दिलमाया, वाह क्या सुन्दर नाम! नाम मात्र सुन्दर हो र? रुप पनि अति सुन्दर, मनमोहक पार्ने खालको। ऊसँग मेरो भेट म पढाउने बोर्डिङ स्कुलमा भएको थियो। म त्यस स्कुलको संचालक पनि थिएँ।
नयाँ शैक्षिक सत्रको सुरुमा विद्यार्थीहरूको चाप तल्लो कक्षाहरूमा धेरै देखियो र आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्ने भनेर हामीले विज्ञापन गर्यौं। जम्मा १० जनाको आवेदन पर्यो। निर्धारित मितिमा परीक्षा भयो र त्यो परीक्षामा अन्य आवेदकभन्दा खरो उत्रिन सफल भइ ऊ। उसलाई मासिक तलब १५ हजार हुने गरी तीन पिरियड पढाउने सर्तमा सहायक लेखापालको नियुक्ति प्रदान गरियो।
पहिला चिन्जान खासै थिएन। कता-कता टिकटकमा देखे जस्तो लाग्थ्यो। जागीरको लागि ऊ सधैं अटो चढेर विद्यालय आउने र घर जाने गर्थी। कहिलेकाहीँ अटोको कारण ऊ ढिलो हुने गर्थी। ढिलो आउने कारण प्रिन्सिपल सर बेलाबेलामा कराउनु हुन्थ्यो।
यो क्रम झन्डै एक महिना चल्यो। एकदिन उसले मलाई अनुरोध गर्दै भनी, 'सर, हजुर र म आउने बाटो एउटै रहेछ, मलाई हजुरको बाइकमा लिफ्ट दिनू न है।'
मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ठानेर मैले अरु केही नसोची ओके गरिदिएँ। उसले आफैं मेरो फोन नम्बर मागी र मैले मजाक गर्दै दिएँ। 'यो नम्बर हजुरको होइन, हजुरले झुक्काउनु भयो, यसमा जम्मा ९ वटा मात्र अंक छ' भनि। 'कहिलेकाहीँ दोहोरी गीत पनि सुन्नुपर्छ के' मैले ठट्टा मार्दै नम्बर दिएँ। बदलामा मैले उनको नम्बर मागिनँ।
साँझ ४ बजे स्कुल छुट्टी भएपछि हामीले घर तिरको यात्रा तय गर्यौँ। यस क्रममा उनले भनिन्, 'म क्रान्तिचोकमा कुरेर बस्छु है सर, फेरि रफ्तारमा भएर मलाई बिर्सनु होला नि।'
क्रान्ति चोक? आश्चर्य मान्दै सोधें, 'कहाँ छ यो? यो बाटोमा हिँड्दा त कहिले त्यस्तो नाम सुनिनँ।'
'सर पनि कति सोझो के, बीचमा बर र पिपलको रुख छ नि, हो त्यहाँनेर भनेको' भन्दै उसले लोकेसन बताई।
'अ... त्यो चोक भन्या? त्यसको नाम त सहिद चोक हो नि, होइन र?'
'त्यो त हो, तर सहिदहरूको क्रान्तिले गर्दा देशमा शान्ति आएकोले त्यसको नाम फाट्टफुट्ट मानिसहरूले त्यसलाई क्रान्ति चोक पनि भन्छन् रे।'
ऊ क्रान्ति चोकमा आएर कुर्थी र म उसलाई पिकअप गरेर सँगै विद्यालय लग्थें। यो क्रम बीचबीचमा मिठा कुराकानीसँग चलिरह्यो।
'घरमा को-को हुनुहुन्छ?' उसले सोधी।
'म र मेरी आमा मात्र छौँ। एउटा दिदी र एउटा बहिनी हो मेरो, उनीहरू सबैको बिहे भैसक्यो। बुवा बिरामी भएर बित्नु भइसक्यो।'
यात्राको क्रम जारी रहँदै गर्दा उसले मलाई जिस्काइ, 'सर, हजुर तीजमा व्रत बस्नुहुन्न?'
