'यहाँ सागरजी कहाँ बस्नुहुन्छ ?' गमलामा हात चलाउँदै गरेकी महिलालाई मैले बाटोबाट प्रश्न गरें। प्रश्न गर्दै गर्दा उनी गमलाका झारहरू उखल्दै थिइन्।
'को सागरजी? किन चाहियो तिमीलाई? त्यस्तो सागरजी सी छैनन् यहाँ,' टर्रो स्वरमा उनले जवाफ फर्काइन्।
'सागरजी क्या त! त्रिभुवन विश्वविद्यालयको प्राध्यापक! यतै बस्नुहुन्छ भन्ने सुनेर भेट्न आएको।'
'ए ती मास्टर! यहीँ बस्छन्। ऊ माथिल्लो तल्लामा। अहिले छैनन्। भेट्ने भए भरे आऊ,' उनले रुखो वचनमा भनिन्। मलाई उनको त्यो बोली पटक्कै मन परेन। म सूर्योदय हुँदा घरबाट निस्किएको मान्छे तर उहाँलाई सूर्यास्तमा मात्र भटिने भयो। कस्तो संयोग! सूर्यको क्षितिजसँग बिछोड हुँदा प्राध्यापक र मेरो भेट हुनेभयो।
नभमा घामका किरणहरू डढेका देखिए। कतै राताराता चिरा परेर आकाश फाटिए जस्तो देखिन्थ्यो। चराहरू धमाधम बास बस्नतिर लाग्दै थिए। काठमाडौं सहर पनि बास बस्न हतारिए जस्तो देखिथ्यो। सूर्यनारायणले आजको कार्य पूरा गरी अवकाश लिने बेला भैसकेको थियो।
घाम क्षितिजमा डुब्दै थिए। आकाशमा रातो रोटीको टुक्रा देखिएपछि म प्राध्यापक सागरको घरतिर लम्किएँ। म पुग्दा बिहान कुरा गरेकी महिला घरको माथिल्लो तलामा रहेको बरण्डामा एक अधबैंसे पुरुषसित गफिँदै थिइन्।
मैले ती महिलालाई त नमस्कार गरेँ तर ती पुरुषलाई नमस्कार गर्न भने होस आएन। पछि महिलाले 'उहाँ नै हो सागरजी' भन्दै हातले देखाएर परिचय गराइदिइन्। एक्कासी उनले परिचय गराइदिँदा म लाजले भुतुक्कै भएँ। मैले उहाँलाई अघिनै सम्मान स्वरुप नमस्कार गर्नुपर्ने थियो। मेरो घैँटोमा घाम लाग्न सकेन।
उनले मलाई घमण्डी त सोचेनन् नि? वा सोचे कि! तँ ठूलो पल्टिनु हुँदैन थियो। एक पटक झुक्देको भए तेरो के जान्थ्यो? आत्माग्लानीले मेरो मनमा अनेकौं कुराहरू खेल्न थालेँ। मनलाई स्थिर बनाउँदै मैले उनलाई नमस्कार गरेँ। उनले पनि हँसिलो चेहराले नमस्कार फर्काए। नकारात्मकतामा डुबुल्की मारेको मेरो मनलाई उनको मुस्कानमय मुहारले केही राहत दियो। म ढुक्क भएँ, उनी मसँग रिसाएका रहेनछन्।
'किन पाल्नुभयो होला? केही काम थियो कि?' प्राध्यापक स्वयंले प्रश्न गरे।
म कुरालाई अगाडि कसरी बढाउँ भनेर अलमलमा परेको थिएँ। उनैले प्रश्न गरिदिँदा वातावरण सहज भयो। कुनै आनाकानी नगरी मैले उनलाई आफ्नो परिचय दिएँ। आफू लेखक रहेको कुरा पनि बताएँ।
मैले भनें, 'अबको मेरो योजना सुदूरको दर्दनाकतालाई प्रकाश पार्नु हो। हजुर समाजशास्त्रको प्राध्यापक पनि हुनुहुँदो रहेछ। हजुरले छाउगोठको पीडालाई नजिकबाट नियाल्नु भएको छ रे। हजुरसँग कथा छ रे। किरोरावस्थादेखि नै हजुर यसका विरुद्ध सशक्त रुपमा लागिपर्नु भएको छ भन्ने कुरा सुनेको छु। मेरो सोच सामाजिक क्रुरता विरुद्ध लड्नु हो। छाउपडी र रजस्वलाका पीडा नेपाली समुदायलाई अनुभूत गराउनु हो। सहयोगको अपेक्षा राख्दै हजुरको दैलोमा आएको हुँ। आशा छ, खाली हात पठाउनुहुने छैन।'
