मानव जातिको हुल भएर पनि
सन्नाटा छाएको
चार भित्ते आयतको कब्जामा
त्रासको भारी भिरेर
पर्खिरहेछु उसलाई
हो उहीँ प्रश्नपत्रलाई
जसलाई मेरो भाग्य र भविष्य निर्धारण गर्ने
ठेक्का परेको छ रे ।
हेर्दै अजिङ्गर झैं डरलाग्दो देखिने
बिना वस्त्रका सिपाहीको
हस्तमा आनन्दले पल्टिएर टुप्लुक्क आइपुग्छ ऊ
थप त्रास र डरको मिश्रित सर्वतको साथमा
अगन्य डर त्रासका बाबजुद
गृहमा भएका कागजी ज्ञानका ठेलीबाट
मस्तिष्कमा कपी गरिएका ती अजङ्गका अक्षरहरूलाई
पेस्ट गर्न लागियो अर्को कागजी ठेलीमा
सोच्दै-
कपी-पेस्टले कसरी बन्न सक्छ
बेस मेरो जीवनको भविष्य
उता
पुत्रको प्रगतिको
आकांक्षाका फूलहरूले कोपिला उमारिसके
पिता माताको हृदयमा
यता
आफू अन्योलमा छु
वाक्कदिक्क भएर
यो बेकामे कर्मकाण्ड देखेर ।
भोगाइका अध्यायहरूलाई
शब्दरूपी मालामा उनेर सजाउनु थियो खास
तर यहाँ त
कागजरूपी ठेलीबाट मष्तिष्करूपी ठेलिमा
कपी-पेस्ट गर्दाको
पसिनाको मूल्य उत्तर पुस्तिकामा अटाउनु छ
चोट र शोकका व्यथाहरू कनिकुथ्री थुपार्नु छ।
न विकल्प छ रेट्ने
यो कर्मकाण्डी परीक्षाको माथ
न विकल्प छ छेक्ने
सन्नाटा छाएको कोठामा
मैले फेरेको त्रासयुक्त सास ।
मनमा शान्ति नहुँदा नहुँदै पनि
कर्मकाण्डी परीक्षालाई
यो जीवनबाट पूर्णबिराम लगाउन सकिएको छैन
अझै
अल्पबिराम लाउँदै, जीवनमा थप्दै
जानुको विकल्प पनि छैन।
मौन छु किनकि यो परीक्षाको टुनामुनामा फसिसकेछन् सबै
ट्रु लभमा परिसकेछन् सबै
अब त बस् भन्नसक्छु आफ्नै हालत देखेर कठै
दुई दशक खोलामै बगाइएछ व्यर्थै!