'नारीले पो व्रत बस्छन् तीजमा, पुरुष कहाँ बस्छन् र? के तिमी व्रत बस्छौ र?' भन्दै गर्दा उसले रकेटभन्दा द्रुत गतिमा भनी, 'म त हजुरलाई पाउन व्रत बस्ने हो नि सर।'
अविवाहितले कहाँ पाउने कुरा गरेको नि मिस भन्दै जिस्काएँ। ऊ लाजले भुतुक्क भई र जिब्रो टोक्दै भनी, 'हजुर पनि, कस्तो फटाहा, कति साह्रो जिस्केको!'
'सुरुआत तिमीबाट भएको हो क्यारे, यसमा मेरो के दोष?' मैले बोलिदिएँ।
उसले सिरियस हुँदै भनी, 'जिस्केको होइन सर, म साँच्चिकै हजुरलाई मन पराउँछु।'
'मन पराउछ्यौ कि माया गर्छ्यौ?'
'माया गर्ने अनुमति दिनुभयो भने माया गरौंला तर पहिला त मन पराउनु पर्यो नि होइन र?'
'अनुमति आजै दिनुपर्ने हो र?' भन्दै मैले आफ्नो प्रश्नभाव व्यक्त गरें।
उसले तीजको दुई दिन अगाडिसम्म दिए पुग्छ भनी। म सोच्न बाध्य भएँ। देखाइमा र बानी व्यवहारमा राम्रै पाएँ। सबैसँग मिलानसार व्यवहार गर्थी। घर गएर आमासँग कुरा राखें। आमाले पनि 'तेरो विचार गर्' भन्नुभयो। आखिर घरमा बुहारीको आवश्यकता थियो नै, यो मौका गुमाउनु हुँदैन भनेर भोलिपल्ट उसको प्रस्ताव स्वीकार गरें।
'एस! द डिल इज फाइनल' भन्दै दाहिने हात मुठी कस्दै तलतिर झारी। मेरो मुहारमा पनि औंसीको रातमा आकाश गड्किने बेलाझैं चमक आयो। समग्रमा हामी दुवै खुसी भयौँ।
हामी घर जाने समय अलि लामो हुँदै गयो। कतिपय ठाउँ हाम्रो दिनको बाटो बिसाउने स्थल बनेका थिए। जस्तै नास्ता खाने भुरागाउँ चोक, बल्छी थाप्ने सागर खोला, आदि। सुरुसुरुमा उसको परिवार ढिलो आएकोमा कराउँथे तर विस्तारै उसको घर परिवारमा पनि यो कुरा थाहा हुन पुग्यो।
परिवारमा उसले मेरो बारेमा फाट्टफुट्ट कुरा गरिरहन्थी। मेरो खान्दानको बारेमा उसको परिवारमा राम्रै ज्ञान थियो। एक अर्थमा भन्नुपर्दा उसको परिवारले पनि सजिलै स्वीकार गरेको थियो; सायद आफूहरूले पनि भागी बिहे गरेर होला।
एकदिन मैले जिस्काउँदै भनें, 'मिस, एकाउन्टमा मायालाई क्रेडिटमा राखिन्छ कि डेबिटमा?'
'धत्! मायालाई मापन गर्न सकिन्न नि, त्यसैले यो डेबिट, क्रेडिट कुनैमा पर्दैन' भन्दै मैले बाइक चलाउँदै गर्दा आफ्नो दाहिने हातले मेरो दाहिने काँधमा हान्दै जिस्किइ।
'दिलु मिस तिमीलाई ख्याल छ, संगीता मिस आजकल मोबाइलमा बढी बिजी हुन्छिन् नि।'
'अँ, त्यो त हो तर किन होला सर?'