सुरुमा उनले आनाकानी गरे। बताउन खोजेनन्। ' कुनै अपरिचितलाई म आफ्नो जीवनको भोगाइ बताउँदिनँ। यो कथा मात्र होइन। कसैको जीवन हो। कसैको भोगाइ, कसैको पीडा हो। यहाँ म मात्र होइन, अरु पनि छन्। धेरैको जीवनको एक खण्ड सम्मिलित छ। उनीहरूको गोपनियताको जिम्मा कस्ले लिन्छ? मलाई अरुको गोपनियता भङ्ग गर्ने अधिकार छैन। कुनै लेखकलाई कसैको जीवनगाथा बताउनुपर्ने जरुरी पनि देख्दिनँ।'
उनी अलि झर्किए जस्तो गरे। उनका कतिपय कुरा जायज पनि थिए। एक पुस्तक लेखक, एक वितरक जो आफ्नो स्वार्थलाई प्राथमिकता मात्र दिन्छ। अरुको गोपनियता ख्याल गर्दैन। अरुको पीडामा कथा निकाल्छ र आफू चम्कन्छ। कुनै दर्दनाक कथामा सामान्य मानिस पीडा देख्छ तर उसको मगजले अर्थ (पैसा) भन्दा अरु पटक्कै देख्दैन। मैले उनको मनोविज्ञान राम्ररी बुझिसकेको थिएँ। उनलाई आफ्नोपनको महसुस गराउन मसँग एक उपाय मात्र थियो, उनको विश्वास जित्नु। उनीमाथि भरोसा दिलाउनु। उनको मनलाई म उनको नजिको मान्छे हुँ है भनेर महसुस गराउनु।
'बच्चा बेलामा मैले शरणमा आएकालाई मरण दिनुहुँदैन भन्ने सुनेको थिएँ। दु:खीलाई सहयोग गर्नुपर्छ। बटुवालाई बास दिनुपर्छ। प्यासीलाई पानी दिनुपर्छ। यी नै मानवीय धर्म हुन्,' म भूमिका बाँध्न तिर लागेँ, 'शिक्षक क्रान्तिको ज्वाला हो। सामाजिक कुरीतिको जड उखेल्ने सर्वश्रेष्ठ हतियार हो। शिक्षक कहिले साधारण हुँदैन।उसमा असाधारण सामर्थ्य हुन्छ। उसको एक चालले मानव सभ्यता विकास र विनाशको मार्गचित्र कोर्छ। हजारौं कोपिलालाई फक्राउने तागत छ उसमा। ऊ बलिरहेको मैनबत्ती हो। जो आफू सक्किएर भए पनि हजारौं अज्ञानतामा डुबेकालाई ज्योति दिन्छ। विद्या लिन गुरु चरणमा आफूलाई समर्पण गरेको शिष्यलाई ज्ञान दिन्न भन्ने साहस गुरुधर्मले दिँदैन।'
मेरो कुराले उनलाई सोच्न बाध्य तुल्यायो। उनी गम्भीर भए। एकछिन घोरिए पनि। मैले गुरु र शिष्यको नाता जोडेँ। गुरुधर्मले उनलाई धर्मसङ्कटमा पार्यो। शिष्यको नाताले आफ्नोपन भएर वा गुरुधर्मले उनी छाउगोठको कथा भन्न राजी भए तर एउटा शर्तमा।
उनले एउटा चकटी मलाई दिए। अर्को चकटी तानेर आफू बसे। 'म तिमीलाई छाउगोठको पीडा, कसैको जीवनकथा, कसैको भोगाइ सुनाउँछु तर एउटा शर्तमा। यहाँका पात्रको गोपनियता सुरक्षित हुनुपर्छ।'
'हुन्छ, गोपनियतामा तपाईंले कुनै चिन्तै लिनुपर्दैन।'
'ल है त, पक्का नि फेरि। कुरा बाहिर नजाओस्।'
'हुन्छ जाँदैन, हजुर ढुक्क हुनुहोस्।'
'ल म भन्छु तिमी सुन।'
उनी कथा भन्नतर्फ लागे।
