प्रिय बुहारी धेरै धेरै माया, आशीर्वाद र सम्झना,
हामी बुढाबुढी यता निका आरामै छौं। त्यहाँ तिमीहरू पनि सन्चै हौला। छोरा पनि सन्चै होला। सधैं सन्चै राम्रै रहनु यही हाम्रो हरदमको आशीर्वाद छ। खबर खाबर त नपाएको हैन, सन्चै छौ भन्ने र हामीलाई पनि सोधखोज गरेको खबर बेला बेलामा आउने गर्छ। कहिले कसो फोनमा त कुरा हुन्छ तर सधैं तिमीहरूलाई हतार हुने र पैसा पनि सकिन्छ कि भन्ने डरले धेरै कुरा गरेर मनका कुरा गर्न नपाइएकोले मनको कुरा गर्न यो चिठी लेख्न गइरहेकी छु।
यस्तो चिठी लेखेको भनेर दु:ख नमान्नु, मनका गन्थन व्यक्त गर्ने ठाउँ कहीँकतै छैन। बाहिर अरूसँग भन्यो दु:ख देखाए जस्तो हुन्छ, मेरा छोरा, बुहारी, नाति नातिनाका राम्रा कुरा गर्यो गफ लगाइ भन्छन्, नराम्रा कुरा गर्छन् कि भनेर कोट्याउनु कोट्याउँछन् तर मरी गए केही भन्दिनँ, भन्नु पनि के छ र यो सबैको चोला हो, हामी सासूससुरासँग बस्यौं भनेर तिमीहरू पनि भविष्य अन्धकार बनाएर बस भन्न मिलेन। फेरि यो सासूबुहारी भन्ने पनि अचम्मको नाता हुने रहेछ, बुहारी भएर सासू हुँदा पनि केही नबुझिने, बुहारी हुँदा सासू गलत सासू हुँदा बुहारी गलत कहिल्यै कोही ठीक नहुने। यो हाम्रो मात्र समस्या नभएर सबै सासू बुहारीको कालान्तरदेखिकै समस्या हो जस्तो लाग्छ।
परिवार जुट्न पनि देशमा कि दैविक विपत्ति आउनु पर्यो कि महामारी आउनु पर्ने भयो। कहिलेकाहीँ चाहिँ चुनाव आउँदा पनि फ्रीमा गाडी पाएर पनि आउन थालेका छन्। त्योभन्दा अरू अवस्थामा बुढा बाउआमा र घरलाई हेर्न कहिल्यै आउँदैनन्। यहाँ बुढाले मलाई सधैं गाली गर्नुहुन्छ छोरालाई पढाएर गाउँ छोड्ने भयो, नत्र त यहाँ हामीसँगै बस्थ्यो भनेर।
के गर्नु हाम्रो मात्रै भए पो दु:ख लाग्ने रहेछ। गाउँमा हामीहरूजस्ता धेरै भएकाले खासै हामीलाई दु:ख लाग्दैन। गाउँमा बुढाबुढीमात्रै छौं मर्दापर्दा पनि धेरैजसो लासहरूले छोराछोरी कुरेर बासी बस्नु परेको छ।
वस्तुभाउ कसैले पाल्न छोडे, खेती किसानी गर्न छाडे बुढाबुढीले कि त भत्ताले कि त छोराछोरीको मासिक किस्तामा जीवन जिउन परेको छ। कहिले कसो फुर्सद भएर गाउँमा आएछौ भने थाहा पाउली। अरूले जे जसो गरे पनि बेला बेलामा नाति नातिनी लिएर आउने गर है कम्तीमा हाम्रो नाति नातिनाको न्यास्रो त मेटिएला।
अनि बुहारी के छ त्यताको खबर, नाति नातिनालाई सन्चै होला, कोरोनाको समयमा यहाँ आउँदा नातिले सधैं बासँग सुत्छु भन्थ्यो अहिले सम्झिन्छ कि के गर्छ? तर बाले भने सधैं सम्झिनु हुन्छ, नातिका कुरा गर्नुहुन्छ, गाउँमा जाँदा पनि नाति र नातिनीकै गफ्फा लगाउनु हुन्छ। यो उधो मयाले साह्रै पिरल्दो रहेछ। हुन पनि नाति नातिनीलाई गाउँ घरमा र उनका बाले पढेको स्कुलमा पढाउन पनि भएन, बजारा जो पढाउनु पर्यो। राम्ररी पढाउनु, दु:ख नदिनू। तिनीहरूको भविष्य नबिगारिदिनु। नातिनी त आजकल बोल्ने भइहोली बा आबै भनेको मात्रै भए पनि सुन्ने मन छ।
तर के गर्नु बजारा हामी जान सक्दैनौं। तिमीहरू यता आउन नमिल्ने यस्तै भयो, जहान बच्चा देशैभित्र पनि प्रदेशमा झैं अलगअलग बस्न पर्दा साह्रै दु:ख लाग्ने रहेछ। यो कहिलेसम्म रहने होला, तिमीहरूको पालामा पनि यही होला कि अझै झन् बढी हुने होला?
