आज मम्मी सखारै उठी नुहाइधुवाइ सकेर कपाल कोर्दै हुनुहुन्थ्यो। कपालमा काइयो हाल्दै झ्यालबाट तल रोडमा बतासिँदै गुडिरहेका गाडीहरू पनि एकटकले नियाली रहनुभएको थियो। मम्मी यहाँ बसेको पनि ६ महिना भइसकेछ तर वहाँमा यस किसिमको स्फूर्ति यो ६ महिनामा कहिल्यै देखेको थिइनँ।
मम्मी त्यसरी तयार भइरहँदा मलाई ३० वर्ष अगाडिको कुरा सम्झना आयो। त्यस दिन पनि मम्मी यसरी नै कोरिबाटी लामो फुर्के धागो कपालमा सजाएर बस्नुभएको थियो। ५ वर्षे बालख भए नि आज पनि मलाई मम्मीका त्यस दिनका सबै गतिविधिहरू याद छन्। त्यस दिन मम्मी कतै जाँदै हुनुहुन्छ भन्ने थाहा पाएर म बिहानदेखि नै गनगन गर्दै थिएँ। मेरो गनगन कम होस् सोचेर होला मम्मीले मेरो हातमा एक रूपैयाँ थमाइदिनु भएको थियो।
मम्मीको बैनी अर्थात् मेरी सानिमाले पनि सुक्का जाने चकलेट दिँदै मलाई नै भुल्याउन खोज्दै हुनुहुन्थ्यो। खानको साह्रै लोभी भए नि मलाई हातमा थमाइदिएको पैसा र चकलेटमा कुनै चासो थिएन। ध्यान त केवल मम्मीले झुक्याएर मलाई छोडेर कतै जाँदै हुनुहुन्छ भन्नेमै थियो।
त्यसबेला दाइ होस्टेलमा बस्नुहुन्थ्यो। एसएलसीको समय भएको हुनाले घर आउने जानेमा स्कुलले रोक लगाएको थियो। दाइ घर आउन नपाएपछि हरेक हप्ता दाइलाई भेट्न मम्मी आफैं होस्टेल जानुहुन्थ्यो। मम्मीले दाइका लागि विभिन्न किसिमका सामान र खानेकुरा किनेर घरमा ल्याउनुहुन्थ्यो। मिठा-मिठा खानेकुरा देखेर म लोभिन्थेँ। यो खाने, त्यो खाने भन्दै मेरा हात लामा भइहाल्थे। मम्मी मेरा हात च्याप्पै पक्रिनु हुन्थ्यो र 'नछो, त्यो दादाको लागि हो' भन्नुहुन्थ्यो। सानै भए पनि दाइ र ममा गरेको फरक व्यवहार छर्लङ्गै याद गर्दथेँ म।
त्यतिबेला आधा-आधा घण्टाको फरकमा मात्र गाडी आउथ्यो। म सानिमासँग खेल्दै गर्दा गाडीको आवाज तल्लो रोडमा टिटिट् गर्दै बज्न थाल्यो। मम्मीको हस्याङ फस्याङ सुनेर अनि गाडीको आवाजले पनि अलिक सजग हुँदै म खुर्रुर कुदेर मम्मी भएको कोठासम्म पुगेँ। तर मम्मी हतारिँदै ढोकातर्फ कुदिरहेको देखेर रुँदै कराउँदै पछि लागेँ।
म आएको थाहा पाएर मम्मी हतारिएर चप्पल लाउँदै बिन्दु आन्टीलाई डाक्न थाल्नुभयो, 'ए बिन्दु, समितालाई लैजा लैजा।'
लगत्तै आन्टी मेरो पछि-पछि लाग्नुभयो। आँगन कटेर घरअघिको बाटोसम्म मम्मीलाई पिछा गरेँ तर मम्मीका लामा-लामा पाइलालाई मेरा तात्ते हिँडाइले भेट्न सकेन। मम्मीलाई भेट्न सक्दिनँ भन्ने लागेपछि म भुइँमा थचक्कै बसेँ र लडीबुडी गर्न थालेँ। लडीबुडी खेल्नाले सबै लुगा धुलाम्य भयो। छरछिमेकमा काम गर्दै गरेका मानिसहरूले पनि हामीतिरै हेर्न थाले।
'हैन के भयो हँ?,' कसैले सोध्यो।
'मम्मीसँगै जाने भनेर झगडा गर्छे,' नजिकै आइपुगेर पनि मलाई कसरी फुल्याउने भनेर अन्योलमा परेकी आन्टीले भन्नुभयो।
अघि मम्मीले दिएको पैसा मेरो हातमा राखिदिँदै आन्टीले भन्नुभयो, 'मम्मी गएर के भयो र? हेर् त, हामीसँग चकलेट खाने पैसा छ।'
