आज मेरो सूर्जे रातो छैन। सेतो छ। गोलाकारको पनि छैन। बरु ठ्याक्कै अर्ध गोलाकारको छ। मैले आज दिनको दीन भूलेर रातको दीन भोगिरहेकोछु।
'कहिले आउँछ होला त्यो एकदिन जहाँ भारी नहोस् यो जीवन...'
जुब्ली पार्कको पहिलो बेन्चमा यही गीत मधुरो बजिरहेको छ। म अर्धनग्न अवस्थामा छु। यहाँ मलाई हेर्ने कोही छैन। दिनमा पनि मलाई देख्दा हेर्ने कोही हुँदैनन्। तर, अहिले मलाई कसैले देखे फर्केर अवश्य हेर्लान्। यो रातको शक्ति हो। यो रातको सूर्यले सिर्जना गर्ने उर्जा हो।
छाताका करङ्ग दिनहुँ एक-एक गर्दै भाँचिदैछन्। म छत बिनाको छाता ओडेर यो समय छल्न खोज्दै छु। यस्तो लाग्न थालेको छ मानौं म ढुङ्गे युगतर्फको यात्रामा छु।
आज जीवन भारी लाग्दैछ। जोवन फिक्का लाग्दैछ। जीवनका हरेक पाटाहरू भयानक लाग्दैछ। जोवनका हरेक यामहरू फुस्रो लाग्दैछ।
यहाँ म छु। मेरो ५० किलोको हलुका शरीर छ। ५ लाखभन्दा बढी किलोको झैँ लाग्ने खोक्रो मन छ। खोक्रो भएर पनि किन यस्तो विघ्न भारी छ यो मन? मलाई पत्तो छैन। पत्तो पाउने सामर्थ्य पनि छैन ममा।
सायद यो मेरो अन्तिम चिठी (के यसलाइ चिठी कहलाउन मिल्ला?) हुनसक्ला। तर, नहुन पनि सक्ला। दुवैको बराबर सम्भावना छ।
गीत परिवर्तन भयो।
'रुन्न भन्थेँ कहिल्यै, तर हेर आँसु खस्यो...' संगीतले अर्को वेदना गाउन थाल्यो। मन भने अघिकै वेदनामा अल्झिरह्यो।
के म जीउन चाहन्छु? के म मेरो मृत्यु चाहन्छु? म के चाहन्छु? म अन्तरद्वन्द्वमा छु। म विचलित छु। म जीवन गुमाइरहेको छु। म आफैँलाई गुमाइरहेको छु। म आफैँबाट टाढा भाग्दैछु। म आफैँले आफैँलाई नभेट्ने ठाउँतर्फ भगाउँदैछु। म भगौडा हुँ। म कायर हुँ।
एक्कासी टाउको फुट्ला जस्तै भएर आयो। आफ्नो अर्धनग्न अवस्था त्याग गरेँ। लाज हुइँक्याइँदिएँ। आखिर भगौडालाई पनि केको लाज? कायरलाई केको लाज?
मस्तिष्क चिरिक्क भयो। म छताछुल्ल भएँ। समेटिने जाँगर चलेन। बेन्चमा टाउको अड्याएँ। वातावरणको थोरै बढी वायु तानेँ। चिरिक्क कम भयो।
के यो मेरो दुखेसो हो? सायद हैन। किन? किनकि मसँग खुसी हुने प्रशस्तै कारणहरू छन्। ती कारणहरू फिक्का भने पक्कै हैनन्। तर किन हो किन, ती सम्पूर्ण खुसीका कारणहरू फिक्का लागिरहेका छन्। फिक्का कारणहरूले दिन खोजेको खुसी व्यर्थ लाग्दैछन्। मलाई जीवन नै व्यर्थ लाग्दैछ।
घडीतर्फ आँखा घुमाउन खोजेँ। भयानक अँध्यारो, समय के देखिओस्? फोनको भित्तोमा दुई पटक थिचेँ। एक बज्नै लागेको रहेछ। गीत भने उही नै बजिरहेको थियो, जाँदैछु टाढा...
