ए बरालिएर हिँडिरहेका हावाहरू
कमसेकम छोएर त जाऊ
हावासँगै मिसिएका ए फूलका सुवासहरू हो
एकपटक मलाई स्पर्श गरेर त जाऊ
तिम्रो शीतल र सुगन्धमय स्पर्शको पर्खाइमा बसेको म वर्षौं भयो
म माथिकै बादलका थुम्काहरूबाट खसिरहने
ए पानीका थोपाहरू हो
मलाई पनि सँगसँगै बगाएर समुद्रसम्म लैजाऊ न
बग्दै-बग्दै मानव सागरमा निसंकोच पौडिने रहर जागेको वर्षौं भइसक्यो
ए सन्ध्याकालीन आकाश
लाखौं ताराहरूको बीचमा म अडिन सक्ने एउटा ठाउँ देऊ न
म चाहन्छु तिम्रो सुन्दरताको एउटा श्रृंगार बन्न सकुँ
हे सूर्य
तिम्रा किरणहरूले स्पर्श गरोस् र सेकिदेओस्
इतिहासले दिएका निर्मम घाउहरू
म मानव समाजले सृजना गरेको निष्पट्ट अँध्यारोमा
कठ्यांग्रिएको युगौं भइसक्यो
आँधी आयो, तुफान आयो
बिहानीको खबर बोकेर पैगाम पनि आयो
हावा हुण्डरी
युद्ध भुमरी
आउन त के-के आयो आयो
यी आउनेहरूले मलाई कहिल्यै छोएनन्
र मलाई छुनेहरू कहिल्यै आएनन्
म नछोइएको वर्षौं भइसक्यो, अझ भनौं पुस्तौं भइसक्यो
मैले अरुलाई छुँदा छुँदा निस्केका पसिनाहरूले
आफू नछोइँदा जागेको प्यास मेटाउन सकेन
र त भन्दैछु
ए प्रिय पानीहरू
आऊ मलाई छोऊ र आफू नछोइँदा लागेको प्यास मेटाइदेऊ
अतः म छोइन चाहन्छु
र मलाई कसैले छोओस् भन्ने चाहन्छु।