माघ महिनाको जाडो बिहानको सात बजिसकेको छ। तर्केश्वर बिस्तरामै सिरानीको आड लगाउँदै मोबाइल चलाउँदै छन्। थोरै परबाट श्रीमतीको तिखो आवाज सुनिन्छ।
'एकाब्यानै गत न पतसँ फेसबुकाँ किन लेख्न परो? जे कुरामा पनि तिम्ले नै लेख्न पर्नी के छ हँ? उठेर हिँड्नु परे मरेजस्तो अर्चौ? मुस्किलले १०/२० बित्ता पनि तिम्रा पाँसुला सर्दैनन्? फेसबुकभरि अनाप-सनाप लेख्न त खुब तम्सिन्चौ त? लेख्ने खुबी नै भए यौडो किताब छापे हुन्छ। दुनियाँले पढ्लानँ। राम्रो नै लेखेउ भने पछि-पछिसम्म सम्झिन्छन्। पाठकको दिल हल्लिन्छ। ख्याति र अमरत्व पनि मिल्नेछ। मरेपछि पनि गुणग्राही जनबाट सम्झिइरहनेछौ। ढिलै भए पनि तिम्रो कर्मले सोधभर्ना पाउनेछ तर अनाप-सनाप लेख्ने तिमी जस्ता त यो देसाँ करोडौं छन्।'
फेसबुकका भित्ताबाट तत्काल आँखा हटाउँदै तर्केश्वर बूढो खोकी खोक्छन् र पलभर गम खान्छन्।
'जा चा पकाएर लिएर आइजो, धेरै प्यार-प्यार नबोल्। काम अरिरा ठामा डिस्टोप अर्न हुन्न।'
श्रीमती अतिरेक आक्रोशमा आँउछिन्।
'के-के न देसै तिम्ले थामे जस्तो अर्चौ? तिम्रा फेसबुकका भित्ताहरू हेरिनसक्नु छ, पढिनसक्नु छ। सरेआम दुनियाँ नौटंकी भनिरहेछ। सप्पई आम्छन्, छद्म लेख्छन्, तिम्रै भित्तामा बिस्ट्याउँछन्। त्यत्रो दुई बिसाको जागीरमा नखाको गाली अहिले खाइरहेका छौ। दुनियाँले तिम्रै भित्तामा छाद्नी, बिस्ट्याउनी गर्दा मलाई भाउन्न हुन्छ।'
सरकारी कागजमा तर्केश्वर तेजनारायण शर्मा नामको स्वामी हुन् तर लोकमाझमा तर्केश्वरका नामले चर्चित छन्। उनको नाम तर्केश्वर किन रह्यो भनेर अक्कलीहरूका थुप्रै अड्कलहरू रहेका छन्। कसैले काठमाडौंको उत्तरतिर रहेको तार्केश्वरको स्थायी बासिन्दा भएकोले साथी सङ्गतीले नाममा बतनको लेप लगाइदिँदा शब्दान्तरण हुँदै तर्केश्वर भएको भन्नेहरू छन्।
अक्सर तेजनारायण स्वयमले आफ्ना अनुगामी र भिडका अगाडि मेरो आत्मविश्वासको श्रोत नै मेरा तर्कहरू हुन्। मेरा स्वरहरू सर्बथा तर्कसिद्ध हुने गर्छन। तर्कबाहेक कुतर्क र मिथ्यावर्णन मबाट कहिल्यै हुनेछैन भन्दै स्व-घोषणा गरेकोले तर्केश्वर नाम रहेको भन्ने विचारीहरू पनि बग्रेल्ती छन्। परन्तु अनुचरहरूको हुल्लड वाहवाहीले अत्यन्त बहकिने र फुर्कीरहने भएकोले फरक मत राख्नेहरू फुर्केश्वर पनि भन्ने गर्छन। यदाकदा अनुचरका अनुसार यिनको मन न्यायिक छ। यिनी पूर्वाग्रहको खोल कहिल्यै ओढ्दैनन्। तर्कहरू स्फटिक जस्तै सफा छन। तसर्थ यिनी त निख्खुर तर्कको ईश्वर नै हुन र तर्कका ईश्वर, तर्कका ईश्वर भन्दै गर्दा कालान्तरमा तर्केश्वर नाम रहेको भनि लख काट्नेहरू पनि छन्।