भित्तामा झुन्डिएको घडीको तीनै भाइले रातको दश बजेतिर खुट्टा लम्काउँदै थिए। समय चक्रको शासन हेमन्त ऋतुको हातमा थियो। आतै कठ्याङ्ग्रिने चिसो मौसमले सबैलाई सताइरहेको थियो। होटलका सबै पाहुना आगाका लप्का र तातोपनसँग प्रीति गाँसेर झुम्मिएका थिए। दृश्य देख्दा लाग्थ्यो कि ती सबैको अग्निसँग प्रगाढ सम्बन्ध छ। नङ र मासुको जस्तै। बादल र वर्षाको जस्तै। कोइली र वसन्तको जस्तै। एक्कासीको हिमपातले दैलै अगाडि गिरिशिखर खडा गरिदिएको थियो। हिमपातका कारण मैले सगरमाथा पनि त्यही बझाङ्गी भूमि कोल्टीमा नै देखेँ। सगरमाथा हेर्न सोलुखुम्बु जानै नपर्ने।
होटल साहुनी भित्रपट्टि भाँडा धुँदै भुत्भुताउँदै थिइन्- 'हैन! कति कराएर मर्छन् गोट्टीहरू। मर्न नसकेका।'
वास्तवमा उनी पारि जंगलमा कराएका स्याललाई गाली गर्दै थिइन्।
'कठै! तिनीहरूलाई पनि चिसो भयो होला। भोकाए होलान्,' हामीसँगै बाहिर गोलघरमा आगो तापिरहेका एकजना व्यक्ति बोल्छन्।
गोलघरको छानो जस्ताको थियो। बीचमा अगेनो। वरिपरि मान्छे बस्ने स्थान थियो तर बारिएको भने थिएन। स्याठका प्रचण्ड वेग हामीलाई गिज्याउन ओहोरदोहोर गरिराख्थे। त्यो चकमन्न रातमा कोसौं टाढाको आवाज कानका जालीले सजिलै ठम्याउथे। बेला बखतको पहाडी बाघको गर्जनले मुटु काप्थ्यो।
'यसपालि त बेपत्तै हिउँ पर्यो,' आगो ताप्दै गरेका अर्का एकजना व्यक्ति बोल्छन्। उमेरमा तीन बिसा काटेका जस्ता, घाँटीमा रुद्राक्षको माला लगाएका, शिरको कानेटोपी माथि रामनामी ओढेका थिए। निधारको ठाडो चन्द्न अँध्यारोमा पनि आगोको लप्काको प्रकाशले सजिलै देखिन्थ्यो। हुलिया हेर्दा उनी शास्त्री जस्ता देखिन्थे।
'किन अघिल्लो वर्ष हिउँ पर्दैनथ्यो र?' मेरो छेउमै आगो ताप्दै गरेकी महिलाले प्रश्न गरिन्। उनको हातमा पामटप थियो। बायाँतर्फ दुई वटा पुस्तक थिए। उनी कफी पिउँदै पामटपमा केही टाइप गर्दै थिइन्। हेर्दा उनी शिक्षित र टाठिबाठी जस्ती देखिन्थिन्। शिक्षित देखिए तापनि उनको प्रश्न भने कच्चा थियो।
उत्तरमा बुढाले खोक्दै 'पर्थ्यो तर यति सारो पर्दैन्थ्यो' भने। कुराकानीको सिलसिला चलि नै रह्यो।
'बा चाहिँ कताबाट पर्नुभयो कुन्नी?' फेरि ती महिलाले प्रश्न गरिन्। बुढाले उत्तर दिन जिब्रो पल्टाउनै लाग्दा होटल साहुनी दौडेर आइन् र आगोमा हात सेकाउँदै 'तल मन्दिरको पूजारी बा' भनिन्। यसपछि केहीक्षण सन्नटा छायो। सबै चुप रहे।
'अहिलेसम्म पनि टाइपिङ सकिएको छैन है? दिउँसोदेखि टाइप गरेको गरै देख्छु,' ती महिलातिर हेर्दै होटेल साहुनीले प्रश्न गरिन्।
'छैन डोल्मा दिदी। अझै समय लाग्छ।'
'नानीको प्रोग्राम चाहिँ कहिलेदेखि रे? साहुनीले फेरि प्रश्न गरिन्।
'निकोर्सीदेखि छ,' उनले भनिन्।
ती दुईको वार्तालापले सबैको ध्यान खिच्यो। सबैले टाइपिङ गरिरहेकी महिलालाई जिज्ञासु भावमा हेरे। सबैको मनमा मेरोमा जस्तै प्रश्नका टुँसाहरू फुटेका पलाएका थिए होलान्। सबैजना जिज्ञासु देखिन्थे तर सबैभन्दा जिज्ञासु पूजारी देखिए। उनले सोधिहाले- 'हैन फेरि कस्तो कार्यक्रम हुन लाग्यो हाम्रो गाँउमा?'
