छातीमा माछापुच्छ्रेको छायालाई टल्काउँदै, मुटुमा तालबाराही मन्दिर धड्काउँदै आन्तरिक र बाह्य पर्यटकहरूलाई डुङ्गामा सयर गराइरहेको फेवा ताल। आफ्नो कम्मरमा कालिस्टेमोनका फूलहरू राताम्मे फुलाएर सुनमा सुगन्ध थपिएको ताल। साँझको समय घाम अस्ताउँदो छ। यही ताल छेउको फुटपाथमा मानिसहरू ओहोरदोहोर गरिरहेका छन्।
'दाइ, चिया पिउनुहुन्छ?' म अभ्यस्त भैसकेको प्रश्न।
'पाहुना सम्झेर दिए पिउने हो,' करिब ६ फिट उचाइ भएको गहुँगोरो स्लिम केटो बोल्न माहिर रहेछ।
'मिल्क टि लिनुहुन्छ कि ब्ल्याक टि?' सधैँ थर्मसमा चिया बेच्दै हिँड्ने मेरो रेडिमेड प्रश्न।
'त्यो त तिम्रो इच्छा,' उसले यसरी भन्यो मानौँ कि ऊ मेरो चिनजानकै साथी हो। या त एक वर्षदेखिको नियमित ग्राहक हो।
मैले मुस्कुराउँदै एक कप दूध चिया दिएँ। उसले दाहिने हातमा झुण्डाइरहेको हेलमेटलाई देब्रे हातमा सार्दै चियाको कागजको गिलास समात्यो। ऊ मुसुक्क मुस्कुरायो बिहानीको सूर्यझैँ। म लजाए लजावती झारझैँ।
एक सुरुप चिया तानौँ कि नतानौ झैँ भएको उसले अलिक अप्ठ्यारो मान्दै सोध्यो, 'चुरोट पनि बेच्छौ?'
'आई हेट स्मोकिङ,' मेरो मुखबाट फुत्किहाल्यो। मानौँ कि मैले यो वाक्य ग्राहकलाई होइन आफ्नै प्रेमीलाई भन्दैछु। प्रेमी? म झनै लजाएँ। लजावती झारभन्दा बढी। र चियाको पश्चिस रुपैयाँ लिएर म अगाडि चिया बेच्न हिँडेँ। आखिर कर्म गर्नु न छ।
आजको दिन अलि भिन्न भयो। उसले गरेको साँझको बोहनीमा व्यापार राम्रो भयो। हुन त २०—२५ कप चिया दिनहुँ बेच्छु तर आज अलि छिट्टै बिक्यो। सजिलै बिक्यो।
'हेलो! जाने हो?'
चिया बेच्दा बेच्दा अलि अबेर हुँदा प्रायः खेप्नुपर्ने प्रश्न हो यो। म श्रम बेच्न हिँडेको हुँ न कि शरीर। तर केही केटाहरू ठोकिन आइपुग्छन् जसले यही भ्रम पालेका हुन्छन्। मलाई भन्न मन छ श्रम बेचेर बाँच्न नसके बरु मरुँला तर शरीर बेचेर बाँच्ने कल्पना पनि गर्न सक्दिनँ। तर फुटपाथका श्रमजीवीका कुरा कसले सुन्ने?
म हिँड्दै-हिँड्दै आफ्नो कोठा खहरेमा फर्किँदै गर्दा यी आँखाले उही केटा झल्काइरह्यो। मस्तिष्कले उसैलाई सम्झाइरह्यो। यस्ता युवा दिनहुँ जति पनि भेटिन्छन् तर उसको बोलीबाटै म प्रभावित भएँ। भोलि पनि उसलाई भेटेर चिया बेच्न पाए? मनमा सानो इच्छा अङ्कुरायो। तर थाहा छैन अङ्कुराएको सबै बिउ हुर्कन सक्छन् कि सक्दैनन्। मलाई कम्तीमा उसको नामसम्म थाहा हुनुपर्थ्यो। उसले मेरो नाम सोध्नुपर्थ्यो तब न मैले पनि सोध्ने मेसो पाउथेँ। कसैको नामको वास्ता नगर्ने मलाई आज किन यस्तो लाग्दैछ?