उनका कट्टर विरोधीहरू तेजनारायण तर्कहरूको तस्करी गर्ने बदमास तस्कर भएकोले तर्केश्वर नाम रहन गएको भन्छन्। जसले जे भने पनि तर्केश्वर कुनै पनि कुरालाई मान्नुपूर्व तर्कको कसीमा राख्ने गर्दछन्। उनी तर्कवादी हुन। उनी हरेक चिजलाई प्रश्न र संसयको दृष्टिकोणबाट हेर्ने गर्दछन्।
उमेरले तीन बिसा काटिसकेका तर्केश्वरको दैनिकी दिनहुँजसो १२-१४ घण्टा मोबाइल स्क्रीन अगाडि नै बित्छ। उसो त डिजिटल वेलनेस र डिजिटल सन्तुलनको बारेमा नसोचेका पनि होइनन् तर अत्यधिक प्रयोगको नशाले तर्केश्वर क्रोनिक बनेका छन्। कोठाभरि आख्यान, गैरआख्यान, खोजविज्ञान र सोधसँग सम्बन्धित र विधिशास्त्रीय थुप्रै पुस्तकहरू छन्। सालिन्दा अप्रिल २३ मा सयभन्दा बढी पुस्तक खरिद पनि गर्छन तर दश बर्ष जति भयो उनले पुस्तक पढेका छैनन्। अखबार उनको हातमा अडिएको छैँन।
झन्डै दुई बिसा समय सरकारी अड्डाको ताबेदारीमा बिताएका तर्केश्वर उतीबेलाका पढाकू थिए। कलेज पढ्दाताका र जागीरको समय पुस्तकहरू औधी पढ्ने गर्दथे। पुस्तकहरूको विविधीकरण गर्दै पढ्ने भएकोले उनका हर घडी सिर्जनात्मक थिए। एकपक्षीय, एकपाटे र लिनियर धारणाहरू कहिल्यै राखेनन्। सिंगल सिटिङमा अति विशिष्टिकृत र दुरुहखालका सोधको बिहङ्गम समीक्षा गर्न सक्ने खुबी भएका तर्केश्वरको डिजिटल सामाजिक अनुप्रयोगको पार्दूभावसँगै अटेन्सन स्पान क्षयीकरण भएको छ।
घट्दो ध्यान अवधिको कारण घरमा श्रीमती र छोराछोरीको पनि पूर्ण कुरा नसुनीकन ध्यान अन्तै मोडिसकेका हुन्छन्। थाहै नपाई उनी डरलाग्दो डिजिटल शिकारले प्रताडित छन। चर्चित हुने, वाहवाही पाउने तीव्र मोहले अनुसन्धानात्मक र विश्लेषणात्मक चेत भुत्ते भएको छ। यसर्थमा तर्केश्वर प्रकार-प्रकारका ध्यानाकर्षण उद्योग चलाउनै पर्ने एक खालको एकोहोरो बाध्यकारी मनोविकारले ग्रस्त छन्।
बिहान सात बजेतिर उठ्नासाथ तर्केश्वर फेसबुकका भित्तातिर आँखा बिस्फारित गर्छन् र फेसबुकमै मर्निङ वाक गर्छन्। एकाध घण्टाको चियाखाजा बाहेक फेसबुकीय अविछिन्नता कायमै राख्छन्। तत्पश्चात बिहानको खाना खान्छन् र दिउँसोको समय ट्विटर चाहर्छन्।