टाइपिङ रोक्दै उनले आफ्नो परिचय दिइन्। आफू सिर्जना रहेको र एम गैर सरकारी संस्थामा कार्यरत रहेको बताइन्। परिचयलाई निरन्तरता दिँदै उनले भनिन्, 'म महिला अधिकारकर्मी हुँ। हाम्रो संस्थाको हालको मिसन 'छाउपडी विहीनता, महिला अधिकारको सुनिश्चितता' हो। महिला माथिको पितृसत्तात्मक क्रुरताको जड उखेल्नु हो। इतिहासदेखि नै पितृसत्ताले हामीलाई दबायो। समाजमा निच तुल्यायो। चाहिँदा घरको चौकसमा बाँध्यो। नचाहिँदा छाउगोठमा सडायो। रजस्वलाको नाममा हाम्रो शरीरमाथि खेलवाड गर्यो। संस्कार र संस्कृतिको नाममा शोषण गरिरह्यो। झुमा र देउकी हुन बाँध्य पार्यो। हाम्रो अस्मिता लुट्यो। दाइजोको निहुँमा हाम्रो प्राण लियो। परम्पराको नाममा ऊभन्दा तल पर्न बाँध्य गरायो। घुम्टोमा अनुहार लुकाइरहुनु पर्ने रे, ठाडो शिरले हेर्न नहुने रे, उसको जुठो खानुपर्ने, उसको खुट्टाको पानी खानुपर्ने छि:। यसैका विरुद्ध लड्न, छाउपडीको अन्त्य गर्न, हरेक बालिकाको जीवन रक्षा गर्न हजुरकी छोरी आज यहाँ छे। यो कार्यक्रमको संयोजक पनि म नै हुँ।'
उनको विचार कुनै क्रान्तिकारीको भन्दा कम थिएन। हेर्दा भद्र देखिन्थिन्। उनी शिक्षित त थिइन् नै। वाकपटुक पनि उत्तिकै राम्रो। आफ्ना कुरा मजालै राख्ने। उनको आँट महाभारत कालको अर्जुनको भन्दा कम थिएन। साहस नेपोलियनको जत्तिकै। सबैजनाको उनीप्रति हेर्ने दृष्टिकोण नै बद्लियो। उनी झन् प्रभावशाली देखिन्। म त उनको कुराले असाध्यै प्रभावित भएँ।
'रजस्वला प्राकृतिक प्रक्रिया हो। यो प्रकृतिको नियम हो। यसमा यस्तो क्रुरता ठिक होइन।' पछाडीबाट कसैले भने। सायद होटेल मालिक कोप्चे दाइ थिए होलान्।
'यो हाम्रो सामाजिक संस्कार हो,' अर्को व्यक्ति बोले।
'हो, हो' उनको कुरालाई समर्थन गर्दै कुनै अमुक व्यक्ति बोल्छन्, 'यो त बाउबाजेदेखि चलिआएको चलन पो हो त। छाउपडी गलत छैन। गलत भएको भए पूर्खाले चाहिँ किन मान्थे र?'
'परम्पराको नाममा छाउगोठमा सडाउनु गलत हो,' सिर्जनाजीले प्रतिवाद गर्नुभयो। दुई/चार जनाले उहाँको कुरामा सहमती जनाए।
'यसलाई सडाएको भन्न मिल्दैन। न त यो शोषण नै हो,' अर्को एकजना बोल्छन्।
'यो पूर्खाले मानेको कुरा हो। परम्परादेखि चलिआएको छ। हाम्रो परम्परा हो। हामीले पनि मान्नुपर्छ,' पूजारी बाले भने।
'त्यति खेरको जमानामा अहिलेको जस्तो सेनिटरी प्याड थिएन। रजस्वला भएका बेला महिलाको शारीरिक अवस्था कमजोर हुन्छ। अत्याधिक रक्तस्राव हुन्छ। उतिखेर सरसफाइको समस्या थियो। सरसफाइ, रक्तस्राव र शारीरिक अवस्थाले तिमी कमजोर भएकी छौ, केही काम नगर, आराम गर, पर सरेर आन्न्दले बस भनिएको हो। चार कोस टाढाको छाउगोठमा राख भनिएको होइन। यसैलाई गलत तरिकाले अर्थाएर छाउगोठमा राख्ने, दु:ख दिने, शोषण गर्ने कार्य कदापि न्यायोचित हुँदैन,' सिर्जनाजीले भन्नुभयो।
उहाँको कुरा निकै यथार्थपरक, तर्कपूर्ण र वैज्ञानिक थियो।
छाउगोठ बेठिक कि ठिक? त्यहाँ एक वादविवाद प्रतियोगिता नै चल्यो। पक्ष विपक्षमा बहस छेडियो। दुवैतिर उत्तिकै तर्कवितर्क हुन थाले। एकले अर्काको खण्डन विखण्डन गर्नतिर लागे। मलाई दुई ढुङ्गा बीचको तरुल हुन मन लागेन। बलिको बोका बन्न चाहिनँ। मलाई थाहा थियो। त्यसमा होमिए भने फस्छु, चेपिन्छु, निसास्सिन्छु। आफूलाई चुप राख्न खोजेँ। मनलाई तनक्क बाँध्ने प्रयत्न गरेँ तर सकिनँ।
अन्तर्मनले बोल् सागर बोल् भन्दै कहिले जिब्रो त कहिले रुद्रघण्टी ढक्ढकाई रह्यो। धत् म यो के गर्दैछु? किन बक्क परिरहेको? आज म यहाँ बोलिनँ भने मलाई घनघोर पाप लाग्ने छ। सम्पूर्ण नारीमाथिको अपमान हुनेछ। यो त मेरी आमाको पीडा हो। मेरी दिदीको रोदन हव। मेरी बहिनीको क्रन्दन हो। जुन कुरामा तैँले जीवन पाइस, जसले तँलाई संसार देखायो त्यही दिव्य बरदानलाई नकार्ने घृणित समाजमा तँ मौन बस्नुले समर्थनको सङ्केत गर्छ। मौन स्वीकृति: लक्षणम्। भित्रभित्रै कुराहरू गुम्सिएर पाक्न थाले। मन भारी भयो। बोलिनँ भने अरे म आफैंमा अपराधी कसरी हुन सक्छु? अर्को अवचेतन मन डुक्रियो।
मैले त्यो घरेलु इजलासमा बहसरत अधिवक्ताहरू समक्ष प्रश्न गरेँ। अधिवक्ता नि के भन्नू? स्वघोषित न्यायाधीशहरू।
'हजुरहरूले दिनहुँ देवीको पूजा गर्नुहुन्छ है?'