तालबाराही मावि जहाँ म कक्षा १२ मा म्यानेजमेन्ट पढ्दैछु। बिहान कलेज जानु, दिनभर कोठामा पढ्नु र बेलुकी ताल छेउमा चिया बेचेर पाँच/छ सय रुपैयाँ कमाउनु मेरो दैनिकी हो। पर्वतको एक गाउँ जहाँ पोहोर साल प्रेसरले ढलेपछि दाहिने खुट्टाको प्यारालाइसिस हुनुभएको मेरो बा र आमा हुनुहुन्छ। हामी तीन दिदीबहिनी। छोरा पाउने आशाले जन्मिएकी म कान्छी छोरी। दुई दिदीको बिहे भैसकेको छ। मलाई छोरीको कर्म दिए पनि उहाँहरूलाई छोराको अभाव भएको महसुस हुन नदिने प्रयास गर्नु मेरो धर्म हो।
भविष्यलाई सोच्दै पढ्नु छ। वर्तमानलाई हेर्दै कमाउनु छ। पढाइ खर्चसँगै घरखर्च पनि धान्नु छ। अलिअलि बचत गर्न पनि जान्नु छ।
भोलिपल्ट बेलुका ५ नबज्दै म उही ठाउँमा चिया बेच्न पुगेँ। आँखाले उसैलाई खोजे। पाइला हिजो ठ्याक्कै भेटिएको ठाउँतिर लम्किए। खै के भयो यस्तो मानौँ उ सूर्य भयो अनि म सूर्यमुखी फूल।
ऊ त आएर पनि कालिस्टेमोनको बोटमुनि बसिसकेको रहेछ। मलाई हात हल्लाउँदै भन्यो, 'तिम्रो चिया मिठो रहेछ।'
'यदि त्यस्तो हो भने यो स्वादको याद आइरहोस्,' मैले हिम्मत निकाल्दै भनेँ।
'पक्कै पनि,' उसले सोध्यो, 'तिम्रो नाम के हो नि?'
'सन्ध्या क्षेत्री,' हिजै सोधोस् भन्ने लागेको प्रश्न आज सोध्यो। मैले पनि सोध्ने मेसो पाएँ, 'अनि तपार्इंको?'
'दीप खड्का'
'अनि तपाईं के गर्नुहुन्छ?' ममा उत्सुकता बढ्यो।
'टाइम पास,' उसले हाँसोमा टार्दै भन्यो।
'यस्तोलाई टाइम वेस्ट भन्छ,' यति भन्दै म अगाडि चिया बेच्न हिँडेँ।
यसरी म दिनहुँ चिया बेच्न आउने, ऊ चिया पिउन आउने। हाम्रो भेट ठिक पाँच बजे बाराहीघाटबाट दाहिने गन्दै जाँदा पाँचौं कालिस्टेमोनको बोटमुनि हुन थाल्यो। फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएर सामान्य बोलचाल भएको भोलिपल्टको चियाभेटमा उसले रोचक संयोजन मिलाउँदै भन्यो, 'सन्ध्यादीप अर्थात् साँझको बत्ती।'
'कस्तो संयोग हाम्रो नाम र अर्थ अनि भेट पनि साँझैमा,' मैले भनेँ, 'तर तपाईंले धुप बाल्न पाउनुभएन।'
'धुप भन्नाले?' उसले बुझेर गर्यो या नबुझेर गर्यो प्रश्न गर्यो।
'चुरोट तान्न पाउनुभएन भनेको क्या!'
'आई हेट स्मोकिङ,' पहिलो भेटमा मैले सुनाएको वाक्य आज उसले मलाई नै सुनायो। तर केटाहरूको विश्वास कहाँ हुन्छ र? केटीलाई इम्प्रेस पार्न जे पनि गफ लगाइदिहाल्छन्।
साँझको समय मेरो निम्ति महत्वपूर्ण समय हो। मिनेट-मिनेट पाइला-पाइलाको हिसाब गर्दै एक-एक मान्छेलाई सोध्दै हिँड्नुपर्छ, चिया पिउनुहुन्छ?
कर्मले दिएको प्रतिफलमा मान्छे आशावादी हुँदै जाँदोरहेछ। काम गर्दा बाध्यता भन्ने शब्दलाई बिर्सियो भने आफूले गर्ने काममै मान्छे रमाउँदो रहेछ। काममै ध्यान केन्द्रित गर्दोरहेछ। तर आजभोलि मेरो मन गौँथलीको प्वाँखझैँ फिजिन थालेको छ।
दीप खड्का जसको घर कास्कीको मादी रहेछ। प्लस-टु सकेपछि पोखरामा बसेर जापानिज भाषा पढ्दै गरेको। उसले घरको पारिवारिक अवस्था सबै बतायो। दुई छोरा रहेछन्। आफू जेठो छोरो र भाइ अहिले एसइईको तयारी गर्दै रहेछन्। बाबा दुबईमा हुनुहुँदो रहेछ। मैले पनि आफ्नो घरको सबै यथार्थ बताए। यसरी अब हामी अझ नजिक हुँदै गयौँ। हाम्रो साथीत्व आत्मियतामा बढ्दै गयो।
एकदिन फेसबुक च्याटमा उसले भन्यो, 'हाम्रो सम्बन्ध चुम्बकको असमान ध्रुवझैँ भयो।'
'यसको मतलब?'
'आकर्षण भयो क्या!'
'आकर्षण कि प्रेम?' म बाठो बन्न खोजेँ।
'प्रेम,' उसले भन्यो, 'मेरो दिलको आँगनीमा फुल्छ्यौ त?'
उसले मलाई प्रेमप्रस्ताव राख्यो। मलाई स्विकार्नु थियो या थिएन कुन्नि! पवित्र मनले भनिदियो, 'यदि त्यो दिलको नाम सन्ध्यादीप हुन्छ भने।'
उसले लभको स्टिकर पठायो। मैले पनि उस्तै गरेँ। अनि उमंगित मनले मनमनै भन्यो, सन्ध्यादीप अर्थात साँझको बत्ती।