नयाँ पालुवा पलाउन पनि त
पुराना पातहरू झर्नु पर्छ यहाँ
उड्दै गरेको सुगन्धित बाफ पनि
आकाशमा बादल बनेर बरफ भइ वर्षाद हुनुपर्छ यहाँ
तिमी किन आत्तिन्छौ?
सपना हराए भनेर कि
सपना पूरा गर्न नसकौला भनेर?
साथीको प्रगति देखेर कि
बुढेसकालमा बाआमालाई केही गर्न सकिनँ भनेर?
अरुले आफूलाई गर्ने व्यवहार देखेर कि
जतिसुकै गर्दा पनि सफल नभएर?
जीवनमा सधैं सही समय कहाँ आउछ र?
हतार हैन, धैर्य गर्न सिक
उज्यालो देख्न पनि त रात काट्नै पर्छ
आफू खुसी हुन सिक
विश्वास केबल आफूलाई गर
मुख फेर्ने आफन्तको आगाडि भाग्य फेर्नु छ नि
तिमी किन आत्तिन्छौ?
याद छ नि हैन?
आमाको सारीको मुझा झैं चाउरी
परेको मुहारमा मुस्कान ल्याउनु छ
अनि पानी बग्न सक्ने गरी कुलो भैसकेका
बाका हत्केलामा केही थोपा खुसीको वर्षाद गराउनु छ
समाजका हरेक व्यक्तिका एक-एक शब्दहरूको
एउटा ज्ञानको पाठशाला निर्माण गर्नुछ
तिमी किन आत्तिन्छौ?
तिम्रो कसैले नसुन्ने मलिन पढाइको आवाज एकदिन
त्यो कोठाको भित्ताले चिच्याउँदै बाहिर निकाल्ने छ
भविष्यको चिन्ताले थकित त्यो अँध्यारो रातहरूको
थोपा-थोपा आँसुलाई एकदिन पूर्णिामामा
झलमल चन्द्रमा झैँ मुहारमा चम्किलो हुनेछ
तिमी किन आत्तिन्छौ?
हाँसेर जिउने गर
बढेका पाइलाहरू रोकिन नदेऊ
ठूला-ठूला सपनाहरूले हैन
स-साना खुसीले रंगिन छ जीवन
प्रतीक्षा गर, परिश्रम गर
एकदिन तिम्रो धैर्यता, लगनशीलता
सहनशीलताले निरन्तरता पाउने छ
तिमी किन आत्तिन्छौ?