रिसले रन्थनिरहेकी म, पैसा च्याति धुँजा-धुँजा पारेर फ्याल्न एक सेकेण्ड पनि लगाइनँ।
त्यही वरिपरि हामीलाई हेरिरहेका मध्ये कसैले भन्यो, 'आमाबिना एक सेकेण्ड नि बाँच्न सक्दिन यो, सँगै लिएर गएकी भए नि हुने आमा चैँले।'
नजिकै आएर, 'हेर पैसा च्यातेर, के चल्ला र अब।' च्यातिएको पैसाका देखेर विस्मात् मान्दै एउटी छिमेकीले बोलेकी थिइन्।
आज मम्मीले त्यसरी तयार भएर घरीघरी झ्यालबाट बाहिर हेर्नुले मेरो मानसपटलमा त्यही सानोको स्मृति दोहोरिँदै थियो।
'मम्मी! लोकल गाडीमा जानु पर्ने नि होइन। आफ्नै गाडी लिएर आउँछन्, फेरि फोन पनि त गर्लान्। किन कतिखेर यहाँबाट निस्किनु भनेझैँ गर्नुहुन्छ,' मैले मनमा लागेको कुरा फ्याट्टै भनेँ। मैले त्यति भनेसी मम्मी झ्याल छोडी नजिकको सोफामा आएर बस्नुभयो।
'आमालाई कतिखेर मामामाइजू भेट्नु भैछ, हैन आमा' भन्दै टिभी हेर्दै गरेकी नम्रता बोली।
आमासँग उठेको रिस छोरी तिर पोख्दै कड्किँदै बोलेँ, 'कत्ति बोल्नु परेको तँलाई! टिभी बन्द गरेर जा उता पढ्न।'
छोरी टिभी बन्द गरी मुख फुलाउँदै अर्को कोठातिर गई।
'तँ पनि किन यत्तिकै गाली गर्छेस् त्यसलाई। किन रिसाउछेस्? हिँड्ने दिन झगडा गर्ने बानी तेरो सानैदेखिको हो। कहिल्यै नसुध्रिने भयो,' छोरी अर्को कोठा नपुग्दै मम्मीले मलाई हर्काँदै भन्नुभयो।
'अब म नि हिँडिहाल्छु। यहाँ पनि कति दिन बस्नु, छोरी ज्वाइँकोमा! आफ्नै जहानलाई पुग्ने मात्रै कोठा छन्। पाहुना आए तिमारुले आफ्नो ओछ्यान छोड्नुपर्ने! आफैं सोच् न, ज्वाइँलाई पनि कत्ति असहज भइसक्यो होला।'
'किन ज्वाइँले र मैले हामीलाई गाह्रो भयो भनेको छौँ र?' मैले तुरुन्तै प्रतिक्रिया दिइहालेँ।
'छैन। सबै कुरा मुखैले भन्नु पर्छ र! कत्ति कुरा त अड्कल पनि गरिन्छ नि,' मम्मीले साम्य पारामा जवाफ दिनुभयो।
'अरुले यस्तो सोच्लान् भनेर आफैं भ्रम बनाउनु हुन्छ त म के भनौँ,' मम्मीको मुखबाट वाक्य भुँइमा खस्न नपाउँदै मेरो मुखमा उत्तर तयार थियो।
मम्मीलाई मकहाँ नबस्नुका अरु कारणहरू नि दिनु थियो क्यारे र भन्दै जानुभयो, 'तेरो बुवा र मैले त्यो घर सृजना गर्न कति संघर्ष गर्यौं! एक-एक इँटाको माया छ मलाई त्यो घरको। आफ्नो घर छोडी यहाँ छोरीकहाँ मलाई पनि त असजिलो हुन्छ।'
'अब त त्यो घर तपाईंको रहेन नि मम्मी, गल्तीले नि आफ्नो घर नभन्नु होला,' मैले रिसले झोकिँदै भनेँ।
'छोरोको नाममा गरिसक्नु भयो होइन र पोहोर नै! यसरी नै फुल्याएका थिए, मक्ख परेका थिए, तपाईं पनि मक्ख परेर घर नामसारी गरिदिहाल्नु भयो। म पनि त सल्लाह दिन सक्थेँ होला। मलाई सुनाए मैले अंश नै माग्छु, विरोध गर्छु भने जसरी कुरा लुकाउनु भयो।'
'घर नामसारी गरेकै तेस्रो दिनबाट बुहारीले व्यहोरा देखाउन थालिहालिन्। आखिर मकहाँ नै आउनु पर्यो। यही साँघुरो डेराले पनि त्यतिखेर शिर लुकाउने छत दिएको थियो, अहिले छोरा बुहारी लिन आएपछि दुःखमा साथ दिएको आश्रय कहाँ सम्झनुहुन्थ्यो र!'