सबैको उत्तर गर्छौं भन्ने थियो।
'त्यसो भए, तपाईंहरूले प्रत्येक महिनाको केही दिन देवी रजस्वला भइन्। अब उनलाई पूज्नु हुँदैन? छुनु पनि हुँदैन? दुई/चार कोस टाढाको छाउगोठमा लगेर राख्नुपर्छ भनी देवी पूज्न छाड्नु भएको छ या छाउगोठमा लगेर राख्नुभएको छ? छैन नि। त्यसो भए दुर्गा, भवानी र तपाईं हाम्री आमा, छोरीचेली, दिदीबहिनी बीच कुन कुरामा भिन्नता छ? मलाई बताउनुहोस्। अन्धविश्वासमा रुमलिएर मूर्तिपूजा गर्ने मेरो समाज साक्षात देवी आफ्नी आमा, छोरीचेलीलाई पूज्न किन सक्दैन? उनीहरूमाथि शोषण गर्न किन लागिपरिरहेको छ? जुन रजस्वलाले तपाईं हाम्रो अस्तित्व धानेको छ त्यसमाथि त हामीले गर्व गर्नुपर्ने होइन र? जहाँबाट हजुरले जीवन पाउनु भयो। जसले तपाईंलाई संसार देखायो। जस्ले मानव सभ्यताको रक्षा गरिरहेको छ। त्यसप्रति हामी किन यतिविघ्न नकारात्मक? किन स्वीकार गर्न सक्दैनौं? यस्तो नकारात्मकता घृणित समाजमा मात्र हुन्छ।' मैले कड्केर भनेँ।
मेरो प्रश्नले सबै अक्क न बक्क भए। चुपचाप लागे। कतैबाट पनि प्रश्नको जवाफ आएन। एकछिनपछि 'भाइ त आवेगमा पो आयौ। जे होस ढिलो आयो कडा आयो' एक जना दाइले भने।
'यो आवेग होइन दाजु, परिस्थितिअनुसारको उपस्थिति हो,' मैले भनेँ।
रात धेरै छिप्पिसकेको थियो। हिमपात पनि रोकियो। विस्तारै मान्छेहरू बिस्तरा तताउन लम्किए। कोप्चे दाइ र डोल्मा दिदी पनि गए।
'धन चाहिँदा लक्ष्मी पूजिन्छ, विद्या चाहिँदा सरस्वती, देवी पूज्ने पूजारीहरूको राम्रो भएन मति' भन्दै सिर्जनाजी उठेर हिँड्नुभयो।
'लु, लु के-के हो? तिमीहरू आफै जान,' झर्किँदै पूजारी पनि बाटो लागे। केही क्षणमै त्यो भूमि चनखमन्द भयो।
स्याँठले मलाई पनि खेद्ने प्रयास नगरेको भने होइन। मैले आगोको साहरा लिएकाले उसमा शक्तिक्षय भएको थियो। मैले अग्नीलाई मित्र बनाएँ। आगो दन्काउन दाउरा थपेँ। दाउरा पनि चिसा रहेछन्। बल्दै नबल्ने। कस्ता अटेरी? बोल्ने भएको भए तिनीहरूले 'हेर् सागरे, तैँले जति धकले पनि हामी बल्दै बल्दैनौं' भनिसक्थे। निकै जर्कटा। हुन त सूर्यनारायण नझुल्केको पनि दुई दिन भैसकेको थियो। आकाश उग्रेका बेला म जूनसँग मुस्कुराउन खोज्थेँ। धुवाँले मुस्कुराएको देख्न सकेन। ऊ हरपल मलाई रुवाउन लागि परी नै रह्यो।