दिनभर फेसबुक र ट्विटरको उत्कट दौडमा सक्रिय गफीहरूको गफ, सन्जालमै समय चपाउनेहरूको कमेन्ट, प्रतिकमेन्ट र प्रतिकमेन्टकै लम्बेतान श्रङ्खला, उग्रहरूको हरामी व्याख्या र बुझाइ, कथित सर्वज्ञहरूको आफू ठिक र अरू सबै बेठिक भन्ने आशयको मानमर्दन र ज्ञानमर्दनहरू, बागीहरूको हरेक कुराहरूलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेर्ने कला, चाकडहरूको पालैपालो मालिक रिझाउने सोफिस्टिकेटेड चाकडी शिल्पहरू, मुखमा सदाबहार छुरा बोक्दै जिब्रोमा पाती दलेर हिँड्ने ब्रह्मज्ञानीहरूको आडम्बरपूर्ण लफ्फाजी, आफैंलाई ढाँट्न सिपालु ढाँटहरूको ढाँटपत्रहरू, प्रकार-प्रकारका सरकारको विरोधहरू, गुट-गुटमा विभत्त जब्बरानन्दहरूको ककफाइट, मजकूर ठूलाहरूसँगको फोटो पोस्ट्याउँदै, म उसैको मान्छे हुँ भन्दै जनाऊ दिने फुर्केहरूको भयादोहन, ख्वमितको निजीकरणमा परेको दासहरूका दासत्वको प्रष्टीकरणसँग साक्षी हुन्छन्।
साथै केही थान गहकिला उदात्त लेखनहरू, नबिन सोधका तेरीजहरू, विश्व घटनाका समचारहरूमा पनि द्रष्टा बन्छन्। परन्तु ज्यादा उत्ताउलो र भड्किलो कुराको सार्वजनिक खपत पनि ज्यादा नै भएको र उच्च आपूर्ति पनि रहेकोले सिर्जनात्मक चिजमा अनुरक्ति एकदमै कम छ।
तर्केश्वर सूचना जम्मा गर्ने, साभार गर्ने, साझा गर्नै, सश्लेषण गर्ने, आफूले पनि धारणा पोस्ट्याउने, कमेन्ट, प्रतिकमेन्ट गर्ने काम समानान्तर ढंगले नै गर्छन्। दिनभर कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा भएका घटनाहरूलाई निहार्छन्। तर्केश्वरले आफ्नो धारणा प्रस्तुत नगरेको काण्ड तथा मुद्दाहरू विरलै होलान्। हरेक घटनामा आफ्नो धारणा पेश गरिहाल्छन्।
अदालतका विचाराधीन मुद्दाहरू, तहकीकात र जाँच पड्तालमै रहेका अभियोगपत्रहरू, कसैको निजी जीवनको सनसनीखोज टिप्पणीहरू, कुनै निश्चित धर्म र सम्प्रदायको बारेमा गरिने उत्ताउलो व्याख्या र अति संवेदनशील विषयमा गरिने जबरजस्त वकिल्याइले तर्केश्वर पटक-पटक अप्ठ्यारोमा पर्ने गरेका छन्। कुनै समय एक प्रकारको घटनामा प्रस्तुत गरेको धारणा र पछि अर्को समय सोही प्रकारको घटनामा प्रस्तुत गरेको धारणा ठ्याक्कै उल्टो हुँदा पटक-पटक नैतिक संकटमा पनि परेका छन्।
स्वयमको व्यापकीकरणमा फाइदा पुर्याएको डिजिटल अनुप्रयोगको उपभोगले डबल स्ट्यान्डर्ड हर्कतहरूको पनि सफल सुरक्षण र भण्डारण गर्छ भन्ने कुरा, भित्तामा मेटाउ लगाए पनि स्क्रीनशट अनुगामीहरूको श्रेस्तामा लिपिवद्ध हुन्छ भन्ने कुरा तर्केश्वरले अनदेखा गरे जस्तो देखिन्छ। ज्यादा चर्को बोल्ने तर व्यवहारमा थोरै लागु विगतमा पनि नगरेको र वर्तमान पनि त्यस्तै रहेकोले पटक-पटक चिप्लिएका छन्।
