हुन त जीवन नै सम्झौता हो। मेरो र समीरको जीवनमा पनि यस्तै भयो। कलेज जाँदैगर्दा समीरलाई मैले पहिलोपटक सुन्धारामा देखेको थिएँ। मेरो र समीरको बस स्टेशन एउटै भएको र कलेज जाने समय पनि एउटै भएकोले मैले उसलाई सधैंजसो देख्थेँ।
ऊ शान्त, शीतल अनि भद्र स्वभावको देखिन्थ्यो। ऊ साँच्चिकै वसन्त ऋतुमा भर्खर-भर्खर पलाएका पालुवाबाट बासनासँगै आउने प्राणवायु जस्तै थियो जो मेरो जीवनमा पनि केही छिनको लागि आयो र जिन्दगीभरको लागि याद छोडेर गयो।
म नेपाल ल क्याम्पस अनि ऊ आरआर क्याम्पस जाने भएकोले हाम्रो बाटो पनि एउटै हुन्थ्यो। कलेज जाने क्रममै उसको र मेरो चिनजान भयो अनि हामी सधैं सँगै कलेज जान थाल्यौं। कुराहरू सेयर गर्न थाल्यौं। विस्तारै त्यो चिनजान मित्रतामा परिवर्तन भयो। म कहिलेकाहीँ ढिला जाँदा ऊ मलाई धरहराको अगाडि कुरिरहेको हुन्थ्यो अनिऊ ढिला हुँदा मैले।
उसले मेरो धेरै ख्याल गर्थ्यो। बाटो काट्दा पनि बच्चा जसरी हात समाएर कटाउँथ्यो। उसले मेरो हात समाउँदा यस्तो लाग्थ्यो कि आमाले बच्चालाई हात समाएर हिँड्न सिकाए जस्तो। यस्तो अनुभूति हुन्थ्यो कि हामी कलेज होइन, जिन्दगीको यात्रामा छौँ र उसले मेरो हात समातेर आफूसँगै जिन्दगीभर डोर्याउँदैछ।
बेलाबेला उसले वकिल साहेब भनेर जिस्क्याउथ्यो र साथीहरू आरआर वाली भनेर जिस्क्याउँथे। तर मैले साथी मात्र हो भन्थेँ। हुन त हामीले पनि सधैं साथी मात्र हौं भन्थ्यौँ तर किन हो खै त्यो सम्बन्ध साथीभन्दा माथि नै थियो। उसलाई अलिकति मात्र पीडा हुँदा पनि मलाई धेरै पोल्थ्यो। उसको खुसी नै मेरो सफलता थियो।
कहिलेकाहीँ ऊ जिस्किन खोज्थ्यो, सायद उसले प्रेमको आभास दिलाउन खोज्थ्यो तर त्यतिबेला म रिसाएझैं गरेर 'तिम्रो नियत के हो?' भन्थेँ। फेरि ऊ मलाई फकाउँदै 'नरिसाऊ न वकिल साहेब' भन्थ्यो।
हुन त म पनि उसलाई मन पराउँथेँ, कहिलेकाहीँ ऊबाट टाढा हुनुपर्दाको पल सम्झिँदा त झन् मनमा पीडा हुन्थ्यो तर पनि मैले उसलाई यो सब भन्न सक्दिन थिएँ। सायद म सही समयको पर्खाइमा थिएँ। तर दुर्भाग्यवश त्यो सही समय मेरो जीवनमा कहिले नआएरै गयो। जसरी जान्छ दिनलाई छोडेर सूर्य, जसरी जान्छ मुनालाई छोडेर मदन, जसरी जान्छ कुर्दाकुर्दैको जहाज अनि जसरी जान्छ खुसी खोज्दैमा जीवन, हो त्यसरी नै।
मेरो जीवनमा ऊ मात्र एउटा यस्तो व्यक्ति थियो जोसँग हरेक कुरा गर्न सुरक्षित ठान्थेँ, जोसँग हुँदा मलाई अरुको आवश्यकता नै पर्दैन्थ्यो, जसको साथमा मेरा हर खुसी जोडिएका थिए। र, उसले पनि सधैं भन्थ्यो- मैले खुसी देख्न चाहने हजारौं मान्छेहरूमा तिम्रो नाम पहिला आउँछ। सायद त्यसैले होला उसले मलाई आफ्नो मनको कुरा भन्न पनि डराएछ र म रिसाउँछु भनेर आफ्नो प्रेमलाई मनमै कुन्ठित गरेछ।