'उसको चक्कर मसँग पनि चलिरहेको छ नि। हामी दुवैको एउटै पिरियड खाली छ नि। हो, त्यही बेला पट्टाएको हुँ उसलाई,' मैले भावुक शैलीमा भनें।
ऊ सुक्कसुक्क रुँदै भनी, 'हजुर धोखेबाज हुनुहुँदो रहेछ। म ओर्लने हो, म हजुर जस्तो धोखेबाजसँग एकपल बस्न सक्दिनँ।'
उसको त्यो रोदनले मेरो मन पिरो भयो। बाइक चलाउँदै गर्दा मेरो पनि आँखा रसायो। मैले बाइक रोक्दै उसलाई ओर्लन इसारा गरें। म पनि ओर्लिएँ। उसका रसाएका आँखामा हात बढाएर आँसु पुछ्दै सम्झाएँ, 'धत! रुनुपर्छ त! त्यसै जिस्केको नि। खासमा संगीता मिसको चक्कर त दिनेश सरसँग पो छ त। तिम्रो मन मात्र चोरेको साने, अब नरिसाऊ ल।'
ऊ केही बोलिन तर मुन्टो हल्लाउँदै हुन्छ भन्ने इसारा गरी। यो कुराले उसलाई साह्रै पीर परेछ क्यारे हामीबीच एक दर्जन दिन जति बोलचाल भएन।
दशैं पनि आयो। ऊ र उसको परिवारले घुम्न जाने निम्तो दिए। सुरुमा त के गरौं भयो तर स्कुल बिदा पनि भएको र सबैसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिनजान भएकोले घुम्न जान राजी भएँ। हुनेवाला ससुरालीसँग लुम्बिनी, पोखरा र मनकामनाको यात्रा तय भयो। पोखराबाट सुरु भएको भ्रमण मनकामना तिर मोडियो। बिहानै पूजा गर्न सहज होला भनेर मनकामना मन्दिर नजिकैको होटेलमा बास बस्यौँ।
भोलिपल्ट बिहानै नुहाएर केवलकार चढ्दै हामी मन्दिरतर्फ हानियौँ। पूजा गर्न लाइनमा लागेको बेला दिलमायाको बाबाले छोरीलाई जिस्काउँदै भने, 'छोरी, तेरो बिहे यही मन्दिरमा गरिदिने हो, पूजा गर्दा जे माग्छेस् माग्।'
छोरी आँखा चिम्लेर दुई हात जोड्दै ध्यानमग्न भई। 'मनु, म तिम्रै हुन पाउँ भन्दै भगवानसँग मागें नि' भन्दै विस्तारै आँखा खोली। कताकता मनमा डर पलायो। रेडियोकोमा कुनै एक कार्यक्रममा एउटा स्रोताले त्यहाँ गएर बिहे गर्ने कसम खाएको तर प्रेम असफल भएको कुरा पत्रमार्फत लेखेको थियो जुन म सानो हुँदा सुनेको थिएँ। अरुबाट पनि मायाप्रेम र बिहे भाकेको सफल हुँदैन भन्ने सुनेको थिए।
मन विचलित भयो तर उसलाई केही भनिनँ। उसले सोधी, 'के भयो?'
केही हैन भन्दै उसको ध्यान त्यहाँ भएको केवलकारतर्फ मोडें। त्यहाँबाट निस्कने क्रममा गेट बाहिर एउटा गीत बज्दै थियो- तिमी कसको हुने होला, म नि कसको हुनेहोला...
हामी एकअर्कातिर एकटक हेराहेर गर्यौं र ऊ अकस्मात मेरो अंगालोमा बाँधिँदै सुक्क-सुक्क गर्न थाली- 'म त हजुरकै हुने हो हजार जुनीसम्म।'।
फर्कने क्रममा हामी 'सिजी टेम्पल' पुग्यौं। कुनै समयसम्म म दाङ-काठमाडौं गर्दा उक्त संरचना बनेको देखेको थिइनँ।
'दिलु, भन्दा गफ लगाएको जस्तो होला, यो मन्दिर मैले सपनामा देखेको जस्तै छ नि।'
उसले मुसुक्क हाँस्दै थपी, 'सायद मलाई पनि सपनामा भेटाउनु भएको पो थियो कि?'
गफलाई थाँती राख्दै हामी त्यहाँ फोटो खिच्न र टिकटक बनाउन व्यस्त भयौं। उसका बा-आमा हाम्रो टिकटक बनाउन बेलाबेला क्यामेरा म्यानको भूमिका निर्वाह गरिदिन्थे। 'सुनकै चुरा नसकेनी चाँदी बाला दिउँला हातैमा' बोलको गीतमा नायक रमित ढुंगाना र नायिका रेखा थापा जस्तै अभिनय गरेर टिकटक बनाएका थियौँ।
लगत्तै, हामी लुम्बिनीको यात्रा नाप्यौँ। त्यहाँ भएका अत्याधुनिक बौद्ध बिहार हेर्दै, टिकटक बनाउदै रमायौं। कोरियाले बनाइदिएको उक्त बिहार अगाडि फेमिली फोटो खिच्ने उसको आमाको मनसाय भयो। हुनेवाला सासू-ससुरा, ऊ तयार भए। सालो चकचके थियो र करायो, 'बाबा! भिनाजुलाई नबोलाउने?'