बेलुकीको सात बज्नै आँटेको छ। श्रीमतीबाट खाना खान आउनु भन्ने संकेत मिल्छ परन्तु तर्केश्वर आफूले भर्खरै छाडेको पोष्टमा आएका कमेन्ट, प्रतिकमेन्टको जाँच परख गर्दै हुन्छन्। श्रीमतीजीको पुनः बोलावट हुन्छ, तर्केश्वर एकध्यानले फेसबुक्याइँ मात्र गरिरहन्छन्।
श्रीमतीजी चिच्याँउदै, 'तुरन्त भुँडी फुट्न आऊ! हाताँ मोबेल भए तिम्लाई केही चाहिन्न है।'
तर्केश्वर खुरुखुरु भान्सातर्फ लाग्छन्, मिनेटभरमै तीन गाँस भात टिप्छन् र पुनः फेसबुकतिरै यात्रा गर्छन्। केही घण्टाको फेसबुके जाँचपरख, टीकाटिप्पणी, वकिल्याइँ र नोकझोकपश्चात तर्केश्वर १० बजेतिर सुत्न लाग्छन्।
दिनभरको फेसबुक्याइँ रीलसरि मस्तिष्कमा कुदिरहन्छ। निदाउन जबरजस्त जमर्को गर्छन परन्तु दिमागमा फेसबुक स्क्रोल भैरहन्छ। अब फेसबुकले बिथोलेको निद्रा जगाउन फेसबुक नै चाहिने भो भन्दै फेरि मोबाइल झिकेर फेसबुकतर्फ लाग्छन्। केही क्षणमै हातबाट मोबाइल बिस्तरामा फुत्त खस्छ, तर्केश्वर निद्रादेवीको काखमा पुग्छन्।
आजकल फेसबुकले तर्केश्वरको सपना पनि अतिक्रमण गरेको छ। फेसबुक इतरका सपना उनी देख्दै देख्दैनन्। सचेतन संसार होस् कि अचेतन वा अर्धचेतन नै किन नहोस्, जताततै फेसबुकले कब्जा मारेको छ।
आज तर्केश्वरले भयकंर डरलाग्दो, विस्मयकारी र अनेपक्षित भयकारी सपना देखेका छन्।
सपनामा उनी गुम्बा नेरको बाटो हिँडिरहेको हुन्छन्। केही रौद्र युवाहरूको आक्रमणमा पर्छन्, उनी कारण सोध्छन् तर युवाहरू उनीमाथि बलात् लात्ती र मुड्कीमात्र बर्साइरहन्छन्। पिटाइको दर्द र चोटले भुइँमा अचेत रहेका तर्केश्वर उठ्न सक्दैनन्। पछि के कारणले कुटाइ खाएको बुझ्दै जाँदा केही महिना अगाडि तर्केश्वर उक्त धर्म र सम्प्रदायलाई अपाच्य र अमिल्दो हुने गरेर फेसबुकमा टिप्पणी लेखेका रहेछन् र युवाहरू उपयुक्त मौकाको खोजीमा रहेको भन्ने बुझियो। एकैछिनमा एक ज्ञानी भिक्षु घटनास्थलमा आउँछन् र लडिरहेको तर्केश्वरलाई उठाएर तत्काल प्राथामिक उपचार गरिदिन्छन्।
भिक्षुले तर्केश्वरलाई सम्झाउँदै भन्छन्- 'अरुको गुम्बामा कहिल्यै पनि आफ्ना तर्कहरू बोकेर नजानू किनकि जुनसुकै गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरहरू तर्कहरूभन्दा ज्यादा आस्था र विश्वासमा चल्ने गर्छन्। सबै कुरामा तर्क नै दिनुपर्ने जरूरत नहुन पनि सक्छ र कहिलेकाहीँ तर्किदिन पनि जानुपर्छ!'
तर्केश्वर निद्राबाट एक्कासी बिउँझिन्छन्। घरी सपनाले सम्झेर बुझे जस्तो बनाएको छ र घरीघरी बुझेर सम्झेको जस्तो पनि बनाएको छ। बिउँझेपछि पनि सपनाले तर्साइरहन्छ!