मम्मीका अघिल्ला कुरामा बसिरहेको घरका बारेमा टिकाटिप्पणीलाई समेट्ने गरी उत्तर दिएँ।
'अब पनि के दाउ छ, त्यत्तिकै त किन लिन आउँथे र!'
'अब त मसँग के नै पो होला र दिनु!' मम्मीले थपक्क हात बाँध्धै झ्यालतिर मुन्टो बर्टाँदै उत्तर दिनुभयो। यति बोलिरहँदा वहाँले आफू निर्दोष छु भन्दै जताइरहेको हाउभाउ विचार गरेँ।
सबै कुरा थाहा भएर नि मम्मी अनभिज्ञ बन्न खोजेझैँ लाग्यो। गत एक महिना अघिबाटै मम्मी मसँग केही कुरा लुकाउँदै त हुनुहुन्थ्यो। एकान्तमा जाँदै फोनमा गफ गरेको धेरै पटक देखेको थिएँ। कोसँग के कुरा गर्नुहुँदैछ भन्ने खासै चासो राखिएन त्यतिबेला। हुन त मसँगै हुँदा छोरासँग बोल्ने आँट जुटाउन सक्नु हुदैन्थ्यो वहाँ, म कराइदिहाल्थेँ।
पछिल्लो समय वहाँका फोनमा हाम्रै काका पर्ने वकिलको नम्बरबाट फोन आएको गएको कल हिस्ट्री देख्थेँ। घर धुरी, तराई भन्दै साउती गर्दै मम्मीले फोनमा बोलेको एकदिन वहाँको कोठाको ढोकामा कान थाप्दा सुनेको थिएँ।
यत्तिकै अडक्लबाजीमा भनिहालेँ, 'दाइ-भाउजूको दाउ त्यही तपाईंको नाममा रहेको तराईको जग्गामा त होला नि अब। सुनेको, अरु साथीहरूले पनि नजिकको जग्गा खरिद गरेका छन रे, अब छिट्टै त्यहाँ नयाँ व्यवसाय सुरु गर्ने योजना छ रे!'
आफ्नो गोपनियता गुम्लाझैँ गरेर मम्मीले हत्तपत्त मेरो कुरामा आक्रोशित हुँदै भन्नुभयो, 'सम्बन्ध सुध्रेला भनेर साथ दिनु त कहाँ हो कहाँ, उल्टै आगोमा घ्यू थप्ने काम नगर् तँ पनि। उनीहरू नै झुकेर आएका हुन्, म निहुँरिएर जान लागेकी पनि होइन।'
हिँड्ने दिन म निउ खोज्छु भन्ने थाहा पाएर होला मैले जे भने नि मम्मी अलिक संयमित भएर बोल्न खोज्दै हुनुहुन्थ्यो। आफू आक्रोशित भएको तुरुन्तै महसुस गर्दै वहाँले कुरा मिलाउँदै साम्य पारामा फेरि भनिहाल्नुभयो, 'सम्बन्ध सुधार्ने अवसर छ, कसरी गुम्न दिनु। कोसिस गर्नु नराम्रो हो र, लु तँ आफैं भन त।'
'तेस्रो पटक भइसक्यो यसरी छोराबुहारीबाट दुर्व्यवहार भएको। अब पनि के होला, के भर र! कुनै कुराबाट राम्रो हुन्न त त्यसलाई त्याग्न नि जान्नुपर्छ नि आमा! किन बझ्नुहुन्न?'