म नबलेका दाउरा ठोस्नतिर लागेँ। अकस्मात कसैको चिच्याहट मेरो कानमा ठोक्किन पुग्यो। कोही 'आमा आमा' भन्दै चिच्याइरहे थ्यो। यो सुनसान रातमा यसरी को चिच्याउँदै छ? म एकछिन त झस्किएँ पनि। न यो कुनै भूतप्रेत त होइन? घडीतिर आँखा नचाएँ। त्यतिबेला साँढे बाह्र भैसकेको थियो।
'आमा, म यहाँ बस्दिनँ। मलाई डर लाग्यो,' आवाज फेरि सुनियो। उनी 'आच्छु, आच्छु' पनि भन्दै थिइन्। आवाज कतै दूरबाट आएको थियो। कुनै बालिकाको जस्तो। ध्वनीत वाणीमा रोदन पनि मिश्रीत थियो। विपरीत तर्कनामा लागेको मलाई अन्धविश्वासले छोपिसकेछ। अघि भर्खरको छाउगोठ र छाउपडी मैले बिर्सिसकेछु। मैले लखकाटेँ। यो चिच्याहट र रोदन पक्कै पनि छाउगोठबाट आएको हुनुपर्छ। ममा उनको जन्मदाताप्रति क्रोधको ज्वाला दन्कियो। एकछिन सोचमग्न पनि भएँ। कस्ता निष्ठुरी जन्मदाता। आफ्ना सन्तानलाई पनि जिउँदै मार्न खोज्ने। कति निर्दयी समाज?
उनी फेरि रुन लागिन्। डर लाग्यो। आच्छु! जाडो भयो। भोक लाग्यो। यी र यस्ता शब्दहरू उनको मुखबाट आमालाई सम्बोधन गर्दै निस्किन्थे। उनको रोदनले मेरो मन कट्क्क खायो। न छाउगोठ नजिकै पो छ कि? म बाहिर निस्किएँ। चारैतिर लाइट बालेर हेरेँ। छैन रहेछ। म उनलाई लिन जान चाहन्थेँ तर विडम्बना! मलाई छाउगोठ भएको स्थान थाहा थिएन। न कोप्चे दाइलाई जानकारी छ कि? म उनको कोठातिर लम्किएँ।
'कोप्चे दाइ, ए कोप्चे दाइ' मैले होटल साहुसाहुनीको कोठाको ढोका ढकढकाउँदै बोलाएँ। दिउँसोभरिको कामको धपेडी र थकानले उनी मस्त भाते निद्रामा परेछन्। उनी उठेनन्। फेरि जोडले बोलाएँ। ढोका ढकढकाएँ। यसपटक भने उनी उठे। आँखा मिच्दै ढोका खोले।
'के भयो भाइ? यति राति किन ढोका ढकढकायौ?' उनले प्रश्न गरे।
'दाइ यो आवाज? को रोएको यति राति?' मैले सोधिरहँदा पनि उनी रोइरहेकी थिइन्।
'ए, छाउगोठमा रोएको होला। यस्तो कुरामा वास्ता गर्ने होइन। जाऊ गएर सुत,' उनले हल्का रुपमा लिँदै भने।
'पारि बिर्खेकी छोरी होली। पन्छेकी छे भन्ने सुनेकी थिएँ। पारि छाउगोठमा राखेका छन् अरे,' भित्रबाट होटल साहुनीले भनिन्। उनी पनि ब्युँझिछिन्।
'त्यसो भए म के गर्नु त?' उनले झर्किंदै प्रश्न गरे।
'उनलाई लिन जानुपर्यो। मैले ठाउँ देखेको छैन। त्यसैले तपाईंलाई गुहारेको,' मैले भनेँ।
'हेर भाइ, यो कुरा यहाँ सामान्य हो। तिमी यता भर्खर आएका छौ। नयाँ छौ। तिमीलाई यहाँको रहनसहन थाहा छैन। विस्तारै बानी पर्दै जान्छ। अहिले तिमी सुत्न जाऊ। रात छिप्पिसक्यो,' उनले कुरा घुमाउँदै नजानेतर्फ सङ्केत गर्न थाले।
'भन्नाले, नजाऔँ भन्नुभएको?'