अनि छोराले पनि कहिलेकाहीँ फोन गर्छ, साह्रै खुसी लाग्छ। दु:ख नमान्नु है भन्छ, दु:ख त के लाग्नु र हामी सबैको अवस्था यस्तै छ। गरिबीले सबैलाई तितरवितर पारेको छ। छोरालाई पनि दुखै होला। तर के गर्नु पढ्न बजार गयो, पढेर जागिर पाइएन, परदेश गयो, फेरि परिवारको दु:खलाई आफ्नो दु:ख बेचेर हामीलाई सुखी बनाउने ध्येयले विदेशमा गएको छ। उसलाई केही नभन्नू, माया गर्नू, उसको पैसा तह लगाउनू, हाम्रो चिन्ता नगर्नू।
बुहारी तिमीसँग मनका कुरा पोखौंला भनेर यो चिठी लेखेको भावनामा बगेर कता कता पुगेछु, झर्को नमान्नू, फोनमा बोल्दा जस्तो समय अभाव भएको बेला चिठी अलि अलि पढेर च्यातेर नफाल्नू, पूरा पढ्नू।
बुहारी यता हामीले जेनतेन जीविका चलाएका छौं। हाम्रा छोरा भने पनि तिमी हौ, बुहारी भने पनि तिमी हौ। अब हामी डाँडा पारिका जुन भएका छौं, कहिले हो अस्ताउने थाहा छैन। तिम्रा ससुरा बालाई दमले केही खानै हुन्न, चिसो लाग्नै हुन्न, म आफैं स्याहारसुसार चाहिएकी आफैं खटिन परेको छ, तर त्यसमा पनि खुसी लाग्छ यो उमेरमा पनि परिवारकै मूली मान्छेको स्याहार सुसार गर्न पाएकोमा र बाध्यताले अग्रसर हुन पाउँदा। नत्र त मेरो पनि उमेर स्याहार खोज्ने बेलामा स्याहारसुसार गर्नु परेको छ। कामकाज गर्दा पनि हामी केही मात्रमा भए पनि स्वस्थ छौं।
यहाँ हामी वल्तिर पल्तिर गरेर तिमीहरूको अभावबाहेक खुसी नै छौं। गाउँ स्वर्ग हो। यहाँ भोकै बस्नु पर्दैन, साथ र सहयोग पाइन्छ तर बजारा’ त त्यस्तो हुँदैन रे। यहाँ तरकारी फालाफाल छ त्यता किनेर खानुपर्छ होला। यहाँ हामीले शुद्ध दूध खाएका छौं, तिमीहरूले बजाराको केके मिसाउँछन् रे त्यही होला खाने के गर्नु भविष्य बनाउन बजार बस्नेहरूको चिन्ताले सबै बर्बाद पारेको छ।
यहाँ यत्रो जग्गा बाँझो छ, पोहोर परारसम्म त खेतीपाती गरियो, अब गर्न पनि सकिन्न। अर्को कुरा खेताला पनि पाइन्न, मान्छे जो छैनन्। गाउँमा सबै सुविधा बढ्दै छ तर मान्छे छैनन्। हाम्रो पालामा पानी लिउन कति टाढा जानु पर्थ्यो, गाग्री र घैंटामा पानी बोक्नु पर्थ्यो अहिले घरमै आएको छ। घाँस काट्नै परेन, दाउरा पनि बाल्न छोडे, ग्यासमा खाना पकाउँछन्। वन बढेर जंगल भएको छ, बाँदर, बदेल र जंगली जनावर घरघर आउँछन्।
बुहारी यहाँ सबै ठीकठाक छ, बजार गएका बुढाबुढी पनि दुखित हुँदै गाउँ नै फर्किन्छन् किन हो कुन्नि? तर भर्खरका भने फर्कन चाहँदैनन्, उमेर अवस्थाले हो कि जन्मे हुर्केको गाउँको मायाले हो?