'अझ अवसर रे हेर न! फेरि अर्को पटक अरुले आफूलाई दुखी पार्न दिने अवसर त होला नि, हैन! यत्रो हैरान बनाउँदा नि उनीहरूसामु नै झुकेर जानुपर्ने! कस्तो खोक्रो आत्मसम्मान तपाईंको,' मैले प्याच्चै भनिदिएँ।
'बरु छोरीको पुरानै डेरा भए नि, असुविधा नै भए नि कसैले दुर्व्यवहार त गर्या छैन तपाईंलाई यहाँ।'
यति बोलिसक्दा म आँखाभरि आँसु पारेर कामेको स्वरमा बोल्दै रहेछु। सायद म रोएको थाहा पाएर होला अर्को कोठामा पढ्न गएकी छोरी पनि हामी गफ भइरहेको कोठाको ढोकासम्म आई अनि मलाई हेर्न थाली।
अन्तिम घडीमा मम्मीले छोराकहाँ जाने विचार परिवर्तन गर्नुहोला कि भनेर म प्रयास गर्दै नै थिएँ। वहाँलाई आफू दुर्व्यवहारमा पर्छु भन्ने पीर पटक्कै थिएन तर वहाँ चौथो पटक तिरस्कृत भएको हेर्ने आँट ममा भने थिएन।
'जे भए पनि यहाँ असुविधा भयो भनेकी होइन। अरु केही अप्ठ्यारो भयो भनेर पनि भनेकी होइन,' मेरो रुवाइले मम्मी नि सम्झाउने हिसाबले नम्र भावमा बोल्दै हुनुहुन्थ्यो।
'अनि के त, के कुराले रोक्छ त तपाईंलाई?' म रुँदै अलिक च्याठिँदै बोलेँ।
'आफू बाँचुन्जेलको मेहनत सबै त्यही घरमा छ। तेरो बा र मैले धेरै दुःखले आर्जेको घर हो त्यो! फेरि समाजको पनि त ख्याल गर्नुपर्यो। म यहाँ बस्दा कति कुरा काटे होलान्। छरछिमेक, आफन्तले कुरा गर्छन् नि! यति बोलाउँदा पनि आइन, पोइला गएकै छोरीको...'
पोइला भन्ने बित्तिकै मम्मीको मुहारको रङ नै बदलियो, एकदमै काली निली हुनुभयो। वहाँले वाक्य पूरा गर्न नि सक्नुभएन। मनमा रोक्दारोक्दै पनि मम्मीका मुखबाट खुस्किएको शब्द थियो सायद त्यो।
आफ्ना कुरा बुझाउने कोसिसमा र दाइभाउजूका गल्तीलाई ढाडस दिने क्रममा वहाँ मेरो विगत कोट्याउँदै मलाई नै नराम्रो देखाउँन पुगिसक्नु भएको थियो।
म पनि एकछिन त सहने शक्ति नै गुमाएकीजस्तै भएँ। बाह्र वर्षअघि आफूखुसी विवाह गरेर ढोका छेउ उभिएकी दश वर्षे छोरीअघि आफ्नी आमाको विगत कोट्याइँदै थियो।
'म पोइला गएको कुरा ठूलो कि छोराले तीन पटक घरबाट गलहत्त्याएर निकालेको ठूलो आमा? कुन कर्तुत ठूलो हो तपाईंलाई?' म मम्मी बसेकै ठाउँमा घुँडा टेकेर सोध्न पुगेछु।
त्यस दिन लाग्यो कि मम्मीले मकहाँ नबस्न अगाडि दिएका कारणहरू सबै सहायक थिए, मूल कारण चाहिँ यहीँ नै थियो।
मम्मी नतमस्तक हुनुहुन्थ्यो। म पनि के कम र। आमाको मुखबाट जवाफ नफुरेसम्म वहाँको घुँडामा घच्घच्याइरहेँ। आज ममा त्यही आफू पाँच वर्ष हुँदा मम्मीले छोडेर जान लाग्दाको जिद्दीपना थियो, त्यही लिँडे ढिपी।