आँखा बटारिए। बटारिएका आँखा जूनतर्फ मोडिन चाहेनन्। ताराहरूतर्फ मोडिए। चाहना दुखाउने मन लागेन। ताराहरूमा भुलेँ।
ताराको यी आकृतिहरू कति वर्ष अगाडिको होला?
रात चकमन्न छ। यहाँ मेरो मौनता उघ्रिन खोज्दैछ। उघ्रन खोजेको मौनतालाई ती नै पुराना ताराहरूका आकृतिले साथ दिइरहेका छन्। उघ्रिएको मौनता हेर्न मेरो मृत्यु तम्तयार छ।
ए! झण्डै बिर्सिएको। अघि रामपुर बजारबाट एउटा मैन किनेर ल्याएको थिएँ। अब बाल्नुपर्यो। अर्को पटक घडी हेर्न सहज होला।
चुरोट सल्काउन बिहान मात्रै किनेको नयाँ लाइटर झिकेँ। मैन सल्काएँ। मैन जल्न थाल्यो। मैले बलेको भन्दा बढी जलेको मैन महसुस गरेँ। जलन बढ्दै गयो। मैन कम हुँदै गयो। जलेको मैनले भुइँ पोत्न थाल्यो।
म पनि त्यसैगरी भुइँ पोत्दैछु। केही दिनमा म पोतिएको भुइँमा नयाँ लेप लाग्नेछ। म त्यहीँ गुम्सनेछु। म अस्तित्वहीन हुनेछु। म भेटिनेछैन।
म निदाउनै लागेको छु। मेरा आधा आँखा बन्द भइसकेका छन्। मैले धमिलो देख्न सुरु गरिसकेँ।
अगाडि भात छ। छेवैको कटौरामा दाल छ। अरु स-साना प्लेटमा मिठामिठा सब्जीहरू छन्। म मुछिरहेको छु जीवन। म आफूले मुछिरहेको जीवनबाट आफैँ मुछिन लागेको छु।
ए ! गीत परिवर्तन भएको मेसो नै पाइनछु। विपुल क्षेत्रीले आशिष पो दिँदै रहेछन्। गीत परिवर्तन गर्न मन लागेन। दिनमा प्रिय लागेको यो गीत रातमा सुन्न पनि मन लागेन। कान थुनेर बसेँ। आकाश चियाएँ। ऊ बत्ती बाल्दै मुसुक्क मुस्कुरायो। मलाई डाह लाग्यो।
अर्को गीत बज्न थाल्यो। मन चरी। अहो यो गीत, मेरो आफ्नै ऐना। यो ऐनाले केवल मेरो आकृति झल्काएको छैन। मेरो आकृति कोर्न चाहिने स्वयं मलाई नै झल्काएको छ।
म अस्ताइरहेको छु। ताराहरू अस्ताए जस्तै। संसार भुल्दै भुल्दै। मृत्युसँग उड्दै। गन्तव्यहीन भएर। गोलो रङ्गिन सूर्जे नहेरी।
म कहाँ पुगौँला यो अस्तसँगै? सायद कसैले नभेट्ने ठाउँमा? मलाई ग्लानी छ। आफैँप्रति। आफ्ना भावनाहरूप्रति। आफ्नो दुस्साहसप्रति। आफ्नो भगौडापन प्रति। आफ्नो कायरता प्रति।
म सदैव ऋणी रहिरहनेछु, मैले चिन्न नसकेको प्रेमको।
लाज र घिन, यी दुईमा कुन भयानक?
म आफ्नै दुस्साहसले गर्दा लजाएको छु।
म आफ्नै भावनाहरूले गर्दा घिनलाग्दो भएको छु।
साहसिफ भावनाहरूले मलाई दुस्साहसतर्फ सदैव डोहोर्याइ रहेको छ। कहिले हात छुट्ने हो, पत्तो छैन। कहिले साथ छुट्ने हो, भर छैन।
रात ढल्दै गएको छ। गीत फेरिँदै गएका छन्। म आफैँलाई म म गरिरहेको छु। म यही रातमा बाँचिरहेको छु। मलाई यसैले बचाइरहेको छ। अब यो रात कहिलेसम्म रहला?