अघिल्लो पटक छोरा विदेशबाट आएर यहाँ आएर केही दिन बस्यो, कति खुसी लाग्यो भने सीमा नै छैन, फेरि छुट्टी धेरै छैन, बच्चाहरूसँग पनि बस्न पाएको छैन भनेर गयो। हाम्रो त आउँछ तर यही हाम्रा गाउँका कत्ति जना त तीजमा समेत घर नआएर उतै बजारमा बस्छन् यस्तो सुन्दा पनि कत्ति नमज्जा लाग्छ।
कम्तीमा समय हुँदा १/२ रात भए पनि बुढा भएका बाआमासँग बिताए, उनीहरूसँग एकछिन कुरा गरे, आफ्ना दु:ख सुख बाँडे पनि स्वर्गै हुन्छ। हामी वृद्धाहरूको चाहना नै के छ र? बास सन्तान र सन्ततीहरूसँग उठबस, र खानपिन र दु:खसुख बाँड्ने न कि सम्झिँदै रूँदै दिन कटाउने।
हाम्रो घरभन्दा पल्ला घरका बुढा मात्रै हुनुहुन्छ, तिमीले त चिन्दैनी होला, हाम्रा छिमेकी हुनुहुन्छ। अघिल्लो वर्ष छोराले घर बनायो भनेर खुसी हुँदै यहाँ सबैसँग बिदा मागेर बजार जानु भयो। घर ठूलो बनेको रे, त्यसमा पाहुना पाछा आउँदा बस्ने कोठा, पुराना सामान राख्ने कोठा, छोरा बुहारी सुत्ने बस्ने कोठा, बाबु नानीहरूको कोठा र कुकुरलाई समेत सुत्ने ठाम बनाएदिएका रे तर बिचरा बुढा बालाई त कुनै कोठा पनि नाइँ। सुत्ने ठाउँ पनि नाइँ रे त्यही दु:खले गर्दा बा बढो दु:ख मानेर मरे यतै मर्छु बरू गिद्द, कौवाले खाला तर म जान्नँ भनेर यहाँ आएर दुखेसो पोख्नु हुन्तो।
अब तिमीरूले घर बनाँउदा खेरी त एउटा कोठासम्म हामीलाई भनेर बनाइदिनु, हामी पनि यहाँ गर्न नसक्ने भए पक्कै पनि त्यहीँ त आउने होला, यहाँ बसेर सबैलाई दु:ख दिन पनि भएन।
तिमीलाई थाहा नै छ, तिम्री नन्द हाम्री छोरी पनि बजार गएर बसेकी छिन्। सधैं फोन गरेर सन्चो बिसन्चो सोध्छिन्। महिनै पिच्छे यहाँ आउँछे, जाउँ बजार जाउँ भन्दै जिन्दी गर्छिन् तर हामी जान्नौं सकुन्जेल यतै बस्छौं भनेर। ऊ साह्रै चिन्ता गर्छे र हामी भन्छौ हाम्रोभन्दा तिम्रा सासूससुराको चिन्ता गर, हाम्रो लागि त छोरा बुहारी छन् भन्छौं। तर उसले पनि उता के गर्छे, उता पनि सम्धीसम्धिनीको हालत यस्तै नै होला तर हाम्रो साह्रै चिन्ता गर्छिन्।
तिमीले पनि बुवाआमालाई भेटघाट र सन्चो बिसन्चो सोधखोज गर्नू। के गर्ने सन्तानको मायाजस्तो अरू कसैको नहुने रहेछ।
जिन्दगीमा अरू केही नभए पनि छोटो परिवार छरिएर नबसे हुने हो भन्ने हाम्रो सोचाइ हो। बजार नजाने कुनै मान्छे भएन, आवश्यक भएर जानु र त्यत्तिकै जानुमा धेरै फरक छ। यसले घर सम्पत्ति र बुढाबुढीले दु:ख पाउने उता खर्च बढ्ने, साँघुरो घेरा र घरमा बस्नु पर्ने। बजारको पढाइ बजारको लवाइखवाइले यहाँ गाउँका घर बारी र खेत भग्नावशेष र बाँझो भएका छन्।
बजार एक दुई पुस्तालाई होला तर गाउँ भने जीवन्त हुनेछ, त्यसैले सकिन्छ भने बुहारी छोरालाई सम्झाएर गाउँ आएर सँगै बसौं। फेरि यत्रो लामो चिठीमा अरू केही नभएर गाउँ फर्कनलाई भनेर मात्र नसोचे। फेरि बजार जानमा बुहारीकै मात्रै दोष किन भनेर मलाई गाली नगर्नु, मैले त हाम्रा घरको समस्या तिमीसँग मात्र भनेकी हुँ। यसमा बुहारीको मात्र नभएर छोराहरूको पनि धेरै समस्या छ।
उही तिम्रो सधैं भलो चाहने सासूआमा