त्यसबेला आन्टीले भुल्याउन खोजे नि, पैसा वा खानेकुराले लोभ्याउन खोजे नि मलाई मम्मीले छोडेर जान नदिनु थियो। त्यसैले त अरुले के सोच्लान बिल्कुलै वास्ता नगरी धुलो मैलोमा मडारिएको थिएँ। आज नि सबै प्रयास मम्मीलाई आफूबाट टाढा हुन नदिनकै लागि गर्दै थिएँ।
उमेरले सम्झदारी बहन गरिसकेकाले त्यसरी नै भुँइमा लडीबुडी गर्न त सक्दिन थिएँ। तर आफ्ना तर्क दिँदै नै थिएँ र तिनै तर्कमार्फत आमाको मनबाट छोरा नै सब हो भन्ने बुझाइ परिवर्तन गर्न अनवरत प्रयासमा थिएँ। आमाका आफूप्रतिका संकीर्ण सोच फराकिलो पार्न खोज्दै पनि थिएँ। फेरि वहाँलाई सम्झाउने प्रयासमा असफल रहँदा कत्ति कत्तिखेर मेरा आँखाबाट आँसुका भेल बग्दै पनि थिए। छोरीभन्दा नि सानी र लाडे पल्टेर, कुनै कुराको अप्ठ्यारो नमानी उसकै अघि आफ्नी आमासँग रुँदै थिएँ।
'छोरीको एउटै गल्तीले ऊ जिन्दगीभर दोषी हुने रे, कलंकित हुने रे, फेरि छोराको हजारौं भुल पनि माफ हुने रे! कस्तो समाज, कस्तो मानसिकता!' मम्मीले जवाफ नदिएपछि म आफैं रुँदै बर्बराउन थालेछु।
सायद मम्मीले जाने निधो गरी नै सक्नुभएको थियो। त्यसैले वहाँका प्रतिक्रियामा एक किसिमको सन्नाटा थियो। कुनै अभिव्यक्ति नै थिएनन्।
'भोलि छोराले हेला गर्यो, हेरेन भने आज कुरा काट्ने समाजले पाल्छ त तपाईंलाई? कि छोरीसँग बसेर इज्जत गयो भन्नेहरूले लगेर राख्छन् त तपाईंलाई?' म सुक्कसुक्क गर्दै मम्मीलाई प्रश्नमाथि प्रश्न गरिरहेको थिएँ।
'त्यस्तो भन्न खोजेको हैन। धेरै बेरको सन्नाटा पछि वहाँको मुखबाट एउटा वाक्य फुर्यो। वहाँले जवाफ दिन नसक्नुमा नि धेरै भावना दबिएका थिए होला जसलाई ओडिरहेको बर्को तानी आँखासम्म पुयाई पोख्नुभयो।
'अनि किन समाजको पीर मान्नुहुन्छ त?' मम्मी जवाफ विहीन भई आँसुले जवाफ दिइसक्दा नि मेरा प्रश्नका प्रहार जारी नै थिए।
मम्मी र मेरो अप्ठ्यारो वार्तालापको असहजता चिर्दै, मम्मीको मोबाइलमा फोन आयो। दाइको रहेछ। मम्मीले फोन उठाएर एकछिन सुन्नुभयो र 'ए हुन्छ' भन्नुभयो।
'तल गाडी पसेन रे, बाटोमा जाम हुन्छ, छिट्टै आउनु भन्दैछ।'
अघि हामीबीच भएका गफ बिर्सेझैँ वहाँ जुरुक्क उठेर हत्तपत्त आँसु पुछी सफा बन्नुभयो। सायद वहाँ हामीबीच सबै ठिक छ भन्ने ढोङ पस्किन खोज्दै हुनुहुन्थ्यो, आफ्ना छोरासामु र समाजसामु। वहाँको मुहारको बद्लिँदो हाउभाउले त्यस्तै महसुस गरायो।
वहाँ मलाई अनुत्रीत छोडी जान लागेको देखेर म पनि हार मान्दै बसेको ठाउँबाट उठेँ। छोरीलाई आमाको सामान तलसम्म पुर्याइदे भन्दै भान्सा कोठाको लठीबद्र धन्दातर्फ लागेँ। नम्रताले सामान उठाएर काठको भर्याङबाट तल झारेको टकटक आवाज सुनेँ।