हामी सबै लाजले भुतुक्क भयौँ। उनीहरूको तस्बिर लिइसकेपछी म पनि फोटो सेसनमा सहभागी भएँ। नजिकैको खैरेले नाइस एण्ड ह्यप्पी फेमिली भन्दै फोटो सेसन गरिदियो।
'मनोज बाबु, हजुर त बुद्ध जस्तै शान्त र ज्ञानि होइसिन्छ नि' भन्दै उसकी आमाले भनिन्। उसका बाउ सरकारी अफिसमा हाकिम थिए र कम बोल्ने उनको स्वभाव रहेछ।
ड्याडी खुसी, मम्मी झनै खुसी भनेझैं दुवै बुढाबुढी खुसी भए। त्यसपछि थकानले भारी भएका हामी रातिको यात्रा गर्दै घरतर्फ बाटो ततायौं। घर पुग्दा राति ११:३० भैसकेको थियो। हुन त मेरो घर उसको घरबाट हिँडेर आधा घण्टामा पुग्न सकिन्थ्यो तर उसले र उसको आमाले यतै बस्न आग्रह गरे। अन्त्यमा, हुनेवाला ससुरा बाले भनेपछि नकार्न सकिनँ। उतै बास बसेँ। सपनामा उसैसँग बिहे भएको देखें, सायद मनमनै कल्पना गरें पनि होला। बिहान चिया नास्ता खाएर घर फर्किएँ।
बिदाको समय यस्तै फोन गरेर त कहिलेकाहीँ नजिकैको पार्क गएर बित्यो। तिहारपछि स्कुल लाग्यो। क्रान्ति चोक, भाइरल चोक, सागर खोला, भुरागाउँ, हुँदै हाम्रो यात्रा निरन्तर कायम भैरह्यो।
'दिलु, मङ्सिर महिना पनि आयो, अब त बिहे गर्ने होला नि, तिम्रो विचार के छ?' मैले सोधें।
ढाडमा टासिँदै खुट्टामा चिमोठ्दै भनी, 'कति साह्रो आँतुर हो?'
'तन, मन, सबै मिल्छ अनि केको लागि ढिलो गर्ने नि? एक न एक दिन बिहे गर्नै पर्छ क्यार।'
'त्यो त हो तर साथी तथा टाढा रहेका आफन्तीलाई यस्तो जाडोमा के सास्ती दिनु, फागुनको लास्टमा गरे भैहाल्छ नि, होइन र?'
आखिर तीन महिनाको कुरो न हो भन्दै मलाई मनाउन सफल भई। म ओठ लेब्राउँदै टाउको तल माथि हल्लाउँदै हुन्छको संकेत गरें तर म बाइक चलाउँदै गर्दा मैले ओठ लेब्राउँदै गरेको उसले पत्तो पाइन। यत्रो समय त कुरियो आखिर तीन महिना न हो भन्दै आफैंले मन बुझाएँ।
त्यो हिउँदमा बाइकमा यात्रा गर्न निकै कष्टकर भयो। कहिले म त कहिले ऊ बिरामी। एकदिन उसले सोधी- 'मनु, म अर्कैसँग भागें भने के गर्नुहुन्छ?'
