बयान पनि गरूँ कसरी?
हुन त तिमी राम्री छौ
तिम्रो आँखा राम्रो, तिम्रो अनुहार राम्रो
तिम्रो बानी राम्रो जे पनि भन्न सक्छु
शब्दकोशमा तिमीलाई तारिफ गर्ने
शब्दहरू पर्याप्त नहोला
तर,
मलाई त तिमी मन परेको
त्यसपछि मात्र
तिम्रो आँखा हेरेँ
अनुहार हेरेँ, बानी देखेँ
विस्तारै विस्तारै
सबै मन पर्यो
मलाई तिमी मन परेको हो
जताततै तिमी देखेँ
लामो बाटो एक्लै हिँड्दा
एक्कासी भेट हुनु
पानी पर्नु मुसलधारे
मसँग छाता हुनु
संयोग हो कि के हो
त्यो त थाहा छैन
जे होस्
तिमीलाई साथ दिन त सकेँ नि
अप्ठ्यारो मानेर तिमीले हेर्दा
के भनौँ के गरौँ त भएकै हो
तर पनि तिमीलाई ओत दिन सकेँ
सही समयमा साथ दिन सक्नुको महत्व
परेको बेला साथ नपाउनेलाई मात्र थाहा हुन्छ
सिमसिम पानीमा घर त पुगिहाल्छु भन्दै घर जानु एउटा कुरा
तर भिजेर घर पुग्दा कोही भैदियोस्
जस्ले भनोस्, भिजेर पुग्यौ?
चिसो लाग्ने हो कि?
अनि कोही छ जस्तो आभास होस्
न्यानो महसुस होस्
त्यो पो हो खास कुरा
आनि त लाग्छ होला वर्षातमा भिजिरहुँ जस्तो!
महत्व त त्यसको नै हुन्छ
जसले अप्ठ्यारोमा हात दिन्छ
आफ्ना भन्नेहरू टाढिँदै जाँदा
म छु नि भन्दै साथ दिन्छ
तिमी अगाडि बढ्नु चुपचाप
यस्तै भन्दै हिम्मत अनि आँट दिन्छ
जब कोही हुँदैन तिमीसँग
त्यतिबेला जो हुन्छ
त्यो आफ्नो हुन्छ
जहाँ मन बस्छ
त्यहाँ माया हुन्छ
न्यानोपनको आभास हुन्छ
मेरो नि कोही भैदियोस्
कसैले सोधोस् कस्तो छौ?
छुस्स मिसकल गरोस्
म्यासेज गरोस्
दिक्क लगाओस्
झगडा गरोस्
जे गरोस् तर सम्मान गरोस्
हो, त्यो त त्यसैले गर्छ
जसले माया गर्छ
निश्वार्थ माया
मन भारी हुँदा बिसाउन सकियोस्
बिनाकारण रिसाउन सकियोस्
आँखाभरि आँसु हुँदा
मनभरि पीडा हुँदा
अनियन्त्रित भै छटपटाउँदा
मन खोल्न सकियोस्
नभनेर नै धेरै कुरा पोख्न सकियोस्
पोखिएका कुराहरू मनभित्र नै
रोक्न सकियोस्
अनि पो हुन्छ माया
हराएको बेला कसैले सोधोस्
हजारौंको भिडमा नि कसैले खोजोस्
बाडुल्कीमा हिक-हिक गर्दै
मलाई नै सम्झियोस्
खुसीमा बिर्से पनि दु:खमा
कोही त छ भन्ने आभास गरोस् गराओस्
उसको गुड मर्निङ नआउँदासम्म
उज्यालो नहोस्
उसको गुडनाइट नआउँदासम्म रात नहोस्
महङ्गो घडी चाहिँदैन
बस् पर्याप्त समय होस्
सँगै होस् नहोस्
तर साथै भएको आभास गरोस् गराओस्
म छु नि भन्ने ढाडस् मिलोस्
के नै चाहिन्छ र खुसी हुन अरु
बस् म रिसाएको बेला तिमी हाँसिदिनु
यति नै काफी छ मुस्कुराउनको लागि
जसले पहिरनमै तिमीलाई नग्न देख्छ
शरीरको तारिफ गर्छ
तिम्रो आँखा अनि तिम्रो रुपको बयान गर्छ
के त्यसे प्रेम गर्छ?
गर्छ नि!
तिम्रो शरीरलाई प्रेम गर्छ
तिम्रो रुप, तिम्रो यौवन, तिम्रो जवानीलाई प्रेम
प्रेम त प्रेम हो नि
तर त्यहाँ मन बस्दैन
क्षणिक हुन्छ केही पलको हुन्छ
मुटु चर्किन्छ
मन भाँचिन्छ
किनकि
त्यहाँ स्वार्थ हुन्छ
त्यहाँ मोहको जालो हुन्छ
ऊ तिम्रो तारिफ गर्न हिच्किचाउँदैन
सबैको सामु तिम्रो बयान गर्छ
भन्नेहरू ले जेसुकै भनुन्
तिम्रो विश्वास गर्छ
तिम्रो बारेमा तिमीलाई सोध्छ
दुनियाँलाई टाढा छोड्छ
तिमीलाई उच्च स्थानमा राखेर
बाँकी दुनियालाई नियाल्छ
तिम्रो नजरबाट
आफूलाई हेर्छ
परिवार हेर्छ
समाज, देश हेर्छ
आफूलाई विश्वकै
भाग्यमानी सम्झिन्छ
आकाशका तारा झार्ने कुरा
जूनका कुरा, खुनका कुरा
हिरा अनि सुनका कुरा
सबै पुराना भैसके नि
आश्वासनको जमाना होइन
अब त विश्वासका कुरा
आदरका अनि सम्मानका कुरा
समयका कुरा
साथका कुरा सहाराका कुरा
जुन पूरा गर्न सकिन्छ
जुन जरुरी पनि छ
किनकि म माया गर्छु नि
नसक्ने वाचा गर्दिनँ
मैले पहिरन बिना पनि तिमीलाई नग्न देखिनँ
किन थाहा छ?
म यस्तै छु
आँखा बन्द गरेर नै सबथोक देख्न सक्छु
आँखा खोल्दा नि सबैथोक नदेख्न सक्छु
किनकि म माया गर्छु
तिम्रो रुपलाई होइन
तिम्रो आँखा, यौवन जवानी अनि
तिम्रो शरीरलाई होइन
बस् तिमीलाई
मात्र तिमीलाई
किनकि मलाई तिमी मन परेको हो
तिमीभित्र आफूलाई पाउँछु
तिमीभित्र हराउँछु
तिम्रो नजरबाट संसार सुन्दर देख्छु
तिमी साथ हुँदा कोही आफ्नो हुनुको आभास गर्छु
किनकि मलाई तिमी मन परेको हो।