मम्मी पनि पछि पछि जानुभयो होला भन्ने सोच्दै थिएँ, तर वहाँ त मेरो अगाडि पैसाको मुठो बोकेर टक्क उभिइरहनु भएको रहेछ।
पैसा मतिर बढाउँदै 'जम्मा ३ लाख छ, मेरो बचत यति नै हो। राख्' यति भन्दै पैसा मेरो जुठो हातसम्म पुर्याउनुभयो।
'चाहिँदैन। हामीलाई पैसाको आवश्यकता छैन। जेनतेन गुजरा चलेकै छ, कसैको पैसा चाहिँदैन,' कुहिनाले पैसाको बिटो पन्छाउन खोज्दै भनेँ।
मम्मी ढिपी गर्दै हुनुहुन्थ्यो, 'धेरै जिद्दी नगर्, राख् यो। तल कुरिरहेका होलान्। मलाई हतार भयो।'
छोरासँग जान मम्मीको हतार देखेर झनक्क रिस उठ्यो। सानो बेलाकोझैँ रिस पैसामै खन्याउन पुगेछु। जुठै हातले पैसा पक्रेर फुत्त अर्कोतिर फ्याँकिदिएछु। पैसा कोठाको अर्का कुनातिर, खै कता पस्यो।
आमाका थामिसकेका आँखाका आँसु तत्कालै भेल जसरी बग्न थाले।
'ठूला भएपछि आफ्नै छोराछोरी बैरी हुन्छन भन्थे, हो रैछ!' आँसु पुछ्दै मम्मी कोठाबाट बाहिरिनुभयो र भर्याङबाट तल झर्नुभयो। तल नपुगुन्जेल जुत्ताको आवाज आइरहे। एकछिनमै त्यो आवाज पनि आउन छोड्यो।
रिस र नैराश्यताले मेरा अन्धकार रुपी मनलाई छोड्दै गए। अनि मात्रै मम्मी मन दुखाएर जानुभयो भन्ने चेत आयो। म दौडिँदै साँघुरो झ्यालबाट मम्मी जानुभएको हेर्न गएँ। मन भक्कानियो र झ्याल बाहिरबाट अरुले देख्लान् भन्ने ख्याल नै नगरी घ्वाँ-घ्वाँ रुन थालेँ।
त्यस दिन पनि म खुब रोएको थिएँ। आन्टीलाई मलाई फकाउन हम्मे-हम्मे परेको थियो। रुने सिलसिला बन्द भए नि आन्टीलाई हरेक पटक सोध्ने प्रश्न त्यही थियो, 'आन्टी, मम्मी कति बजे आउनुहुन्छ?' आन्टी मलाई बोक्दै तल रोडमा गाडी आए गएको हेर्दै अब छिट्टै भन्नुहुन्थ्यो। मम्मीलाई कुर्दा कुर्दै कतिखेर निदाएछु पत्तै भएनछ।
भोलि बिहान उठ्दा मम्मी अझै आउनुभएन भन्दै नजरले पहिला वहाँकै दर्शन खोजेको थियो। उठ्दा हातमा असजिलो महसस भयो। कसैले हातमा केही राखिदिएर मुठ्ठी कसिएको जस्तै लाग्यो। मुठ्ठी उघार्दा एक सुक्का जाने चकलेट देख्दा मम्मी आउनुभएको थाहा भयो। खुसीले सुतेकै ठाउँबाट तीन हात माथि उफ्रेर मम्मीलाई खोज्न थोलेँ। मम्मीलाई धारामा देखेर झ्याप्पै पछाडिबाट अङ्गालो मारी घाँटीमा झुन्डिएको थिएँ।
नजिकै भएकी आन्टीले भनिहाल्नु भयो, 'सकिएन बा, तेरी पुत्रीलाई। झण्डै सास लगी मेरो हिजो।'
मम्मी जुठै हातमा मतिर फर्केर भन्नुभयो , 'हो, धेरै पिरोलिस रे आन्टीलाई?'