'म चाहिँ जान्नँ,' उनले सिधै भने।
'त्यसो भए म एक्लै भए पनि जान्छु। मलाई बाटो बताइदिनु होस्।'
'एक्लै जाने रे! एक्लै गएर के गर्छौ? यस्तो भेडो बुद्धि नगर। तिमीले सोच्यौ होला, तिमी पुग्दा उनलाई राहत मिल्छ, उनी खुसी हुन्छिन् तर होइन। उनलाई झन् आहत पुग्न सक्छ। यति राति कुनै पुरुष देख्दा उनी झन डराउँछिन्। झन् आत्तिन्छिन्। पछि अप्ठ्यारोमा परौला। होस गर। अघिल्लो महिनामा उनीमाथि करणीको प्रयास भएको थियो।'
उनको कुराले म केही हच्किएँ। तर ती नानीको रोदनले मलाई चुप लागेर बस्न दिएनँ।
'यति धेरै कुरा थाहा भएर पनि तपाईं किन यति धेरै निर्दयी हुनुभएको? मानौं, ती बालिकाको ठाउँमा हजुरको छोरीचेली भएको भए के गर्नुहुन्थ्यो? छोरीको रोदन, उनको पीडा, उनको चिच्याहटमा तपाईं यसरी नै चैनको सास फेर्नुहुन्थ्यो?'
मेरो प्रश्नले उनी घोरिए। एकछिनपछि टाउको कनाउँदै 'हुन्छ, जाऔँ' भने।
'ल बुढी तँ पनि हिँड्। हामीमात्र जाँदा उनी झन् आत्तिन्छिन्,' उनले डोल्मा दिदीलाई पनि बोलाए।
'सिर्जनाजीलाई पनि सँगै लिएर गए हामीलाई सजिलो हुनेथियो,' मैले भनें। त्यसपछि डोल्मा दिदी उनलाई बोलाउन गइन्। हामी पनि उनको पछिपछि लाग्यौं।
' सिर्जना बहिनी, ए सिर्जना बहिनी! नानी सुन्नुस् त,' डोल्मा दिदीले बोलाइन्।
भित्रबाट हजुर भन्ने आवाज आयो। दैव संजोग उहाँ निदाउनु भएको रहेनछ।
'के होला दिदी?' उहाँले ढोका खोल्दै प्रश्न गर्नुभयो।
'पारी छाउगोठमा फुच्ची रोइरहेकी छे। लिन जाऔँ भनेर अनुरोध गर्न आएकी। हजुर पनि गइदिनु भए सहज हुने थियो।'
'यति राति? यस्तो जाडोमा नजाऊ होला। दिउँसोतिर भएको भए लिन जानुहुन्थ्यो,' उताबाट हिचकिचाउँदै उत्तर आयो।
'त्यस्तो नभन्नु न नानी। तपाईं जस्तो शिक्षित नारीले यस्तो कुरा भनेको सुहाएन। नारीको पीडा नारीले नै नबुझिदिएपछि अरु कस्ले बुझ्छ? भन्नुस त। तपाईं नारीको हक रक्षा गर्ने महिला अधिकारकर्मी, समाजसेवी, परिवर्तनको संवाहकले यस्तो भन्दा नारीहरूको हक सुरक्षित होला? नारी सुरक्षित होलिन्? समाजमा परिवर्तन आउला र?' कोप्चे दाइले भने।
'यस्तो चिसोमा म कसैलाई लिन जान्नँ। तपाईंहरू गए जानुहोस्, नगए नजानुहोस्। त्यो फुच्चीलाई जे-जे भए पनि मलाई मतलब भएन। खाई न पाई कुन्नी केको टोपी लाई' भन्दै रिसाएर उनले ढोका लगाइन्। उनको यो व्यवहारले मेरो पारो तात्यो। अघिसम्म उनीप्रति रहेको मेरो सम्मान एकाएक हरायो।
त्यो चिसो स्याँठ, हिउँका थुम्काहरू, नागबेली परेका पहाड, उकाली र ओराली गरेका गल्ड्याङ्गुल्डुङ बाटो करिब १५/२० मिनेट हिँडेपछि छाउगोठ पुगियो। छाउगोठ निर्जन सामुदायिक वनको कुनामा रहेछ। चार सुरमा चार बाँसका खाँबा थिए। छाउगोठ वरिपरि हिउँका ठूल्ठूला थुप्रा थिए। छानो पनि मक्किसकेको खरको रहेछ। बार पनि नामका मात्र रहेछन्। जम्मा आठ/दश कप्टेराले बारिएको थियो। बाहिरबाट पूरै ह्वाङ्ह्वाङ्ती देखिन्थ्यो। स्याँठका लहरहरू सजिलै वारपार गर्थे। चिसो र जनवार दुवैबाट बचाउने हुति छाउगोठमा थिएन। आगो ताप्दा सुनिने बाघ र चितुवाका गर्जनले म उहीँ नै त भयभित हुन्थेँ। त्यहाँ ती नानी कसरी बसिन्? आजपर्यन्त मेरोमुटु काप्छ। के तिनलाई डर लागेन होला र? कहिले हिंस्रक जङ्गली पशुको डर, कहिले मानव रुपि पशुको डर, पाइला पाइलामा भयले उनलाई सताएन होला र? पक्कै पनि सतायो।