विस्तारै समीरको कलेजको पढाइ पनि सक्कियो र ऊ गाउँ जाने दिन पनि नजिकिँदै थियो। उसको कलेज नहुँदा हाम्रो भेट पनि हुँदैन्थ्यो, फोनमा कुरा पनि कमै हुन्थ्यो। कहिलेकाहीँ हामी भेटौँ भन्दा समीरले अनेक बहाना बनाउँथ्यो। सायद उसले मलाई भुल्ने प्रयास गर्दै थियो अनि म बिनाको जीवनको कोसिसमा थियो। तर पनि म भने उसकै पर्खाइमा थिएँ।
समीरको गाउँघरमा मागी विवाहको प्रचलन रहेछ, एकदिन उसले मलाई फोन गरेर 'अब त मेरो पढाइ नि सक्कियो, घरमा बिहेको कुरा हुँदैछ, म त आज केटी हेर्न जान लाको' भन्यो। मलाई आकाश खसेझैं, मुटु फुटेझैँ महसुस भयो। जसको प्रेम प्रस्तावको पर्खाइमा थिएँ, जसलाई मायाले अंगाल्न आँतुर थिएँ, ऊ त अर्कैलाई अंगाल्न हतार गरिसकेछ। आफूले माया गरेको मान्छेले अर्कैलाई अपनाउँदाको भन्दा ठूलो पीडा सायदै हुँदो हो। यस्तो लाग्दै थियो जसरी विपत्तिले खुसियाली लैजान्छ, त्यसरी नै छातीबाट कसैले मेरो मुटु चाडेर लग्दै थियो।
त्यसपछिका दिनमा हाम्रो कुरा भएन।0 समीरको बिहे हुने पक्का भएछ तर उसले मलाई यो कुरा भनेन। मसँग कुरा पनि गरेन। सायद उसको पनि बाध्यता थियो। उसलाई त थाहै थियो मलाई सधैंभरि उसकै वरिपरि हुन मनपर्छ भनेर। उसले त यो पनि बिर्स्यो कि म उसको छाया हुँ अनि ऊ मेरो शरीर। छाया त जहाँजहाँ शरीर जान्छ त्यतै-त्यतै पो जान्छ त। फेरि पनि किन उसले मलाई आफूसँगै लिएन?
उसले भन्थ्यो- म सबैलाई खुसी बनाएर धेरैभन्दा धेरैको मनमा बस्न चाहन्छु। उसलाई मनमा राख्न नचाहने को नै थियो होला र! मैले गर्ने हरेक क्रियाकलापमा उसले हौसला दिन्थ्यो। त्यसैले होला आजसम्म पनि मैले कुनै नयाँ काम सुरु गर्न खोज्दा सुरुमा उसलाइ याद गर्छु र फेरि एक पाइला पछि सरेर मलाई हौसला दिने प्रोत्साहन गर्ने कोही छैन झैँ लागेर प्रतिस्पर्धामा नगएरै हार्छु।
सायद समीर पनि उता खुसी छैन होला। मनमा भारी पीडा अनि ओठमा झुटो मुस्कान देखाइरहेको होला। हुन पनि कसरी खुसी हुन्थ्यो र, एकसँग शरीर अनि मन अर्कैसँग हुँदा! कहिलेकाहीँ यस्तो लाग्छ, उसले प्रेमको आभास दिलाएको भए, हाम्रो प्रेमलाई फक्रने मौका मिलाएको भए अनि मैले पनि उसको प्रेमलाई बुझेको भए आज हामी दुवैजना एकअर्काको अभाव अनि सम्झनामा अरु नै कसैसँग सम्झौतामा बस्नुपर्ने थिएन होला।
आजकाल एक्लो महसुस हुन्छ। मन आत्तिएर रुन्छ। एक्लो समयमा साहानुभूति देखाउने त धेरै छन् तर म छु भनेर आफ्नोपनको आभास दिलाउने मात्र एक आँसु। हुन त हरेक मानिसको जीवनको पहिलो पृथ्वी स्पर्श रुनु हो, हरेक मानिस जन्मनेबित्तिकै जीवित रहन रुनुपर्छ। सायद अब समीरबिनाको नयाँ जीवन जिउन पनि।