म उत्तर दिनुभन्दा मम्मीलाई भेट्नुकै हर्ष मनाउन व्यस्त थिएँ। खुसीले मम्मीलाई अङ्गालो मारेकै ठाउँमा बेसरी मच्चाउन थालेछु।
जुठो हातमा हुनुभएको मम्मीले बसाइँको सन्तुलन झण्डै गुमाउनु भयो र कराउँदै भन्नुभएको थियो, 'छोड्छेस् कि यहीँ जुठो हातले पड्काउ तँलाई?'
'छोड् दे न, कत्ति रमाकी छे छारी,' मम्मीलाई वास्ता नभए नि हिजोदेखि फुलेको मुहारमा खुसी देख्दा आन्टीको अनुहारमा बेग्लै सन्तुष्टि थियो।
आँसुले गाला र छाती सबै चिस्याए नि मम्मीलाई आफूले सानोमा दिनभर कुरेर भेट्दाको खुसी सम्झेर मुसुक्क हाँस्न पुगेछु। लाग्यो कि त्यस बेलाजस्तै मम्मी एकछिनलाई मात्रै दाइलाई भेट्न जानुभएको हो। भोलि त्यसरी नै सुतेकै ठाउँमा हातमा चकलेट राखिदिएर फकाइहाल्नु हुन्छ नि!
फेरि झ्यालबाट तलको दृश्य हेर्दै भक्कानिँदै रुदै सोच्न थालेछु, 'हैन, मम्मी त अब कहिले आउने, आउने! दुखी भएर जानुभयो। सधैँलाई जानुभयो।'
आँखाभरि आँसु भरिएर आगाडिको दृश्य विस्तारै धमिलो हुँदै गयो। आँसु पुछी तल नियाल्दा देखेँ दाजु भाउजू फ्रन्ट सिटमा थिए। कारको पछिल्लो ढोका खोल्दै नम्रता हजुरआमालाई भित्र बस्न सहज बनाइदिँदै थिई। ठूलै जाम भइसकेछ। गाडी ट्याटट्याट टुटुट् गर्न थालिसकेका थिए।
गाडी ब्याक नहुन्जेल म आँसु पुछ्दै झ्यालबाट हेरिरहेँ। एकछिनको प्रयासपछि गाडी टर्न भयो र एकछिनमै साघुँरो गल्लीबाट ओझेल भयो। हजुरआमालाई बिदा गरेर छोरी माथि उक्लिँदै गरेको चाल पाएँ। केही नभए जसरी आँसु पुछी म पुनः त्यही लठीबद्र भाँडा माझ्न थालेँ।
भाँडा धुँदै गर्दा आमाको हातबाट खोसेर फ्यालेको पैसाको झल्यास याद आयो। हातै नधोइ पैसा खोज्न थालेँ। खाटका छेउमा खत्रयाक खुत्रुक्क सामान थिए। हात हालेर पैसा निकाल्दा पैसासँगै जमेको धुलो पनि आयो।
धुलो ट्क्टक्याई पैसा हातैमा बोकिरहेँ।
सोचेँ सम्बन्ध बनाउने पनि पैसा, घाउ भर्ने पनि पैसा नै। पैसाले नै मम्मी र दाइभाउजूको सम्बन्ध बनाउँदै थियो। फेरि मम्मीलाई वहाँसँग बिछोडिनुको मेरो पीडा पैसाले नै कम गर्नेछ नि लाग्दै थियो। त्यसरी नै जब म सानो हुँदा पैसाले नै फुलिन्छु लाग्दथ्यो।
फरक यति हो मलाई फकाउने भाउ चाहिँ बडेछ। एक रुपैयाँमा नै फकिन सक्ने म तीन लाखले पनि नफकिने भएछु। त्यसताका एक रुपैयाँ च्यात्दा धेरै दुःख लागेको थियो। रिस मर्दासम्म पैसा नच्यात्या भए चकलेट खान हुन्थ्यो भएको थियो तर अहिले मम्मीकै हातबाट पैसा खोसेर फ्याल्दा नि कुनै विस्मात् थिएन। न त्यो पैसाप्रति मलाई कुनै लगाव नै थियो। लगाव थियो त बस् आफ्नो आमाप्रति तर वहाँले आफूप्रतिको लगाव र माया सधैँ पैसाले नै किन्न खोज्नुभयो। पहिले र अहिले पनि!