हातमा लिएको लाइट छाउगोठतिर सोझ्याउँदै कोप्चे दाइले 'नानी' 'छोरी' भन्दै बोलाए। हामी त्यहाँ पुग्दासम्म उनको रोदन यथास्थितिमै थियो। दाइ र म अगाडि थियौँ। डोल्मा दिदी भने पछाडि थिइन्। लाइट बालेर आफूतिर आउँदै गरेका दुई छोरा मान्छेलाई देखेपछि उनी हडबडाइन्। डराएर चिच्याउन थालिन्।
'नानी सम्झना! नडरा। मलाई चिनिनस्? म डोल्मा क्या त।'
हामी दुई छोरा मान्छेलाई देखेर त्रसित भएकी उनलाई होटल साहुनीको वाक्यले राहत दियो।
'हामी तँलाई लिन आएको। ल हिँड्। मेरो घर जाऔँ,' डोल्मा दिदीले भनिन्। मैले भित्रपट्टि लाइट बालेर हेरेँ, त्यहाँ न त कुनै ओढ्ने थियो न त ओछ्याउनी नै। उनको आङमा पनि खासै गतिलो कपडा थिएन।
चिसोले प्रताडित उनी डोल्मा दिदीसँग टाँसिन पुगिन्। तिनलाई आफ्नी आमा जस्तो लाग्यो क्या हो। आमाको काख निकै न्यानो र विशाल हुन्छ अरे। अझ त्योभन्दा पनि ममताको मन्दिर। हुन त ती नानीको पनि आमा थिइन् तर उनमा ममता थिएन। नत्र ती कलिली मञ्जरीलाई किन त्यस्तो नर्कमा हाल्थिन् र? कस्ता निर्दयी मुटु? कति पापी मन? हुन त उनी पनि यस समाजका कारण विवश थिइन् होला। मेरो मनमा यी कुराहरू उब्जिएँ। त्यो रात उनलाई हामीले होटलमा ल्याएर राख्यौं।
'त्यसपछि' यति भन्दा भन्दै प्राध्यापक भक्कानिएर आँसु निकाल्न थाले। उनी आत्तिए जस्तो पनि देखिन्थ्यो।
'त्यसपछि के भयो? ती नानी अहिले कहाँ छिन्? उनलाई कस्तो छ?' मैले भययुक्त प्रश्नको वाण तेर्साएँ।
एकछिनपश्चात् उनी सम्हालिए र पुन: भन्न थाले, 'त्यसपछि उनी अस्ताइन्।'
एकटकले सुनिरहेको म उनको यस वाक्यले झस्किएँ। मलाई नरमाइलो लाग्यो। मेरो मन खिन्न भयो।
'हामीले ती नानीलाई भोलिपल्ट स्वास्थ्य चौकी पुर्यायौं। चिसोले गर्दा उनी राति नै इन्तु न चिन्तु भएकी थिइन्। उनलाई रुघाखोकीले ग्रस्त बनाएको थियो। ज्वरो पनि हनहन्ती आएको थियो। पेटमा अन्न नपरेको पनि दुई/तीन दिन नै भैसकेको रहेछ। रक्तस्राव पनि अत्याधिक थियो। जीवनको अन्तिम प्रहरमा मृत्यु शय्यामा सङ्घर्ष गर्दागर्दै उनले यस संसारबाट बिदा लिइन्।'
'त्यसदिनको साँझपख उनका बा-आमा स्वास्थ्यचौकी आइपुगे। उनीहरूको अबुझपनको पराकाष्ठले छोरीको प्राण गयो। उनीहरू रुन कराउन थाले। सरोकारवाला, समाजसेवी, स्थानीय सबै आए। महिला अधिकारकर्मी म यीनलाई न्याय दिलाउँछु भन्दै डुक्रिइन् र डलर खेती विस्तार गर्न थालिन्। उपस्थिति कसैमा पनि पश्चातापको भाव देखिएको थिएन। समग्रमा सामाजिक व्यवस्था, अन्धविश्वास, राज्यतन्त्र र जनमानसको अबुझपनले उनको प्राण लियो।'
छुट्टिने बेला पनि 'भाइ मैले भनेको कुरा चाहिँ नबिर्सिनू है' भन्दै प्राध्यापकले सम्झाए।
'हुन्छ गुरु, हजुरलाई दिएको वचन भुल्ने छैन,' मैले भनेँ।
बाहिर नल्याउन जति कोसिस गरे पनि मैले सकिन। प्राध्यापकलाई दिएको वचन अनुरुप नै मैले काल्पनिक पात्रमार्फत हजुरहरू समक्ष ल्याएँ। हरेक नारी जननी हुन्। उनी सृष्टिकर्ता हुन। उनीबिना सृष्टि सम्भव पनि छैन। जननी माथिको कुनै पनि अत्याचार सह्य हुँदैन। पुत्रको धर्मले पनि दिँदैन। त्यसैले जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी।