू हुन्। उनका छोराछोरी र आफन्त सँगसँगै भएको भान गर्ने माध्यम हो। त्यसैले त फोनलाई त्यत्तिकै माया गर्छिन् जति उनले उनका आफ्ना भन्नेहरूलाई गर्छिन्। उनले आफ्नो फोनको हरियो बटन दबाउँछिन्। उनी 'हेलो' भन्छिन्। उताबाट पनि 'हेल्लो' भनेको आवाज आउँछ।
'नाति सन्चै छस्?' मात्र के भनेकी थिइन् उताबाट आवाज आउँछ 'म के प्रदिप।'
उनी झसंग हुन्छिन् र त्यहाँ एकछिन सन्नाटा छाउँछ। उनी मलिन हुन्छिन् र सधैँ आफ्नो बुढाले भन्ने 'हतारहतार नबोल् न, तँ धेरै जान्ने हुन्छेस्' भन्ने सत्य भएको महसुस गर्छिन्। कस्तो विडम्बना! उनले आफ्नो छोराको आवाज पनि चिन्न सकिनन्। उनी पछुताउँछिन्, पहिले आमा भन्न दिएको भए।
यत्तिकैमा उताबाट 'आमा' भनेको आवाज आउँछ। उनी सामान्य भएर सन्चोबिसन्चोको कुरा गर्छिन् र फोन काट्छिन्। उनी छोरासँग के-के बोल्छिन् उनलाई नि थाहा छैन।
उनलाई भन्नलाई त धेरै कुराहरू थिए तर भन्न भने सकेकी छैनन्। त्यही आवाजको कुराले उनको मन पोल्न थाल्छ। अनुहार सम्झिन थाल्छिन् कतै अनुहार त भुलेको छैन? उनको आँखामा त्यो सफा सुन्दर सहरको बीचमा घुमाउन लैजाँदाको छोराको अनुहार देख्छिन्। त्यो उनको भित्तामा प्रतिबिम्ब भए जस्तो भान हुन्छ। उनी एक्कासी बोल्छिन् 'बाबु!' उनी त भित्तामा ठोकिन पुग्छिन् र झसंग हुँदै आफूलाई सम्हाल्न थाल्छिन्।
उनले आफूले आफूलाई धैरै सम्हाल्न खोज्छिन् तर सक्दिनन्। उनी बेसहारा भएकी छिन्। एक्लिएकी छिन्। तर उनलाई सहारा दिने कसले? उनलाई थाहा छ अब बाँकी जीवन ती बुढासँग बिताउनु पर्छ। त्यसैले त उनलाई आदर सम्मान गर्छिन् तर कहिलेकाहीँ भने उनको मन नराम्रोसँग बिरानो लाग्न थाल्छ। यो उनको बढ्दै गएको उमेर र थपिँदै गएका यादहरूले हो या अरु केही त्यो भने थाहा छैन। तर उनलाई सहारा भने चाहिएको छ।
आजकाल उनी बच्चा जस्तै भएकी छिन्। सानो कुरामा पनि निराश हुँदै हुक्कहुक्क गर्न थाल्छिन्। तर बच्चालाई जस्तो उनलाई कहाँ छुट छ र? निराश हुन वा रुन पनि ठाउँ खोज्न परेको छ। त्यसैले त उनी बढी एक्लिएकी छिन्। हुन त उनी गाउँकी गन्यमान्य मान्छे नै हुन्, सबैले नमस्कार गर्छन्। त्यो नमस्कारको के मतलब, उनी आजकाल मतलब गर्दिनन्। उनका बुढा गाउँका ठिकठाकैका समाजसेवी हुन्। त्यसैले त उनलाई सबैले कदर गर्छन् तर त्यो कदर खल्लो लागेको छ।
उनलाई उनका आफ्नाहरू, छोराछोरी वा आफ्ना कुरा सुन्ने मानिस र आफ्ना कुरा नकाट्ने मानिससँग बस्नु परेको छ। हुन त उनका छोराहरूको प्रगति पनि राम्रै छ। एउटा कता हो विदेशतिर छ र अर्को यही नेपालतिर कता हो। तर ती छोराको प्रगति नगन्य वा मिथ्या लागेको छ। त्यो प्रगति पनि के प्रगति जो छोरा उसको बुढेसकालको बुवाआमाको सहारा बन्न सक्दैन! केही भन्ने बित्तिकै झर्कन्छन्। त्यतिकैमा उनले त्यो छोराको बाल्यकाल सम्झिन्छिन्। उसलाई र्हुकाउन र पढाउन बुढाबुढीले गरेको मेहनत सम्झिन्छिन्।
एकदिन बुढाले रिसमा दाउराले छोरालाई हान्न खोज्दा फालेको झटारो तर्काउन खोज्दा उनको टाउकोमा लागेर चोट लागेर रगत आएको थियो। तर पनि उनले बाहिरकालाई अरु केही भएर चोट लागेको भनेर ढाटेकी थिइन्। तर अहिले सम्झँदा भने त्यतिबेला नै यो धर्ती छाडेको भए भन्ने कुरालाई महसुस गर्न लागेकी छिन्।
उनले धेरै दुःख देखेकी छिन् र तीबाट पार पनि भएकी छिन्। तर अब भने उनी एक्लो भएकी छिन्। त्यसैले त यस्ता कुराहरू सोच्न थालेकी छिन्। त्यतिकैमा बाहिरबाट बुढाको आवाज आउँछ 'हेर त तरकारी बसालेकी छेस, बाहिरै हस्को आछ।'
फेरि झसंग हुन्छिन् र पनौटोमा राखेको गाग्रीबाट हतार-हतार लोटामा पानी सारेर तरकारीमा हाल्छिन्। कराईको झ्वाइँयको आवाजले सन्नाटा खत्तम हुन्छ।