नभनेरै कुरा बुझिन्छ भने किन भनिराख्नु पर्यो?
नबोलेरै काम बन्छ भने किन बोलिराख्नु पर्यो ?
हामी सुन्नुपर्ने कुरा नसुनेर
हामी बोल्नुपर्ने ठाउँमा नबोलेर
बिग्रियौँ क्या साथी!
भेटघाट हुँदा होस् या फोनमा बोल्दा होस्
मिटिङ बस्दा होस् या गोडा मोल्दा होस्
अरुको कुरा नकाटेको
अरुलाई सत्तो सराप नगरेको
कुनै पल भए मलाई मारिदिनु!
छिमेकी चन्द्रमामा पुग्दा हामी
चन्द्राले लगाएको पोसाकमा अल्झिएका छौँ
छिमेकीले विकासको फड्को मार्दा हामी
नानाथरी अड्को थापेर आफ्नै स्वार्थमा रुमल्लिएका छौँ
लाग्छ
हामीलाई विकास चाहिएकै छैन
हामीलाई प्रगति गर्नुपरेकै छैन
हामीलाई त केवल
अरुको काममा टाङ अड्याउन पाए पुग्छ
गफैगफको महल ठड्याउन पाए पुग्छ।
कसैको कुरा काट्न नपाएको दिन
कसैलाई ढाँट्न नपाएको दिन
सायद हामीलाई निद्रा लाग्दैन
यहाँ कोही आफूले गर्नुपर्ने काम गर्दैन
अरुको कामको बारे विद्वता छाँट्दैमा कसैलाई फुर्सद छैन
नेता सिकाउँछ कसरी पढाउने भनेर
शिक्षक भाषण गर्छ कसरी राजनीति गर्ने भनेर
डाक्टर टिप्स दिन्छ व्यापार कसरी बढाउने भनेर
जोगी स्ट्याटस ठोक्छ घरबार कसरी चलाउने भनेर
हामी आफ्नो काम नगरेर
अरुको काममा धेरै चासो दिएर
बिग्रियौँ क्या साथी!