मैले पनि जिस्किँदै भनें, 'म पनि भागिदिन्छु नि तिमीसँगै।'
ऊ कलेजी ओठ र चाँदी जस्तै टल्किने दाँत देखाउँदै हाँसेको बाइकको लुकिङ ग्लासमा देखियो।
किन हो कुन्नी माघ महिना लागेदेखि ऊ पहिले जस्तो प्रसन्न मुद्रामा देखिँदैन थिई। साँझ खाना खाइसकेपछि हुने कुराकानीमा पनि खासै चासो दिँदैन थिई। बाइकको यात्रामा पनि खासै मन लगाएर प्रस्तुत हुँदैन थिई।
माघको दोस्रो सातातिर बुबाको श्राद्ध हुँदा बोलाएँ तर पनि आइन। किन यस्तो भैराछ दिलु भन्दा 'श्राद्धमा पनि के जानू, लाजमर्दो, देख्नेले पनि के भन्लान्? बरु आफ्नो बिहेमा बोलाउनू होला न है' भन्दै उत्तर फर्काइ। 'पहिला तिमी बोलाऊ र म जन्ती लिएर आँउछु नि' भनें।
माघ महिनाको अन्तिम हप्तामा दुई दिनको अन्तरालमा 'सर, म अर्कैसँग भागे भने के गर्नुहुन्छ?' भन्दै प्रश्नको झटारोले बारम्बार हान्न थाली। एकदिन त मलाई असह्य भयो र थर्काउँदै भनें, 'तँ मात्रै छस् र यो संसारमा? तँ ना म मर्छु जस्तो लाग्छ?'
'सरी माई लभ, म हजुरको मनोभावना बुझेको मात्र' भन्दै ? नाटकीय पारामा बोली।
फागुनको पहिलो दिन प्रणय दिवसको योजना बनाउँदै गफ गरौंला नि है भन्दै नजिकैको गणेशपुर पार्कमा भेट्न बोलाई। हामीसँगै गयौं। केहिबेरको गफगाफपछि उसलेभनी, 'सरी मनोज जी, आई ह्याभ अ ब्वाइ फ्रेन्ड।'
'एस, आइ नो।'
उसले भनी, 'कसरी थाहा पाउनु भयो?'
'इट इज भेरी सिम्पल, हजुरको व्यबहारबाट नि,' मैले उत्तर दिएँ।
'मलाई माफ गर्नुहोला सर, म हजुरकी हुन सकिनँ।'
'छोरीमान्छे, परिवारले भन्या पनि मान्नै पर्यो। केही कुरा चाहेर मात्र नहुँदो रहेछ मिस। ठिकै छ, भाग्यमा लेखेको मात्र जुर्छ सायद, देखेको जुर्दैन भनी मन बुझाउँला नि। भन्न त तिमीले भन्थ्यौ नि, कुरेको भन्दा जुरेको सम्बन्ध मिठो हुन्छ भनेर तर जुर्नलाई पनि त कुर्नु पर्दो रहेछ होइन र? तिम्रो मेरो प्रेम १००० घन्टा पनि टिकेन।'
'१००० घन्टा रे? गणित आउँदैन? फेरि बोर्डिङ स्कुलको सेयर डुब्ला नि। घर गएर फेरि हिसाब गर्नू नि' भन्दै जोशमा सम्झाएझैं, कता-कता थर्काएझैं भनी।
'धन नहुनेको धन बहादुर भनेझैं तिम्रो नाम पनि दिलमाया रहेनछ। पुस महिनाको तुसारो जस्तै भयो माया' यति मात्र के भनेको थिएँ, उसले बर्बराउँदै थपी, 'बुझ्नु भो मनोज सर, हजुर र मबीच थुप्रै कुरा मिल्दैनन् र औकात पनि। जे भयो राम्रै भयो।'
यति सुन्ना साथ मन भारी भयो र आखाँबाट दुई थोपा आँसु तप्प झरे।
'तपाईं आफूलाई सम्हाल्नुहोस् सर, नाटक नगरेकै राम्रो। म भोलिदेखि हजुरको स्कुलमा जागीर गर्न सक्दिनँ' भन्दै राजिनामा पत्र हातमा थमाउँदै भनी, 'हजुरको जीवन सुखमय बनोस्। अब हामी छुटिनुपर्छ।'
उसले कुनै नम्बरमा फोन घुमाई- 'बेबी, चाँडो आइस्यो न।'
एकैछिनमा निलो २२० सिसिको बाइक धुलो उडाउँदै आयो र आए जसरी नै गयो, धुलो उडाउँदै तर मेरो मनतर्फ।
साँच्चिकै त्यो फागुन १, मेरो लागि जनयुद्ध, तनयुद्ध, सबै साबित भयो।